हङ्गेरी डुङ्गा दुर्घटना: ड्यानुब नदीमा सात पर्यटकको मृत्यु, १९ दक्षिण कोरियाली बेपत्ता

ड्यानुब नदीमा उद्धार टोली
Published

हङ्गेरीको राजधानी बुडापेस्टस्थित ड्यानुब नदीमा एउटा डुङ्गा पल्टिँदा १९ जना बेपत्ता भएका तथा कम्तीमा सात जनाको मृत्यु भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

सो डुङ्गामा ३३ जना सवार थिए। तीमध्ये अधिकांश दक्षिण कोरियाबाट आएका पर्यटक भएको एमटीआई समाचारसंस्थाले उल्लेख गरेको छ।

स्थानीय समयानुसार बुधवार राति १० बजेतिर नदीको किनारमा बाँधेर अड्याइराखेको सो डुङ्गामा अर्को डुङ्गा आएर ठोक्किएपछि दुर्घटना भएको थियो।

बुडापेस्ट जाने पर्यटकहरूका लागि ड्यानुब नदी आकर्षणको केन्द्र मानिन्छ। ठूलो वर्षा भएका कारण नदीमा पानीको सतह बढेको र नदीको धार पनि शक्तिशाली भएको थियो।

सो दुईतले डुङ्गामा ४५ जना बसेर दृश्यावलोकन गर्न सकिन्थ्यो।

दक्षिण कोरियाको विदेश मन्त्रालयले दुर्घटनामा आफ्ना १९ नागरिक हराइरहेको पुष्टि गरेको छ।

उसले एउटा सरकारी टोली हङ्गेरी पठाउने योजना भएको बताएको छ।

पुलबाट दुर्घटनास्थल र नदीको निरीक्षण गर्दै प्रहरीहरू
तस्बिरको क्याप्शन, पुलबाट दुर्घटनास्थल र नदीको निरीक्षण गर्दै प्रहरीहरू
डुङ्गामा भएका अधिकांश पर्यटक एशियाली थिए
तस्बिरको क्याप्शन, डुङ्गामा भएका अधिकांश पर्यटक एशियाली भएको बताइएको छ
Presentational white space

ड्यानुब नदीमा बिहीवार पूर्वाह्ण खोज तथा उद्धार अभियान चलाइएको छ।

डुङ्गा, गोताखोर, प्रकाश तथा रेडार उपकरणको प्रयोग गरेर दुर्घटनास्थलबाट निकै तलसम्म नदीमा हराइरहेका पर्यटकहरूको खोजी भइरहेको छ।

समय घर्किँदै जाँदा हराएका व्यक्तिहरूलाई नदीले बगाएर अझ तल पुर्‍याउने र जीवितै उद्धार गर्न सकिने सम्भावना क्षीण हुने उद्धारकर्ताहरूले बताएका छन्।

खोजी कार्यमा न्याश्नल एम्बुलेन्स सर्भिस बुडापेस्टको मध्य भागबाट तल खटिएको तथा दक्षिणतिर ड्यानुब नदीमा अन्य डुङ्गाको आवागमनमा रोक लगाइएको समाचारसंस्था रोएटर्सले जनाएको छ।

Presentational grey line

यो पनि पढ्नुहोस्