हङ्गेरी डुङ्गा दुर्घटना: ठक्कर दिने पानीजहाजका क्याप्टेन पक्राउ, २१ अझै फेला परेनन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, दुर्घटनाको सीसीटिभीमा कैद दृश्य
Published

हङ्गेरीको राजधानी बुडापेस्टस्थित ड्यानुब नदीमा बुधवार राति भएको घातक डुङ्गा दुर्घटनामा प्रहरीले ठक्कर दिने पानीजहाजका क्याप्टेनलाई प्रकाउ गरेको छ।

डुङ्गाहरूले व्यस्त नदीमा असावधानीपूर्वक पानीजहाज चलाएको आरोपमा ६४ वर्षीय युक्रेनी नागरिकलाई पक्राउ गरिएको हो।

उक्त दुर्घटनामा अहिलेसम्म कम्तिमा सात जनाले ज्यान गुमाउनुका साथै २१ जना हराइरहेका छन्। हराएका यात्रुहरू जीवित फेला पर्ने सम्भावना कम रहेको बताइएको छ।

ठक्कर

सीसीटिभीमा कैद भएको भिडिओमा सानो डुङ्गालाई पछाडीबाट एउटा जहाजले ठक्कर दिएको देखिएको छ।

बुडापेस्टमा रहेको मर्गिट पुल नजिकै भएको उक्त दुर्घटनामा पल्टिएर डुबेको सानो डुङ्गामा दक्षिण कोरियाली पर्यटकहरू सवार थिए।

उक्त डुङ्गा ठक्कर खाएको सात सेकेन्डमा डुबेको थियो।

उद्धारकर्ताहरूले हराइरहेकाहरू जीवितै फेला पार्ने आशा कम हुँदै गएको बताएका छन्।
तस्बिरको क्याप्शन, उद्धारकर्ताहरूले हराइरहेकाहरू जीवितै फेला पार्ने आशा कम हुँदै गएको बताएका छन्

ड्यानुब नदीमा भएको यो असामान्य घटना हो। यो नदी डुङ्गाहरूले व्यस्त हुने गरेपनि जलयात्रा सुरक्षित मानिन्थ्यो।

दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ।

प्रत्यक्षदर्शी के भन्छन्?

ठूलो डुङ्गामा रहेकी एकजना अमेरिकी पर्यटक भन्छिन्: "हाम्रो डुङ्गाको अगाडीको भागले सानो डुङ्गाको पछाडिपट्टी छोयो। क्षणभरमै डुङ्गा पल्टियो र डुब्यो।"

डुङ्गा पल्टिएपछि केहीबेर मानिसहरूले पानीमा चिच्याउँदै सहयोग मागेको अर्का प्रत्यक्षदर्शीले बताए।

ड्यानुब नदि किनारमा जलाइएका मैनबत्ती
तस्बिरको क्याप्शन, ड्यानुब नदि किनारमा बालिएका मैनबत्ती

ठक्कर दिने डुङ्गामा भने सबै यात्रु सकुसल छन्।

उद्धार गरिएका सात जनाको शरीरको तापक्रम निक्कै घटेको भए पनि उनीहरूको अवस्था स्थिर रहेको एक अधिकारीले बताएका छन्।

दक्षिण कोरियाले पठायो टोली

दुर्घटनाग्रस्त डुङ्गामा ३० दक्षिण कोरियाली पर्यटक, चार पर्यटक गाइड र दुईजना चालक थिए।

उद्धारकर्ताहरूले हराइरहेकाहरू जीवितै फेला पार्ने आशा कम हुँदै गएको बताएका छन्।

दक्षिण कोरियाले विदेशमन्त्री सहितको उद्धारकर्ताहरूको एउटा टोली बुडापेस्ट पठाएको छ।

बुडापेस्ट जाने पर्यटकहरूका लागि ड्यानुब नदी आकर्षक गन्तव्य मानिन्छ।