चीनले ड्रोन फिर्ता गर्छ: पेन्टागन

अमेरिका चीन ड्रोन
तस्बिरको क्याप्शन, अमेरिकाले यो तस्वीरमा देखाइएको जस्तो ड्रोनले समुन्द्रको पानीको नुनिलोपन, तापक्रम र पानीको पारदर्शिता नापिरहेको थियो भनेको छ
Published

साउथ चाइना सीबाट चीनले कब्जामा लिएको पानीभित्र चल्ने ड्रोन फिर्ता लिने विषयमा 'समझदारी बनेको' पेन्टागनले बताएको छ।

चीनले बिहीबार अन्तर्राष्ट्रिय पानीबाट अमेरिकी यान आफ्नो नियन्त्रणमा लिएको थियो।

चीनले किन कब्जामा लिएको बताएको छैन। चीनले अमेरिकालाई उक्त घटना बढाइ चढाइ गरेको आरोप लगाएको छ।

राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले चीनलाई चोरी गरेको आरोप लगाएका छन्।

सैन्य विवाद

उनले आफ्नो ट्वीटमा भनेका छन्, "चीनले चोरी गरेको ड्रोन हामीलाई चाहिँदैन भन्दिए हुन्छ।"

ट्रम्पले यस अघि पनि यो महिनाको शुरुमा चीन ताइवान द्वन्द्वबारे अमेरिकी प्रचलन तोड्दै ताइवानकी राष्ट्रपतिसँग फोन कुराकानी गरेका थिए।

यो घटना दशकौं यताकै दुई देशबीचको प्रत्यक्ष सैन्य विवाद हो।

पेन्टागने भनेको छ अनम्यान्ड अण्डरवाटर भेहिकल (यूयूभी) भनिने ड्रोन कब्जामा लिइँदा उक्त यानले वैज्ञानिक अनुसन्धान गरिरहेको थियो। हामीले चीनलाई त्यो यान तत्काल फिर्ता दिन भनेका छौं।

भविष्यमा यस्तो कारवाही नगर्न पेन्टागनले चीनलाई चेतावनी दिएको बताइएको छ।

शनिबार पेन्टागनका एकजना प्रवक्ताले चीनसँग सहमतिमा पुगेको बताए।

सहमति

पेन्टागन प्रवक्ता पीटर कुकले विज्ञप्तीमा भनेका छन्, "चिनिया अधिकारीहरुसँग प्रत्यक्ष संलग्न भएर गरिएको कुराकानीपछि चीनले उक्त ड्रोन अमेरिकालाई फिर्ता गर्नेबारे हामीले एउटा सहमति गरेका छौं।"

अमेरिका
तस्बिरको क्याप्शन, यूसएन बोडिच पानी जहाज उक्त क्षेत्रमा अनुसन्धान गर्न गएको थियो

चिनिया रक्षा मन्त्रालयले उक्त यान 'उपयुक्त तवर'ले फिर्ता गरिने बताएको छ। त्यो कहिले हुन्छ स्पष्ट भनिएको छैन।

उसले अघिल्लो अमेरिकी प्रतिक्रियालाई 'अनुपयुक्त र असहयोगी' भन्दै आलोचना गरेको थियो।

चिनिया सैनिकको पानी जहाजले बिहीबार फिलिपिन्स नजिकै साउथ चाइना सीबाट मानव रहित ड्रोन कब्जा गरेको थियो।

उक्त घटनाबारे अमेरिकाले चीनसमक्ष औपचारिक विरोध गरेको थियो।

पर्यवेक्षकहरुले कब्जालाई दुई देशबीच सन २००१ यताकै महवपूर्ण सैन्य घटना भनेका छन्।

सन २००१ मा आकाशमै अमेरिकी सेनाको सुपरिवेक्षण विमान र चिनिया लडाकू जेट एकापसमा ठोक्किँदा एकजना चिनिया चालकको मृत्यु भएको थियो।

पछिल्लो घटनाले साउथ चाइना सीमा चीनको बढ्दो सैन्य उपस्थितिप्रति अमेरिकाको चिन्ता झन बढ्न सक्छ।