आफ्नो यूके भ्रमणलाई ट्रम्पले भने: 'जीवनको सर्वोच्च सम्मानमध्ये एक'

विन्डसर कासलमा आयोजित भव्य भोजमा बोल्दै ट्रम्प
Published
पढ्ने समय: २ मिनेट

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ब्रिटेनको आफ्नो दोस्रो राजकीय भ्रमणलाई 'जीवनको सर्वोच्च सम्मानमध्ये एक'को रूपमा व्याख्या गरेका छन्।

उनी राजा चार्ल्सले आयोजना गरेको विन्डसर कासलमा आयोजित भव्य भोजमा बोल्दै थिए।

राजाले द्वन्द्व अन्त्य गर्ने राष्ट्रपतिको प्रयासको प्रशंसा गरे र युक्रेनका लागि अमेरिकी समर्थनको महत्त्वलाई प्रकाश पार्ने क्रममा "निरङ्कुशता"ले युरोपलाई खतरामा पारिरहेको बताए।

राष्ट्रपति ट्रम्पले अमेरिका र ब्रिटेनबीचको विशेष सम्बन्धको प्रशंसा गर्दै त्यसलाई "विशेष शब्दले न्याय नगर्ने" बताए।

विन्डसर कासलमा आमन्त्रित १६० जना पाहुनाका लागि आयोजित भव्य रात्रिभोजमा सम्बोधन गर्दै राजा चार्ल्सले दुई देशबीचको गहिरो सम्बन्ध एवं सांस्कृतिक, व्यापारिक र सैन्य सम्बन्ध कायम राख्नुपर्ने आवश्यकतामा जोड दिए।

"हाम्रा मानिसहरूले हामीले बोक्ने मूल्यका लागि एकसाथ लड्ने र मर्ने गरेका छन्," राजाको भनाइ थियो।

बिहीबार ट्रम्पले ब्रिटिश प्रधानमन्त्री किअर स्टार्मरसँग वार्ता गर्दैछन्। उनीहरूले युक्रेनका साथै व्यापार र गाजा युद्धका बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ।

राजकीय भ्रमणको अर्थ

ट्रम्पको राजकीय भ्रमण
विन्डसर कासलमा मेलानिया ट्रम्प, डोनल्ड ट्रम्प, राजा चार्ल्स र रानी कमिला (बायाँबाट क्रमश:)
तस्बिरको क्याप्शन, विन्डसर कासलमा मेलानिया ट्रम्प, डोनल्ड ट्रम्प, राजा चार्ल्स र रानी कमिला (बायाँबाट क्रमश:)

ट्रम्पको ऐतिहासिक दोस्रो राजकीय भ्रमणले राजा र राष्ट्रपतिबीचको राम्रो सम्बन्ध देखाएको थियो।

त्यसक्रममा औपचारिक परेड अवलोकन गर्दा उनीहरूबीचका केही मैत्रीपूर्ण क्षणहरू पनि समावेश थिए।

राजाले ख्यालठट्टा गर्दै राष्ट्रपतिलाई परेडमा रहेका एक सिपाहीको तरबारबाट सावधान रहन चेतावनी दिइरहेको जस्तो देखिन्थ्यो।

राजकीय भ्रमणहरू 'सफ्ट पावर' कूटनीतिको एउटा रूप मानिन्छ।

त्यसमा शाही आतिथ्यता प्रयोग गरेर महत्त्वपूर्ण अन्तर्राष्ट्रिय साझेदारहरूसँग सम्बन्ध निर्माण गर्ने गरिन्छ जुन अमेरिकासँग भन्दा बढ्ता अरू कसैसँग छैन।

लगानी र अब राजनीतिक वार्ता

बिहीवार प्रधानमन्त्री स्टार्मर र ट्रम्पबीच वार्ता हुँदैछ

यसक्रममा व्यापारिक सम्बन्धहरू समावेश हुन्छन्।

राजकीय भोजमा सेलिब्रेटीभन्दा धेरै एपलका टिम कुक र आर्टिफिसियल इन्टेलिजन्स कम्पनी ओपनएआईका साम अल्टमनजस्ता प्रविधि कम्पनीका प्रमुखहरू थिए।

यस राजकीय भ्रमणसँगै ब्रिटेनमा १५० अर्ब पाउन्ड अमेरिकी लगानीको घोषणा गरिएको थियो। त्यसमा माइक्रोसफ्टको २२ अर्ब पाउन्ड समेत समावेश थियो।

बिहीवार प्रधानमन्त्री स्टार्मरलाई उनको कन्ट्रीहाउस चेकर्समा भेट्न जाँदा यो शाही तामझामबाट राजनीतिक वार्ता र पत्रकार सम्मेलनतर्फ सर्नेछ।

लन्डनमा भ्रमणको विरोधमा प्रदर्शनहरू भएका थिए। विन्डसरमा समेत ट्रम्प विरोधी प्लेकार्डहरू थिए जुन अमेरिकी आगन्तुकहरूको नजरबाट पर थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।