ब्याङ्ककस्थित बारमा भएको आगलागीमा कम्तीमा २७ जनाको मृत्यु

    • Author, ड्यान सेल्स
  • Published
  • पढ्ने समय: ३ मिनेट

ब्याङ्ककस्थित एउटा बारमा भएको आगलागीमा परेर कम्तीमा २७ जनाको ज्यान गएको थाईल्यान्डका प्रधानमन्त्रीले जानकारी दिएका छन्।

आइतवार मध्यरातपछि उक्त घटना हुनासाथ अग्निनियन्त्रकहरूलाई डाकिएको थियो। आगोको लप्काले घेरेको मुख्य ढोकाबाट मानिसहरू भागिरहेको उनीहरूले देखेका थिए।

सामाजिक सञ्जाल 'एक्स'मा राखिएका भिडिओ फुटेजहरूमा बारमा आगोको लप्काका माझ मानिसहरू कोही चिच्च्याउँदै त कोही लड्दै भागिरहेका थिए। कम्तीमा दुई जनालाई आगो लागिसकेको भिडमा देखिन्थ्यो।

आगलागीको कारण

घटनास्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री आनुतीन चार्नविराकुलले २७ वटा शव फेला परेको तथा अन्य घाइतेहरूलाई अस्पताल लगिएको बताए।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको उनले बताएका छन्।

अग्निनियन्त्रकहरूले आधा घण्टामै आगो नियन्त्रणमा लिएको तर त्यतिन्जेलसम्म धेरै क्षति भइसकेको बताइएको छ।

स्थानीय सञ्चारमाध्यममा आएका विवरणहरूमा नौ पुरुष तथा १८ महिलाको ज्यान गएको छ। साठी जनाभन्दा धेरैलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। तीमध्ये आठ जनाको अवस्था गम्भीर भएको बताइएको छ।

कतिपय मानिसहरू हराइरहेको पनि थाइरथले विवरण दिएको छ।

आगो लाग्दा त्यहीँ उपस्थित एक सङ्गीतकारसँग आफूले के भएको थियो भनेर सोधेको प्रधानमन्त्रीले पत्रकारहरूलाई बताए।

"उनका अनुसार कट-आउट स्विचमा आगो लाग्यो र एकदमै चाँडो फैलियो। विस्फोटहरू भए अनि सबैजना धुवाँ र आगोबाट भाग्न थाले।"

"कतिपय मानिसहरू बाहिर निस्किन सकेनन् किनभने उनीहरू भवनको पछिल्तिर गएर धुवाँ र आगोबाट बच्न शौचालयमा पसे र त्यहीँ हामीले धेरैको शव भेट्यौँ।"

रङ बिअर ना लाट फ्राओ नामक उक्त बार ब्याङ्ककको चाटुचाक इलाकामा रहेको छ। उक्त इलाकामा यो एक चर्चित रेस्टुराँ एवं मनोरञ्जन केन्द्र थियो।

घटनास्थलको घेराबन्दी

आगो नियन्त्रणमा आएपछि लिइएका तस्बिरहरूमा बारको अगाडि थुप्रै शव राख्ने ब्याग देखिन्छ भने सो इलाकालाई सुरक्षा घेराबन्दी गरिएको छ।

भित्र बारका फर्निचर, भित्ता तथा सिलिङ सबै कालो देखिन्छ।

ब्याङ्ककका गभर्नरले घटनास्थलको निरीक्षण पछि त्यहाँ आन्तरिक सजावटका लागि राखिएका सामग्री निकै ज्वलनशील भएकाले आगो चाँडै फैलिएको बताए।

चकलेट क्यान्डी तथा अन्य सामग्री बेच्नका निम्ति राखिएका टेबलहरूले आगो लाग्दा भाग्ने ढोकाहरूलाई अवरोध गरेका विवरण पाइएको पनि उनले बताए। तथापि त्यसबारे फरेन्सिक अधिकारीहरूबाट आधिकारिक अनुसन्धान हुनु पर्ने उनले बताएका छन्।

राति ११ः३० बजे सोही बाटो हुँदै यात्रा गरिरहेका एक ड्राइभरले आगलागी भएकव देखेपश्चात् अग्निनियन्त्रकहरू आएका थिए।

ती ड्राइभरले झ्याल फुटाएर आफूले दुई जनालाई भाग्न मद्दत गरेको डेली न्यूजलाई बताएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।