काठमाण्डूबाट सबैभन्दा छिटो चीनको सीमा पुगिने आयोजना कहिलेबाट सुरु हुन्छ?

रसुवागढी नाकाबाट सामान भित्रिँदै

तस्बिर स्रोत, PRCAMBNepal

पढ्ने समय: ५ मिनेट

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा समझदारी भएको टोखा-छहरे सुरुङमार्गको प्रारम्भिक काम अबको केहि महिनाभित्रै सुरु हुने ठानिएको अर्थ मन्त्रालयका प्रवक्ताले बताएका छन्।

यो सुरुङमार्ग बनिसकेपछि नेपालको राजधानी काठमाण्डूबाट रसुवागढी नाका हुँदै चीनको केरुङ पुग्न केही घण्टा मात्रै लाग्ने दाबी गरिएको छ।

पाँच वर्ष अघि चिनियाँ राष्ट्रपति सी जिन्पिङको काठमाण्डू भ्रमणका क्रममा चीनले आफ्नो देशको सीमाबाट सबैभन्दा छिटो नेपालको राजधानी जोड्ने रणनीतिक महत्त्वको यो सुरुङ र केही सडकखण्ड समेत आफ्नै अनुदानमा बनाइदिने सहमति जनाएको थियो।

ओलीको चीन भ्रमणका क्रममा जारी भएको संयुक्त वक्तव्यमा टोखा छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ। संयुक्त वक्तव्यमा चिनियाँ अनुदानमा बन्ने स्याफ्रुबेँसी-रसुवागढी सडकमार्गको स्तरोन्नतिका लागि अवरोधहरू हटाउने पनि उल्लेख छ।

सडक विभागका अधिकारीहरूका अनुसार १६ किलोमिटर लामो उक्त सडक खण्ड विस्तार हुने क्षेत्रमा स्थानीयका संरचना हटाउन चिनियाँ पक्षले बारम्बार ताकेता गरिरहेको छ। चिनियाँ पक्षले स्याफ्रुबेँसी-रसुवागढी सडक र नेपालले आफैँ मैलुङ-स्याफ्रुबेँसी सडक विस्तार योजना अघि बढाइरहेका छन्।

सडक विभागका महानिर्देशक रामहरि पोखरेलले चिनियाँ पक्षले निर्माण गर्ने भनिएको खण्डमा क्याम्पहरू बनाउने काम भइरहेको बताए। नेपाल आफैँले बनाउने सडकखण्डमा पनि नयाँ ठेक्काको प्रक्रिया भइरहेको र दुई वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको सडक विभागको दाबी छ।

ती दुवै सडकखण्ड र सुरुङ मार्ग बनेपछि रसुवाको चिनियाँ नाका पुग्न अझै छिटो हुने पोखरेलले बताए।

"अहिलेसम्म तातोपानी नजिक छ। यो सुरुङ मार्ग बनिसकेपछि केरुङ नजिक हुन्छ," पोखरेलले भने।

अहिले काठमाण्डूबाट टोखा, विदुर, स्याफ्रुवेँसी हुँदै रसुवागढी नाका पुग्न १२७ किलोमिटर पार गर्नुपर्ने चीनसँग व्यापार गर्ने व्यवसायीहरूको छाता संस्था हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्की बताउँछन्। तर यो सडक साँघुरो भएका कारण धेरै कन्टेनरहरू अहिले रसुवागढी पुग्न धेरै व्यस्त रहने काठमाण्डूबाट बाहिरिने मुख्य नाका थानकोट हुँदै गल्छी-त्रिशूली सडकबाट रसुवा पुग्दा लामो समय लाग्ने गरेको व्यवसायीहरू बताउँछन्।

सुरुङमार्गको काम के भयो के बाँकी छ

सुरुङ बनाइँदै

तस्बिर स्रोत, MWSP

तस्बिरको क्याप्शन, नेपालमा सडक, जलविद्युत र खानेपानी आयोजनामा सुरुङहरू बनिरहेका छन्

सडक विभागका महानिर्देशक पोखरेलका अनुसार टोखा-छहरे सुरुङमार्गको पूर्व सम्भाव्यता अध्ययन बाहेकका कुनै पनि भौतिक योजनाका काम अघि बढेका छैनन्।

चिनियाँ समूहले नै गरेको पूर्व सम्भाव्यता अध्ययनको प्रतिवेदन समेत सडक विभागले पाइनसकेको अधिकारीहरूले बताएका छन्। नेपालका अधिकारीहरूका अनुसार उक्त सुरुङमार्गको लम्बाई चार किलोमिटर हाराहारी हुने आकलन गरिएका छन्। काठमाण्डूतर्फको विन्दु करिब निश्चित भए पनि नुवाकोटतर्फको विन्दु यकिन हुन बाँकी रहेको अधिकारीहरू बताउँछन्।

"कति किलोमिटर हुन्छ र यसको प्रवेशविन्दु कहाँ हुन्छ भन्ने टुङ्गो लागिसकेको छैन" पोखरेलले भने।

उनका अनुसार सुरुङमार्गको लगानी कति लाग्छ भन्ने टुङ्गो लगाउनु अघि सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय मूल्याङ्कन प्रतिवेदन तयार गर्न बाँकी छ।

नुवाकोटकै नेता प्रकाशशरण महत अर्थमन्त्री हुँदा बजेट वक्तव्यमा विस्तृत आयोजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्याङ्कन लगायतका कार्य अघि बढाउन एक अर्ब बजेट विनियोजन भएको थियो।

तर सुरुङमार्गको काममा प्रगति नभए पछि उक्त रकम अन्यत्रै रकमान्तर भएको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्।

कुन ढाँचामा बन्ला आयोजना

नेपाल र चीनबीच नौ बुँदे सहमति हुँदै

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला नौवटा सहमतिमा हस्ताक्षर भएका थिए। जसमध्ये एक टोखा-छहरे सुरुङमार्ग पनि थियो

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार टोखा-छहरे सुरुङ मार्ग 'टर्न की परियोजना'को ढाँचामा बन्ने सम्भावना छ।

"यो भनेको आयोजनाको सम्भाव्यता अध्ययन देखि ठेक्का समेत आफैँ गरेर हस्तान्तरण मात्रै गर्ने ढाँचा हो। नेपालसँग सुरुङमार्गको अनुभव नभएका कारण पनि चीन आफैँले सुरुङ तयार गरेर हामीलाई निर्माण सम्पन्न गरेपछि हस्तान्तरण मात्रै गर्ने हुनसक्छ," उनले भने।

यसअघि जापानी सहुलियत ऋणमा बनेको नागढुङ्गा सुरुङ मार्ग पनि जापानी सहयोग नियोग जाइकाले यही ढाँचामा तयार गरेको थियो। कतिपय विदेशी अनुदानमा बन्ने आयोजनाका लागि दातृ राष्ट्रले नेपाललाई नै बजेट दिएर परियोजना अघि बढाउने शैली पनि अपनाउने गर्छन्।

नेपालले आगामी वर्षको बजेटमा यो आयोजना समेट्ने तयारी गरिरहेका कारण केही महिनाभित्रै यसको काम सुरु हुने ठानिएको अर्थ मन्त्रालयका प्रवक्ता भट्टराईले बताए।

"अबको तीन महिनाभित्र यसको केही काम सुरु हुने हाम्रो बुझाई छ," उनले भने।

सुरुङमार्गको लागत कति होला

टोखा-छहरे सुरुङमार्गबारे लगानी बोर्डले एक दशकअघि गरेको अध्ययनमा चार किलोमिटर लामो सुरुङ बनाउन २६ अर्ब ५० करोड रुपैयाँ खर्च हुने आकलन गरिएको थियो।

चिनियाँ लगानीमा बन्ने भएपछि उक्त सुरुङमार्गको लगानीबारे नेपालले धेरै अध्ययनहरू नगरेको अधिकारीहरू बताउँछन्। सडक विभागलाई पनि यो सुरुङमार्गबारे सहजीकरणको लागि मात्रै पत्र लेखिएका कारण लागतबारे धेरै अध्ययन नभएको विभागका अधिकारीहरू बताउँछन्।

यसअघि जापानी सहयोगमा बनेको २.६६८ किलोमिटर लामो नागढुङ्गा सुरुङ बनाउन ११ अर्ब खर्च भएको थियो। अहिले एक किलोमिटर सुरुङ बनाउन छ अर्ब हाराहारी खर्च हुने सडक विभागका अधिकारीहरू बताउँछन्।

सुरुङमार्ग बन्दा कस्तो फाइदा

रसुवागढी नाकामा कन्टेनर

तस्बिर स्रोत, PRCAMBNepal

हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरी कार्की सुरुङमार्ग बनिसकेपछि चीनबाट आयात हुने सामग्रीहरू उपभोक्तालाई केही सस्तो हुने बताउँछन्।

"यहिले रसुवागढीबाट एक कन्टेनर सामान ल्याउन एक दिन पूरा समय र ९० हजार देखि एक लाख रुपैयाँसम्म खर्च लाग्छ। सुरुङमार्ग बन्ने र सडक पनि फराकिलो हुने हो भने सामान पनि केही घण्टामै आइपुग्छ र लागत पनि ५० हजार रुपैयाँ भन्दा कम हुन्छ," उनले भने।

अहिले चिनियाँ बजारबाट आठ देखि नौ दिन लगाएर केरुङ नाकासम्म ल्याइपुर्‍याइएका सामान भन्सार पास भएपछि रसुवागढी हुँदै काठमाण्डू ल्याउन एक दिन पूरै लाग्ने व्यवसायीहरू बताउँछन्।

काठमाण्डूबाट ११४ किलोमिटर दूरीमा रहेको तातोपानी नाकाबाट चार देखि पाँच घण्टामा सामान आइपुग्ने भए पनि चीनले तातोपानी भन्दा रसुवागढी नाकालाई प्राथमिकता दिँदै आएको छ।

सङ्घका अध्यक्ष कार्कीले अहिले दुवै नाकाबाट दैनिक ४० देखि ५० कन्टेनर सामान आयात भइरहेको जानकारी दिए।

सडक विभागका महानिर्देशक पोखरेल टोखा छहरे सुरुङमार्ग बनेपछि काठमाण्डू उपत्यकाको सहर नुवाकोट क्षेत्रमा पनि विस्तार हुने बताउँछन्।

करिब चार किलोमिटर दुरीमा पुगिने नुवाकोटको प्रवेश विन्दु नजिकै स्याटलाइट सहर बसाउने योजना सरकारले समेत अघि सारेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।