अमेरिकामा करिब एक शताब्दीअघि रोकिएको सार्वजनिक रूपमा दिइने मृत्युदण्ड किन ब्युँताइँदै छ?

तस्बिर स्रोत, Getty Images
- Author, शीला फ्लिन
- Role, वरिष्ठ अमेरिका संवाददाता
- Published
- पढ्ने समय: ५ मिनेट
शुक्रवार परेको सन् १९३६ को अगस्ट १४ को दिन। केन्टकीको नदी किनारमा टाढा-टाढाबाट हजारौँ मानिसहरू भेला भए। एक श्वेत वृद्ध विधवाको बलात्कार र हत्याको अभियोगमा दोषी ठहरिएका अश्वेत पुरुषलाई सार्वजनिक रूपमा फाँसी दिन पुरुष, महिला र बालबालिकाहरूको लस्कर लाग्यो।
केन्टकीको ओवेन्सबोरोमा अत्यधिक उष्ण लहर चलिरहेको थियो। ठाउँ नपाइएला भनेर कसै कसैले फाँसी दिने मञ्च नजिकै रात बिताए।
अरू कतिपयले अघिल्लो साँझ मदिरा पानसहितको जमघट गरेका थिए र भोलिपल्ट 'ह्याङओभर'सहित त्यहाँ पुगेका थिए। जबकि किशोर-किशोरीहरूले दर्शकहरूलाई पपकर्न र सोडा बेचिरहेका थिए।
बिहान ५ बजे फाँसी दिने समयसम्म त्यहाँ भेला हुनेहरूको सङ्ख्या बढेर करिब २० हजार पुगिसकेको थियो।
त्यही बेला उमेरले २० काटेका एक अनाथ युवा रेनी बेथिया फाँसीको मञ्चमा उक्लिए। उनलाई ७० वर्षीय लिसिया एडवर्ड्सको लुटपाट, बलात्कार र हत्या गरेको आरोपमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको थियो।
अघिल्लो दिन दिउँसो उनले आफ्नो अन्तिम भोजनका रूपमा फ्राइड चिकेन, पोर्क चप्स, म्यास गरिएको आलु, काँक्रोको अचार, मकैको रोटी, लेमन पाई र आइसक्रिम खाएका थिए।
सार्वजनिक रूपमा दिइएको अन्तिम चर्चित मृत्युदण्ड
त्यहाँ भेला भएका धेरै मानिसहरूमा सिकागो र न्यूयोर्कजस्ता टाढाका ठाउँबाट पुगेका सञ्चारकर्मीहरू पनि थिए।
उनीहरू चर्चामा रहेकी "लेडी एक्जिक्युसनर" लाई हेर्न गएका थिए।
फाँसी कार्यान्वयन गर्ने भूमिकामा रहेका स्थानीय व्यक्तिको चार महिनाअघि मृत्यु भएका कारण उनकी विधवा अनपेक्षित रूपमा उत्तराधिकारी बनेकी थिइन्।
यद्यपि, उनले आफैँले फाँसीको लिभर तान्न अस्वीकार गरिन् र त्यसको सट्टा भाडामा लिइएका व्यक्तिहरूले बेथियालाई मृत्युदण्ड दिए।

तस्बिर स्रोत, FPG/Staff/Getty
त्यो अमेरिकामा भएको अन्तिम चर्चित सार्वजनिक फाँसी थियो।
बेथियाको मृत्युसँग जोडिएको तमासाले केन्टकीका धेरै मानिसहरूलाई लज्जित बनायो र त्यसको १८ महिनापछि गभर्नरले सार्वजनिक मृत्युदण्डमाथि प्रतिबन्ध लगाए।
त्यतिन्जेलसम्म सामाजिक दृष्टिकोणमा मानवीय र गोप्य विधिहरूको खोजी हुन थालेपछि धेरैजसो राज्यहरूले सार्वजनिक रूपमा मृत्युदण्ड दिने परम्परा खारेज गरिसकेका थिए।
सन् १९३७ मा मिजुरीमा पनि केही सय मानिसहरूको उपस्थितिमा अर्को फाँसी दिइएको थियो।
तर त्यो कम चर्चामा रह्यो र अमेरिकाको अन्तिम सार्वजनिक मृत्युदण्ड हो।
अहिले किन कुरा उठ्यो?
बेथियाको हत्या भएको ९० वर्षपछि अमेरिकी रक्षामन्त्री पिट हेगसेथले सन् २००९ मा टेक्ससको फोर्ट हुड सैन्य आधार शिविरमा १३ जना निःशस्त्र सहकर्मी सैनिकहरूको हत्या गर्ने निदाल हसनलाई सेनाले सार्वजनिक रूपमा मृत्युदण्ड दिने घोषणा गरेका छन्।
जसलगत्तै पेन्टागनले डिसेम्बरमा गरिने उक्त मृत्युदण्डको प्रत्यक्ष प्रसारण गरिने जनाएको छ।
"यस्ता कार्यहरूको गम्भीर परिणाम हुन्छ भन्ने कुरा मानिसहरूले बुझ्नुपर्छ," हेगसेथले भनेका छन्।
मृत्युदण्डको विषयमा लामो समयदेखि अध्ययन गर्दै आएका कोलोराडो विश्वविद्यालयका प्राध्यापक एमेरिटस माइकल राडेलेट उक्त खबर सुनेर स्तब्ध भए।
"मैले [अर्को] सार्वजनिक मृत्युदण्डको कहिल्यै कल्पना गरेको थिइनँ," उनले बीबीसीलाई बताए।
मृत्युदण्डप्रति जनसमर्थन क्रमशः घट्दै गएको उनको भनाइ छ।
उदाहरणका लागि सन् १९९४ मा यो समर्थन ८० प्रतिशत थियो भने अहिले ५२ प्रतिशतमा झरेको छ।
"विशेष गरी जब 'भत्ताको सुविधाबिनाको आजीवन कारावास' जस्तो विकल्प दिइन्छ, तब यसमा निकै ठूलो गिरावट आउँछ," उनले भने।
मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने विचारबारे अमेरिकी जनताको धारणा के छ भन्ने कुरा जान्न अझै हतार हुनेछ। तर, लाखौँ वा त्योभन्दा बढी मानिसहरूले यसलाई हेर्ने सम्भावना छ।
हेगसेथको घोषणाबारे राडेलेटले भने: "यसबाट मृत्युदण्डको औचित्य मनोरञ्जनमा परिणत हुन्छ... पपकर्न लिएर आउनुहोस्, आफ्ना साथीभाइलाई पनि बोलाउनुहोस्।"
प्रत्यक्ष प्रसारण !
गत वर्ष मात्र बेथियाको मृत्युदण्डबारे एउटा पुस्तक प्रकाशित गरेकी सोन्या लियाले जब 'फायरिङ स्क्वाड' भनिने गोली प्रहार गरेर मृत्युदण्ड दिने प्रक्रियाको प्रत्यक्ष प्रसारण गरिने कुरा सुनिन्, तब उनलाई "हाम्रा भावी पुस्ताका लागि डरलाग्दो अवस्था आउने" महसुस भयो।
"सन् १९३६ मा यसलाई 'क्रूरताको उत्सव' भनिन्थ्यो," उनले भनिन्, "ओवेन्सबोरो, केन्टकीमा प्रत्यक्ष हेर्न भेला भएका २० हजार मानिसहरूभन्दा धेरैमाझ यसलाई पुर्याउन सक्ने प्रविधि अहिले हामीसँग हुनुले यसलाई अझ बढी भयावह बनाएको छ।"
सन् १९३६ को त्यो भीडमा लियाका हजुरबुबा-हजुरआमा पनि थिए, जो त्यति बेला भर्खरै विवाहित किशोर-किशोरी थिए।
उनले यो कुरा सन् २००२ मा आफ्नी हजुरआमाको निधनपछि मात्र थाहा पाइन्। उनले आफ्नी स्वर्गीय हजुरआमाले लेखेको विवरण पढेकी थिइन् जसमा बेथियाको घाँटी भाँचिएको आवाज सुन्न सकिने गरी उनीहरू नजिकै रहेको उल्लेख थियो।
त्यसपछिका वर्षहरूमा गरेको अनुसन्धानबाट ती लेखिकाले केन्टकीका धेरै बासिन्दाहरूलाई त्यो मृत्युदण्डको घटनाले लामो समयसम्म सताइरहेको थाहा पाइन्।
"मैले साँच्चै नै हामीले यसलाई पछाडि छोडिसकेका छौँ भन्ने मनबाटै सोचेकी थिएँ। यस्तो स्तरको बीभत्सता जसलाई विश्वका केही देशहरू- जस्तै इरान, उत्तर कोरिया र अफगानिस्तानले मात्र अपनाउँछन्," उनले भनिन्।
"के अब हामी संयुक्त राज्य अमेरिकाको रूपमा आफूलाई त्यस्तै प्रकारको सरकारको हिस्सा मान्दैछौँ? यो साँच्चै भयावह कुरा हो।"
किन यस्तो गरिँदै छ?
ओहायो स्टेट युनिभर्सिटीका सामाजिक मनोविज्ञानका प्राध्यापक कर्ट ग्रेका अनुसार अमेरिकी राजनीतिमा देखिएको ध्रुवीकरण र वाक युद्धले यस्तो घोषणाका लागि पृष्ठभूमि तयार पारेको हुन सक्छ।
"केही अमेरिकीहरूमा प्रतिशोध वा हिंसाको तीव्र चाहना हुन सक्छ। तर मलाई लाग्छ धेरैजसोमा त्यस्तो छैन। बरु धेरै अमेरिकीहरू यस्ता घटनाप्रति एक प्रकारले उदासीन वा असंवेदनशील भइसकेका छन्," उनले भने।
"त्यसैले उनीहरू सार्वजनिक मृत्युदण्डको समर्थनमा खुसी मनाइरहेका होइनन्। उनीहरूको प्रतिक्रिया यस्तो हुन्छ - ए, हो त, सायद अहिले हाम्रो अवस्था यस्तै भइसकेको छ।"
अन्य अनुसन्धानले सङ्केत गरेअनुसार हेगसेथ र प्रशासनले देशको वास्तविक अवस्थालाई गलत ढङ्गले बुझिरहेका हुन सक्छन्।
युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेस्थित 'भ्वाइलेन्स प्रिभेन्सन रिसर्च प्रोग्राम'का निर्देशक गारेन विन्टेम्युटले सर्वेक्षणका तथ्याङ्कहरूले अमेरिकामा प्रतिशोधपूर्ण कारबाहीको चाहना घट्दै गएको देखाएको बताउँछन्।
"आज बिहान 'युएस कन्फरेन्स अफ क्याथोलिक बिसप्स' का अध्यक्षले यस [प्रत्यक्ष प्रसारणमार्फत मृत्युदण्डको घोषणा] लाई बर्बर कार्यको संज्ञा दिए," उनले भने, "र मलाई लाग्छ उनले धेरै मानिसहरूको भावनाको प्रतिनिधित्व गरेका छन्।"
"मलाई लाग्छ मुख्य कुरा यो हो: सार्वजनिक मृत्युदण्ड हाम्रो पहिचान होइन," उनले थपे। "एउटा राष्ट्रका रूपमा हामी यस्तो बन्न चाहँदैनौँ।"
ह्वाइट हाउसभित्रै बहस

तस्बिर स्रोत, Bell County Sheriff's Office/Reuters
शुक्रवार ह्वाइट हाउसभित्रै हेगसेथको अप्रत्याशित घोषणाबारे बहस चलिरहेको देखिएको थियो।
उपराष्ट्रपति जेडी भान्सले पत्रकारहरूसँग कुरा गर्दै सार्वजनिक रूपमा गरिने भनिएको मृत्युदण्डको कार्यान्वयन योजनाअनुसार अघि बढ्छ वा बढ्दैन भन्नेबारे अनिश्चितता व्यक्त गरेका छन्।
उनले भने, "यो वास्तवमै हुन्छ भन्ने मलाई थाहा छैन, यदि यसको प्रत्यक्ष प्रसारण गरियो भने मैले त्यो हेर्ने छैन।"
त्यसको केही घण्टापछि राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले प्रत्यक्ष प्रसारणको योजनालाई "पूर्ण रूपमा" समर्थन गर्ने बताए।
तर पेन्टागनले यो विषय अझै "निर्णय लिने प्रक्रियामा" रहेको उल्लेख गरेको छ। राष्ट्रपतिले हसनको मृत्युदण्ड आफूले हेर्ने वा नहेर्ने भन्ने प्रश्नको जवाफ दिएनन्।
"उनी कसरी जान्छन् भन्ने कुराले मलाई खासै फरक पार्दैन। मुख्य कुरा उनी जानुपर्छ," ट्रम्पले भने, "र मलाई लाग्छ कि मृत्युदण्ड उनीजस्ता व्यक्तिका लागि एकदमै उपयुक्त सजाय हो।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















