युरोपमा वर्षौँपछि दुर्लभ सूर्यग्रहण, यो अद्भुत खगोलीय घटना हेरेर लाखौँ मानिस रमाए

तस्बिर स्रोत, Reuters
यूके र युरोपमा झन्डै ३० वर्षपछि सबैभन्दा दुर्लभ सूर्यग्रहण देखिएको छ। यो खगोलीय परिघटना लाखौँ मानिसले हेरेका ठानिएको छ।
यूकेबाट खण्डग्रास अर्थात् आंशिक सूर्यग्रहण मात्र देखियो भने ग्रीनल्यान्ड, आइसल्यान्ड र स्पेनका केही भागमा खग्रास अर्थात् पूर्ण सूर्यग्रहणका कारण चारैतिर अँध्यारो छायो।
यूके र युरोपका विभिन्न अवलोकनस्थलमा ठूलो सङ्ख्यामा भेला भएका मानिसहरूले उक्त परिघटनाले ब्रह्माण्ड कति "अद्भुत" छ भन्ने कुराको स्मरण गराएको बताए।
खग्रास सूर्यग्रहण रुसस्थित साइबेरियाको उत्तरी छेउबाट देखिन सुरु भएको थियो। त्यसपछि उक्त दृष्य क्रमश: आर्क्टिक सागर हुँदै साँझपख आइसल्यान्डबाट देखियो।
त्यसपछि दक्षिणतर्फ अघि बढ्दै जाँदा यूकेबाट पनि उक्त अद्भुत दृश्यको केही अंश देखियो।खण्डग्रास सूर्यग्रहण उत्तरी स्कटल्यान्डमा स्थानीय समयानुसार लगभग १८:०० बजे र इङ्ग्ल्यान्डको दक्षिणी तटमा १८:२० भन्दा केही अघि सुरु भयो।

तस्बिर स्रोत, PA Media
सुरुमा उक्त दृश्य खासै छुट्ट्याउन सकिने अवस्थामा थिएन। तर खुला आकाशमुनि भेला भएका मानिसहरूले चन्द्रमाले बिस्तारै सूर्यलाई ढाक्दै गएको देखे।
मध्य र दक्षिणी इङ्ल्यान्ड तथा वेल्सका अधिकांश क्षेत्रमा आकाश पूर्ण रूपमा सफा थियो। त्यसैले करिब एक घण्टाको अवधिमा चन्द्रमा बिस्तारै सूर्यको अगाडिबाट सर्दै गएको दृश्य उनीहरूले अत्यन्त स्पष्ट रूपमा हेर्न पाए।
उत्तरी इङ्ल्यान्ड, स्कटल्यान्ड र उत्तरी आयरल्यान्डमा भने आकाशमा बढी बादल थियो। तथापि त्यसले मानिसहरूलाई देशका विभिन्न प्रसिद्ध स्थलहरूमा भेला हुनबाट रोक्न सकेन।
कतिपयले सूर्यग्रहण अवलोकन गर्न प्रयोग हुने विशेष चस्मा लगाएका थिए। पसलहरूमा त्यस्ता चस्माहरूको अभाव देखिएको थियो।
स्पेनबाट देखियो पूर्ण सूर्यग्रहण

तस्बिर स्रोत, Reuters
चन्द्रमा सूर्य र पृथ्वीको बीचबाट अघि बढ्ने क्रममा सूर्यको केही वा सम्पूर्ण प्रकाशलाई रोक्दै पृथ्वीमा छायाँ पारेको अवस्थामा सूर्यग्रहण हो।
यद्यपि यूकेबाट सूर्य, चन्द्रमा र पृथ्वी एकअर्कासँग ठ्याक्कै एउटै सीधा रेखामा देखिएका थिएनन्।
त्यसको परिणामस्वरूप त्यहाँबाट आंशिक ग्रहण देखियो।
यूकेका अधिकांश भागमा चन्द्रमाले सूर्यको करिब ९० प्रतिशत भाग ढाकेको थियो। यूकेका निम्ति यो सन् १९९९ यताकै सबैभन्दा दुर्लभ सूर्यग्रहण थियो। कोर्न्वलबाट भने सूर्य ९५ प्रतिशतसम्म ढाकिएको देखिएको थियो।
स्पेनका केही स्थानका मानिसहरूले भने अझै अद्भुत दृश्य अनुभव गर्न पाए।
ब्रिटिश समयानुसार करिब १९:३० बजे सूर्य, चन्द्रमा र पृथ्वी ठ्याक्कै एउटै रेखामा आए। त्यसले गर्दा पूर्ण सूर्यग्रहण भयो।
चिलीकी वैज्ञानिक यास्मिन क्याट्रिचेओ उक्त परिघटना नियाल्न हजारौँ किलोमिटर यात्रा गरेर उत्तरपश्चिम स्पेन पुगेकी थिइन्।
"खग्रास सूर्यग्रहणको क्षणमा त्यहाँ उपस्थित सबै जना रमायौँ। त्यो अनुभूतिलाई शब्दमा वर्णन गर्न सकिँदैन," उनले भनिन्, "ब्रह्माण्ड अद्भुत छ।"
त्यसो त पृथ्वीको कुनै न कुनै स्थानमा लगभग हरेक १८ महिनामा एक पटक खग्रास सूर्यग्रहण देखिन्छ।
तर कुनै निर्दिष्ट स्थानबाट त्यस्तो सूर्यग्रहण देख्न पाउनु निकै दुर्लभ हुन्छ। औसतमा झन्डै ४०० वर्षमा एक पटक मात्र यस्तो अवसर आउँछ।
स्पेनमा खग्रास सूर्यग्रहणको पथमा रहेका मानिसहरूले त्यस्तो दुर्लभ दृश्य हेर्ने अवसर पाए।
त्यस क्रममा चन्द्रमाको पछाडिबाट सूर्यको रातो चमकसमेत देखिएको थियो।
त्यसपछि चन्द्रमाले ढाकिएको सूर्य बिस्तारै फेरि देखिन थाल्यो।
खग्रास सूर्यग्रहण दुई मिनेटभन्दा कम समय रहे पनि धेरैका लागि यो कहिल्यै नबिर्सने अनुभव बन्यो।
हामीले यसरी पूर्ण सूर्यग्रहण देख्न पाउनु नै ब्रह्माण्डीय संयोगको एउटा अद्भुत उदाहरण हो।
सूर्य पृथ्वीबाट १५ करोड किलोमिटर टाढा छ। त्यो भनेको चन्द्रमाभन्दा करिब ४०० गुणा पर हो।
तर चन्द्रमाको व्यास सूर्यको भन्दा ४०० गुणा सानो भएकाले पृथ्वीबाट हेर्दा दुवै लगभग ठ्याक्कै एउटै आकारका देखिन्छन्।
चन्द्रमा अलिकति सानो भएको भए वा यसको कक्ष पृथ्वीबाट केही टाढा भएको भए हामीले कहिल्यै पूर्ण सूर्यग्रहण देख्न पाउने थिएनौँ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















