फ्रान्सको राष्ट्रिय दिवसमा ट्रम्प सहभागी

परेड

तस्बिर स्रोत, Reuters

Published

अमेरिकी राष्ट्रपति प्रमुख अतिथि रहेको बास्टिल डेको परेडमा फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले अमेरिका र फ्रान्सको मित्रताको प्रशंसा गरेका छन्।

अमेरिका प्रथम विश्व युद्धमा होमिएको एक सय वर्ष पुगेको दिनको सम्झनामा सो परेड आयोजना गरिएको थियो।

फ्रान्स र अमेरिकाका सैनिकहरु शँ-जेलीजेमा सँगै हिँडीरहेका सो परेडमा केही अमेरिकी सैनिकले सन् १९१७ को सैनिक पोशाक लगाएका थिए।

परेडमा घोडा, विमान, र हेलिकप्टरहरु पनि समावेश गरिएका थिए र ट्रम्पले सबै कार्यक्रममा ताली पिटेर स्वागत गरिरहेका थिए भने सैनिक जीपमा उभिएका फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोंले सेनाको निरीक्षण गरेका थिए।

मतभेद

ट्रम्पले स्वतन्त्रताको लडाईंले अमेरिका र फ्रान्सलाई एकतावद्ध तुल्याएको बताएका थिए र त्यो भन्दा अघि उनले फ्रान्ससंगको सम्बन्ध अझ बलियो भएको भन्दै ट्वीट गरेका थिए।

तर दुई देशबीच जलवायु परिवर्तन लगायतका मुद्दामा ठूला नीतिगत मतभेद छन्।

माक्रोंले सन् २०१५ मा गरिएको प्यारिस सहमतिका पक्षमा तर्क गरेपछि ट्रम्पले जलवायु परिवर्तन सम्बन्धी आफ्नो धारणामाथि पुनर्विचार गर्ने जनाएका छन्।

गत महिना उनले अमेरिका सो सहमतिबाट बाहिरिने बताएका थिए र अमेरिकी व्यापारलाई घाटा नहुने किसिमको नयाँ सहमतितर्फ कदम चाल्ने उनले इंगित गरेका थिए।