कतार जाने नेपाली कामदार चिन्तित

बैदेशिक रोजगारीमा जान क्रममा कामदार
Published

इस्लामिक अतिवादीहरूलाई सहयोग गरेको भन्दै अरब राष्ट्रहरुले कतारसँग कूटनीतिक सम्बन्ध विच्छेद गरेसँगै कतार जाने आप्रवासी कामदारहरुले चिन्ता व्यक्त गरेका छन्।

उनीहरुले यो संकटबाट पर्न सक्ने असरबारे संवेदनशील हुन सरकारको ध्यानाकर्षण पनि गराएका छन्।

कतारस्थित साथीहरुको आश्वासनपछि पूर्व निर्धारीत रुट परिवर्तनगरी भारत हुँदै कतार जान लागेका मोरङ्ग, मधुमल्लाका ३५ वर्षीय सन्तकुमार भण्डारीले कतारको पछिल्लो स्थितिबारे चिन्ता ब्यक्त गरे।

उनले भने, ''कतारलाई नाकाबन्दी गरेकोले त्यहाँ काम गर्ने नेपालीलाई समस्या हुन्छ कि भन्ने मलाई लागेको छ। त्यो रोजिरोटीको ठाउँ हो, यहाँ रोजगारी छैन जानुपर्ने, त्यहीं हो। के गर्ने?''

भण्डारी जस्तै नवलपरासी, बन्जरियाका ३८ वर्षीय लक्ष्मण भर पनि त्यस्तै अन्योल र चिन्तामा छन्।

गत सोमबार नै कतार उड्नुपर्ने उनले आफ्नो उडान एक, दुई दिन पर सारे।

म्यानपावर कम्पनीले समस्या नहुने प्रतिवद्धता ब्यक्त गरेपछि भारतको मुम्बई हुँदै कतार जान तयार भएका उनले भने, ''केही देशले आतंकवादको कारण देखाउँदै नाकाबन्दी गरेको भन्ने थाहा पाएको हो। त्यो बाहेक मलाई केही थाहा छैन के हुन्छ भन्ने वारेमा। नाकाबन्दीले कन्फ्युज नै छु, तर समस्या भए फर्किनु पर्ला।''

नाकान्दी

नेपाली आप्रवासी कामदारहरुका लागि महत्वपूर्ण गन्तव्य मानिने कतार जानका लागि बिहीबार त्यसतर्फ प्रस्थान गर्नुअघि हातमा हरियो पासपोर्ट बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामबद्ध अन्य मानिसहरुमा पनि त्यस्तै चिन्ता र अन्योल देखिन्थ्यो।

कतारवाट फर्कनेक्रममा नेपाली कामदारहरु

साउदी अरेबिया, इजिप्ट, यूएई तथा बहराइनले कतारसंगको हवाइ, जमिन तथा समुन्द्री आवतजावत बन्द गरेको समाचार सार्वजनिक भएपछि नेपाली कामदारहरुले श्रम स्वीकृति लिने क्रम घटेको श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले जनाएको छ।

कतारको पछिल्लो परिस्थितिले नेपाली कामदारलाई पर्न सक्ने असरबारे प्रश्न गर्दा वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन सापकोटाले भने, ''हाल कतारमा कार्यरत कामदारहरुलाई कुनैपनि असर वा समस्या छैन भन्ने जानकारी हामीलाई कतारस्थित नेपाली दूतावास र त्यहाँस्थित श्रम सहचारीहरुले दिनुभएको छ। यतावाट जानेहरुले के कसो हो भन्ने बुझेर जाने हुनाले हाल श्रम स्वीकृति लिने क्रम घट्दो छ।''

श्रम स्वीकृति

गत जेठ २२ गते ४९५ जनाले श्रम स्वीकृति लिएकोमा २३ गते २३७ हुँदै बुधवार २५ जनामा सिमित भएको प्रवक्ता सापकोटाले बताए।

कतारस्थित एक कुरियर कम्पनीमा काम गरी सात महिनापछि बिहीबार नेपाल फर्केका झापाका २८ वर्षीय सरोज लम्सालले तत्काल त्यहाँ कार्यरत नेपाली कामदारहरुमा ठोस असर नदेखिएपनि तलब घट्नसक्ने र महङ्गी बढ्नसक्ने चिन्ता रहेको बताए।

कतारका ९० प्रतिशत जनसंख्या आप्रवासी कामदार हुन् र ती मध्ये करिब ४ लाख नेपाली कामदारहरु त्यहाँ कार्यरत रहेको वैदेशिक रोजगार विभागको तथ्याँङ्क रहेको छ।

आगामी २०२२ मा विश्वकप फुटबल प्रतियोगिताको तयारी गरिरहेको कतारले हाल निर्माण क्षेत्रमा थुप्रै रोजगारी सृजना गरेको बताइन्छ।