‘हाम्रा देउता फिर्ता देऊ, प्रतिकृति लैजाऊ’: चोरिएका मूर्ति नेपाल फर्काउने अभियान

सरस्वतीको मूर्ति
तस्बिरको क्याप्शन, फर्पिङबाट शिर काटेर चोरिएको सरस्वतीको मूर्ति (बायाँ)को तस्बिर र त्यसको प्रतिकृति(बायाँ)
    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ८ मिनेट

नेपालबाट चोरिएका कलावस्तुबारे बीबीसी न्यूज नेपालीले तीनवटा अनुसन्धानमूलक सामग्री तयार पारेको छ। यो लेख त्यसअन्तर्गतको पहिलो सामग्री हो। अन्य दुई सामग्री पनि क्रमशः प्रकाशित हुने छन्।

----------------------------------

काठमाण्डूको दक्षिणपश्चिममा रहेको फर्पिङमा सन् १९८० को दशकमा भएको मूर्तिचोरीको घटना बताउँदा कला संरक्षणका एक अभियानकर्मी रवीन्द्र पुरीको गला अवरुद्ध हुन्छ।

“हामीले भेटेको एकजना स्थानीय वृद्ध महिलाले अघिल्लो दिनसम्म पूजा गरेको सरस्वतीको मूर्तिको टाउको भोलिपल्ट काटिएर चोरिएको देखेपछि थचक्क बसेर दुई घण्टा रोएको बताइन्। ती महिलाले आफ्नो पति मर्दाखेरिको भन्दा धेरै पीडा आफ्नो भगवान् काटेर लगिएकोबाट भएको बताएकी थिइन्,” पुरीले मूर्तिचोरीको पीडा समुदायमा गहिरो घाउजस्तो गरी गढेको बताउँदै भने।

फर्पिङको कमलपोखरीमा रहेको सत्रौँ शताब्दीमा निर्मित ढुङ्गाको सरस्वतीको मूर्तिको शिर काटिएर कता लगिएको छ भन्ने कुनै अत्तोपत्तो छैन। अत्तोपत्तो भएका कलावस्तुहरूको फिर्ती पनि कम चुनौतीपूर्ण भने छैन।

'देउता फिर्ता ल्याउने' वैकल्पिक प्रयास

मूर्तिहरू फिर्ता ल्याउने प्रयासमा पुरीले केही वर्षदेखि 'चोरिएका कलाको सङ्ग्रहालय' खोल्ने अभियान थालेका छन्। त्यहाँ राख्नका निम्ति दक्ष सीपयुक्त उनको टोलीले चोरी भएर हराएका मूर्तिहरूका प्रतिकृतिहरू बनाइरहेको छ।

नेपालबाट हजारौँ पुराना मूर्ति, चित्र, धर्मग्रन्थ र कलाकृतिहरू चोरी भएर प्रायः पश्चिमा मुलुकका सार्वजनिक सङ्ग्रहालय, लिलामीघर वा निजी सङ्ग्रहमा पुगेको बताइन्छ।

"म चाहन्छु मेरो सङ्ग्रहालयमा आउने नेपाली आगन्तुकहरू ती प्रतिकृति देखेर रोऊन् र साथै तिनको रगत उम्लियोस्। म तिनको भावना जगाउन चाहन्छु ता कि उनीहरूले चोरिएका कलावस्तु स्वदेश फिर्ता गर्ने यो अभियानमा डटेर साथ दिऊन्," रवीन्द्र पुरी भन्छन्।

आफ्नो अभियानले पश्चिमा सङ्ग्रहालय तथा सङ्कलनकर्ताहरूलाई ती लुटिएका कलावस्तु फिर्ता गर्ने ‘सम्मानजनक’ विकल्प उपलब्ध गराउने उनको विश्वास छ।

रवीन्द्र पुरी
तस्बिरको क्याप्शन, संरक्षणकर्मी पुरीले देउताको मूर्ति फिर्ता गर्नेलाई दुरुस्त प्रतिकृति नि:शुल्क दिने अभियान थालेका छन्

“ती चोरिएका मूर्ति समुदायको जीवित संस्कृतिको हिस्सा थिए। आफूले पूजा गर्दै आएका देवता रातारात चोरिएपछि अचानक आफ्ना मन्दिरहरू खाली देखेर मानिसहरू स्तब्ध भएका कथाहरू मैले सुनेको छु,” उनले भने।

"म सङ्ग्रहालय वा चोरिएका कलाकृति राख्ने जो कोहीलाई भन्न चाहन्छु: हाम्रा भगवान्‌हरू फिर्ता गर्नुहोस्! त्यसपछि हामी तपाईंलाई दुरुस्त प्रतिकृति निःशुल्क उपलब्ध गराउने छौँ। हामीले हाम्रा देउता फिर्ता पाउने छौँ। त्यसको साटो तपाईँले दुरुस्त कलावस्तु पाउन सक्नुहुन्छ।"

पुरी र उनका दक्ष कालीगढहरूको टोलीले करिब ४५ वटा कलाकृतिको प्रतिकृति निर्माण गरिसकेको छ।

यी प्रतिकृतिहरू राख्नका लागि आफ्नै स्रोत खर्चेर सङ्ग्रहालय निर्माण गर्न लागेको बताउने पुरीले त्यसको उद्घाटन सन् २०२६ मै भइसक्ने बताए।

"अन्ततः म मेरो सङ्ग्रहालय रित्तो भएको हेर्न चाहन्छु। हाम्रा मन्दिरहरू प्राचीन मूर्तिले भरिऊन्, बरु मेरो सङ्ग्रहालय रित्तियोस्," पुरी भन्छन्।

चोरिएका मूर्तिहरूको तस्बिर
तस्बिरको क्याप्शन, चोरिएका मूर्तिहरूको तस्बिर जसका आधारमा पुरीको प्रस्तावित सङ्ग्रहालयमा प्रतिकृति राखिँदै छन्

मूर्ति तथा कलावस्तु चोरीको लामो गाथा

विदेशमा रहेका सङ्ग्रहालयहरूबाट नेपाली देवताका मूर्ति मुकुन्डोलगायतका धार्मिक सांस्कृतिक तथा कलात्मक धरोहरहरू फिर्ता ल्याउने अभियानमा संलग्न व्यक्तिहरूका अनुसार सन् १९६० देखि ८० को दशकमा यस्ता चोरीका घटनाहरू धेरै भए तर अहिले पनि त्यो क्रम पूरै अन्त्य भने भएको छैन।

अपारदर्शी शासनकालमा शक्तिमा रहेकाहरूको सहजीकरण वा मिलेमतोमा मूर्ति तथा कलावस्तु चोरी हुने अनि समुदायले सशक्त प्रतिरोध पनि गर्न नसक्ने अवस्थामा नेपालको सम्पदा क्षेत्रले अपूरणीय क्षति बेहोर्नुपरेको अभियानकर्मीहरूले बताएका छन्।

दिवङ्गत कला इतिहासकार लैनसिंह बाङ्देलको पुस्तक ‘स्टोलन इमेजेज अफ नेपाल’मा नेपालबाट चोरी भएर हराएका दर्जनौँ मूर्तिका विवरण राखिएका छन्।

उक्त पुस्तकमा उल्लिखित चोरीका कैयौँ घटनाहरूमा त लुटेराहरूले लुट्ने क्रममा भगवान्‌को मूर्ति तोडफोड पनि गरेको पाइन्छ। त्यस्तै कतिपय मूर्तिलाई पटक पटकको प्रयासमा लुटिएको पाइन्छ।

उदाहरणका लागि, उभिएका बुद्धको एउटा प्राचीन मूर्ति चाबहिल स्तूप परिसरमा थियो। पाँचौँ शताब्दीको भनिएको उक्त मूर्ति लुट्न चोरहरूले थुप्रै प्रयास गरेका रहेछन्। मूर्ति रहेको ठाउँबाट झिकिसकेर पनि गह्रुँगो भएकाले एक पटक चोरहरूले त्यसलाई त्यत्तिकै छाडेर भागेछन्। मानिसहरूले त्यसलाई पुनर्स्थापित पनि गरेछन्।

तर सन् १९८५ को जुलाई को एक रात तिनले फेरि त्यो मूर्ति चोरेर लगे।

उभिइरहेको बुद्धको प्राचीन मूर्ति
तस्बिरको क्याप्शन, चाबहिलस्थित स्तूप परिसरबाट उभिएका बुद्धको एउटा प्राचीनतम मूर्ति चोरिएको विवरण लैनसिंह बाङ्देलको पुस्तक 'स्टोलन इमेजेज अफ नेपाल'मा उल्लेख गरिएको छ

त्यस्तै पाटनको सौगलबाट एघारौँ शताब्दीको सूर्यको मूर्ति चोर्ने प्रयास भएपछि स्थानीय मानिसहरूले त्यसलाई फलामे ग्रिल लगाएर सुरक्षित पार्ने प्रयास गरेका थिए। तर सन् १९८५ को मे १६ को रात त्यो ऐतिहासिक महत्त्वको मूर्ति चोरिएको उक्त पुस्तकमा उल्लेख छ।

धेरै ठाउँमा समुदायले त्यस्ता चोरिएका मूर्तिका ठाउँमा अर्को प्रतिमूर्ति बनाएर पुज्न थालेको पाइन्छ।

नेपालको पुरातत्त्व विभागले विभिन्न मन्दिर र गुम्बाबाट हराएका भनेर निवेदन परेका ४०० भन्दा बढी कलाकृतिको सूचीकरण गरेको छ। विभागका प्रमुख सौभाग्य प्रधानाङ्ग भन्छिन्, "यो हराएको कलाकृतिहरूको पूर्ण सूची होइन। यकिन सङ्ख्या अझ धेरै हुन सक्छ।"

दशकौँसम्म मानिसहरूलाई चोरी भएका मूर्ति कहाँ पुगे भन्ने विषयमा खासै जानकारी थिएन। हालैका वर्षहरूमा देशभित्रै नागरिक समाजका तर्फबाट अभियान चलाइएको छ। उक्त अभियानले चोरिएका कलावस्तु पत्ता लगाउने मात्र होइन, तिनलाई स्वदेश फिर्ताको लागि नेपालभित्र र बाहिर दबाव सिर्जना पनि गर्न थालेको छ।

"सरकारले दिएको सङ्ख्या पूर्ण पटक्कै होइन। हामीले देखेका छौँ चोरी गरिएका कलाकृतिहरूमध्ये धेरैजसो त खुला प्रदर्शनमा पनि नहुन सक्छन्। तिनीहरू सङ्ग्रहालयका गोदामहरूमा, निजी शयनकक्षहरू वा व्यक्तिका निजी पौडीपोखरी वरपर समेत सजावटका लागि राखिएका पाइएका छन्,” नेपाल सम्पदा पुनर्स्थापना अभियानका सचिव सञ्जय अधिकारी भन्छन्।

"ती साजसज्जाका वस्तु वा कतै प्रदर्शनमा राखिन बनाइएका थिएनन्। ती त नेपालको जीवित संस्कृतिका अङ्ग हुन्। मानिसहरूले यी मूर्तिहरूलाई मन्दिरभित्र देवताको रूपमा पुज्छन्,” अधिकारीले भने।

सञ्जय अधिकारी
BBC
ती साजसज्जाका वस्तु वा कतै प्रदर्शनमा राखिन बनाइएका थिएनन्। ती त नेपालको जीवित संस्कृतिको एक हिस्सा हुन्। मानिसहरूले यी मूर्तिहरूलाई मन्दिरभित्र देवताको रूपमा पुज्छन्
सञ्जय अधिकारी
सम्पदा पुनर्स्थापन अभियानकर्मी

अभियानले विभागसँग मिलेर अहिले पनि दर्जनौँ कलावस्तु स्वदेश फिर्ता गराउन पैरवी गर्दै आएको छ।

यो अभियानसँगसँगै सामाजिक सञ्जाल फेसबुकमार्फत् पनि कतै नेपाली कलावस्तु प्रदर्शनीमा राखिएका छन् वा लिलामी हुन लागेका छन् कि भनेर निरन्तर निगरानी र खबरदारी गर्ने ‘लस्ट आर्ट्स अफ नेपाल’ भन्ने समूह पनि सक्रिय छ।

“त्यो समूहमा लागेकाहरूले अहिले पहिचान खुलाएका छैनन्, तर साथीहरूले हाम्रा सम्पदा कहाँ के कति हराएका छन् र कता देखा परेका छन् भनेर निरन्तर विवरण राखिरहनुभएको छ,” अधिकारीले भने।

उनका अनुसार कतिपय अवस्थामा नेपाली कलावस्तुको लिलामी हुनुभन्दा केही घण्टाअघि मात्र पनि अभियानकर्मीहरूले हस्तक्षेप गरेर लिलामी रोकेको उदाहरण छन्। “तर त्यस्ता लिलामघरहरूले फेरि पछि सुटुक्क बेच्ने गरेको पनि पाइन्छ।”

हालैका वर्षहरूमा सङ्ग्रहालय र निजी सङ्कलनकर्ताहरूले झन्डै २०० वटा यस्ता कलाकृतिहरूलाई दबाव वा स्वेच्छाले फिर्ता गरेको पुरातत्त्व विभागको विवरणमा जनाइएको छ।

पाटन मच्छिन्द्रबहाल
तस्बिरको क्याप्शन, कतिपय ठाउँमा कलावस्तु जोगाउन स्थानीय समुदायले मूर्तिहरू पिँजडामा समेत राखेको पाइन्छ

फिर्ता हुन बाँकी कलावस्तु कहाँ छन्?

अझ पनि फ्रान्स, यूके, अमेरिका, स्विट्जरल्यान्ड, सिङ्गापुर, स्वीडन, चीन र अस्ट्रेलियाका सङ्ग्रहालयहरू, लिलामीघरहरू र निजी सङ्कलनकर्ताहरूबाट झन्डै १०० वटा मूर्ति र कलाकृति फिर्ताको पर्खाइमा पुरातत्त्व विभाग छ। ती कलावस्तु नेपालका हुन् भन्ने प्रमाणहरू पेस गरिसकिएको विभागले बताएको छ।

विभागको विवरणअनुसार फ्रान्सका सङ्ग्रहालय तथा लिलामघरहरूबाट भक्तपुरको प्रस्तरको उमामहेश्वरको मूर्ति, पाटनको प्रस्तरको श्रीधर विष्णुको मूर्ति, विभिन्न ठाउँका देवस्थलका काठका टुँडाल तथा झल्लरहरू, काठको दीपङ्कर बुद्धको शिरआदि फर्काउन प्रमाण दिइएको छ।

त्यस्तै अमेरिकाको सङ्ग्रहालय तथा लिलामघरहरूबाट काठमाण्डूको तलेजुको कण्ठीहार, प्रस्तरको गणेशको मूर्ति, काठको नृत्यदेवीको मूर्ति, पौभाचित्रहरू अनि यूकेका सङ्ग्रहालय तथा लिलामघरहरूबाट पुरातात्त्विक महत्त्वका कैयौँ कलात्मक वस्तुहरू, प्रस्तरको उमामहेश्वरको मूर्ति फिर्ता मागिएको छ।

हनुमान्ढोकानजिकै रहेको कालभैरवको मूर्ति र अन्य मन्दिरहरू
तस्बिरको क्याप्शन, काठमाण्डू उपत्यका विशिष्ट कलाकृतिका निम्ति विश्वप्रसिद्ध मानिन्छ

नेपालबाट कति कलावस्तु हराए भन्ने स्पष्ट विवरण सरकारी निकायहरूमा पनि छैन।

नेपालबाट हराएका वा चोरिएका मूर्ति वा कलावस्तुबारे सरकारी निकायहरूले अद्यावधिक विवरण राख्नु उच्च प्राथमिकता हुनु पर्ने पुरातत्त्व विभागका पूर्वमहानिर्देशक भेषनारायण दाहालले बताए।

“दशौँ हजार कलावस्तु हामीकहाँ छन्। तिनको (इन्भेन्टरी) विवरण राख्न सक्यौँ भने फिर्ता ल्याउन पनि सहज हुन्छ। त्यसले प्रमाण जुटाउन सहज हुन्छ,” उनले भने।

अहिलेको अवस्थामा अधिकांश मूर्ति वा कलावस्तुका विवरण ती मन्दिर वा गुठीमा राखिएका हुन्छन्। तर समयक्रममा त्यस्ता विवरण हराएका वा नासिएका हुन सक्ने हुनाले प्रमाण जुटाउन कठिन पर्न जाने उनले बताए।

फिर्ता आएका देउताहरू

दुई वर्षअघि पाटनको पट्कोमा रहेको मन्दिरमा लक्ष्मीनारायणको मूर्तिको पुनर्स्थापना कलाफिर्तीको एउटा ज्वलन्त उदाहरण हो।

नेपाल सम्पदा पुनर्स्थापना अभियानका अनुसार १०-११ औँ शताब्दीको मूर्ति हराएको करिब ४० वर्षपछि अमेरिकाको ड्यालस म्यूजीअम अफ आर्टबाट फिर्ता गरिएको थियो।

पुनर्स्थापित लक्ष्मीनारायणको मूर्तिमा फेरि पूजा गर्न थालिएको छ।

“भगवान् फर्किनुभएको देख्दा हामी खुसी छौँ। पूजा गर्न पाएका छौँ,” पट्को मन्दिरमा पूजा गर्न आएकी एक वृद्धा लक्ष्मी श्रेष्ठले भनिन्।

मन्दिरनजिकै पसल भएका शैलेशराज श्रेष्ठका अनुसार खुसी भएका मानिसहरूले फिर्ता भएको मूर्तिमा पहिलेजस्तै पूजाआजा गर्न थालिसकेका छन्।

पाटनको पट्कोस्थित लक्ष्मीनारायण मन्दिर
तस्बिरको क्याप्शन, लक्ष्मीनारायणको मूर्ति (बीचमा) चोरिएको ४० वर्षपछि अमेरिकाबाट फिर्ता आएको हो

“हामीले लामो समयसम्म हाम्रा देउतासँग विछोडको पीडा सहनुपरेको थियो। यसरी धेरै समयदेखि विछडिएका देउतासँग भेट्न पाउँदा हामी निकै हर्षित छौँ,” पाटन मच्छिन्द्रबहालका दीपक शाहीले भने।

वास्तवमा पुरीले पहिले नै यो मूर्तिको प्रतिकृति बनाएका थिए। सक्कली मूर्ति फिर्ता भएपछि उनले नेपालका लागि तात्कालिक अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई फिर्ती प्रयासमा गरेको सद्भावको कदरस्वरूप उक्त प्रतिकृति उपहार दिएको बताए।

हालैका वर्षहरूमा धेरै मूर्तिहरू फिर्ता मात्र नभएर तिनीहरूको मूल मन्दिरहरूमा पुनर्स्थापित गरिएको छ।

छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयका प्रमुख जयराम श्रेष्ठका अनुसार छवटा मूर्ति यथास्थानमा पुनर्स्थापित गरिसकिएको छ।

हाल उक्त सङ्ग्रहालयमा विदेशबाट फिर्ता भएका मूर्ति तथा कलावस्तुलाई अस्थायी प्रदर्शनीमा राख्ने एउटा विशेष कक्ष नै खोलिएको छ।

“कुनै पनि मूर्तिलाई पुरानै ठाउँमा पुनर्स्थापित गर्नुअघि तिनलाई यहाँ राखिन्छ। हालसम्म हामीले छवटा मूर्ति समुदायलाई पुनर्स्थापनाका निम्ति हस्तान्तरण गरिसक्यौँ। यो ग्यालरीमा अहिले ८० थरी कलावस्तु प्रदर्शनीमा छन् भने अन्य कैयौँ हाम्रा गोदाममा पनि छन्,” श्रेष्ठले भने।

जयराम श्रेष्ठ
BBC
कुनै पनि मूर्तिलाई पुरानै ठाउँमा पुनर्स्थापित गर्नु अगाडि तिनलाई यहाँ राखिन्छ। हालसम्म हामीले ६ वटा मूर्ति समुदायलाई पुनर्स्थापनाका निम्ति हस्तान्तरण गरिसक्यौँ।
जयराम श्रेष्ठ
प्रमुख, राष्ट्रिय सङ्ग्रहालय

तर पुनर्स्थापना गर्ने काम चुनौतीरहित भने छैन।

“पाटनमा लक्ष्मीनारायणको मूर्तिको पुनर्स्थापना भनेको ऐतिहासिक कार्य थियो। समुदायले चोरिएको मूर्तिलाई पुन: देउताको रूपमा मान्यता देलान् कि नदेलान् भन्ने थियो किनभने कतिपयले हिन्दूद्वीपबाट बाहिर गइसकेको देउतालाई पूजा गर्न हुन्छ? भनी प्रश्न गरेका थिए। तर सम्बन्धित गुठियारहरूको सहयोगमा पूजाआजा गरेर भित्र्याइयो,” अभियानकर्मी अधिकारीले भने।

“मलाई लाग्छ संसारमै पहिलो पटक कुनै सङ्ग्रहालयबाट फर्किएको मूर्ति पुन: भगवान्‌को रूपमा समुदायमा स्थापित भएको घटना हो यो।”

बाङ्देलको पुस्तक ‘स्टोलन इमेजेज अफ नेपाल’मा चोरिएका मूर्तिबारे राखिएका विवरणका आधारमा कतिपय मूर्ति विदेश पुगेको पत्ता लागेको र फर्काउने पहल गरिएको पनि पाइएको छ।

उदाहरणका लागि, उक्त पुस्तकमा उल्लिखित दशौँ शताब्दीका गरुडासन विष्णुको मूर्ति अहिले राष्ट्रिय सङ्ग्रहालयमा आइपुगेको छ। अरू पनि कैयौँ कलावस्तु फिर्ता भएका छन्।

राष्ट्रिय सङ्ग्रहालय
तस्बिरको क्याप्शन, विदेशबाट फिर्ता आएका कैयौँ कलाकृति छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयमा राखिएको छ

सम्पदा पुनर्स्थापना अभियानका उपाध्यक्ष कनकमणि दीक्षितले नेपालले यो मामिलामा देशभित्र र बाहिर दुवैतिर सशक्त अभियान चलाउन जरुरी भएको बताए।

“हाम्रा चोरिएका कलावस्तु भनेको जीवित सम्पदा हुन् जुन हजारौँ वर्षदेखि निरन्तर पूजिँदै आएका थिए। चोरी हुनु अघिल्लो दिनसम्म तिनको पूजाआजा हुँदै आएको थियो। त्यसैले तिनको चोरीले सम्पदाको निरन्तरतामा भाँजो हाल्छ, ती मूर्तिसँग जोडिएका स्थानीय जात्रापर्वहरूमा असर पर्छ। त्यसैले हामीले देशभित्र र देशबाहिर दुवै तिर सशक्त अभियान गर्नैपर्छ,” दीक्षितले भने।

समृद्ध सम्पदामा कसको आँखा?

प्रस्तरकला, काष्ठकला एवं धातुकलामा नेपालको पुरातात्तविक सम्पदा समृद्ध मानिन्छ।

यहाँका मन्दिर तथा स्मारकहरूमा रहेका जटिल कलाकृति अद्वितीय र विशिष्ट रहेको विज्ञहरूले बताएका छन्।

संयुक्त राष्ट्रसङ्घको निकाय यूनेस्कोले सम्पूर्ण काठमाण्डू उपत्यकालाई विश्वसम्पदाको रूपमा वर्णन गरेको छ जसमा सात स्मारकक्षेत्रहरू छन्। तिनमा दरबार, मन्दिर र चोकहरू सहितका तीन दरबार क्षेत्र, तथा स्वयम्भू, बौद्धनाथ, पशुपति र चाँगुनारायण गरी चार मन्दिर परिसर पर्छन्।

पाटनस्थित एउटा मन्दिर
तस्बिरको क्याप्शन, काठमाण्डू उपत्यकाभरि उच्चकोटीका कलाकृति भएका मन्दिरहरू छन्

यूनेस्कोले यी स्मारकक्षेत्रहरूलाई ‘संसारमै इँटा, ढुङ्गा, काठ तथा कांस्यको सबैभन्दा उच्च विकसित शिल्पकलामध्येको एक’ उदाहरण भनेको छ।

यसले चोरिएका कलावस्तुको स्वदेशफिर्तीको महत्त्व थप दर्शाउने भन्दै अभियानकर्मीहरूले त्यसो गर्न सकिए वर्तमान तथा भावी पुस्ताहरूको आस्था जगेर्ना गराइराख्न सहयोग मिल्ने बताएका छन्।

“हामीले बुझाउन सक्नुपर्छ कि यो केबल कलाकृतिको चोरी मात्र नभई, एउटा समुदायको जिउँदोजाग्दो आस्थाको चोरी हो। यसलाई अरू सामानको चोरीको रूपमा मात्र हेरियो भने पुग्दै पुग्दैन,” अभियानकर्मी सञ्जय अधिकारीले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।