विमानको आविष्कारक को? मान्छेअनुसार फरक जवाफ हुनुको कारण यस्तो

राइट दाजुभाइ, सान्टोस डूमो र १४-बीआईएसको कोलाज बनाइएको तस्बिर
तस्बिरको क्याप्शन, राइट दाजुभाइ, सान्टोस डूमो र १४-बीआईएसको कोलाज बनाइएको तस्बिर
    • Author, कमिला भेरस मोटा
    • Role, बीबीसी न्यूज ब्रजिल
  • Published
  • पढ्ने समय: ६ मिनेट

विमानको आविष्कार कसले गर्‍यो? यो एउटा सामान्य प्रश्नजस्तो लाग्न सक्छ।

तर यो सामान्य प्रश्न होइन। यो खासमा एक शताब्दी पुरानो विवादको केन्द्रबिन्दु हो।

धेरै अमेरिकीहरू साइकल मेकानिक रहेका 'स्वप्रशिक्षित' इन्जिनियरहरू अर्भिल र विल्बर राइटलाई उड्डयनका पिता मान्छन्। यी दाजुभाइले सन् १९०३ मा पहिलो स्थिर उडान गरेका थिए।

अर्कोतिर ब्रजिलका धेरै मानिसहरू विमान आविष्कारको जस अल्बर्टो सान्टोस डूमोलाई जाने ठान्छन्। उनी कफी उत्पादक धनी परिवारका उत्तराधिकारी थिए।

उनले भने सन् १९०६ मा प्यारिसमा इन्टर्न्याश्नल एरोनटिकल फेडरेशनद्वारा प्रमाणित पहिलो उडान भरेका थिए।

त्यसो भए सही को हो त?

सान्टोस डूमो : पहिलो सार्वजनिक उडान

सान्टोस डूमो फ्रान्समा आफ्नो १४-बीआईएससँग
तस्बिरको क्याप्शन, सान्टोस डूमो आफ्नो १४-बीआईएसमा, जुन पहिलोपटक प्यारिसमा उडेको थियो

बीसौँ शताब्दीको सुरुमा दर्जनौँ आविष्कारकहरू मानिसको उड्ने दीर्घप्रतीक्षित सपना हासिल गर्न सक्ने गरी यस्ता इन्जिनयुक्त मशीन बनाउन प्रयासरत थिए।

तीमध्ये धेरैजसो प्यारिसमा भेला भए, जुन त्यो समयमा प्रयोगात्मक विमान बनाउनका लागि राम्रो वातावरण भएको ठाउँ थियो। त्यति बेला प्यारिसमा इन्जिनियरिङका राम्रा अध्ययन केन्द्रहरू थिए र धातु विज्ञान, मेकानिक्स, भौतिकशास्त्र र रसायनशास्त्रजस्ता क्षेत्रहरूमा अनुसन्धानको लागि पुँजी उपलब्ध थियो।

"नयाँ आविष्कार केवल समयको कुरा हो भन्ने महसुस हुन्थ्यो," फ्रान्सेली इतिहासकार प्राध्यापक झाँ-पिएर ब्लाईले भने।

त्यति बेला उड्डयनमा रुचि राख्नेहरूले पहिलो उडानका लागि केके सर्त हुनुपर्छ भनेर सूची तय गरे, त्यसमा कुनै सहायताबिना (अर्थात् कुनै 'क्याटपल्ट'बिना) 'टेकअफ' र निरन्तर उडानलाई पनि राखियो।

अनि सन् १९०६ को नोभेम्बर १२ तारिखमा सान्टोस डूमोले सबै मापदण्डहरू पूरा गरेर प्यारिसमा एउटा भिडभन्दा २२० मिटर माथि १४-आइबीएस नामक विमान उडान गरे।

अर्को वर्ष ब्रजिलका उड्डयनकर्मीले नयाँ मोडल 'डेमोजल' सार्वजनिक गरे, जुन विश्वकै पहिलो 'अल्ट्रालाइट' र ठूलो मात्रामा उत्पादन भएको विमान थियो।

उडान भरिरहेको डेमोजल
तस्बिरको क्याप्शन, डेमोजल विश्वको पहिलो ठूलो मात्रामा उत्पादन भएको विमान हो

प्रमाण प्रस्तुत गर्दै

सन् १९०८ मा मात्रै राइट दाजुभाइले आफूले पाँच वर्षअघि नै पहिलो उडान गरेको दाबी गरेका थिए।

त्यसबाट फ्रान्सेलीहरू अचम्ममा परे। अमेरिका र युरोपका उडान क्लबहरूबीच निरन्तर पत्राचार भइरहेकाले उनीहरूलाई थाहा थियो कि जमिनबाट लामो समयसम्म उड्न सक्ने पहिलो विमान बनाउने होड चलिरहेको थियो। तर युरोपेलीहरूले अन्तिम पटक राइट दाजुभाइहरूबारे सुनेको धेरै समय भइसकेको थियो।

राइट दाजुभाइले आफूहरूको 'पेटेन्ट' अनुमोदन होस् भनेर आफ्ना उपायहरू चोरी हुने डरले त्यस्तो दाबी गर्न कुरिरहेको तर्क गरे।

तर तथ्य के हो भने सन् १९०३ डिसेम्बर १७ तारिखमा नोर्थ क्यारलाइनाको किट्टी हकमा उनीहरूको 'फ्लाइअर' आकाशमा देखेको प्रमाणित गर्नेहरू केवल पाँच जना थिए। उक्त घटनाका दुर्लभ प्रमाणहरूमा एउटा टेलिग्राम, केही तस्बिरहरू र अर्भिलको डायरी रहेका छन्।

ब्रजिलको म्यूजीअम अफ एस्ट्रोनमी एन्ड रिलेटेड साइन्सेसका पूर्वनिर्देशक एनरिके लिन्स डे ब्यारोसजस्ता वैज्ञानिकहरूले अर्भिल आफैँले आफ्नो डायरीमा हावा ४० किलोमिटर प्रतिघण्टामा चलिरहेको लेखेको र त्यो गति विमानलाई इन्जिनको सहायताबिना नै माथि उठाउन पर्याप्त भएको भन्दै तर्क गरेका छन्।

राइटका कानुन व्यवसायीले विमति जनाएका छन् र प्यारिसको आकाशमा १४-बीआईएस उड्नुअघि नै सन् १९०४ र १९०५ को बीचमा उनीहरूको 'फ्लाइअर'को सुधारिएको मोडल विकास गरिएको बताएका छन्।

राइटको फ्लाइअरले सन् १९०३ मा उडानको पहिलो प्रयास गरेको थियो
तस्बिरको क्याप्शन, राइटको फ्लाइअरले सन् १९०३ मा उडानको पहिलो प्रयास गरेको थियो

"त्यो बिहान [१७ डिसेम्बर १९०३] राइट दाजुभाइले पहिलो पटक यति राम्रोसँग उडान गरेका थिए कि उनीहरू आफैँ मनमनै विश्वास गर्न थाले कि उनीहरूले समस्याको समाधान फेला पारेका छन् र त्यो पर्याप्त थियो," इतिहासकार टम क्राउचले भने। उनी राइट दाजुभाइबारे कैयौँ पुस्तकका लेखक हुन्।

"उनीहरूले अझै धेरै सुधार गर्न बाँकी थियो तर उनीहरूले विमान बनाए र त्यो उड्यो," उनले औँल्याए।

यति धेरै सुधारहरू गोप्य रूपमा भएको जस्तो देखिन्छ किनकि सन् १९०८ सम्म उनीहरूले आफू पहिलो भएको मान्यता पाउन अभियान चलाएनन्।

राइट दाजुभाइले युरोपको यात्रा गरे र फ्रान्स तथा इटलीजस्ता देशमा २०० भन्दा बढी प्रदर्शन उडानहरू गरे। त्यस्तो उडानमा एकैपटक १२४ किलोमिटरसम्मको दूरी तय गरिएको थियो।

"युरोपेली राजपरिवारले विल्बरको छेउमा विमानमा बस्न अनुरोध गरे। यो ठूलो सम्मान मानिन्थ्यो," प्राध्यापक ब्लेले भने।

त्यही बेला फ्रान्सेली उड्डयनका अन्वेषक फर्डिनान्ड फर्बरले राइट दाजुभाइको पहिलो भएको दाबी स्वीकार गरेका थिए र सजिलै सञ्चालन गर्न सकिने विमान एकै रातमा बन्न नसक्ने तर्क गरेका थिए।

राइट दाजुभाइको विमानको समाचार कटिङ
तस्बिरको क्याप्शन, राइट दाजुभाइको विमानबारेको समाचार केही वर्षपछि मात्रै आएको थियो

'क्याटपल्ट'

तर युरोपमा प्रदर्शनमा राखिएका माथिल्लो स्तरका विमानहरूमा पाङ्ग्रा थिएनन् र तिनीहरूलाई सञ्चालन गर्न 'क्याटपल्ट' आवश्यक पर्थ्यो। यो विषय विवादको मुख्य बुँदा बनेको थियो।

विमानको इन्जिन पर्याप्त बलियो नभएको र केवल 'क्याटपल्ट'को मद्दतले मात्रै उडेको आलोचकहरू बताउँछन्। तर केहीले भने राइट दाजुभाइले कुनै पनि भूभागबाट टेकअफ गर्न सकून् भनेर 'क्याटपल्ट'को प्रयोग गरेको तर्क गर्छन्।

द राइट क्याटपल्ट

तर यहाँ रोचक कुरा के छ भने सान्टोस डूमो र राइट दाजुभाइ मात्रै आफूलाई उडानको अन्वेषक दाबी गर्नेहरू थिएनन्।

जर्मनीका गुस्टफ वाइसकफ जर्मनीका नागरिक थिए र उनी अमेरिकामा बस्थे। सन् १९०१ मा उनले उडान गरेको बताइन्छ। त्यस्तै न्यूजील्यान्डका रिचर्ड पिअर्सले पनि सन् १९०३ को मार्च महिनामा विमान उडाएको बताइएको छ।

जोन गुडम्यान र उनको परिवारले संसारकै मानिस चढेको पहिलो उडान गरेका भन्ने पनि केही प्रमाणहरू छन्। तर त्यो विमान इन्जिनबाट सञ्चालित थिएन। दक्षिण अफ्रिकाको होविक नगरको बाहिरी भेगमा सन् १८७१ मा उनले विमान उडाएको बताइन्छ। खासमा उक्त यात्रु चढेको विमानको स्मृतिस्वरूप अहिले पनि त्यहाँ स्मारक भेटिन्छ।

यही कारणले केही उड्डयन विशेषज्ञहरू विमान कसले आविष्कार गर्‍यो भन्ने पूरै विवाद अर्थहीन भएको बताउँछन्।

"त्यो कुनै एक दिन अचानक कसैले जागेर रेखाचित्र बनाएर, 'यो विमान हो र यसले काम गर्ने छ!' भनेको घटना थिएन," पल ज्याक्सन भन्छन्। उनी 'जेन्स अल द वर्ल्डस एअरक्राफ्ट'का २५ वर्षसम्म सम्पादक भएका थिए।

"यो दर्जनौँ वा सयौँ मानिसहरूको समूहको प्रयास थियो। सबै मिलेर काम गरिरहेका थिए," उनले भने।

विमानको मोडनसँगै बसेका गुस्टफ वाइस्कफको पुरानो फोटो
तस्बिरको क्याप्शन, अमेरिकामा बस्ने जर्मन नागरिक गुस्टफ वाइस्कफ पनि उड्डयनका अन्वेषक हुन्

विज्ञानको पहिचान

ज्याक्सनलाई लाग्छ कि सान्टोस डूमो, वाइस्कफ र अन्य धेरैले अहिले पाएको भन्दा धेरै सम्मान पाउनुपर्छ।

"तर ठूला नाम भएका र धेरै खर्च गरेर आफ्ना पैरवीकर्ता राखेकाहरूलाई मात्रै यसको श्रेय जाने गर्छ," ब्रिटिश उड्डयन विशेषज्ञ भन्छन्।

"दु:खको कुरा के हो भने यदि तपाईँ १९ औँ र २० औँ शताब्दीका अधिकांश आविष्कारहरूलाई हेर्नुभयो भने ती प्राय: गलत मानिसहरूलाई श्रेय दिइएको हुन्छ," उनले भने।

उनले स्कटल्यान्डका वैज्ञानिक अलेक्जेन्डर ग्राहम बेलको नाम उल्लेख गरे। उनलाई फोनको आविष्कार गरेको श्रेय जान्छ। तर यो विवादित छ।

वास्तवमा सन् २००२ मा अमेरिकी कङ्ग्रेसले उनले उपकरणको पेटेन्ट लिए पनि त्यो एक गरिब इटालिअन एन्टोनियो मेउच्चीले आविष्कार गरेको स्वीकार गरेको थियो। मेउच्चीले बेलसँगै एउटै कार्यशालामा भाग लिएका थिए।

ग्लेन ह्यामन्ड कर्टिस
तस्बिरको क्याप्शन, ग्लेन ह्यामन्ड कर्टिस एक उड्डयनकर्मी थिए जसलाई राइट दाजुभाइले मुद्दा हालेका थिए

मार्सिआ कमिङ्ग्स ग्लेन ह्यामन्ड कर्टिसकी चिनजानकी व्यक्ति हुन्। कर्टिसलाई राइट दाजुभाइले सन् १९०९ को सुरुमा पेटेन्ट उल्लङ्घनको आरोपमा मुद्दा हालेका थिए।

अहिले भने कमिङ्ग्स एउटा ब्लगमा काम गर्छिन्, जसले राइट दाजुभाइहरूको घटनाहरूको संस्करणलाई प्रश्न गर्छ।

कमिङ्ग्सका अनुसार उनलाई विश्वास छ कि राइट दाजुभाइले जानाजान कर्टिसजस्ता व्यक्तिलाई इतिहासबाट मेटाउन काम गरेका छन्।

अर्भिल र विल्बरको परिवारकी एक सदस्य अमान्डा राइट लेनले "उनी कस्तो व्यक्ति थिए भन्ने थाहा भएकाले मलाई लाग्दैन कि अर्भिलले जानाजानी कसैलाई नोक्सान पुर्‍याउने काम गरेका थिए" भन्दै त्यस्तो कुरालाई नै अस्वीकार गरिन्।

"उनी आफू र विल्बरले गरेका काम र आफूले गरेको सत्यको बचाउ गर्थे," उनले थपिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।