चीनमा ३२.५ करोड डलर घुस लिने अधिकारीलाई मृत्युदण्ड हुने फैसला

गाढा रङको ज्याकेट लगाएर अदालतमा उपस्थित हुँदै याङ यूलिन

तस्बिर स्रोत, CCTV

तस्बिरको क्याप्शन, अरूलाई इन्जिनिअरिङसम्बन्धी ठेक्का दिलाउन र वित्तीय सहायता उपलब्ध गराउन याङ यूलिनले आफ्नो पद र शक्तिको दुरुपयोग गरेको ठहर भएको छ
    • Author, केली अङ
  • Published
  • पढ्ने समय: ३ मिनेट

पूर्वी चीनको एउटा अदालतले विगत ३० वर्षमा २.२ अर्ब युआन (३२ करोड ५० लाख डलर) भन्दा बढी रकम घुस लिएको अभियोगमा एक भूतपूर्व नगर अधिकारीलाई मृत्युदण्डको सजाय सुनाएको छ।

सन् १९९३ देखि २०२३ सम्म नान्जिङ सहरमा विभिन्न पदमा कार्यरत रहँदा ६९ वर्षीय याङ यूलिन रकम हिनामिना, अख्तियार दुरुपयोग र सम्पत्ति शुद्धीकरणमा संलग्न भएको अभियोगमा पनि दोषी ठहर भएका छन्।

उनले गैरकानुनी रूपमा आर्जन गरेको रकम हालैका वर्षहरूमा त्यसरी कमाएको सबैभन्दा धेरैमध्ये मानिएको छ।

चीन सरकारको नियन्त्रणमा रहेको सञ्चारमाध्यमका अनुसार उनले रकम र बहुमूल्य वस्तुहरू लिएर अरूलाई ठेक्का दिन, जग्गा उपलब्ध गराउन र आर्थिक सहायता जुटाउन पदको दुरुपयोग गरेका थिए।

राष्ट्रपति सी जिन्पिङको भ्रष्टाचारविरोधी अभियानअन्तर्गत याङमाथि अनुसन्धान गरिएको थियो। भ्रष्टाचार नियन्त्रण गर्ने अभियानमा सैन्य अधिकारीहरूदेखि उच्च तहको ब्याङ्किङ क्षेत्र पनि पर्छन्।

कस्तो अपराधमा मृत्युदण्ड हुन्छ

याङले आफ्नो सरकारी सेवाको अधिकांश समय नान्जिङको आर्थिक तथा प्राविधिक विकासमा व्यतीत गरे।

चाङ्जो सहरस्थित अदालतले सोमवार बताएअनुसार याङले त्यस क्रममा "अत्यन्तै गम्भीर प्रकृतिका" अपराधहरू गरेका थिए र "राज्य तथा जनताको हितमा असाधारण रूपमा ठूलो क्षति" पुर्‍याएका थिए।

सत्तामा आएदेखि राष्ट्रपति सीले भ्रष्टाचारविरोधी अभियान चलाउँदै आएका छन्। यद्यपि आलोचकहरू त्यस्तो अभियानलाई राजनीतिक प्रतिद्वन्द्वीहरूलाई पाखा लगाउने अस्त्रको रूपमा समेत प्रयोग गरिएको ठान्छन्।

चीनमा आर्थिक तथा व्यावसायिक अपराधका लागि हतपत मृत्युदण्डको सजाय दिइँदैन।

तर १ अर्ब युआनभन्दा बढीको रकम संलग्न भएको अवस्थामा कहिलेकाहीँ दोषी ठहर हुने व्यक्तिलाई त्यस्तो सजाय सुनाएको पाइन्छ।

यसअघि भूतपूर्व आर्थिक अधिकारी लाई शाओमिनलाई सन् २०२१ मा मृत्युदण्ड दिइएको थियो। उनी १० वर्षको अवधिमा १.८ अर्ब युआन घुस लिएको आरोपमा दोषी ठहर भएका थिए। उनी २०१८ मा पक्राउ परेका थिए।

इनर मङ्गोलियाका भूतपूर्व अधिकारी लि जिआन्पिङले ३ अर्ब युआनभन्दा बढी रकम घुस लिएको अभियोगमा २०२४ मा मृत्युदण्ड पाएका थिए।

अदालतले सजाय घटाउन मानेन

अदालतहरूले धेरै मुद्दामा जेल सजाय वा निलम्बित मृत्युदण्डको फैसला सुनाएका छन्। त्यस्तो सजाय निश्चित अवधिपछि आजीवन कारावासमा स्वतः परिणत हुन्छ।

दोषी ठहर भएका व्यक्तिहरूले अन्य अपराधीहरूको बारेमा सूचना दिएर सहयोग गरेको खण्डमा अदालतले सजाय घटाएका उदाहरणहरू पनि छन्।

याङले पनि अधिकारीहरूलाई त्यसरी नै सहयोग गरेका थिए। तर उनको अपराध निकै "गम्भीर" भएकाले "सजाय घटाउन पर्याप्त नभएको" अदालतले जनायो।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार याङले आफ्नो गल्ती स्वीकार गर्दै आफ्नो अन्तिम बयानमा आफ्नो कार्यप्रति "पश्चात्ताप" व्यक्त गरेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।