पृथ्वीको कक्षबाट चन्द्रमातर्फ लागे अन्तरिक्षयात्रीहरू

आर्टिमिस २ अन्तरिक्ष अभियानमा तीन अमेरिकी अन्तरिक्षयात्री रिड वाइज्मन, क्रिस्टिना कोच र भिक्टर ग्लोभर तथा एक क्यानडेली अन्तरिक्षयात्री जेरमी ह्यान्सन संलग्न छन्

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, आर्टिमिस २ अन्तरिक्ष अभियानमा तीन अमेरिकी अन्तरिक्षयात्री रिड वाइज्मन, क्रिस्टिना कोच र भिक्टर ग्लोभर तथा एक क्यानडेली अन्तरिक्षयात्री जेरमी ह्यान्सन संलग्न छन्
पढ्ने समय: ३ मिनेट

अमेरिकी अन्तरिक्ष संस्था नासाले प्रक्षेपण गरेको 'आर्टिमिस २'ले इन्जिन परीक्षणको महत्त्वपूर्ण चरण पार गरेर चन्द्रमातर्फको यात्रा सुरु गरेको छ।

अमेरिकाको फ्लोरिडाबाड उडेको २४ घण्टासम्म पृथ्वीको फन्को लगाएको यो यानले 'इन्जिन बर्न'को चरण पार गरेर पृथ्वीको कक्षबाट चन्द्रमातर्फ अघि बढेको हो।

चार जना अन्तरिक्षयात्री सवार 'ओरिअन' क्याप्सुललाई चन्द्रमातर्फको यात्रामा धकेल्ने उक्त इन्जिन छ मिनेटभन्दा कम समयमै 'बर्न' भएको थियो। नासाले अन्तरिक्षयात्रीहरूलाई पृथ्वीको कक्षबाट बाहिर धकेल्ने काम सफल भएको जनाएको छ।

कुल १० दिनको यात्रामा अन्तरिक्षयात्रीहरूले अहिलेसम्मकै सबैभन्दा टाढाको मानव यात्रा तय गर्ने छन्।

उनीहरूले २ लाख १९ हजार ६३९ नटिकल माइल यात्रा तय गर्ने आकलन गरिएको छ।

यसअघि सन् १९७०मा 'अपोलो' मिशनका १३ जना अन्तरिक्षयात्रीहरूले २ लाख १७ हजार नटिकल माइल यात्रा तय गरेका थिए। 'अपोलो' मिशनहरूमा मानिसले चन्द्रमामा पाइला टेकेका थिए।

रिड वाइज्मन, क्रिस्टिना कोच र भिक्टर ग्लोभर तथा जेरमी ह्यान्सन

तस्बिर स्रोत, Reuters

'ओरिअन'का व्यवस्थापक होवार्ड हूले हालसम्मको मिशन "उत्तम रूपमा उकालो" लागिरहेको बताएका छन्। उनले पछिल्लो २४ घण्टा आफू राम्रोसँग सुत्न पनि नपाएको बताए।

क्यानडेली चालकदलका सदस्य जेरमी ह्यान्सनले आफू र आफ्ना सहयात्रीहरूले ठिकठाक अनुभव गरेको बताएका छन्।

इन्जिन 'बर्न' भएपछि प्रतिक्रिया दिँदै उनले मानिसहरूले पुन: एक पटक आफ्नो क्षमता प्रदर्शन गरेको बताए।

'ओरिअन' अमेरिकी समय अनुसार सोमवार चन्द्रमा नजिक पुग्ने छ। त्यसभन्दा पनि केही परसम्म पुगेर यसले आफ्नो फिर्ती यात्रा तय गर्ने छ।

उनीहरू एप्रिल १० मा प्रशान्त महासागरमा अवतरण गर्ने छन्।

प्रक्षेपण हेर्दै मानिसहरू

तस्बिर स्रोत, Reuters

नासाले हालसम्मको उडान त्रुटिरहित भएको बताएको छ। उसले 'आर्टिमिस २' ले सबै परीक्षणहरू पार गरिसकेको पनि दोहोर्‍याएको छ।

यो मिशनले भविष्यमा चन्द्रमाको सतहमा अन्तरिक्षयात्रीहरूलाई सुरक्षित रूपमा लैजाने तरिका पत्ता लगाउन पनि सहयोग पुर्‍याउने वैज्ञानिकहरूले अपेक्षा गरेका छन्।

'आर्टिमिस २'का चालकदलले भविष्यमा चन्द्रमामा अवतरणको निम्ति 'ओरिअन' अन्तरिक्षयानको सञ्चालन र त्यसलाई व्यवस्थित गर्ने अभ्यास गर्ने छन्।

'ओरिअन'मा रहेका अन्तरिक्षयात्रीहरूले यात्रा सुरु गरेपछि पहिलो पटक आफ्नो खाना खाएका छन्। उनीहरू अन्तरिक्षबाट प्रत्यक्ष प्रसारणमा छन्।

उनीहरूले हालसम्म आफ्नो परिवारसँग कुरा गर्न नपाएको तर अब छिट्टै कुरा गर्ने मौका पाउने नासाका अधिकारीहरूले बताएका छन्। यसअघिसम्म उनीहरू धेरै नै व्यस्त रहेको बताइएको छ।

यो अन्तरिक्ष अभियानमा तीन अमेरिकी अन्तरिक्षयात्री रिड वाइज्मन, क्रिस्टिना कोच र भिक्टर ग्लोभर तथा एक क्यानडेली अन्तरिक्षयात्री जेरमी ह्यान्सन संलग्न छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।