यी महिलाले रेस्टुराँ खोल्न ब्रिटेनमा ब्यारिस्टरको राम्रो जागिर छाडिन्

बीबीसीको साप्ताहिक शृङ्खला 'द बोस'मा विश्वका सफल व्यापारीहरूबारे चर्चा गरिन्छ। यो हप्ता हामीले ब्रिटेनस्थित भारतीय रेस्टुराँ चेन मोग्ली स्ट्रीट फूडकी ४८ वर्षीया संस्थापक निशा कतोनासँग कुरा गरेका छौँ।

ब्यारिस्टरका रूपमा २० वर्ष काम गरेपछि निशा कतोनाले त्यसलाई छाडेर रेष्टुराँ खोल्ने निर्णय गर्दा उनका साथी र परिवारका सदस्यले उनी अधवैँसे उमेरमा हुने अन्योलम परेको भनेर अर्थ्याए।

उनले राम्रो आय हुने काम छोड्न लागेकी थिइन् र ऋण पनि बाँकी थियो। आफ्नो निर्णय जोखिमपूर्ण छ भन्ने निशालाई थाहा थियो।

तर व्यावसायिक शेफ बन्ने उनको पुरानो इच्छा थियो।

कारोबार

अतः सन् २०१४ मा लिभरपुलमा पूर्णकालीन ब्यारिस्टरका रूपमा काम गर्दै गर्दा उनले आफ्नो सपनालाई पछ्याइन् र मोग्ली खोलिन्।

भारतीय मौलिक परिकारहरू पस्कने द लिभरपुल रेस्टुराँले छिट्टै लय समात्यो र त्यसयता ब्रिटेनभरि उसको चेनमा एक करोड पाउन्ड स्टर्लिङ बराबरको कारोबार हुन्छ।

"मोग्ली मेरी दुई छोरीको उपनाम हो जसको अर्थ हुन्छ उद्दण्ड बच्चा," नामको अर्थबारे निशाले भनिन्।

कतिपय मानिसले जोड्ने गरेको चर्चित 'जङ्गल बुक' का पात्रसँग त्यो नामको कुनै सम्बन्ध नभएको उनले बताइन्।

"मेरी छोरीहरूले लोगो रोजे र उनीहरूकै उपनामबाट रेस्टुराँको नाम राखियो।"

भारतबाट सन् १९६० को दशकमा ब्रिटेनको ल्याङ्कशर बसाइँ सरेकी निशाको भारतीय परिकारसँग खुबै लगाव थियो र उनी बिदाका बेला नयाँ परिकारहरूको स्वाद लिनेगरी डुल्ने योजना बनाउने गर्थिन्।

आफूले पाककला विश्वका सबैतिरबाट सिकेको उनी बताउँछिन्।

तर व्यावसायिक शेफबाट नभई घरघरबाट खासगरी हजुरआमाहरूबाट सिकेको उनी बताउँछिन्।

मोग्ली खोल्नुअघि उनले आफैँले पाककलाको तालिम दिइन्, उनी आफैँले युट्युब च्यानल चलाइन्।

उनले बजारबारे थुप्रै सोधखोज गरिन्। उदाहरणका लागि रेस्टुराँहरूले भान्सा कसरी सञ्चालन गर्छन् भन्ने कुरा हेर्न घण्टौँसम्म रेस्टुँरा छेउमा उभिइरहन्थिन्।

निशा भन्छिन्, "मोग्ली भनेको भारतीयहरू घरमा र सडकमा कसरी खान्छन् भन्नेबारेमा हो, जुन ब्रिटेनका परम्परागत रेस्टुराँहरूमा देख्न पाइँदैन।"

पारिवारिक तरिकाहरूमा आधारित आफ्नो रेस्टुराँका परिकारहरू "साधारण, ताजा र स्वादिलो" हुने गरेको उनी बताउँछिन्।

"म चाहन्छु मान्छेले मेरी हजुरआमाले कसरी पकाउनुहुन्थ्यो भन्ने बुझून्। हामी भारतीयहरू यसरी खाना खान्छौँ।"

भारतीय परिकारप्रतिको उनको लगावले नै उनले तीनवटा पुस्तक पनि लेखिसकेकी छिन्- पिम्प माई राइस, द स्पाइस ट्री र मोग्ली स्ट्रीट फूड।

"म अझै सम्झिन्छु जब मैले पहिलो किताब लेखेँ। मैले त्यसअघि कहिल्यै पुस्तक लेखेकी थिइनँ। अनि मलाई लाग्यो कसरी किताब छापिने होला? मैले जेमी ओलिभरले लेखेका केही किताब पनि हेरेँ।"

"उनकी एक प्रतिनिधि थिइन् र मैले आफ्नो प्रस्ताव पठाएँ। त्यसको १० मिनेटपछि उनले मलाई के हामी सोमवार भेट्न सक्छौँ भनेर लेखिन्।"

आफू अहिले सफल भए पनि पिहलो रेस्टुराँ चलाउन आफूलाई सहज नभएको उनी बताउँछिन्।

ब्रिटेनमा सन् १९७० को दशककी आप्रवासी निशाले आलोचनाबाट असर नपर्ने रूपमा आफूलाई विकास गरेकी थिइन्। लिभरपुलमा एशियाली मूलाबाट पहिलो ब्यारिस्टर हुने उनी पहिलो महिला थिइन्।

तर पुरुषहरूको प्रभुत्व रहेको रेस्टुराँ व्यवसायमा प्रवेश गर्दा झेल्नुपर्ने दबावका लागि उनी तयार थिइनन्।

"मैले मोग्ली सुरु गर्न लाग्दा साथीभाइ तथा परिवारले गाली गरे। छोरीहरूलाई पर्याप्त समय दिन सकिनँ।"

"मलाई लाग्यो म श्रीमान् भएको भए अथवा पुरुष भएको भए मैले त्यस्ता आलोचना खेप्नु पर्दैनथियो।"

उनी भन्छिन्, "आफूले बाटो देखाउने कोही महिला भइदिएको भए राम्रो हुने थियो।"

अहिले म्यान्चेस्टर, बर्मिङ्अम र अक्स्फोर्डमा निशाका सातवटा रेस्टुराँ सञ्चालनमा छन्।

यो पनि पढ्नुहोस्

एशियन क्याटरिङ महासङ्घका प्रमुख यावर खान भन्छन्, "चार वर्षको अवधिमा निशाले एउटा वा दुइटा नभई सातवटा रेस्टुराँ चलाउनु भनेको अहिलेको प्रतिस्पर्धात्मक बजारमा उनले राम्रो काम गरिरहेकी छन् भन्ने हो।"

चालीस वर्षपछिको उमेरमा जागिर छाडेर अर्को काम थाल्न "आँट र साहस" चाहिने उनी बताउँछन्।

"रेस्टुराँहरू सञ्चालनका लागि दक्षिण एशियाली महिलाहरूलाई निशाजस्ता थप प्रेरक व्यक्ति चाहिन्छ।"

यसै वर्षको आरम्भतिर ब्रिटिश खाद्य उद्योगमा पुर्‍याएको योगदानबापत उनलाई सम्मानित गरियो।