निसानामा धनी र विलासी सहरहरू : इरान युद्धले खाडी क्षेत्र कसरी फेरिँदै छ

एउटा अग्लो र आधुनिक भवनको बाहिरी भागमा क्षति पुगेको अनि माथिल्ला तलाका कतिपय झ्यालका सिसा फुटेको देखिन्छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आफू अमेरिकी र इजरेली आक्रमणमा परेपछि इरानले मध्यपूर्वमा अमेरिकाका साझेदार राष्ट्रहरूमा क्षेप्यास्त्र र ड्रोन हमला गर्दै आएको छ
    • Author, लुईस बरूशो
    • Role, बीबीसी विश्व सेवा
  • पढ्ने समय: ५ मिनेट

लामो समयदेखि स्थिरता र महत्त्वाकाङ्क्षाको केन्द्र बन्दै आएका साउदी अरब, यूएई, कुवेत, कतार, ओमान र बाहरेनजस्ता देशले लगानीकर्ता, ठूला कम्पनी अनि दक्ष कामदारहरूलाई ठूलो सङ्ख्यामा आकर्षित गरे। त्यहाँका विमानस्थलहरू विश्वव्यापी 'हब' बनेका छन् भने सहरहरू वित्तीय तथा पर्यटकीय केन्द्र बनेका छन्।

तर अमेरिका-इजरेलले इरानविरुद्ध गरेको युद्धले यो छविमा धक्का पुगेको छ। इरानी क्षेप्यास्त्र तथा ड्रोनहरूले सो क्षेत्रमा रहेका अमेरिकी सैन्य शिविरहरूलाई निसाना बनाइरहँदा त्यहाँका गैरसैनिक तथा ऊर्जा संरचनामा पनि प्रहार भएको छ।

केही देशहरूले चाँडै जनजीवन सामान्य पारिहाल्ने प्रयास गरेका छन्। उदाहरणका लागि, कतार सरकारले घरबाटै काम गर्ने अनुमति रद्द गरेको छ र विश्वविद्यालयका कक्षा पुन: सञ्चालन गर्न थालेको छ। तर कतिपय विश्लेषकहरू खाडी राष्ट्रहरूले धक्का बेहोर्न सके पनि युद्धले त्यहाँ रणनीतिक पुनर्विचारको बाध्यात्मक परिस्थिति निर्माण भएको ठान्छन्।

"तपाईँ इरानबाट हुने हमला रोक्न सक्नुहुन्न किनभने त्यो भूगोल र निकटतासँग जोडिएको विषय हो," वाशिङ्टनस्थित मीडल ईस्ट इन्स्टिट्यूटका एलेक्स भ्याटन्काले भने।

"जुन युद्ध उनीहरूको थिएन त्यसमा यी देश अग्रमोर्चामा परेका छन् अनि चर्को आर्थिक मूल्य तिरिरहेका छन्।"

"तिनले भएभरको पैसा प्रतिरक्षामा लगाए भने पनि इरानका निम्ति ती देश सहज निसाना भएको देख्न सकिन्छ। केही हजार डलर पर्ने इरानी ड्रोनहरूका कारण तिनको अर्बौँ डलरको लगानी जोखिममा परेको छ।"

यस्तो असन्तुलनले बीमा खर्च बढाउने, आपूर्ति बन्दोबस्ती जटिल हुने तथा कम्पनीहरूलाई खाडीमा तिनको व्यवसायबारे पुनर्विचार गर्न उकास्न सक्ने उनले बताए।

स्वायत्तता कायम गर्ने प्रयास

अमेरिका र इरानका बीच कठिन मार्ग पहिल्याउँदै गर्दा एउटा तत्काल देखिने परिणाम भनेको खाडी देशहरूको वाशिङ्टनसँगको सुरक्षा सम्बन्ध थप बढ्ने धारणा यूएईस्थित इमिरेट्स पोलिसी सेन्टरका प्रमुख डा एब्तेसाम अल केत्बीको छ।

उनका अनुसार तत्कालको सुरक्षा आवश्यकताले खाडी देशहरू अमेरिकातर्फ र कार्यगत रूपमा इजरेलतर्फ धकेलिएका छन्। तर यो सहयोगलाई उनी सैद्धान्तिक नभई लाई व्यावहारिक मान्छिन्।

"प्राथमिक निसानामा पर्दै अनि रणनीतिक स्वायत्तता गुमाउँदै युद्धमा अझ गहिरोसँग फस्ने डर उनीहरूमा छ।"

निकट सुरक्षा सम्बन्धको सीमाबारे भ्याटन्का सावधान गराउँछन् - खास गरी खाडीको रक्षाका निम्ति अमेरिकी इच्छाबारे। लामो समयदेखि खाडी राष्ट्रका सरकारहरूले वाशिङ्टनलाई युद्ध चर्कँदा हुने जोखिमबारे सजग गराएको तर ती निराश हुनुपरेको उनले बताए।

"ट्रम्प खाडी देशहरूलाई बेवास्ता गर्दै नेतन्याहूका निम्ति युद्धमा होमिए," उनले भने।

"उनीहरूलाई थाहा छ कि (वाशिङ्टनबाट) उनीहरूलाई इजरेलजस्तो व्यवहार कहिले गरिने छैन।"

साथै अमेरिकाको घरेलु राजनीतिले पनि दीर्घकालमा खाडीका सहयोगी देशहरूका निम्ति वाशिङ्टन कुन हदसम्म आउँछ भन्ने तय गर्ने उनले बताए। "के अमेरिकी जनता खाडी क्षेत्रमा अमेरिकी अखाडा विस्तार गर्न इच्छुक होलान्… यो विषयलाई तपाईँ कसरी जनतामाझ पुर्‍याउनुहुन्छ?

"त्यो त 'मागा' अभियानको मूल अजेन्डाकै विपरीत हुन जान्छ किनकि मागाका अनुसार विश्वभरिका यस्ता हस्तक्षेपका कारण अमेरिका भित्रभित्रै खोक्रो भइरहेको छ।"

कूटनीति र प्रतिरोध

इरानका विदेश मन्त्री अब्बास अराग्ची

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इरानविरुद्ध अमेरिका-इजरेल हमलाको निन्दा नगरेकोमा इरानका विदेशमन्त्री अब्बास अराग्चीले खाडी देशहरूको आलोचना गरेका छन्

अर्कोतिर खाडी देशहरूलाई तटस्थता अपनाउन इरानले दबाव दिरहेको भ्याटन्काले बताए। "इरानी विदेशमन्त्रीले उनको देशविरुद्ध अमेरिका र इजरेलले गरेको आक्रमणको कुनै पनि खाडी देशले निन्दा नगरेको गुनासो गरेका छन्… इरानले उनीहरूलाई भनिरहेको छ: 'यो लडाइँमा तिमीहरू संलग्न नहोऊ।'"

"इरानसँग आक्रोशित" खाडी सरकारहरू आफू प्राथमिक निसानामा पर्न चाहँदैनन्। उनका अनुसार तिनको रणनीति भनेको प्रतिरोध विस्तार गर्ने र देखिने गरी अमेरिकी र इजरेली कारबाहीमा सामेल नहुने।

"इरानले ती देशमा मानिसहरूलाई बाँच्नै कठिन बनाइदिन सक्छ," ऊर्जा तथा समुद्रको नुनिलो पानीलाई पिउनयोग्य बनाउने प्रशोधन केन्द्रहरूमा हुने आक्रमणतर्फ लक्षित गर्दै उनले भने।

दीर्घकालीन समाधान कूटनीतिमा नै आधारित हुने कुवेती सरकारका भूतपूर्व अधिकारी तथा हाल कुवेत विश्वविद्यालयका सहायक प्राध्यापक अनि यूकेस्थित च्याटम हाउसका शोधकर्ता डा बादर मुसा अल सैफले भने।

"हाम्रा छिमेकीहरूसँग हामीले कुरा मिलाउनुपर्छ," उनले भने। "हामीले इरानसँग प्रत्यक्ष वार्ता गर्नुपर्छ।"

आर्थिक क्षमताको परीक्षण

दोहाको औद्योगिक क्षेत्रमा भएको इरानी प्रहारपछिको दृश्य

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कतारको दोहासहित इरानले खाडी देशहरूमा प्रहार गरेको छ तर हालसम्म कसैले पनि बदलाको कारबाही गरेका छैनन्

तेलमा आश्रित अर्थतन्त्रबाट विश्वव्यापी सेवाकेन्द्रका रूपमा खाडी देशहरूको रुपान्तरण गत दशकको सबभन्दा भव्य आर्थिक सफलताको कथा रहेको थियो। यो रूपान्तरण उल्टिने भन्दा पनि युद्धले तिनको कमजोरी उजागर गरेको विश्लेषकहरूले बताएका छन्।

अल केत्बीको विचारमा खाडी देशहरू "महत्त्वपूर्ण केन्द्रका रूपमा रहिरहने छन्" तर "थप सर्तसहित"। तिनमा उच्च मूल्य, बीमा तथा जोखिमको बदलिएको धारणा पर्छन्।

उनका अनुसार अबको रूपान्तरण सरकारहरूमा बढ्ता भर पर्ने छ अनि व्यापारी व्यवसायीहरूले एकभन्दा धेरै 'हब'बाट कार्य सञ्चालन गर्न थाल्ने छन्।

उनका अनुसार समयक्रममा यी देशहरूले व्यावसायिक सम्बन्ध थप देशहरूसँग विस्तार गर्ने छन्। सम्भवत: चीन तथा अन्य क्षेत्रीय साझेदारहरूसँग किनभने त्यसबाट अमेरिकासँगको 'अत्यधिक निर्भरता' कम हुन जान्छ।

सो क्षेत्रको वित्तीय शक्तिले धक्का बेहोर्न केही सघाए पनि त्यसको असर भने पर्ने अल सैफ बताउँछन्।

"यसले राष्ट्रिय रूपान्तरण योजनाका हाम्रा प्रगतिमा असर पार्ने छ," उनले भने। कतारको रस लफान ग्यास केन्द्रमा भएको क्षतिलाई मर्मत गर्न "केही वर्ष लाग्ने" र त्यतिन्जेल वार्षिक २० अर्ब डलर बराबरको आम्दानी गुम्ने उदाहरण उनले दिए।

"त्यो एउटा सानो उदाहरण हो… तर मलाई लाग्छ हामीसँग योसँग जुझ्न आवश्यक वित्तीय क्षमता छ। केही आयोजना कटौती अनि… लगानीको पुनर्प्राथमिकीकरण गर्नुपर्ला।"

युद्धरत पक्षका घानमा पर्नु पनि "अभूतपूर्व" घटना नभएको अल सैफले औँल्याए। सन् १९९० को सुरुताका कुवेतमा इराकी अतिक्रमण र त्यसले निम्त्याएको खाडी युद्ध उनले सम्झिए। "सन् २००० को सुरुताका हामी पनि आतङ्कबाट पीडित भयौँ...र हामीले उक्त चुनौतीको सम्बोधन गर्न सक्यौँ।।"

उनले भने, "सन् २०१० र २०११ ताका अरब आन्दोलन यही क्षेत्रमा भएका थिए। त्यसबाट पनि हामी राम्रैसँग बाहिरिन सक्यौँ।"

एकीकृत सुरक्षातर्फ

युद्धले निम्त्याउने दीर्घकालीन परिणामस्वरूप खाडी देशहरूले तिनको सुरक्षालाई थप एकीकृत अनि प्राविधिकरूपमा उन्नत बनाउने विश्लेषकहरूले बताए।

क्षेप्यास्त्र प्रतिरोध तथा सावधानी सञ्जाल, ड्रोन तथा साइबर क्षमतामा धेरै लगानी हुन सक्ने अल केत्बी ठान्छिन्।

अल सैफ यस्तो एकीकरण अझ सघन हुनुपर्ने बताउँछन्। "हामीले खरिदहरूको समन्वय गर्नु आवश्यक छ र खाडीलाई एक केन्द्रीकृत खरिद प्रणाली चाहिन्छ… साथै आफ्नो क्षमता अभिवृद्धिका निम्ति स्थानीय रक्षा उत्पादन प्रणालीमा ध्यान दिनुपर्छ," उनले भने।

तर देशहरूबीचको विद्यमान वैमनस्यले यो महत्त्वाकाङ्क्षालाई जटिल बनाइदिन सक्छ।

भ्याटन्का भन्छन् "केही खाडी देशहरूमाझ इरानसँग जत्तिकै आपसमै वैमनस्य छ" जसले रक्षा समन्वयलाई राजनीतिक रूपमा संवेदनशील बनाइदिन्छ।

सावधानीपूर्ण भविष्य

दुबई अन्तर्राष्ट्रिय विमानस्थलको एक क्षेत्रमा आगो र धुवाँको मुस्लो

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, इरानले दुबई अन्तर्राष्ट्रिय विमानस्थललाई पनि निसाना बनाएको छ

खाडी क्षेत्रको भविष्य इरानमा मात्र नभई विस्तारित क्षेत्रीय सम्बन्धमा भर पर्ने विज्ञहरूले बताएका छन्। त्यसमा खाडी देशहरूबीच विद्यमान आपसी तनाव पनि पर्छ।

"क्षेत्रीय व्यवस्थाका लागि इरानमात्रै एक विषय भनेर ठानिए गल्ती हुने छ," भ्याटन्काले सावधान गराए। "यी देशहरूबीच एकता भन्दा विमतिको इतिहास छ।"

खाडी क्षेत्र विश्वको महत्त्वपूर्ण केन्द्र रहिरहने विज्ञहरू मान्छन् - तर थप सैनिकीकृत तथा जोखिमयुक्त संवेदनशील परिस्थितिसहित।

"ती उल्टिने छैनन् बरु परिवर्तित हुने छन्," अल केत्बी भन्छिन्।

"खाडी जोखिम वहनका निम्ति थप क्षमतायुक्त हुने छ तर समयक्रममा थप सैनिकीकृत र जोखिमपूर्ण पनि हुने छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।