रानीसँग बसेर ब्रेन ट्यूमर भएकी यी बालिकाले पहिलो पटक चिया पिइन्

रानीसँग बसेर ओलिभिया टेलरसँग जीवनमा पहिलो पटक चिया पिइन्
तस्बिरको क्याप्शन, रानीसँग बसेर ओलिभिया टेलरले जीवनमा पहिलो पटक चिया पिइन्
Published

आफ्नो अधिकांश जीवन कीमोथेरपीमा बिताएकी एक बालिकाले ब्रिटेनकी रानीको निम्तोमा ब्रिटिश राजपरिवारको पुरानो दरबार विन्ड्सर कासल जाने अवसर पाएकी छन्।

रानी कमिलासँग बसेर ओलिभिया टेलरले जीवनमा पहिलो पटक चियापान गरिन्।

ब्रेन ट्यूमर भएका कारण ‌उनको आँखाको दृष्टि गुमेको छ। रानीसँग भेट हुँदा उनले उठेर अभिवादन गरिन्।

क्रिस्मसका अवसरमा पहिला नै रेकर्ड गरिएको राजा चार्ल्सको सन्देशका लागि एउटा साङ्गीतिक समूहको प्रस्तुतिमा ओलिभिया पनि सहभागी भएको थाहा पाएपछि रानी कमिलाले उनलाई विन्ड्सर कासलमा निम्त्याएकी थिइन्।

ओलिभिया बेक्स्ली म्यूजिक प्राइमरी क्वाइअरमा संलग्न छिन्।

ओलिभिया टेलर
तस्बिरको क्याप्शन, ओलिभिया कोरी नामक खेलौना भालु लिएर अस्पताल जाने गरेको उनको परिवारले जनाएको छ

उनले विन्ड्सर कासलको ह्वाइट ड्रइङ रूममा चियापानका बेला रानीलाई उक्त साङ्गीतिक रचनाको अंश सुनाइन्।

त्यसबाहेक उनले उभिएर 'रुडोल्फ द रेड-नोज्ड रेइन्डिअर' गाउँदा त्यहाँ ताली बज्यो।

उनको खेलौना भालु "कोरी"का लागि पनि त्यहाँ सीट छुट्ट्याइएको थियो।

राजा चार्ल्सको राज्यारोहणका बेलातिर ‌ओलिभियालाई त्यो भालु उपहार दिइएको थियो।

दक्षिणपूर्व लन्डनको सिड्कपमा बसोबास गर्ने टेलर परिवारले रानीसँग तस्बिर खिच्ने अवसर पनि पायो।

त्यसपछि ओलिभिया र उनकी बहिनी इमोजनले रानीलाई निहुरेर अभिवादन गरे।

ओलिभियाको परिवारसँग रानी कमिला
तस्बिरको क्याप्शन, ओलिभिया र उनको परिवारसँग रानी कमिलाको सामूहिक तस्बिर

भेटघाटको अन्त्यमा बिदा हुनुअघि रानीले ती दिदीबहिनीलाई अङ्कमाल र चुम्बन गरिन्।

रानीले ओलिभियाका आमाबुवालाई उनको उपचारमा हुने प्रगतिबारे बेलाबखत जानकारी दिन आग्रह पनि गरिन्।

रानीले भनिन्, “उनी निकै बहादुर बालिका हुन्, उनीसँग भेटेर म धेरै खुसी छु।”

ओलिभियाकी आमा लिसाले ह्वाइट ड्रइङ रूमबारे रानी आउनुभन्दा अगाडि नै जानकारी दिएकी थिइन्। महारानी एलिजाबेथ द्वितीयाले राज्यारोहण गरेको प्ल्याटिनम जूबिलीका अवसरमा उक्त कक्षमा 'प्याडिङ्टन बेअर'को दृश्य खिचिएको थियो।

भेटघाटपछि ओलिभियाले “रानीसँग भेटेर खुसी लाग्यो” र आजको अपराह्ण “वास्तवमा असाध्यै राम्रो” थियो भनिन्।

उनले रानीसँगको भेटलाई “धेरै रमाइलो” भएको बताइन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।