इरान युद्ध टुङ्ग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प, पृष्ठभूमिमा अमेरिकी झण्डा

तस्बिर स्रोत, Reuters

    • Author, ग्यारी ओ'डनह्यू
    • Role, प्रमुख उत्तर अमेरिका संवाददाता
  • पढ्ने समय: ४ मिनेट

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्दै आएका अधिकांश कुरा नै दोहोर्‍याए।

बीस मिनट लामो 'प्राइमटाइम' सम्बोधनमा ट्रम्पले इरानविरुद्ध अमेरिका र इजरेलले सञ्चालन गरेको सैन्य कारबाहीको "मुख्य रणनीतिक उद्देश्य" सम्पन्न हुन लागेको बताए।

इरान युद्ध सुरु भएको एक महिना नाघिसकेको छ। उनले दुईदेखि तीन साता युद्ध लम्बिन सक्ने जनाए।

आफ्नो भाषणमा ट्रम्पले विगतमा जसरी नै इरानलाई "ढुङ्गेयुगमा पुर्‍याउने गरी" बम प्रहार गर्नेसहितका चेतावनी दिए।

विगत एक साताजति उनले 'ट्रूथ सोशल'मा गरेका पोस्टहरू हेर्ने हो भने बुधवार साँझ खासै नयाँ कुरा केही भनेनन्।

इरान युद्ध 'भविष्यका लागि लगानी'

तेहरानमा १ एप्रिलमा विस्फोटन भएपछि निस्किएको धुवाँको मुस्लो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इजरेलले इरानमाथि आक्रमणलाई निरन्तरता दिएको छ

यद्यपि उनले अमेरिकी नागरिकहरूलाई इरान युद्धबाट प्राप्त हुने लाभबारे केही आश्वस्त पार्ने प्रयास गरे।

त्यसो गर्नुको कारण पनि छ। विभिन्न मतसर्वेक्षणमा अधिकांश मतदाताहरूले २८ फेब्रुअरीमा सुरु भएको सैन्य कारबाहीविरुद्ध आफ्नो धारणा व्यक्त गरेका छन्।

विगत एक शताब्दीमा अमेरिका सहभागी भएका र लामो समय चलेका अन्य द्वन्द्वको तुलनामा इरान युद्ध केही पनि नभएको भन्दै ट्रम्पले यसलाई भविष्यका लागि "लगानी"का रूपमा हेर्न आग्रह गरे।

यो युद्ध कुन दिशामा जाला वा अमेरिका त्यसबाट कसरी बाहिरिएला भन्ने प्रश्नको स्पष्ट उत्तर भने ट्रम्पको भाषणमा थिएन। उनले धेरै महत्त्वपूर्ण विषयहरू छुटाएकाले कैयौँ प्रश्नहरू अनुत्तरित छन्।

पहिलो, इजरेलले अझै इरानमा हमला गरिरहेको छ भने इरानबाट पनि इजरेली भूमिलाई लक्ष्य गरेर ड्रोन र क्षेप्यास्त्र प्रहार हुने क्रम जारी छ।

एउटा प्रश्न उठ्छ - के बेन्जमिन नेतन्याहूको नेतृत्वमा रहेको इजरेली सरकार ट्रम्पले भनेअनुसार केही साताको समयतालिका स्वीकार गर्न तयार छ?

अहिले हामीलाई त्यसबारे केही थाहा छैन।

पुरानो प्रस्ताव के भयो

दोस्रो, केही दिनअघि ह्वाइट हाउसले इरानले स्वीकार गरोस् भनेर अघि सारेको १५-बुँदे शान्तियोजना कता पुग्यो? ट्रम्पले आफ्नो भाषणमा त्यसबारे केही बोलेनन्।

के वाशिङ्टनले इरानबाट संवर्धित युरेनिअम लिनेसहितका अधिकांश मागहरू परित्याग गरेको हो?

त्यो पनि अस्पष्ट छ।

यो द्वन्द्वका कारण अवरुद्ध 'स्ट्रेट अफ होर्मुज' फेरि खोल्ने विषयबारे सर्वाधिक चासो देखिएको छ। युद्ध सुरु भएपछि इरानले विश्वभरिकै अतिव्यस्तमध्ये एक मानिने उक्त जलमार्ग बन्द गरिदिएको छ।

तर ट्रम्पले होर्मुज जलमार्गबारे स्पष्ट कुरा गरेनन्।

वाशिङ्टन डीसीमा पेट्रोल पम्पमा आफ्नो कारमा इन्धन भर्दै एक महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकामा झन्डै चार वर्षपछि पेट्रोलियम पदार्थको औसत मूल्य बढेर पहिलो पटक प्रतिलिटर चार डलर पुगेको छ

कुनै बेला उनले इरानले तेलवाहक ट्याङ्करहरूलाई उक्त जलमार्ग प्रयोग गर्न दिनुपर्ने माग गरे पनि साझेदार राष्ट्रहरूलाई उक्त विषय आफैँ समाधान गर्न पनि भने । "उक्त जलमार्गमा जानुहोस् र त्यसलाई आफ्नो नियन्त्रणमा लिनुहोस्, त्यसको रक्षा गर्नुहोस् र आफैँ प्रयोग गर्नुहोस्," उनले भने।

"गाह्रो काम भइसकेको छ त्यसैले अब सजिलो होला।"

त्यसपछि उनले विस्तृत व्याख्या नगरीकन लडाइँ सकिएपछि होर्मुज जलमार्ग आफैँ खुल्ने टिप्पणी गरे। तर तेलको मूल्य बढेकोमा चिन्तित पक्ष ट्रम्पको भनाइबाट ढुक्क हुने देखिँदैन।

बुधवार दिएको एउटा अन्तर्वार्तामा नेटो सैन्य गठबन्धबाट बाहिरिने सङ्केत गरेका ट्रम्पले केही सहयोगी राष्ट्रको आलोचना गरेका थिए। त्यस क्रममा उनले ती राष्ट्रहरूले ढिलै भए पनि साहस देखाएर होर्मुज जलमार्ग फेरि खोल्ने अभियानको नेतृत्व गर्नुपर्ने बताएका थिए।

तर साँझको सम्बोधनमा उनले त्यसबारे केही टिप्पणी गरेनन्।

अस्पष्ट परिभाषा र विरोधाभास

ट्रम्पले उत्तर नदिएको अर्को महत्त्वपूर्ण प्रश्न स्थलसैनिकहरूसँग सम्बन्धित छ। मध्यपूर्वमा पुगेका हजारौँ मरीन र प्यारट्रूपरहरूले अब त्यहाँ के गर्लान्?

राष्ट्रपति ट्रम्पको सम्बोधन सुनेपछि पनि हामीले यो युद्धमा उनले केलाई विजय मानेका छन् भन्ने कुरा बुझ्न सकेका छैनौँ।

विगतमा पनि उनको भनाइमा एक दिनपछि अर्को दिन विरोधाभास देखिने गरेकाले उनको कुरा जुन बेला पनि फेरिन सक्छ।

ट्रम्प युद्धबाट बाहिरिने मार्गको खोजीमा रहेका राष्ट्रपति हुन्। उनी अझै पनि त्यो फेला पार्ने प्रयासमा छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।