सन्देश लेखिएका टिशर्ट: तपाइँको टिशर्टमा लेखिएका शब्दले तपाइँबारे के भन्छ?

क्युबामा बेच्न राखिएका चे गेभाराको चित्र अङ्कित टिशर्टहरू
तस्बिरको क्याप्शन, क्यारेबियन क्षेत्रमा तपाइँको बिदा कस्तो भयो?
Published

'लुक एट मि (मलाई हेर्नुहोस्)!" यस्तो सन्देश लेखिएका कपडा लगाउने मानिसले केहीबेरका लागि भए पनि अरूको ध्यान आफूतिर तान्ने गर्दछन्। फ्याशनका पारखीहरू त्यो ध्यानाकर्षण क्षणिक हुने ठान्दछन्।

सन्देश लेखिएका टिशर्ट लगाउने प्रचलन फ्याशनका नमुना प्रदर्शन गरिने मञ्चमा मात्र होइन अन्यत्र पनि देख्न थालिएको छ।

नाइकीको 'जस्ट डू इट (यो गर न मात्र)' देखि 'दिस इज ह्वाट् अ फेमिनिस्ट लुक्स् लाइक (स्त्रीवादी वा महिलावादी यस्तो देखिन्छ)' सम्मको कुरा गर्दा ती सन्देशले ती लेखिएको कपडा पहिरिने मानिसबारे धेरै कुरा बोलिरहेको हुन्छ।

ती सन्देशले ती कपडा लगाउने मानिस को हुन्? उनीहरूका आशाहरू के हुन्, उनीहरुको सपना के छ र उनीहरूको राजनीतिक रङ के हो? त्यो सबै खुलाइरहेको हुन्छ।

लेखक तथा प्रस्तोता माइकल रोजेनले हामीलाई हाम्रो सोचविचारको विज्ञापन आफ्नो छातीमा गर्न के ले लालायित गर्छ भनेर खोजी गरेका छन्।

सन्देशसहितको वस्त्रको आविष्कार कसले गर्‍यो?

सन् १९०८मा ब्रिटेनको लण्डनमा भएको सफ्रागेट प्रदर्शन
तस्बिरको क्याप्शन, ब्रिटेनका महिलाले आफूलाई मतदानको अधिकारको माग गर्दै प्रदर्शन गरेका थिए।

शब्दहरू लेखिएको कपडा सबैभन्दा पहिले कसले लगायो भनेर पत्ता लगाउन गार्‍हो छ। तर सन् १९४६ मा बच्चाहरूले लगाउने टिशर्टमा 'डु इट विद डुवी' लेखियो। त्यो अमेरिकाका रिपब्लिकन पार्टीका राष्ट्रपतीय उम्मेदवार थमस ई डुवीलाई समर्थन जुटाउन लेखिएको थियो।

प्रविधिको विकास हुँदै गएपछि सन्देश लेखिएको टिशर्ट बनाउन पनि सहज हुन थाल्यो र सन्देश लेखिएका धेरै टिशर्टहरू देखिन थाले। त्यसपछि सन् १९६० र सन् १९७० को दशकमा आइरन लगाएर अक्षर छाप्ने प्रविधिको विकास भयो।

फ्याशन इतिहासकार एयाम्बर बटचार्ट त्यसलाई महत्त्वपूर्ण क्षण मान्दछन् किनकि त्यसपछि "तपाइँले आफूले रुचाएको व्यक्तिगत सन्देश तुरुन्तातुरुन्तै छाप्न सम्भव हुन थाल्यो।"

त्यसपछि मानिसले घरमै बसेर सन्देश वा नारा लेख्ने क्रम बढ्न थाल्यो।

राजनीतिक नाराहरू

मस्कोमा सन् २०१४मा विक्री गर्न राखिएका पुटिन अङ्कित टिशर्टहरू
तस्बिरको क्याप्शन, पुटिनका समर्थकहरूका लागि?

एयाम्बरका अनुसार सन् १९७० कै दशकमा टिशर्टहरूमा राजनीतिक नाराहरू लेखिन थाले।

अमेरिकी पत्रिका न्यूयोर्क टाइम्समा सन् १९७३मा लेखिएको एक लेखले त्यसबारे चर्चा गरेको थियो। त्यसमा टिशर्टरू पनि सन्देशको माध्यम भएको उल्लेख छ।

त्यसमा अमेरिकामा हल्लीखल्ली मच्चाएको वाटरगेट भनिने राजनीतिक प्रकरणमा मुछिएका डेमोक्र्याटिक पार्टीका नेताहरूप्रति व्यङ्ग्य गर्दै 'म डिमोक्र्याट हुँ, मलाई नजिस्काउ' लेखिएका टिशर्ट लगाइएका विषयमा चर्चा गरिएको छ।

ब्रिटेनमा चाहिँ सन् १९८० को दशकको सुरुतिर प्रसिद्ध फ्याशन डिजाइनर क्याथरिन ह्याम्नेटले प्रधानमन्त्री मार्गरेट थ्याचरसँगै उभिँदा लगाएको एक टिशर्टको प्रसङ्ग चाख लाग्दो छ।

उनको टिशर्टमा लेखिएको थियो - "५८ प्रतिशतले पेर्शिङ चाहँदैनन्"। त्यो करिब १०० क्रुज मिसाइल भनिने क्षेप्यास्त्रको विवादास्पद आपूर्ति लिइरहेको ब्रिटेनको एउटा हवाई अड्डाको प्रसङ्ग थियो।

ती अहिले देखिने गरेका आधुनिक राजनीतिक सन्देशका पूर्वसूचक हुन सक्छन्।

अहिलेको समयमा सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा डोनल्ड ट्रम्पले अघि सारेको "मेक अमेरिका ग्रेट अगेन (अमेरिकालाई फेरि एकपटक गजबको बनाउँ)" भन्दा चर्चित नारा अरू कुनै होला?

विरोधका नारा

स्पेनको पाम्प्लोनामा जनावर अधिकार र उनीहरूविरुद्धको क्रुरता अन्त्य हुनु पर्ने माग गर्दै गरिएको प्रदर्शन
तस्बिरको क्याप्शन, म जनावर खान्न भनेर लेखिएको टिशर्ट

फ्याशन परिचयबारेकी टिप्पणीकार क्यारिन फ्य्राङ्कलिनको भनाइमा सन्देश लेखिएका अधिकांश टिशर्टहरूले प्रचलनमा रहेका सांस्कृतिक मूल्यमान्यताहरूको विरोध गरिरहेका हुन्छन्। उनी भन्छिन्, "नारा वा सन्देशका माध्यमबाट अल्पसङ्ख्यक समूहहरू चिनिइने वा देखिइने गर्दछन्।"

उदाहरणका लागि 'दिस इज ह्वाट् अ फेमिनिस्ट् लुक्स् लाइक (स्त्रीवादी वा महिलावादी यस्तो देखिन्छ)' लेखिएका टिशर्टले महिला समानताको मुद्दालाई मूलधारमा ल्याइदियो।

केही चर्चित राजनीतिज्ञले त्यो टिशर्ट लगाइदिएपछि ब्रिटेनको संसदको तल्लो सदन हाउस अफ कमन्समा हलचल नै भयो।

द "ब्ल्याक पावर (अश्वेतको शक्ति)" लेखिएको टिशर्टले अल्पसङ्ख्यक समुदायका मानिसहरू आफ्नो पहिरनको माध्यमबाट समाजमा कसरी सुनिन र देखिन सक्दछन् भन्ने प्रष्ट पार्छ।

ब्रिटेनमा "नो मोर पेज थ्री (पेज ३ अब चाहिएन)" भन्ने एउटा आन्दोलन नै चल्यो। त्यसले द सन भन्ने सानो आकारको ट्याब्लोइड पत्रिकालाई आफ्नो पत्रिकाको तेस्रो पेजमा शरीरको माथिल्लो भाग छोप्ने वस्त्र नलगाएका महिलाहरूको तस्बिर छाप्ने परम्परा नै रोक्न बाध्य तुल्याइदियो।

त्यसले काम गर्‍यो। पेज ३ को विरोध गरिएका टिशर्टहरू सर्वत्र देखिन थालेपछि अभियान बलियो हुँदै गयो र अन्तत: द सनले पेज ३ मा मोडलहरूको तस्बिर छाप्ने क्रम भङ्ग गर्न बाध्य भयो।

जातीय सन्देशहरू

दिल्लीमा सन् २००५मा ह्यारी पोर्टर पुस्तकका पात्र अङ्कित पहिरनमा सजिएका दुई बालक।
तस्बिरको क्याप्शन, ह्यारी पोर्टर पुस्तकका पात्र अङ्कित पहिरन

'बिटलम्यानिया' जस्ता सन्देश लेखिएका एयाम्बरका टिशर्टहरू कुनै एक निश्चित समूहमाझ लोकप्रिय भए। ती कुनै निश्चित समूहका लागि लोकप्रिय सन्देशसहितको बजारमा चलेका टिशर्टका उदाहरण हुन्।

कुनै साङ्गीतिक समूह वा ब्यान्डको नाम वा कुनै सङ्गीत महोत्सवको नाम लेखिएको टिशर्ट लगाउनु हुन्छ भने त्यसले तपाइँको झुकाव प्रष्ट पार्छ।

त्यसले तपाइँ कुन समूह वा आन्दोलनलाई समर्थन गर्नुहुन्छ भन्ने देखाउँछ।

त्यस्तै छुट्टी वा बिदामा कतै घुम्न जाँदा आफन्त वा साथीलाई आफू गएको ठाउँबाट टिशर्ट किनेर ल्याएर उपहार दिने चलन पनि चलेको छ। त्यसले तपाइँ कुन ठाउँ पुग्नु भएको छ त्यो ठाउँको सम्झना दिलाउँछ।

"आई (मुटुको चित्र) एनवाई (मलाई न्यूयोर्क मनपर्छ)" जस्ता सन्देशले मानिसहरूलाई तपाइँ कहाँ जानु भएको छ र तपाइँ केसँग आफूलाई सम्बन्धित देखाइरहनु भएको छ भन्ने जानकारी दिन्छ।

ठट्यौला सन्देशहरू

हिपस्टर सुपरहिरोको भेषमा एक युवक
तस्बिरको क्याप्शन, कहिलेकाहीँ ठट्टा गरेकै रमाइलो

सन्देश रमाइला र ठट्यौला पनि हुन सक्छन्। कतिपय मानिसले आफ्ना टिशर्टमा ठट्यौला प्रसङ्गहरू उल्लेख गर्ने गरेका छन्।

तपाइँले "दिस इज ह्वाट एन असम ड्याड लुक्स् लाइक (गजबको पिता यस्तो देखिन्छ)" लेखिएको टिशर्ट लगाएको पिता कहिल्यै देख्नुभएको छ?

कुनै टिशर्टमा त व्यङ्ग्य गरिएको हुन्छ। जस्तो कि "आई हेट टिशर्ट्स् विथ फनी स्लोगन्स् (मलाई हाँसउठ्दो सन्देश लेखिएका टिशर्टप्रति घृणा छ)।"

ब्रान्डका नामहरू

एउटा जवान मानिस। प्रतीकात्मक तस्बिर
तस्बिरको क्याप्शन, मेरो जीउमा तपाइँको उत्पादनको विज्ञापन गरेबापत मलाई कति तिर्नु हुन्छ?

एयाम्बरका अनुसार सन् १९८० को दशकपछि मानिसहरूले विभिन्न ब्रान्डका नाम लेखिएका कपडा तथा खेल पोशाक किन्न थाले।

त्यसपछि कपडाहरूमा ब्रान्डका नाम देखिन थाले। त्यसले ती कपडाको मूल्य सामान्यभन्दा बढी पर्छ भनेर प्रदर्शन गर्न थाले। जबकी उत्पादनको गुणस्तर भने त्यति उत्कृष्ट भइसकेका थिएनन्।

उपभोक्ताहरूले नाइकी, अडिडास् जस्ता ब्रान्डका नाम लेखिएका कपडा वा जुत्ता लगाएर ती ब्रान्डले बजारीकरण गरेको जीवनशैलीलाई नै खरिद गरिरहेका छन्।

त्यस्ता ब्रान्डका नाम प्रचार गर्दा हामी सायद आफूले सोचेजति आधुनिक वा परिष्कृत प्रमाणित नहुन पनि सक्छौँ।

अचेल सन्देशहरू किन प्रख्यात छन्?

फ्रान्समा सन् २०११ मा परमाणु ऊर्जा विरोधी प्रदर्शनमा सहभागी एक महिला
तस्बिरको क्याप्शन, परमाणु ऊर्जा चाहिँदैन भनिएको यो सन्देशले विश्वका धेरै मानिसलाई छुन्छ।

एयाम्बरका विचारमा अहिले राजनीति विभाजित अवस्थामा रहेको देखिएकोले मानिसहरूले आफ्नो झुकाव, अडान, पक्ष वा पहिचान प्रदर्शन गर्ने क्रम बढेको छ।

उनका विचारमा हामीहरू अहिले राजनीतिक हिसाबले निकै चेतनशील समयमा बाँचिरहेका छौँ। त्यसैले, एयाम्बर भन्छिन्, "मानिसहरूले आफू कुन कित्तामा छु भनेर आफ्नो झुकाव वा पक्ष देखाउन चाहन्छन्।"

क्यारिनका विचारमा कपडामा सन्देशहरू लेखेर मानिसहरू आफूबारेका समाजका सम्भाव्य भ्रमहरू दूर गर्न चाहन्छन्। उनी भन्छिन्, "यसले तपाइँलाई आफूले चाहेको सन्देश प्रवाह गर्न बाटो खोल्छ।"

त्यसपछि सामाजिक सञ्जालको प्रभाव पनि त छ। टिशर्टको सन्देशमार्फत् तपाइँ छोटोमा कुनै सन्देश दिन सक्नुहुन्छ। त्यस्तो कुरा मानिसहरूले सामाजिक सञ्जालहरूमा पनि लेख्ने गर्छन्।

एयाम्बर भन्छिन् कपडामा लेखिएका शब्दहरूभन्दा "इन्स्टाग्राममा राख्न लायक" सायद अरू केही हुँदैनन्।

सन्देशहरू अब सधैँ रहि रहलान्?

रोलिङ स्टोन सङ्गीत समूह जनाउने टिशर्टहरू
तस्बिरको क्याप्शन, केही लोगोहरू निकै प्रचलित भएका छन्।

निश्चय पनि!

"मेरो विचारमा शब्दहरू यस्ता राम्रा हतियार हुन्," क्यारिन भन्छिन्।

"तिनिहरूले मुख नखोलिकनै आफूबारे समाजलाई आफ्नो सन्देश प्रवाह गर्ने मौका प्रदान गर्छन्।"

उनीसँग एयाम्बर पनि सहमत छिन्।

भव्य र महँगा फ्याशन पहिरिने जमातमा त्यो चलन धेरै नहोला। तर कपडामा लेखिने वा छापिने शब्दमार्फत सन्देश प्रवाह गर्ने चलन वर्षौँवर्षसम्म पनि रहिरहने छ।

line

(यो आलेख बीबीसी रेडियो-४ को 'वर्ड अफ माउथ' कार्यक्रम सुनेर तयार पारिएको हो।)

line