तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
शिवपुरी-नागार्जुनको पानीको प्रयोग गरे बापत निकुञ्जद्वारा शुल्क माग
शिवपुरी जलाधार क्षेत्रको पानी वर्षौँदेखि नि:शुल्क प्रयोग गर्दै आएका उपभोक्ता समिति वा अन्य निकायले त्यहाँको पानी उपयोग गरे बापत शुल्क तिर्नु पर्ने नयाँ नियम बनाइएको छ।
जेठको पहिलो साता राजपत्रमा प्रकाशित भएको शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज नियमावली २०७६ मा निकुञ्जको जलस्रोत उपयोग गरे बापत शुल्क लाग्ने व्यवस्था गरिएको छ।
त्यस अनुसार जलस्रोत उपयोग गर्ने उपभोक्ता समिति वा सम्बन्धित निकायले उपभोक्तासँग लिएको शुल्कको केही हिस्सा निकुञ्ज कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ।
पूर्वमा मणिचुड डाँडादेखि पश्चिममा नुवाकोटको ककनी र नागर्जुन वनसम्म फैलिएको शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्र राजधानी काठमाण्डूको पानीको प्रमुख स्रोत हो। त्यस क्षेत्रमा करिब दैनिक १० लाख घन मिटर पानी उपलब्ध हुने निकुञ्जको अनुमान छ।
शिवपुरी वरपरका समूह तथा पानी आपूर्ति गर्ने निकायले वर्षौँदेखि शिवपुरीका जलाधार क्षेत्रको पानी सित्तैँमा उपयोग गर्दै आएका थिए।
अन नयाँ नियमावली कार्यान्वयनको क्रम सुरु हुने र फलस्वरूप आउने दिनमा शिवपुरी-नागार्जुनको पानी "दस्तुर नतिरिकन उपयोग गर्ने दिन समाप्त हुने" निकुञ्जका अधिकारीहरू बताउँछन्।
दस्तुर कति लाग्छ?
शिवपुरी तथा नागार्जुनका जलाधार क्षेत्रमा सङ्कलित हुने पानीको एक प्रमुख उपभोगकर्ता काठमाण्डू उपत्यका खानेपाली लिमिटेड (केयूकेएल) हो। केयूकेएलले प्रति महिना १० युनिट अर्थात १० हजार लिटर उपभोग गर्ने (ढल भएका क्षेत्रका) उपभोक्ताबाट १५० रुपैँया असुल्ने गरेको छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले बीबीसीसँग भने, "नियमावलीमा मध्यवर्ती क्षेत्रका उपभोक्ता समितिले प्रचलित दस्तुरको ५ प्रतिशत र मध्यवर्ती बाहिरका उपभोक्ताले त्यसको २० प्रतिशत शुल्क निकुञ्जलाई तिर्नुपर्ने व्यवस्था गरिएको छ।"
"अहिलेसम्म पानी बापत निकुञ्जले शून्य शुल्क लिने गरेकोमा अब शुल्क लाग्ने नियम बनाएका हौँ।"
पानी उपयोगकर्ताबाट वार्षिक ६ करोड रुपैँया उठ्ने अनुमान गरिएको पुर्जा पुनले बताए।
त्यो रकम के मा खर्च होला?
शिवपुरी क्षेत्र काठमाण्डू उपत्यकाबाट बग्ने मनहरा, वाग्मती, विष्णुमती, रुद्रमती जस्ता नदीहरूको मुहान हो।
झन्डै १६० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको यो निकुञ्ज क्षेत्रबाट उत्तरमा सिन्धुपाल्चोक र नुवाकोट र पश्चिममा धादिङ जिल्लातर्फ पनि स-साना नदीनाला बग्ने गरेका छन्।
निकुञ्ज प्रवेश गर्ने स्वदेशी तथा विदेशी आगन्तुकहरूबाट पनि निकुञ्जले रकम उठाउने गरेको छ। केही वर्षअघि मात्रै निकुञ्जसँग जोडिएका गाउँवस्तीलाई समेटेर मध्यवर्ती क्षेत्र घोषणा गरिएको थियो।
निकुञ्जका अधिकारीहरू भन्छन् नयाँ नियमावली मार्फत निकुञ्जले पहिलो पटक जलस्रोत उपयोग गरेबापत शुल्क उठाउन लागेको हो।
उनीहरू भन्छन् जलस्रोत उपयोग गरे बापत उठ्ने शुल्क "निकुञ्जका पानी मुहान र जलाधार क्षेत्रको संरक्षण"मा खर्च गरिनेछ।