विमिन्स एशिया कप क्रिकेटको पहिलो खेलमा यूएईमाथि नेपालको जित

सम्झना खड्का
तस्बिरको क्याप्शन, आफ्नो करिअरको अन्तर्राष्ट्रिय अर्धशतक बनाएकी सम्झना खड्काले यो खेलमा कुल ७२ रन स्कोर गरिन्
    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू
  • Published
  • पढ्ने समय: ३ मिनेट

श्रीलङ्कामा शुक्रवारबाट सुरु भएको एशियाली महिला क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता ‘विमिन्स एशिया कप’ को उद्घाटन खेलमा नेपाली टोलीले युएईलाई छ विकेटले पराजित गरेको छ।

पाँच महिनाअगाडि यूएई एसीसी प्रिमिअर कपको विजेता बनेको थियो। उसले शुक्रवारको खेलमा नेपाललाई ११६ रनको लक्ष्य दिएको थियो, जसलाई नेपाली टोलीले १६.१ ओभरमा पूरा गर्‍यो।

दाम्बुल्ला रङ्गशालामा टस जितेर पहिले फील्डिङ रोजेको नेपालविरुद्ध यूएईले २० ओभरमा आठ विकेट गुमाउँदै ११५ रन जोडेको थियो।

जबाफमा नेपालले १६.१ ओभरमा लक्ष्य पूरा गर्‍यो।

नेपालबाट कप्तान इन्दु वर्माले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिइन् भने ब्याटिङमा सम्झना खड्काले अविजित रहँदै सर्वाधिक ७२ रनको पारी खेलिन्।

उनले ४५ बलमा ११ चौका प्रहार गरिन्।

नेपाल महिला टोली यूएईविरुद्ध
तस्बिरको क्याप्शन, प्रभावशाली ब्याटिङ गर्दै नेपालले १६.१ ओभरमै लक्ष्य पूरा गरेको थियो

प्रभावशाली ब्याटिङ

सम्झनाले ३६ बलमा आफ्नो अर्धशतक पूरा गरेकी थिइन्। सो क्रममा उनले आठ चौका प्रहार गरेकी थिइन्। यो सम्झनाको पहिलो अन्तर्राष्ट्रिय अर्धशतक हो।

दाम्बुल्ला रंगशालामा टस जितेर पहिले फिल्डिङ रोजेको नेपाल विरुद्ध युएईले पूरा ओभर खेलेर ११५ रन जोडेको थियो।

सम्झनाले सुरुआतदेखि नै आक्रामक रूप देखाउँदै स्कोर जोड्न थालेकी थिइन्।

उनलाई ओपनिङ पार्ट्नर सीता रानामगरले पूरापूर साथ दिइन्। तर सीता १७ बल खेलेर सात रनमा आउट हुन पुगिन्।

सम्झना खड्का
तस्बिरको क्याप्शन, आजको खेलमा सम्झना खड्काले सुरुआतदेखि नै आक्रामक रूप देखाउँदै स्कोर जोड्न थालेकी थिइन्

यी दुईले मिलेर पहिलो विकेटको लागि ३९ रनको सानदार साझेदारी गरेका थिए।

सम्झनाले एकातर्फ मज्जाले ब्याटिङ गरिरहँदा अर्कोतर्फ कविता कुँवर दुई रन तथा कप्तान इन्दु वर्मा छ रन बनाएर आउट भएका थिए।

त्यसपछि आएकी भरपर्दी ब्याटर रुविना क्षेत्री पनि अनावश्यक क्रस खेल्ने क्रममा १० रन जोड्दा बोल्ड हुन पुगिन्।

त्यतिखेर टोलीको स्कोर चार विकेटको क्षतिमा ८९ रन पुगिसकेको थियो।

यद्यपि सम्झना एक्लैले खेल सम्हाल्दै रन गतिलाई बढाइरहिन्।

इन्दुको राम्रो बलिङ

नेपाल महिला क्रिकेट कप्तान इन्दु वर्मा
तस्बिरको क्याप्शन, यूएईविरुद्धको खेलमा कप्तान इन्दु वर्माले तीन विकेट लिइन्

कसिकसाउ बलिङ गर्दै ‘पावर प्ले’ मा दुई विकेट लिएर नेपालले राम्रो सुरुआत गरेको थियो।

यूएईकी कप्तान तथा भरपर्दा ब्याटर इशा ओजा (१० रन )लाई दोस्रो ओभरमा रुविना क्षेत्री र काजोल श्रेष्ठले रनआउट गरेका थिए।

तेस्रो ओभरमा सबनम राईले रिनिथा रजिजलाई बोल्ड गरिदिइन्।

तर मध्यक्रमका ब्याटर खुशी शर्माले ३६ तथा कविशा इगोडेगले २२ रन जोडेर यूएईलाई बलियो अवस्थामा पुर्‍याए।

त्यसपछि आएका ब्याटरहरुलाई नेपाली बलरहरुले लामो समय टिक्न दिएनन्।

नेपालबाट कप्तान इन्दु वर्माले तीन तथा सबनम र कृतिका मरासिनीले एकएक विकेट लिएका थिए।

बलियो यूएई

यूएई पछिल्लो समय एशियाली क्रिकेट क्षेत्रमा उदाएको टोली हो।

गत फेब्रुअरीमा एशिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको एसीसी प्रिमिअर कप जितेर यूएईले आफ्नो क्षमता पुष्टि गरेको थियो।

पछिल्लो समय आफ्नै राष्ट्रका खेलाडी उत्पादन गर्ने उद्देश्य राख्दै एकेडेमी सञ्चालनमा केन्द्रित भएपछि यूएईको क्रिकेटले राम्रो नतिजा निकाल्न थालेको देखिएको छ।

यूएईले सन् २०२३ मा आइसीसीले प्रदान गर्ने ‘असोसिएट पर्फर्मन्स अफ द यिअर’ अवार्ड जितेको थियो।

नेपालको भने पछिल्लो प्रदर्शन सन्तोषजनक देखिएको थिएन।

नेपाल क्रिकेट
तस्बिरको क्याप्शन, नेपालले यसपछि भारत र पाकिस्तानजस्ता ठूला टोलीहरूको सामना गर्ने छ

नेपालका अबका खेल

  • जुलाई २१- नेपाल र पाकिस्तान
  • जुलाई २३- नेपाल र भारत

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।