फेसबुक: 'रोजगारीसम्बन्धी विज्ञापनमा महिलामाथि विभेद'

फेसबुक
तस्बिरको क्याप्शन, रोजगारदाताले पुरुष फेसबुक प्रयोगकर्तालाई मात्र लक्षित गरी विज्ञापन गरेको पाइनु गैर कानुनी बताइएको छ।
Published

भ्यान चलाउने, छत छाउने, प्रहरीको काम गर्ने - सबै काम पुरुषका लागि। फेसबुकमा प्राय यस्तै विज्ञापन देखिएका छन्।

अमेरिकन सिभिल लिवर्टिज युनियन (एसीएलयू)ले मंगलबार अमेरिकाको समान रोजगार अवसरसम्बन्धी काम गर्ने निकाय इक्वेल इम्प्लोयमेन्ट अपरच्युनिटी कमिसन (ईईओसी) समक्ष फेसबुकको पुरुषकेन्द्रित विज्ञापन प्रणालीबारे उजुरी गरेको छ।

एसीएलयूले फेसबुकमा देखिएको सो अभ्यास गैरकानुनी भनेको छ।

उजुरीमा १० विभिन्न रोजगारी दिने संस्थाहरूको फेसबुक पोस्टहरूबारे उजागर गरिएको छ।

कतिपय रोजगारदाताले पुरुष फेसबुक प्रयोगकर्तालाई मात्र लक्षित गरी विज्ञापन गरेको पाइयो जुन महिला फेसबुक प्रयोगकर्ताको पहुँचभन्दा बाहिर देखियो।

उजुरी

ओहायो, पेन्सिल्भेनिया र इलिनोइसमा बस्ने तीन महिलाहरूले परम्परागत रूपमा पुरुषको वर्चस्व रहेको कामको विज्ञापन आफूहरूको पहुँचमा नभएको एसीएलयूको गुनासोमा समेटिएको छ।

प्रोपब्लिका नामक संस्थाले गरेको एउटा अनुसन्धानमा समेत उस्तै किसिमका धेरै नतिजाहरू देखा परेको बताइएको छ।

यातायातसम्बन्धी रोजगारी दिने एउटा अमेरिकी संस्था उबरको ९१ वटा विज्ञापनमध्ये एउटा मात्र महिलालक्षित, तीनवटा सबैको पहुँचमा र बाँकी सबै पुरुषलक्षित पाइएका थिए।

छानविन
तस्बिरको क्याप्शन, फेसबुकले एसीएलयुको गुनासोमाथि छानविन शुरु गरेको छ।

छानबिन

तर फेसबुकले रोजगारीको सवालमा महिलालाई विभेद गरेको घट्नाहरूको आँकडाबारे थप विचार गर्नुपर्ने बताइएको छ।

कुनै फेसबुक प्रयोगकर्तालाई लागेकै भरमा फेसबुकमाथिको आरोप निर्क्यौल गर्न नसकिने बताइएको छ।

बीबीसीलाई प्राप्त जानकारीअनुसार फेसबुकले आफूमाथि लागेको आरोप सामना गर्न तथ्याङ्क र जानकारीहरू संकलन गर्दैछ।

एसीएलयूको महिला अधिकार परियोजनाकी ग्यालेन शेरविनले भनिन् "परम्परागत रूपमा पुरुषहरूले मात्र गर्ने कामको विज्ञापन पुरुषहरूलाई मात्र लक्षित गरी फेसबुकमा देखापर्दा त्यस्ता कामहरूमा महिलाहरूले उपस्थितीनै जनाउन नपाउने अवस्था देखा परिरहेको छ। यसले लैङ्गिक पहिचान खुलाउन नचाहने मानिसहरूलाई समेत रोजगारीको अवसरबाट वञ्चित गरेको छ।"

फेसबुकले एसीएलयुको गुनासोमाथि छानबिन सुरु गरेको र आफ्नै अभ्यासको बचाउ गर्ने बताएको छ।

फेसबुकका प्रवक्ता जो ओस्बोर्नले फेसबुकमा विभेदका लागि ठाउँ नभएको बताए।

उनले भने, "जातीय लैङ्गिय वा अन्य कुनैपनि किसिमका विभेद फेसबुकमा निषेधित छ। हामीले विगतका वर्षहरूदेखि नै फेसबुकको दुरुपयोग रोक्ने बलियो नीति बनाएका छौँ।"

फेसबुकले भर्खरै मात्र ५ हजार त्यस्ता विज्ञापनहरू हटाएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘फेसबुक तथ्याङ्कको चुनावी प्रयोग'