त्साइ इङ-वन: चीनलाई नटेर्ने ताइवानी राष्ट्रपति को हुन्

ताइवानकी राष्ट्रपति त्साइ इङ-वन
Published

ताइवानकी राष्ट्रपति त्साइ इङ-वन अमेरिकाका सहयोगी देशहरू ग्वाटेमाला र बेलिजको १० दिने भ्रमणमा निस्किएपछि चीनले प्रतिक्रिया जनाएको छ।

यी देशहरू ताइवानसँग कूटनीतिक सम्बन्ध भएका जम्मा १३ देशहरूमध्येमा पर्छन्।

उनी जाँदा न्यूयोर्क र आउँदा लस एन्जलिसमा पनि छोटो समय रहनेछिन्।

उनले अमेरिकी सभामुख केभीन मकार्थीसँग पनि क्यालिफोर्नियाँमा भेट गरेकी छिन्।

मकार्थी अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपति पछि सबैभन्दा उच्च ओहोदाका पदाधिकारी हुन्।

चीनले भने यो कदमलाई "उत्तेजक" भन्दै उक्त टापु राष्ट्रवरपर लडाकु पानी जहाज पठाएको छ।

“विश्वमा पुग्ने हाम्रो अठोटलाई बाहिरी दबाबले रोक्न सक्दैन,” न्यूयोर्क उड्नुअघि कुनै पनि देशको नाम उल्लेख नगरी त्साइले भनेकी थिइन्।

ताइवानले आफ्नै स्थान बनाउनुपर्ने उनका भनाइहरू ३० वर्षअघि उनी राजनीतिमा प्रवेश गरेयता नै आइरहेका थिए।

व्यापार मध्यस्थकर्ता

त्साइ इङ-वन

ताइवान विश्वविद्यालयबाट कानुनमा स्नातक गरेकी त्साइ इङ-वनले सन् १९८०मा अमेरिकाको कोर्नेल विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी थिइन्।

विद्यावारिधि गर्न उनी फेरि सन् १९८४ मा लण्डन स्कुल अफ इकोनोमिक्स एन्ड पलिटिकल साइन्स पुगिन्। त्यहाँबाट उनले अन्तर्राष्ट्रिय व्यापार र प्रतिस्पर्धा सम्बन्धी कानुनमा विशेषज्ञता हासिल गरिन्।

उनी ताइवानमा मार्शल कानुन अन्त्य गर्ने र प्रजातन्त्रको सुरुवात गर्ने पूर्व राष्ट्रपति ली दङ खोएकी अनुसरणकर्ता बनिन्। उनी १९९०को दशकको सुरुवातमै राष्ट्रपतिका व्यापार नीति सल्लाहकार भइन्।

ताइवानलाई विश्व व्यापार सङ्गठनमा आबद्ध गर्नेबारे सन् २००२को छलफलमा उनी अग्रपङ्क्तिमा थिइन्।

त्साइ इङ-वन र पूर्व राष्ट्रपति
तस्बिरको क्याप्शन, त्साइ र पूर्व राष्ट्रपति ली दङ खोए सन् २०१२ को राजनीतिक सभामा। ली को सन् २०२० मा निधन भयो

नरम तर दृढ

सन् २००० मा ताइवानको स्वतन्त्रता पक्षधर डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले राष्ट्रपतीय चुनाव जित्यो।

त्यसअघि त्यहाँ चीन नजिक मानिने कोमिन्ताङले निरन्तर शासन गर्दै आएको थियो। चीनको गृहयुद्धमा कम्युनिस्टहरूबाट पराजित भएपछि यो शक्ति भागेर ताइवान द्विपमा पुगेको थियो।

राष्ट्रपति चुन सोइ विआनले त्साइलाई चीनको मूलभूमि मामिला काउन्सिलको प्रमुख नियुक्त गरेका थिए। यो काउन्सिलको प्रमुख काम ताइवान र चीनबीच सम्बन्ध कायम गर्ने हो।

सन् २००१ मा ताइवानी व्यवसायीहरूसँगको छलफलमा उनले कसरी चिनियाँ समकक्षीसँगको छलफल व्यवस्थापन गर्छिन् भन्नेबारे गरेको सम्बोधनलाई व्याख्या गर्दै स्थानीय सञ्चार माध्यमले उनलाई “नरम तर दृढ” भएको बताएका थिए।

त्यस बेलासम्म उनी स्वतन्त्र थिइन्। उनी डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीमा सन् २००४ मा मात्रै आबद्ध भइन्।

भद्र शैलीका कारण पनि उनी पुराना नेताहरूभन्दा अलग भइन् र राजनीतिमा युवाहरूलाई आकर्षित गर्न सफल भइन्।

प्रदर्शनकारी

पहिलोको संयोग

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा त्साइको जित पछाडि दुई वर्षअघिको ‘सनफ्लावर मुभमेन्ट’का कारण युवा र पहिलो पटक भोट दिन लागेका मतदातामाझ उनको लोकप्रियता रहेको बताइन्छ।

चीन र ताइवानबीच अभूतपूर्व आर्थिक सहकार्यका लागि हुन लागेको व्यापार सम्झौताको विरोधमा सयौँ विद्यार्थी र युवा अभियानकर्मीले त्यहाँको संसद् घेरा हालेका थिए।

यस्तो सम्झौताले ताइवानलाई बेइजिङको दबाबमा रहनुपर्ने जोखिम बढाउने प्रदर्शनकारीहरूको भनाई थियो।

केही ताइवानी सञ्चारमाध्यमले “युवा विद्रोह” नाम दिएको उक्त आन्दोलनपछि भएको चुनावमा २० देखि २९ वर्षका झन्डै तीन चौथाइ युवाहरूले भोट खसाले। त्साइ इङ-वनले ताइवानको पहिलो महिला राष्ट्रपतिको रूपमा इतिहास बनाइन्।

उनले गरेको अर्को पहिलो काम डोनल्ड ट्रम्प राष्ट्रपति भएपछि बधाई दिने हो। सन् १९७९ मा वासिङ्टनले स्थापित गरेको ताइपेइको कूटनीतिक सम्बन्ध बेइजिङसँग मात्रै गर्ने अडान तोड्दै उनले ट्रम्पलाई बधाई दिइन्।

त्साइ इङ-वन
तस्बिरको क्याप्शन, त्साइले ट्रम्पसँग कुरा गरेकझ तस्बिर उनको सचिवालयले सार्वजनिक गरेको थियो

अमेरिकाका राष्ट्रपति वा राष्ट्रपतिमा निर्वाचित भएका व्यक्तिका लागि ताइवानी नेतासँग सिधा संवाद गर्नु निकै अस्वाभाविक मानिन्छ।

यो संवादलाई चीनले “सानो छल”को संज्ञा दिएको थियो।

यसपछि उत्पन्न हुनसक्ने तनाव मत्थर गर्ने प्रयास गर्दै त्साइले निकट भविष्यमा आफूले कुनै पनि नीतिगत परिवर्तन नगर्ने बताइन्। “किनभने हामी सबैले यो क्षेत्रमा स्थायित्वको महत्त्व देखेका छौँ,” उनको भनाई थियो।

सन् २०१९ मा उनले एउटा महत्त्वपूर्ण विधेयकमा हस्ताक्षर गरिन् जसले ताइवानलाई समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने पहिलो एसियाली राष्ट्र बनायो।

उनको यो कदमको विश्वभर प्रशंसा भए पनि देशभित्रका यथास्थितिवादी विरोधीहरूले भने यसको विपक्षमा प्रदर्शनहरू गरे।

अविवाहित महिला

अविवाहित र बालबच्चाविहीन रहने आफ्नो निर्णयबारे उनले बारम्बार प्रश्नहरूको सामना गर्ने गरेकी छिन्।

राजनीतिक विषयले भरिएका उनका सामाजिक सञ्जालका पोस्टहरूमा बेलाबेला उनका घरपालुवा जनावरका तस्बिर र भिडिओ पनि आउँछन्। उनले पालेका चार वटा कुकुर र दुई वटा बिरालोलाई आफ्नो परिवार भन्ने गरेकी छिन्।

त्साइ इङ-वन हुर्किएको परिवार दक्षिणी ताइवानबाट आएको हो। उनी सन् १९५६ मा एक तटीय गाउँमा ११ सन्तानमध्ये सबैभन्दा कान्छीको रूपमा जन्मिएकी थिइन्।

त्साइ इङ-वन
तस्बिरको क्याप्शन, आफूले पालेको कुकुर बोकेको तस्बिर राखेर उनले नयाँ वर्षको शुभकामना दिएकी थिइन्

उनका बुबाका चार जना श्रीमती थिए। उनले घरका सबै सन्तानलाई खुसी राख्ने आफ्ना बुबाको खुबीबारे सञ्चारमाध्यममा बोलेकी पनि छिन्।

चीनको राज्य सञ्चालित सिन्ह्वा समाचार संस्थाले एकताका उनलाई “परिवार र बालबच्चाको मायाको अतिरिक्त बोझ नभएकी एकल महिला राजनीतिज्ञ” भनेको थियो।

“त्यसकारण उनका राजनीतिक शैली र रणनीतिहरू प्रायः भावनात्मक, व्यक्तिकेन्द्रित र चरम हुन्छन्।“

रेड लाइन
रेड लाइन

उनलाई सन् २०१९ को चुनावी अभियानमा पनि एक जना विपक्षी नेताले बालबच्चाविहीन भएकोमा आलोचना गरेका थिए। उनले त्यसको जवाफ फेसबुकमा दिइन्।

“कसैले मलाई आफ्नो बच्चा नभएका कारण बालबच्चाको चिन्ता लिने अभिभावकको मर्का नबुझ्ने भनेछ। म महिला भएकोमा, अविवाहित भएकोमा र बालबच्चाविहीन भएको कुरालाई बारम्बार मुद्दा बनाइने गरिएको छ। सार्वजनिक सेवामा रहेका धेरै महिलाजस्तै म पनि दोब्बर बढी मेहनत गरेर आफूलाई प्रमाणित गर्न चाहन्छु,” उनले भनिन्।

“तर समय परिवर्तन भइरहेको छ र ताइवान अघि बढिरहेको छ। बच्चा भएको र नभएको कुराले आगामी पुस्ताको लागि सेवा गर्ने हाम्रो प्रणलाई प्रभावित गर्दैन।“

‘आफ्नो प्रतिरक्षा गरौँ’

ताइवानकी राष्ट्रपति त्साइ इङ-वन

कार्यभार सम्हालेयता आफूले ताइवानलाई चीनकै अङ्ग स्वीकार गर्न बेइजिङले अघि सारेका प्रस्तावहरू अस्वीकार गर्दै आएको उनी बताउँछिन्।

ताइवान अहिले नै सार्वभौम देश भएको भन्दै उनी यसलाई स्वतन्त्र देशको रूपमा घोषणा गरिरहन जरुरी नभएको दाबी गर्छिन्।

सन् २०१९को अप्रिलमा चीनले सैन्य अभ्यासको लागि भन्दै सैन्य पानीजहाजहरू, बमवर्षक र निगरानी विमानहरू ताइवान पठाउँदा उनले त्यसको प्रतिवाद गरिन्। “यस्ता कदमले हाम्रो प्रणलाई अझै मजबुत बनाउँछन्,” उनले भनिन्।

ताइवानसँग कूटनीतिक सम्बन्ध भएका देशहरूको नक्सा

“हाम्रो सैन्य फौजसँग ताइवानको रक्षा गर्ने र हाम्रो भविष्यलाई जबरजस्ती हुकुम चलाउन नदिने क्षमता, प्रण र प्रतिज्ञा छ।“

सन् २०१९ मा हङकङभरी चीन विरोधी प्रदर्शन चर्किँदा उनले “एक देश दुई प्रणालीको असफलताका कारण हङकङ अराजकताको सङ्घारमा रहेको” ताइवानी जनताहरूलाई सम्झाइन्।

“अझै पनि चीनले यही प्रणाली हामीमा लागु गर्ने धम्की दिइरहेको छ।“

“जब स्वतन्त्रता र प्रजातन्त्रमा चुनौती देखा पर्छ र ताइवानको अस्तित्वमा धावा बोलिन्छ हामीले त्यस विरुद्ध खडा भएर आफ्नो प्रतिरक्षा गर्नुपर्छ,” उनले भनिन्।

ताइवानकी राष्ट्रपति त्साइ इङ-वन र न्यान्सी पलोसी

उनले आफ्नो चुनावी अभियानमा पनि आफूलाई प्रजातन्त्र र स्वतन्त्रताका लागि मत दिन आह्वान गरेकी थिइन्।

उनको दोस्रो कार्यकाल अन्त्यतिर आइपुग्दा ताइपेइ र बेइजिङबीचको तनाव पनि दशकौँ पछि सबैभन्दा उच्च भएको छ।

गत अगस्टमा तत्कालीन अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणले चीनलाई क्रोधित बनाएको थियो। यसको प्रतिक्रियामा बेइजिङले यो टापु आसपासका क्षेत्रमा गोलाबारी सहितको सैन्य अभ्यास कैयौँ दिनसम्म जारी राख्यो।

ताइवानकी राष्ट्रपति त्साइ इङ-वन

बेइजिङले त्साइ र अमेरिकी सभामुख मकार्थीबीचको भेटपछि ताइवान वरवरको समुद्रमा लडाकु पानी जहाज नै परिचालन गरेको विवरण आएका छन्।

अमेरिकी विदेश मन्त्रालयले भने आफ्नो देशमा ताइवानका उच्च पदाधिकारीहरूले ट्रान्जिट बनाउने कुरा “नयाँ नभएको” बताएको छ। उसले ताइवानसँगको अनौपचारिक सम्बन्धमा वासिङ्टनमा कुनै परिवर्तन नगरेको पनि दाबी गरेको छ।

आफू राष्ट्रपति भएयता त्साइ इङ-वन अमेरिका उत्रिएको यो सातौँ पटक हो।

उनको भ्रमण भन्दा केही दिनअघि मात्रै होन्डुरसले चीनसँगको कूटनीतिक सम्बन्ध तोडेको छ। उनको कार्यकाल सुरु हुँदा २२ वटा देशहरूले यो टापुसँग कूटनीतिक सम्बन्ध राखेकामा हाल १३ वटा मात्रै छन्।