इथियोपियन एयरलाइन्सः विमान दुर्घटनामा सवार सबैको मृत्यु

विमान
Published
पढ्ने समय: १ मिनेट

इथियोपियाको आदिस अबाबाबाट केन्याको नाइरोबी उडेको इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमान दुर्घटना हुँदा त्यसमा सवार सबैको ज्यान गएको सो एयरलाइन्सले जनाएको छ।

एयरलाइन्सका अनुसार विमानमा १४९ जना यात्रु र चालक दलका आठजना सदस्य थिए। यात्रुमध्ये एकजना नेपाली पनि रहेको एयरलाइन्सले जनाएको छ।

उडेको ६ मिनेटपछि स्थानीय समय अनुसार आइतवार बिहान ८ बजेर ४४ मिनेटमा विमान दुर्घटना भएको एयरलाइन्सका एकजना प्रवक्ताले बताएका छन्।

दुर्घटनाको कारण थाहा हुन सकेको छैन। एयरलाइन्सका अनुसार विमानमा ३० भन्दा बढी मुलुकका यात्रु थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, विमान दुर्घटना हुँदा प्रत्यक्षदर्शीले के देखे

हताहती

एकजना प्रत्यक्षदर्शीले बीबीसीलाई बताए अनुसार विमान खस्दा त्यसमा आगो लागिरहेको थियो।

उनले भने, "विस्फोटको आवाज र आगो यति कडा थियो कि म नजिक जाने आँट गर्न सकिनँ।"

यसअघि एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको थियो, "दुर्घटनास्थलमा एथियोपियन एयरलाइन्सका कर्मचारीलाई पठाइनेछ र आपत्‌कालीन सहायताका लागि सम्भावित सबै सहयोग गरिनेछ।"

"दुर्घटनामा ज्यान गुमाउने मानिसहरूको परिवारप्रति गहिरो समवेदना" भन्दै इथियोपियाका प्रधानमन्त्री अबी अहमदले ट्वीट गरेका छन्।

अफ्रिकाका विभिन्न गन्तव्यमा उडान गर्ने इथियोपियन एयरलाइन्स अफ्रिकी महादेशमा लोकप्रिय हवाई सेवा प्रदायक एयरलाइन्स हो।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

पहिचान

सुरक्षाको दृष्टिकोणले सो एयरलाइन्सको राम्रो पहिचान छ।

यद्यपि सन् २०१० मा बेरुतबाट उडेको सो एयरलाइन्सको एउटा विमान भूमध्यसागरमा खसेको थियो।

उक्त दुर्घटनामा ९० जनाको ज्यान गएको थियो।

विमान
तस्बिरको क्याप्शन, दुर्घटनास्थल

सो एयरलाइन्ससँग जोडिएको सबैभन्दा ठूलो हताहतीको घटना सन् १९९६ को नोभेम्बरमा भएको थियो।

आदिस अबाबादेखि नाइरोबीका लागि उडेको विमानको एउटा इन्जिनमा इन्धन सकेपछि काम गर्न छाडेको थियो।

पाइलटहरूले पानीमा आपत‌्‌कालीन अवतरण गराउँदा हिन्द महासागरमा मुगाको टापुमा ठोक्किन पुग्दा विमानमा भएका १७५ जनामध्ये १२३ जनाको ज्यान गएको थियो।