प्यारालिम्पिक पदकसँगै नेपालले पाएको 'नयाँ रोल मोडल'

पलेशा
    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू
  • Published
  • पढ्ने समय: ५ मिनेट

पलेशा उनको नाम अपभ्रंश हुँदै बन्न पुगेको हो।

बुबा प्रदीप गोवर्धनले उनको नाम पलेस्वाँ राखेका थिए। नेवारीमा त्यसको अर्थ कमलको फूल हुन्छ।

स्कुलका साथीहरूलाई पलेस्वाँ उच्चारण गर्न गार्ह्रो भयो। पछि हुँदाहुँदै त्यो नाम पलेशा बन्न पुग्यो। आमाबुबाले पनि भइहाल्यो भनेर पलेशा नाम नै राखिदिए।

कमलको फूल ऐश्वर्य र सुखको सुचक मानिन्छ। पलेशा अहिले साँच्चै नै नेपाली खेलकुदको कमलको फूल बन्न पुगेकी छिन्।

नेपाली खेलाडीका लागि ओलिम्पिक्समा पदक 'आकाशको फल' जस्तै हो भनी नेपाली खेलकुदमा गढेको मानसिकतालाई चिर्दै उनले प्यारालिम्पिकमा शनिवार कांस्य पदक जितिन्।

थुप्रै इतिहास रचिसकेकी उनले त्यसमा अर्को कोशेढुङ्गा थपिन्।

ओलिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडीको रूपमा कहिल्यै नमेटिने इतिहास पलेशाको नाममा रचिएको छ।

१० वर्ष देखि पारा तेक्वान्दो खेल्ने क्रममा यो उपलब्धिसम्म पुग्न पलेशाले थुप्रै आरोह अवरोहको सामना गरेकी छिन्।

रहर देखि साहस

पलेशा

सुरुआतमा धेरैजसो खेलाडीमाझैँ रहरै रहरमा लागेर यस खेलमा लागेकी पलेशाले त्यसलाई कहिले करिअर बनाइन् भन्ने उनैलाई हेक्का छैन।

बाल्यकालमा चञ्चले स्वभावकी उनी निकै नै अधैर्य स्वभावकी रहेको उनका बुवा सम्झन्छन्।

बुबा प्रदीपका अनुसार उनी जे काम पनि आफै गर्न सक्छु भन्थिन्। 'सक्दैनौ' भन्ने शब्द सुनेपछि रिसाइ हाल्थिन्।

“बच्चामा पनि हामीलाई बोक्नै नदिने। हाम्रै लयमा सँगसँगै हिँड्ने गर्थिन्,“ बुवा प्रदीप सम्झन्छन्।

स्कुलमा रहरै रहरमा तेक्वान्दोमा लागेपछि 'अब त परे म मान्छे कुट्न नि सक्छु' भन्दै खुसी भएको उनका बुबा सम्झिन्छन्।

अग्लो हुनुको फाइदा उनलाई थियो नै। रङ्गशालामा पुगेर सिक्न थालेपछि भने उनलाई तेक्वान्दोमा उनको वास्तविक रस पसेको उनलाई नजिकबाट चिन्नेहरू सुनाउँछन्।

रङ्गशालामा पलेशाले नेपालका स्टार खेलाडीहरूको साथ पाइन् र खेलकुदमा केही फराकिला पाटाहरू देखिन्।

रहर र रमाइलो खेल त्यसपछि उनको साहस र आत्मविश्वासको माध्यम बन्दै गयो।

परिवारको साथ

पलेशा

जन्मँदै उनको बायाँ हातको नाडी मुनिको भाग थिएन।

यस्तोमा पिर नमान्ने अभिभावक को नहोला र! तर उनको हुर्काइमा परिवारले कहीँ कतै त्यसलाई स्थान दिएन।

“अरू भन्दा कमजोर छौ। तिमिले सक्दैनौ भन्ने शब्द त घरमा प्रतिबन्ध जस्तै थियो,” बुवा प्रदीपले सुनाए।

डिल्लीबजारको सम्पन्न परिवारका प्रदीपले उनलाई शिक्षाको लागि डीएभी सुशील केडिया स्कुलमा भर्ना गरिदिए।

उनले चाहेको चिज दिन स्वतन्त्रता दिए। समाजसँग लड्ने क्षमतामा छोरी कहीँ कतै कमजोर नहुन् भन्नेमा आमा बुबा सतर्क थिए।

परिवारलाई तेक्वान्दोजस्तो खेल त्यसको लागि सुहाउँदो छ भन्ने पनि लाग्यो।

त्यही कारणले पनि हो तेक्वान्दोमा अगाडि बढ्न पलेशाले भरपुर साथ पाइन्।

प्रतिभा

पलेशा

उनको प्रतिभाले छिट्टै नै प्रभाव देखाउन थालिहाल्यो। राष्ट्रिय पारा खेलहरूमा पदक जित्न थालेपछि उनी रम्न थालिन्।

भियतनाममा चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य जितेपछि उनमा पदकको भोक झन् जाग्न थाल्यो।

विदेशमा गएर पदक जित्दाको मज्जा पनि बेग्लै हुने र त्यसले मेहनत गर्न सिकाउने उनले बीबीसीसँगको पुरानो कुराकानीमा सुनाएकी थिइन्

पलेशाको क्षमता बढ्दै गयो। पढाइमा पनि तीक्ष्ण उनी खेलको हरेक पक्षको विश्लेषण गर्न सिपालु बनिन्।

उनका प्रशिक्षकहरूका अनुसार कति अभ्यास चाहिन्छ, प्रतिद्वन्द्वीको खास क्षमता कति छ, त्यस अनुसारको कति मेहनत गर्नुपर्छ भन्नेजस्तो कुरामा उनी राम्रो ज्ञान राख्थिन। त्यही अनुसार साधना गर्न कति पनि अल्छी गर्दैनथिन्।

उनको क्षमता त्यही हो। उच्च शारीरिक कद उनका लागि लाभको विषय थियो।

बुबा प्रदीप सम्झिन्छन्: “उनले कहिले पनि खेल्छु मात्र भनेर भनिनन्। जहिले पनि जित्छु भनिन्।”

पढाई र पदकबिचको सङ्घर्ष

सन् २०२१ मा बहराइनमा भएको एसियाली यूथ पारा गेम्समा उनले स्वर्ण जितेपछि पलेशाको चर्चा एकाएक चुलियो।

पढाइलाई उत्तिकै महत्त्व दिने उनी टोकियो पुग्नु अगावै झन्डै खेल छोडिसकेकी थिइन्। पढाई बिग्रिएको आफैलाई महसुस भएपछि उनी घरमा आएर रोइछिन्।

उनी बुबाले सम्झाएपछि उनी फेरी खेलमा फर्किइन्। बुबा प्रदीप भन्छन्: “घरमा आएर उ रोएको त्यहि एक पटक मात्रै हो।”

सन् २०२० को टोकियो ओलिम्पिकमा दुई वाउट जितेर पनि पदक चुम्न नपाउँदा भने उनी खुब दु:खी बनेकी थिइन्।

युनिग्लोब कलेजबाट १२ कक्षा सकाएपछि उनको बढ्ता ध्यान पढाईतिर मोडियो।

खेल छाड्ने निर्णय गर्दै चीनको तोङजी युनिभर्सिटीमा उनी आर्किटेक्चर पढ्न गइन्।

पलेशा गोबर्धन

संयोग तर महत्त्वपूर्ण मोड

यसैबिच पारा एसियाली खेलकुद चीनको हाङझाउमा हुने भयो।

उनी पढ्ने कलेज साङ्घाईबाट हान्झाउ एक घण्टामै पुग्न सकिने दूरीमा भएको हुनाले उनले एसियाली खेलकुद खेल्ने निर्णय गरेकी थिइन्।

तेक्वान्दो परिवार देखि राष्ट्रिय खेलकुद परिषद्सम्मको अनुरोधमा उनले एसियाड खेल्न राजी भएकी थिइन्।

यदि चीन बाहिर एसियाड भएको भए शायद उनी भाग लिन जाने थिइनन्।

त्यही एसियाडमा उनले नेपालको लागि पहिलो पारा कांस्य पदक जित्दै नयाँ इतिहास रच्न सफल भइन्।

अर्को संयोग के भइदियो भने प्यारिस पारालिम्पिकको पनि एसियाली छनोट चीनमा नै हुने भयो।

त्यसमा पनि उनले भाग लिइन् र स्वर्ण पदक जित्दै सिधै ओलिम्पिक छनोट हुने पहिलो नेपाली पारा खेलाडी बनिन्।

यो उनको जीवनको निर्णायक मोड बन्यो। जसले उनलाई ऐतिहासिक नतिजा दिलाउने यस ओलिम्पिकसम्म दोहोर्‍यायो।

अब के

पलेशा
तस्बिरको क्याप्शन, कांस्य पदक जितेपछिको खुसी

ओलिम्पिकको लागि उनले कलेजमा ६ महिना छुट्टी लिएर आएकी हुन्।

ओलिम्पिक जस्तो खेल खेल्ने भएकोले कलेजले उनलाई छुट्टी स्वीकृति दिएको बुबा बताउँछन्।

उनको छुट्टी समेत आज सेप्टेम्बर १ तारिखमा सकिँदैछ।

बुबा प्रदीप भन्छन् अब अरू २ हप्ता छुट्टी थपेर उनलाई चीन पठाउने बिचार गरेको छु।

कतिपयको अनुमान छ खेलकुदको उच्च तहमा पदक जितेपछि अब पलेशा खेललाई छोडेर पढाईतिर लाग्नेछिन्।

बुबा प्रदीप भन्छन्: “त्यो निर्णयको स्वतन्त्रता उनलाई छ। मेरो विचारमा भने उनी अर्को एउटा ओलिम्पिक खेल्न लायक छिन्।”

रोल मोडल

पलेशा

नेपाली खेलकुद क्षेत्रलाई रोल मोडलको आवश्यक परिरहन्छ।

खेलकुद क्षेत्रका जानकारहरूका भनाइमा एकताका घरघरमा कुरा हुनेगरी वैकुण्ठ मानन्धर नेपालको रोल मोडल मानिन्थे। उनले लामै समय नेपाली खेलकुदको छवीलाई सम्हाले।

त्यसपछि संगिना वैद्यले खेलकुद क्षेत्रलाई धपक्कै पारिन्। दीपक विष्टले त्यसलाई निरन्तरता दिए। पछिल्लो समय गौरीका सिंहले त्यसको भूमिका निभाउन थालेकी थिइन्।

अहिले पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन नेपालका 'नयाँ रोल मोडल'का रूपमा आफूलाई उभ्याएकी छिन्। देशलाई ऐतिहासिक पदक दिलाएकी उनको चर्चा आज देशका घरघरमा छ। सारा देशले गर्व गरिरहेको पलेशालाई 'रोल मोडल' मान्न नचाहने यतिखेर को नै होला र?

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।