शेअर बजारको कारोबार नै बन्द हुने साइबर हमलाले देखाएको जोखिम कस्तो हो

तस्बिर स्रोत, Reuters
केही ब्रोकर (कारोबार सदस्य) कम्पनीहरूका सर्भरमा साइबर हमला भएर एक दिन शेअर बजारको कारोबार नै रोकिएपछि त्यसले साइबर सुरक्षाबारे चिन्ताजनक रूपमा तयारी गर्नुपर्ने देखाएको विज्ञ तथा अधिकारीहरूले बताएका छन्।
शेअर बजारको कारोबार सोमवार रोकिए पनि समस्या समाधान भएको र मङ्गलवारबाट कारोबार पुन: सुरु भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।
९२ मध्ये ७२ कारोबार सदस्य कम्पनीहरूको सर्भर राखिएको डेटा सेन्टर डेटा हब प्रालिमा आइतवार नै समस्या देखिएपछि नेप्सेको कारोबार प्रणालीमा पनि क्षति पुग्ने सक्ने भन्दै सोमवारको कारोबार बन्द गरिएको नेप्सेले जनाएको हो।
"कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएकोले नियमित कारोबार सत्रलाई स्थगन गरिदिन स्टक ब्रोकर एशोसियसन अफ नेपालले समेत निवेदन दिएको सन्दर्भमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली अनुसार कारोबार स्थगित गरिएको जानकारी गराइन्छ," नेप्सेले विज्ञप्तिमा भनेको छ।
नेपालमा शेअर बजारमा जोडिन आएका लगानीकर्ताहरूको सङ्ख्या करिब ४५ लाख रहे पनि दैनिक सक्रिय रूपमा कारोबार गर्नेहरूको सङ्ख्या भने ४० देखि ४५ हजार रहेको बताइन्छ।
साइबर सुरक्षाबारे आफूहरूले यसअघि नै सचेत गराउँदै ब्रोकरहरूलाई त्यसबारे तालिम पनि दिइसकेको नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले बताएका छन्।
लगानीकर्ताहरूले भने आफूहरूलाई ठूलो असर परेको भन्दै त्यसबारे अनुगमन गर्न धितोपत्र बोर्डको ध्यानाकर्षण गराएका छन्।
साइबर हमला नेप्सेमै भएर कारोबार बन्द गरिएको हो?
साइबर हमला नेप्सेको प्रणालीमा नभई नेप्सेसँग जोडिएका ब्रोकरहरूले डेटा राखेका ठाउँमा भएको अधिकारीहरूले बताएका छन्।
नेप्सेसँग जोडिएकामध्ये ७२ ब्रोकरहरूले आफ्नो डेटाको व्यवस्थापन डेटा हब प्रालिले दिएको क्लाउड सर्भिस लिएर गर्दै आएका छन्।
"आइतवार डेटा हबमा साइबर हमला भएपछि नेप्सेको प्रणालीसम्म पनि असर पर्न सक्ने भन्दै त्यसलाई अलग्याइयो," अधिकारीहरूले बताएका छन्।
त्यसरी अलग्याइएसँगै ७२ वटा ब्रोकरले नेप्सेको प्रणालीमा पहुँच पाएनन्।
मन्त्रालय र धितोपत्र बोर्डसँगको अनौपचारिक छलफलपछि सोमवार बाँकी ब्रोकरका लागि पनि कारोबार रोकिएको बताइएको छ।
"हाम्रो कारोबार सदस्य(ब्रोकर)हरूको डेटा सेन्टरमा साइबर आक्रमण भएकाले र त्यसअवस्थामा कारोबार गर्दा नेप्सेकै प्रणालीमा पनि क्षति पुग्न सक्ने अवस्था देखिएकाले कारोबार स्थगित गरिएको हो," सूचना अधिकारी पराजुलीले भने।
"तर डेटा हब साइबर हमलाबाट मुक्त भएपछि अब कारोबार गर्न सुरक्षित भन्ने भएपछि प्रणालीमा जोडेर कारोबार गर्न थालिएको हो।"
सूचना प्रविधि भित्र्याएर प्रयोगमा ल्याएपछि हमलाको जोखिममा नेपालमात्रै नभई सबै प्रयोगकर्ताहरू हुने अधिकारी र विज्ञहरू बताउँछन्।
त्यसैले साइबर हमलाको जोखिम जहाँ सुकै हुने भएकाले त्यसबारे सचेत रहेर आवश्यक सतर्कता अपनाउन कामहरू पनि गर्दै आएको सूचना अधिकारी पराजुली बताउँछन्।
"साइबर आक्रमणविरुद्ध लड्ने भन्ने ग्लोबल नेटवर्क पनि छ। हामी पनि त्यसमा छौँ र बेलाबेला सेमिनार पनि हुन्छ," उनले भने।
"गत फागुनमा मात्रै सबै ब्रोकरलाई बोलाएर हामीले साइबर आक्रमणको उच्च जोखिममा हामी छौँ, र ठूलो कारोबार हुने भएकाले नेप्से अझै उच्च जोखिममा छ भनेर सचेत गराउन तालिम दिएका थियौँ।"
साइबर सुरक्षाका लागि नीति, उपकरण, प्रविधि रहेको र त्यसका लागि विगतदेखि नै तालिमहरू दिँदै सचेत पनि गराइएको उनले बताएका हुन्।
तर त्यति हुँदा हुँदै पनि जोखिम भने उच्च रहेको भन्दै त्यसका लागि सूचना आदानप्रदान गर्ने, हमला भएको विषय नलुकाउने र मद्दत लिने कामहरू गरेर अगाडि बढ्नुपर्ने साइबर सुरक्षाका एक अभ्यासकर्ता कुमार पुडासैनी बताउँछन्।
"हामीले पीपल(मानिस), प्रोसेस(प्रक्रिया), प्रोडक्ट (उत्पादन) र पार्टनर (साझेदार)को दृष्टिकोणबाट साइबर हमलालाई हेर्नुपर्छ। हामीले सधैँ एउटा संस्थालाई हमला भएको रूपमा हेर्छौँ तर त्यस्तो मात्रै नभएको हुन सक्छ किनभने बेग्लाबेग्लै सिस्टम र सबसिस्टमहरू हुन्छन् र ती एकआपसमा 'इन्टरकनेक्टेड' हुन्छन्," ग्लोबल साइबर सेक्युरिटी कम्युनिटी फोरमका सदस्य समेत रहेका पुडासैनीले भने।
"त्यो हिसाबले नेप्सेको प्रणाली वा नेपालमा वा संसारमै हुने हमलामा थुप्रै सरोकारवालाहरू संलग्न हुन्छन्। त्यसले गर्दा कमजोरी मानिस, प्रक्रिया, प्रणाली वा साझेदारमा भएको हुन सक्छ। त्यसैले यो दृष्टिकोणबाट हेर्यौँ भनेमात्रै कहाँ के भएको थाहा हुन सक्छ।"
साइबर सुरक्षाको विषय विश्वव्यापी चुनौतीका रूपमा रहेका कारण यसको समाधान पनि त्यसैगरी खोजिनुपर्ने उनी बताउँछन्।
"हामीमाथि आक्रमण प्रयास भइरहेकै हुन्छ र हामी जोखिममै हुन्छौँ, तर त्यसलाई कति अनुगमन गरिरहेका छौँ भन्ने कुरा महत्त्वपूर्ण हो," उनले भने।
"त्यसैले हमला भइसकेपछि थाहा पाउने कि हुनुभन्दा अगाडि थाहा पाउने भन्ने कुरा महत्त्वपूर्ण हो। तयारी भनेको सरकारले मात्रै वा एउटा पक्षले मात्रै गरेर हुँदैन सबैले गर्नुपर्छ।"
साइबर सुरक्षाकै विषयमा सरोकारवालासँग छलफल गर्न न्याश्नल साइबर सुरक्षा सम्मेलन भएको उनले बताए।
"अहिले नेपाल साइबर थ्रेटको दृष्टले हेर्दा उच्च जोखिममा रहेको छ। त्यसैले हामी सुरक्षित छौँ त भन्ने हिसाबले सोच्नुपर्छ। अहिले पनि नसोचिएको होइन। तर हमला भएपछि भन्दा पनि हमला हुनुअगाडि विचार गर्नुपर्छ," पुडासैनीले भने।
"हामीले मानिसहरूलाई कतिको तालिम दिएका छौँ, नयाँ प्रविधिमा कति सचेत छौँ भन्ने कुरा महत्त्वपूर्ण हो।"
लगानीकर्ता के भन्छन्?
शेअर बजारमा कारोबार गर्न ४५ लाख मानिसले खाता खोल्दा दैनिक सक्रिय रूपमा कारोबार गर्नेको सङ्ख्या ने ४० देखि ४५ हजार रहेको नेप्सेले जनाएको छ।
नेपाल पुँजीबजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोखरेलले साताको पहिलो कारोबारको दिन कारोबार स्थगित हुँदा त्यसले लगानीकर्तालाई कारोबार गर्न रोकेको र असर गरेको बताएकी छन्।
शेअरबजारमा मात्रै निर्भर हुने पनि धेरै लगानीकर्ता रहेका कारण कारोबार केही बेरमात्रै रोकिँदा पनि सेवाग्राहीलाई घाटा हुनसक्ने उनले बताइन्।
"कारोबार रोकिँदा हजारौँलाई भन्दा पनि लाखौँलाई असर गर्छ। आउँदा दिनमा यस्तो हुन नदिन नियामक निकायले राम्रोसँग ध्यान दिनुपर्ने हुन्छ," उनले भनिन्।
"अहिले रोकिएको कारोबारको विषयमा पनि हामी धितोपत्र बोर्डसँग छिट्टै बसेर कुरा राख्छौँ।"
उनले संसारका अन्य देशमा पनि यस्तो समस्या आउने तर लगानीकर्ताले अन्तिम समयमा जानकारी पाउँदा धेरै असर पर्ने गरेको उनले बताइन्।
"प्राविधिक विषय आउन सक्छ। तर यस्तो महत्त्वपूर्ण विषयमा अन्तिम समयमा मात्रै जानकारी पाउनुपर्ने लगानीकर्ताका लागि दुखद् हो," उनले भनिन्।
"लगानीकर्ताले अन्यौल नभई भरपर्दो प्रणाली र पूर्वतयारी र समयमै स्पष्ट सूचना पाउने गर्नुपर्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















