कतार र साउदी अरेबियाबीच ‘अनलाइन’ युद्ध

कतार बोट
Published

सानो तथा धनी मुलुक कतार र उसका ठूला छिमेकीहरू—साउदी अरेबिया र संयुक्त अरब एमिरेट्स (युएइ) लगायतबीचको एक वर्ष लामो राजनीतिक द्वन्द्वमा नयाँ अस्त्रको सहायता लिइएको छ।

ती अस्त्र भनेको 'बोट्स', झुटा समाचार र अनधिकृत पहुँच 'ह्याकिङ्' हुन्।

बोट्स त्यस्ता स्वचालित एकाउन्ट हुन् जुनले सामाजिक सञ्जालमा राखिएका सामग्रीलाई कृत्रिम रूपमा बढावा दिएर आमधारणा प्रभावित पार्ने प्रयास गर्छन्।

मे २४, २०१७ मा कतारको आधिकारिक समाचार संस्था 'क्यूएनए'मा उक्त देशका अमिर शेख तमिम बिन हमाद अल-थानीले आश्चार्यजनक भाषण गरेको भन्ने विवरण आए।

उनका केही टिप्पणी 'क्यूएनए'का सामाजिक सञ्जालका एकाउन्टमा आए।

उसको युट्युब च्यानलमा राखिएको भिडिओको तल्लो भागमा देखिने 'न्यूज टिकर'मा पनि ती टिप्पणी आए।

ती टिप्पणीमा अमिरले इस्लामिक समूहहरू हमास, हेज्बुल्लाह र मुस्लिम ब्रदरहुडको प्रशंसा गरेको देखिन्थ्यो।

अनि साउदी अरेबियाको कट्टरविरोधी इरानको पनि।

कतारका अमिर
तस्बिरको क्याप्शन, कतारी नागरिकहरूले दोहास्थित अमिरको भित्ते-चित्रमा उनीप्रति समर्थन जनाएका छन्

तर उक्त समाचार 'क्यूएनए'को वेबसाइटबाट तुरुन्तै हरायो।

कतारको विदेश मन्त्रालयले उनले त्यस्तो भाषणनै नगरेको भन्दै वक्तव्य जारी गर्‍यो।

कतारले 'क्यूएनए' ह्याकिङको शिकार भएको दाबी गर्‍यो।

देशका प्रमुख नेता र विदेश नीतिबारे झुटा समाचार फैलाउन नियोजित रूपमा त्यस्तो ह्याकिङ भएको कतारले बतायो।

कतारीहरूले उक्त घटनापछाडि युएइको हात रहेको आरोप लगाए।

'द वासिङटन पोस्ट' अखबारमा छापिएको समाचारमा पनि अमेरिकी गुप्तचर सूत्रहरूलाई उद्धृत गर्दै त्यस्तो आरोप लगाइएको थियो।

युएइले ती विवरणहरूको खण्डन गर्‍यो।

तथापि अमिरको भाषणसम्बन्धी समाचार केही मिनेटमै साउदी र युएइका टेलिभिजनहरू—अल अरेबिया र स्काइ न्यूज अरेबियाले पनि प्रसारण गरे।

दुवै टेलिभिजनले कतारमाथि अतिवादी समूहलाई आर्थिक सहायता दिएको तथा उक्त क्षेत्रलाई अस्थिर बनाएको आरोप लगाए।

त्यसको केही समयपछि नै अर्को 'ह्याकिङ'को खबर आयो र त्यो यसपटक युएइप्रति लक्षित थियो।

अमेरिकाका लागि युएइका राजदूत युसेफ अल-ओताइबाका इमेल सन्देशहरू सञ्चारमाध्यममा चुहाइयो।

त्यसपछि उनको निजी जीवनबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा लामा र सनसनीपूर्ण लेख आए।

विवाद

जुन ५, २०१७ मा साउदी अरेबिया, युएइ, बहराइन, इजिप्टसहितका नौवटा मुलुकले कतारसँग सम्बन्ध तोडे।

उनीहरूले कतारी नागरिकहरूलाई देश निकाला गरे, कूटनीतिक सम्बन्ध तोडे, कतारको एकमात्र भू-सीमा बन्द गराए, हवाई मार्ग बन्द गराए र सबै व्यापार स्थगित गरे।

'एन्टी-टेरर क्वार्टेट' भनेर स्वघोषित समूहले कतारसमक्ष विभिन्न १३ वटा माग राख्दै ती १० दिनभित्र पूरा हुनुपर्ने बतायो।

उक्त समूहको नेतृत्व साउदी अरेबियाका नयाँ युवराज महोम्मद बिन सलमानले गरेका थिए।

ती मागहरूमा अल जजिरा टेलिभिजन बन्द गर्नुपर्ने तथा इरानसँगको सहकार्य तोड्नुपर्ने जस्ता विषय पनि थिए।

अल जजिरा
तस्बिरको क्याप्शन, कतारले अल जजिरा बन्द गर्न अस्वीकार गरेको छ

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ती मुलुकहरूको कदमलाई समर्थन जनाउँदै ट्वीट गरे।

त्यसले, ट्वीटरमा सुरु भइसकेको लडाइँ थप चर्काइदियो।

कतारको पक्ष र विपक्षमा ह्यासट्यागहरूको ट्वीटरमा बाढी नै आयो।

बोट्सको लडाइँ

अमिर
तस्बिरको क्याप्शन, ट्वीटर बोट्सले कतारका अमिरको बिगारिएको यस्तो तस्बिर फैलाएका थिए

कतारी पक्षमा "तमिम द ग्लोरियस" अर्थात् तमिम महान र "कतार इज नट अलोन" अर्थात् कतार एक्लो छैन भन्ने जस्ता ह्यासट्याग ट्वीटरमा देखिए।

त्यसैबेला साउदी अरेबिया र युएइले शेख तमिम "गद्दाफी अफ द गल्फ" अर्थात् "खाडीको गद्दाफी"भएको आरोप लगाए।

तथापि बीबीसी अरेबिकको एउटा खोजले ती ह्यासट्याग प्रयोग गरेर भएका ट्वीट 'बोट्स' भनिने जाली एकाउन्टबाट आएको देखियो।

बोट्स त्यस्ता स्वचालित एकाउन्ट हुन् जुनले सामाजिक सञ्जालका 'पोस्ट'लाई कृत्रिम रूपमा बढावा दिएर मानिसहरूको धारणा प्रभावित पार्ने प्रयास गर्छन्।

साउदी सल्लाहकार
तस्बिरको क्याप्शन, कतार विरोधी बोट्सले अधिकांश समय यी साउदी सल्लाहकारका ट्वीट फैलाउने गरेका थिए

"जतासुकै झुटा समाचार"

कतार तनावसँग सम्बन्धित ह्याट्याग अझै पनि पाइन्छन् र 'ह्याकिङ लडाइँ' २०१८ मा पनि जारी छ।

उक्त क्षेत्रका टेलिभिजनहरूले एकअर्कामाथि आरोप लगाउन छाडेका छैनन्।

उनीहरूले कतार संकटले जनजीवन पारेको प्रभावबारेका समाचार पनि फरक ढंगले प्रस्तुत गरे।

कतार

साउदी लगानी रहेको अल अरेबियाले कतारका सुपरमार्केटमा खाली दराज रहेको भन्ने खालका दृश्य देखायो।

जबकि कतारी लगानी रहेको अल जजिराले मानिसहरूले पहिलेकै जस्तो सामान्य ढङ्गले जीवनयापन गरिरहेको दृश्य देखायो।

एसओएएसस्थित अरब सञ्चारमाध्यम र राजनीतिक सञ्चारकी वरिष्ठ अध्यापिका डिना मटार भन्छिन्, "यो केवल राजनीतिक लडाइँ होइन। यो सञ्चारमाध्यमसँग जोडिएको लडाइँ पनि हो। अरब क्षेत्रमा पश्चिमा देशहरूमा जस्तै ठूलो समस्या छ। झुटा समाचार जतासुकै छन्"।