मनमोहन सिंह: भारतका पूर्वप्रधानमन्त्री तथा आर्थिक उदारीकरणका शिल्पकारको ९२ वर्षको उमेरमा निधन

मनमोहन सिंह
    • Author, सौतिक विस्वास
    • Role, बीबीसी भारत संवाददाता
  • Published
  • पढ्ने समय: ४ मिनेट

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ।

उनी भारतमा सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहने मध्येका एक थिए जसलाई भारतीय आर्थिक उदारीकरणका मुख्य शिल्पकार मानिन्छ।

सन् २००४ देखि सन् २०१४ सम्म प्रधानमन्त्रीको रूपमा र त्यसअघि अर्थमन्त्रीमा रहँदा उनले त्यस्ता सुधारका काम गरेका थिए।

बिहीवार स्वास्थ्य अवस्था बिग्रिएपछि सिंहलाई राजधानी दिल्लीको एक अस्पतालमा भर्ना गरिएको थियो।

सिंहलाई श्रद्धाञ्जली दिनेमध्ये प्रधानमन्त्री नरेन्द्र मोदी पनि छन्।

मोदीले सामाजिक सञ्जालमा लेखेका छन्: "भारत आफ्नो एकजना सर्वप्रतिष्ठित नेता गुमाएकामा शोकमा छ।"

आफूहरूबीचको अन्तर्क्रियामा उनको "विवेक र नम्रता सधैँ झल्किने गरेको" लेख्दै मोदीले प्रधानमन्त्रीको रूपमा सिंहले आफ्नो समयमा "जनजीवन सुधार गर्न व्यापक प्रयासहरू" गरेको उल्लेख गरेका छन्।

पूर्वप्रधानमन्त्री राजीव गान्धीकी छोरी तथा कांग्रेस सदस्य प्रियङ्का गान्धीले सिंह "अन्तिम समयसम्म सच्चा समतावादी, विवेकी, दृढ इच्छायुक्त र साहसी" भएको बताइन्।

कांग्रेसको नेतृत्व गर्ने उनका भाइ राहुलले आफूले "एक गुरु र मार्गदर्शक गुमाएको" बताएका छन्।

राजनीतिक जीवन

सिंहलाई भारतको 'अनपेक्षित प्रधानमन्त्री'का रूपमा समेत हेर्ने गरिन्छ।

जवाहरलाल नेहरुपछि पहिलो कार्यकाल पूर्णरूपमा पूरा गर्दै पुनः प्रधानमन्त्रीमा निर्वाचित हुने उनी पहिलो भारतीय नेता थिए।

र भारतको शीर्ष पद धारण गर्ने पहिलो सिखसमेत सिंह थिए। उनले सन् १९८४ मा झन्डै तीन हजारको सङ्ख्यामा सिखहरू मारिएको घटनाप्रति संसद्मा सार्वजनिक रूपमा माफी मागेका थिए।

तर आफ्नो दोस्रो कार्यकाल सम्हाल्दा भने सरकारप्रति व्यापक रूपमा भ्रष्टाचारका आरोपहरू लागेको थियो।

धेरैले सन् २०१४ को आमनिर्वाचनमा उनको कांग्रेस पार्टीको पराजित हुनुको आंशिक कारणका रूपमा त्यस बेला देखा परेका घोटाला प्रकरणलाई जिम्मेवार मान्ने गर्छन्।

तर गठबन्धन राजनीतिका कारण गर्नुपरेका धेरैजसो सम्झौताका कारण उनको कार्यकाल कमजोर बनेका रूपमा समेत हेरिन्छ।

जन्म र अध्ययन

सिंहको जन्म सन् १९३२ को सेप्टेम्बर २६ मा विभाजित हुनुपूर्वको भारतको पञ्जाब प्रान्तको एउटा उजाड गाउँमा भएको थियो। त्यहाँ पानी र बिजुलीको अभाव थियो।

पञ्जाब विश्वविद्यालयमा पढेपछि उनी स्नातकोत्तर अध्ययनका लागि यूकेको क्याम्ब्रिज विश्वविद्यालय पुगे र पछि अक्सफर्डबाट डीफिल गरे।

सिंहको जन्मघर हालको पाकिस्तानमा पर्छ
तस्बिरको क्याप्शन, सिंहको जन्मघर हालको पाकिस्तानमा पर्छ

क्याम्ब्रिजमा पढ्दै गर्दा पैसाको अभावले सताएको कुरा उनकी छोरी दमन सिंहले आफ्ना आमाबाबु बारेको एउटा पुस्तकमा लेखेकी छन्।

"उनको ट्युशन र आवास खर्च वार्षिक लगभग ६०० पाउन्ड स्टर्लिङ हुन आउँथ्यो। तर पञ्जाब विश्वविद्यालयको छात्रवृत्ति झण्डै १६० पाउन्डको मात्र थियो। बाँकी रकमका लागि उहाँ आफ्नो बुबामा भर पर्नुपर्थ्यो। मनमोहन एकदमै कम खर्च गर्दै जीउनका लागि सजग हुनुहुन्थ्यो। डाइनिङ्ग हलमा हुने सहुलियतको खानेकुरा तुलनात्मक रूपमा सस्तो हुन्थ्यो।"

दमन सिंहले आफ्नो बुबा घरायासी काममा असाध्यै कमजोर भन्दै "न अण्डा उमाल्छ आउँछ न त टेलिभिजन नै खोल्न" भनेकी छन्।

शिक्षक, कर्मचारी, गभर्नर, अर्थमन्त्री

आलोचकहरूले सिंहले सधैँ सोनिया गान्धीको छायामा काम गरेको टिप्पणी गर्छन्
तस्बिरको क्याप्शन, आलोचकहरूले सिंहले सधैँ सोनिया गान्धीको छायामा काम गरेको टिप्पणी गर्छन्

सन् १९९१ मा सिंह अर्थमन्त्रीको रूपमा भारतको राजनीतिक वृत्तमा प्रस्टसँग देखा परे। त्यसबेला देश आर्थिक रूपमा ऋण तिर्न नसक्ने अवस्थामा पुग्न आँटेको थियो।

त्यस अप्रत्याशित नियुक्तिले एक प्राज्ञिक अनुहार र सरकारी कर्मचारी रूपमा बिताएको सफल करिअरलाई नयाँ उचाइ प्रदान गर्‍यो।

त्यसअघि उनी भारत सरकारको आर्थिक सल्लाहकार र त्यहाँको केन्द्रीय ब्याङ्कको गभर्नर बनिसकेका थिए।

संसद्‍मा आफ्नो पहिलो मन्तव्यका क्रममा अर्थमन्त्री सिंहले प्रसिद्ध भिक्टर ह्यूगोलाई उद्धृत गर्दै भनेका थिए, "जसको विचारको समय आएको छ त्यसलाई पृथ्वीको कुनै शक्तिले रोक्न सक्दैन।"

त्यस मन्तव्य उनको महत्वाकांक्षी र अभूतपूर्व आर्थिक सुधार कार्यक्रमहरूको सुरुवाती विन्दु थियो।

उनले कर कटौती, रुपैयाँको अवमूल्यन, राज्यद्वारा सञ्चालित कम्पनीहरूलाई निजीकरण र विदेशी लगानीलाई प्रोत्साहन गर्ने काम गरे।

यसका कारण अर्थतन्त्रमा सुधार देखा पर्दै उद्योगहरूको तीव्र वृद्धि भयो। बढ्दो मुद्रास्फीति नियन्त्रण भएर सन् १९९० को दशकमा वृद्धिदर निरन्तर उच्च रह्यो

प्रधानमन्त्रीमा 'एक्सिडेन्टल'

सिंहको पहिलो प्रधानमन्त्रीकालमा सबैभन्दा ठूलो सफलता अमेरिकासँग परमाणु सम्झौता गरेको रूपमा हेरिन्छ।
तस्बिरको क्याप्शन, सिंहको पहिलो प्रधानमन्त्रीकालमा सबैभन्दा ठूलो सफलता अमेरिकासँग परमाणु सम्झौता गरेको रूपमा हेरिन्छ

आफूसँग राजनीतिक समर्थनको आधार नरहेको कुरा मनमोहन सिंहलाई राम्ररी थाहा थियो।

उनले भनेका थिए: "राजनेता बन्नु राम्रो कुरा हो। तर लोकतन्त्रमा राजनेता बन्नका लागि पहिला चुनाव जित्नुपर्छ।"

तर सन् १९९९ मा लोकसभा चुनाव जित्ने उनको प्रयास सफल हुन नसकेपछि कांग्रेसले उनलाई राज्यसभामा पठायो ।

सन् २००४ मा पनि त्यस्तै भयो। तत्कालीन कांग्रेस अध्यक्ष सोनिया गान्धीले प्रधानमन्त्री बन्न अस्वीकार गरेपछि मनमोहन सिंह प्रधानमन्त्री बनेका थिए।

त्यसबेला सोनिया गान्धीको विदेशी मूल बारे प्रश्नहरू उठेका थिए।

आलोचकहरूले चाहिँ मनमोहन सिंहलाई प्रधानमन्त्री बनाए पनि वास्तविक शक्ति सोनिया गान्धीको हातमा रहेको थियो भनेर टिप्पणी गर्ने गर्छन्।

प्रधानमन्त्रीको रूपमा सिंह आफ्नो पहिलो कार्यकालमा सबैभन्दा ठूलो सफलता अमेरिकासँग परमाणु सम्झौता गरेको रूपमा हेरिन्छ।

उनको पालामा त्यस ऐतिहासिक सम्झौताका कारण भारतले अमेरिकाको परमाणु प्रविधिमा पहुँच पाएको थियो।

तर सिंह सरकारलाई समर्थन गरेका वामपन्थी दलहरूले त्यसकै कारण आफ्नो समर्थन फिर्ता लिएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।