बुढीगण्डकी थुनिँदा पनि 'भूकम्पीय हलचल' मापन, के अझै खतरा बाँकी छ

तस्बिर स्रोत, Centre of Hydrology and Water Resources Research
- Author, पवनराज पौडेल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
गोरखाको चुमनुब्रीमा पहिरो खसेर बुढीगण्डकी नदी थुनिएको समय आसपास जमिनमा कम्पन भएको सङ्केत रेकर्ड गरिएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अधिकारीहरूले बताएका छन्।
केन्द्रका उपकार्यकारी निर्देशक तथा प्रवक्ता राजन भट्टराईका अनुसार आइतवार बिहान उक्त क्षेत्रमा कम्पन मापन भएको थियो।
"साढे चार बजेतिर (४.२ रिक्टर स्केल आसपासको) एउटा सङ्केत आएको थियो। साढे चार बजे आसपास नै त्यहाँ पहिरो खसेको देखिन्छ," उनले बीबीसीसँग भने, "त्यही झर्दाखेरि सानोसानो कम्पन भएको हो कि भन्ने ठानिए पनि हामीले त्यसमा खासै जोड दिएका छैनौँ।"
उक्त घटनाको विस्तृत कारण पुष्टि हुन थप अध्ययन हुनुपर्ने उनले बताए।
यसअघि झन्डै डेढ महिनाअघि भोटेकोशी-त्रिशूली क्षेत्रमा बाढी आउँदा लाङ्टाङ लिरुङ क्षेत्रमा पनि भूकम्पीय हलचल मापन भएको थियो। सुरुमा भूकम्पका कारण पहिरो खसेको आशङ्का गरिए पनि वैज्ञानिक अनुसन्धानले पछि पहिरोका कारण नै कम्पन उत्पन्न भएको देखाएको थियो।
केन्द्रले शनिवार राति जारी गरेको 'स्थिति प्रतिवेदन'अनुसार गोरखाको चुमनुब्रीस्थित तुम्जेनजिक बुढीगण्डकीको सहायक नदी क्षेत्रमा पहिरो गएको देखिन्छ।
"प्रारम्भिक सूचना र भूउपग्रह तस्बिरको अवलोकनले पहिरोका कारण नदीको बहाव अवरुद्ध भई पानी सञ्चित भएको र अवरोध कमजोर वा भत्किँदा आकस्मिक बहाव उत्पन्न भएको देखाएको छ," प्रतिवेदनमा भनिएको छ। उक्त प्रतिवेदनमा पनि थप अध्ययनमा जोड दिइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 'चुमनुब्री-६ को लोक्पा र चुम्बलिङको बीचमा पर्ने सिरिङ्गे हिमालबाट खसेको पहिरोले स्थानीय उइनगुलुङ खोला थुनिएको' भनेको छ।
कतिपय सञ्चारमाध्यमले पनि चुमनुब्रीमा हिउँपहिरो खसेको विवरण दिएका छन्।
"तर हामीले पहिरो मात्रै भनेका छौँ र भूउपग्रहका तस्बिरहरू विश्लेषण गर्दा पनि पहिरो नै देखिन्छ," केन्द्रका प्रवक्ता भट्टराईले भने, "माथिबाट हिमनदीका केही हिस्साहरू पनि खसेका हुन् कि होइनन् भन्नलाई पछिल्लो स्याटलाइट तस्बिरहरूमा धेरै बादल देखिएकाले हामीले ठ्याक्कै भन्न सकेनौँ।"
उद्धारकार्य 'जारी'

तस्बिर स्रोत, Nepal Army
प्रभावित क्षेत्रमा सोमवार पनि खोज तथा उद्धारकार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।
बाढीका कारण आवतजावत अवरुद्ध भएका स्थानबाट मानिसहरूलाई उद्धार गरी सुरक्षित ठाउँमा लैजाने काम भइरहेको प्राधिकरणका विपद् प्रतिकार्य शाखा प्रमुख राम केसीले बताए।
केसीका अनुसार बाढीबाट गोरखाका चुमनुब्री, धार्चे र आरुघाट गरी तीनवटा स्थानीय तह प्रभावित भएका छन्। ठाउँठाउँमा पुल भत्किँदा सडक सम्पर्क अवरुद्ध भए पनि आइतवार बेलुकै आठ ट्रक राहत सामग्री आरुघाट पुर्याइएको उनले जानकारी दिए।
"गोरखा र धादिङ गरेर करिब ३०० मानिस प्रभावित भएका छन् र एक चरणको राहत उनीहरूसम्म पुर्याइसकेका छौँ।"
"सडक सञ्जाल विच्छेद भएका दुर्गम क्षेत्रमा भने सोमवार नेपाली सेनाको हेलिकप्टरमार्फत् राहत सामग्री ढुवानी भइरहेको छ," उनले भने।
विशेष गरी आरुघाट र चुमनुब्रीमा पक्की पुल भत्किँदा आवतजावतमा समस्या भएको केसीले बताए।
उनका अनुसार आरुघाटमा २२ मिटर लामो बेलिब्रिज जडान गरेर अस्थायी रूपमा आवागमन सञ्चालन गर्न सकिने देखिएकाले एक-दुई दिनभित्रै त्यो काम अघि बढाउन लागिएको छ।
बाढीमा परी चुमनुब्रीका दुई महिला र पाँच पुरुष गरी सात जना सम्पर्कविहीन छन् भने प्रभावित क्षेत्रबाट नेपाली सेनाले आइतवार नौ विदेशी नागरिकसहित ९५ जनाको उद्धार गरेको थियो।
निरन्तर निगरानी

तस्बिर स्रोत, NDRRMA
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका उपकार्यकारी निर्देशक तथा प्रवक्ता भट्टराईका अनुसार आइतवार पहिरो गएको क्षेत्रलाई उच्च भूकम्पीय जोखिमयुक्त क्षेत्रका रूपमा हेर्ने गरिएको थियो।
"खुकुलो जमिन भएकाले पहिरो जान सक्ने ठाउँहरू थिए," उनले भने।
कतिपय विश्लेषकहरू सन् २०१५ को भूकम्पपछि उक्त क्षेत्रका हिमाली तथा पहाडी क्षेत्रको जमिन कमजोर बनेका यस्ता घटनाहरू दोहोरिरहेका ठान्छन्।
उक्त भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकनजिकै थियो।
के अझै खतरा छ त? "त्यसलाई नकार्न सकिँदैन। त्यहाँ पहिले देखि नै जोखिमको स्थिति थियो। यद्यपि अहिलेको यो निश्चित घटनामा भने अब खतरा टरेको देखिन्छ," प्रवक्ता भट्टराईले भने।
विपद् प्राधिकरणका केसीले पनि आइतबारको तुलनामा सोमबार जोखिम कम भएको बताए।
"आइतवार नदी थुनिने र बग्ने भइरहेको थियो। सोमवार त्यस्तो छैन," उनले भने।
"यद्यपि हामीले निगरानी भने गरिराखेका छौँ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















