इरानमा पक्राउ परेका नेपालीले 'वकिल भेटे', उनलाई छुटाउन नेपाल सरकार के गर्दै छ

तस्बिर स्रोत, Supplied
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ४ मिनेट
काठमाण्डूस्थित परराष्ट्र मन्त्रालयले इरानको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा सकुशल रहेको र उनको भेट एक वकिलसँग भइसकेको बताएको छ।
मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको बेला झन्डै दुई साताअघि नेपालको परराष्ट्र मन्त्रालयले उदयपुरका ३३ वर्षीय झा इरानमा पक्राउ परेको पुष्टि गरेको थियो।
यद्यपि उनलाई इरान युद्ध सुरु हुनभन्दा अगाडि नै इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएको परराष्ट्र मन्त्रालयले बीबीसी न्यूज नेपालीलाई बताएको छ।
झा यूएईमा मुख्यालय रहेको ब्ल्याक सी मरीन एलएलसी नामक कम्पनीको स्वामित्वमा रहेको पानीजहाजको चालकदलका सदस्य भएको बताइएको छ।
उनको परिवारले आफू बसोबास गर्ने उदयपुरस्थित त्रियुगा नगरपालिका र परराष्ट्र मन्त्रालयलाई दिएको जानकारीअनुसार झालाई इरानको रेभलूशनरी गार्ड कोरले 'स्ट्रेट अफ होर्मुज'नजिकैबाट नियन्त्रणमा लिएको थियो।
पारिवारिक स्रोतका अनुसार अमेरिका र इजरेलले इरानमाथि आक्रमण गर्नुअघि झा यूएईको दुबईबाट तेल लिन इरानतिर गएका थिए। बीबीसीले झाको विषय र अवस्थाबारे रोजगारीदाता कम्पनीलाई इमेलमार्फत् प्रश्न गरेको छ। तर त्यसको उत्तर प्राप्त भइसकेको छैन।
त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले बीबीसीसँग भने, "मैले केही दिनअघि परराष्ट्र मन्त्रालयमा टेलिफोन गरेको थिएँ। त्यहाँबाट चाहिँ यसबारे मन्त्रीस्तरबाट पहल भइरहेको छ भन्ने जबाफ प्राप्त भएको थियो। हामी ठोस प्रगतिको पर्खाइमा छौँ।"
"दुबईबाट पानीजहाज चलाएर उनीहरू त्यहाँ पुगेका रहेछन्। (अमृतको) परिवारले भनेअनुसार त्यहाँ ६-७ जना पक्राउ परेका रहेछन्। पक्राउ परेकामध्येका एक जनाले पठाएको सन्देश अमृतको बुवाआमाले पनि थाहा पाउनुभएपछि उहाँहरूले हामीलाई यसबारे जानकारी गराउनुभएको थियो। त्यसपछि मैले मन्त्रालयमा एउटा चाँडोभन्दा चाँडो रिहाइको पहल गरिदिनुपर्यो भन्दै अनुरोध पत्र पठाएको हुँ।"
बस्नेतका अनुसार १२ वर्षदेखि पानीजहाज कम्पनीमा कार्यरत झा दुई वर्षअघि क्याप्टेन बनेको परिवारले जानकारी गराएको छ।
'मेरो छोरा अपराधी होइन'
अमृतका बुवा गोविन्द र आमा प्रभावती झा उदयपुरको गाईघाटमा किराना पसल चलाउँछन्।
आमा प्रभावतीका अनुसार उदयपुरमा नै विद्यालय शिक्षा पुरा गरेका अमृतले १२ कक्षासम्म काठमाण्डूमा अध्ययन गरेका हुन्। त्यसपछि थाइल्याण्ड गएर उनले 'नेभी' अध्ययन गरे अनि पढाइ सकाएर मालवाहक पानीजहाजमा काम गर्न थालेका थिए।
गाईघाटबाट टेलिफोनमा कुराकानी गर्दै प्रभावतीले भनिन्, "हामीले उसको बारेमा केही कुरा थाहा नै पाएका छैनौँ। छिटो भन्दा छिटो मेरो छोरा त्यहाँबाट घर आउन पाओस्। त्यही हो हाम्रो चाहना। हामीले पहल पनि गरेको हौँ तर अहिलेसम्म हामीले केही बुझ्न पाएका छैनौँ।"
उनले थपिन्, "इरानको सरकारलाई म भन्न चाहन्छु मेरो छोरा कुनै अपराधी होइन। उसले नराम्रो काम गर्यो जस्तो मलाई लाग्दैन। त्यहाँको स्थिति सामान्य भएपछि मेरो छोरालाई चाँडो फर्काइदिनुस्। हामी यो आग्रह गर्न चाहन्छौँ।"
उनले एक दशक देखि आफ्नो छोरा पानीजहाज कम्पनीमा काम गर्दै आएको उल्लेख गर्दै विगतमा ९/९ महिनामा छुट्टी हुने गरेको सुनाइन।
"काम राम्रै चल्दै थियो। सबै थोक राम्रो छ भन्ने गर्थ्यो। यसपालि पनि राम्रै थियो। तर खै युद्धले गर्दा हो की के हो खासै जानकारी हामीलाई पनि छैन। हुन त छोरासँग कुरा हुन्थ्यो, ममी केही थाहा छैन तर सबै थोक राम्रै छ भनेर उसले भन्ने गर्थ्यो।"
उनले थपिन्, "पहिला गएर आउँथ्यो अनि फेरि जान्थ्यो। यो पाली आएर थप केही समय पनि बसेको थियो। यस पटक २ वर्ष जति भयो आएको थिएन। आउने वाला थियो। तर यो बीचमा के कस्तो भयो हामीले केही थाहा पाएनौँ।"
अमृत झा पक्राउ परेको विषयमा हामीलाई के थाहा छ
परराष्ट्र मन्त्रालय प्रवक्ता लोकबहादुर क्षेत्रीले बीबीसीसँग कुरा गर्दै झाको मुद्दा इरानको अदालतमा विचाराधीन रहेको र उनले वकिलसँग सम्पर्क गर्न पाएको बताए।
"अमृत झा पक्राउ परेको विषय यो युद्धसँग सम्बन्धित कुरा होइन। युद्धभन्दा पहिले नै हो। जुन कन्सुलर सेवामा पहुँचको लागि हामीले प्रयत्न गरिरहेका थियौँ, त्यो सफल भएर एक वकिलले गत हप्ता उहाँलाई भेट्नुभएको छ। भेटेर कुराकानी गर्दा उहाँ हरेक हिसाबले सकुशल रहेको पाइएको छ।"
उनीसहित पक्राउ परेका अन्य भारतीयहरू पनि सकुशल रहेको अधिकारीहरूले बताएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार इरानस्थित नेपाली कन्सुलर जेनरलको समन्वयमा एक कानुन व्यवसायीले झालाई उनी हिरासतमा राखिएको ठाउँमा गएर भेटेका थिए।
तर इरानमा जारी युद्धसहितका विभिन्न कारणले गर्दा झासँग जोडिएको मुद्दाको कानुनी प्रक्रिया टुङ्गिन समय लागेको अधिकारीहरू बताउँछन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता क्षेत्रीले भने, "सायद युद्ध नभएको भए यो मुद्दा एउटा टुङ्गोमा पुगिसक्थ्यो।"
उनका अनुसार इरानमा नववर्षको अवसरमा कर्मचारीहरू छुट्टीमा बसेका र अदालतमा बिदा परेकाले पनि मुद्दा किनारा लाग्न ढिलो भएको हो।
त्यसबाहेक युद्धका कारण कतिपय गैरसैनिक र यातायात पूर्वाधारमा क्षति पुगेकाले हिँडडुल गर्न समस्या रहेको जनाउँदै क्षेत्रीले भने, "यस कारणले अमृत झाको मात्र होइन सबैको मुद्दाहरूको सुनुवाइमा विलम्ब भएको छ।"
उनले नेपाल सरकारले यो विषयलाई नजिकबाट नियालेको र झाको रिहाइका लागि आवश्यक पहल जारी राख्ने बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




























