इन्जिन बिग्रिएर नर्वेनजिकै समुद्रमा अलपत्र परेको पानीजहाजबाट सयौँको उद्धार

भिडिओ क्याप्शन सुरु हुँदैछ, पानीजहाजभित्र यस्तो देखिएको थियो
Published

इन्जिन बिग्रिएर नर्वेनजिकै समुद्रको बीचमा अलपत्र परेको एउटा पानीजहाजका सयौँ यात्रुको उद्धार गरिएको छ।

'द भाइकिङ स्काई' नामक सो पानीजहाजमा रहेका १३ सय ७५ जनामध्ये झन्डै पाँच सय जनाको उद्धार हेलिकप्टरबाट गरिएको अधिकारीहरूले बताएका छन्।

अधिकांश यात्रु ब्रिटिश र अमेरिकी नागरिक भएको बताइएको छ।

समुद्रमा फसेको उक्त जहाज चट्टानहरूसँग ठोकिएर दुर्घटनाग्रस्त हुनबाट जोगिएको थियो।

नर्वे पानीजहाज
तस्बिरको क्याप्शन, 'द भाइकिङ स्काई' नर्वेको ट्रुमसुबाट स्टुहभ्याङ्गरतिर जाँदै थियो

"रातको समयमा समुद्रमा निकै ठूलो छाल थियो। पानीजहाज घुमिरह्यो। हामी बिहानको नास्ताका लागि गयौँ। र दिउँसोको चलचित्र हेर्न जाँदै थियौ। यसैबीच अकस्मात् बिजुली गयो," पानीजहाजमा सवार दक्षिण इङ्ग्ल्यान्डका डेरिक ब्राउनीले बताए।

"हामीलाई हेलिकप्टरबाट उद्धार गरियो जुन निकै डर लाग्दो अनुभव थियो।"

नर्वेको सरकारी सञ्चारमाध्यम एनआरकेसँग कुराकानीका गदै अर्की यात्रु जेनेट जकोवले आफूले त्यति डरलाग्दो अवस्था कहिल्यै नदेखेको बताइन्।

"म प्रार्थना गर्न थालेँ। पानीजहाजमा सवार सबै यात्रुको सुरक्षाको लागि प्रार्थना गरे," उनले भनिन्।

"त्यसपछिको हेलिकप्टर यात्रा निकै डर लाग्दो थियो।"

पानीजहाजमा रहेको क्यामेराले कैद गरेको भिडिओले पानीजहाज ढल्कँदा फर्निचर सरेको देखाउँछ।

नर्वेको ट्रुमसुबाट स्टुहभ्याङ्गरतिर गरेको उक्त पानीजहाजको इन्जिनमा शनिवार दिउँसो समस्या देखिएको थियो।

उद्धार
तस्बिरको क्याप्शन, उद्धार गरेर जमिनमा ल्याइएकाहरूलाई एउटा खेलकुद परिसरमा लगिएको छ

उद्धारकार्यका लागि पाँचवटा हेलिकप्टर र ठूलो सङ्ख्यामा अरू पानीजहाज परिचालन गरिएको थियो।

उद्धारकार्यमा खटिएको अर्को एउटा पानीजहाजको इन्जिनमा समेत समस्या देखिएको थियो।

उक्त पानीजहाजलाई सहयोग गर्न पुगेका डुङ्गाहरूमध्ये एकका चालक ज्यान एरिक फिस्कर्स्‌ट्र्यान्ड 'आफ्टनपोस्टन' पत्रिकालाई बताएअनुसार इन्जिन समयमै नचलेको र पानीजहाजलाई नबाँधिएको भए ढुङ्गासँग ठोकिन सक्ने सम्भावना थियो।

नर्वे पानीजहाज

उद्धार गरेर जमिनमा ल्याइएका व्यक्तिहरूलाई एउटा खेलकुद परिसरमा लगिएको थियो। उनीहरूलाई स्थानीय होटलहरूमा राख्ने व्यवस्था मिलाइएको छ।

केही व्यक्तिलाई अस्पताल लगिएको छ।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line