विश्वकप फुटबलको फाइनलमा हाफटाइम विश्राम २५ मिनेटजति हुने

    • Author, बेन कोलिन्स
    • Role, बीबीसी स्पोर्ट संवाददाता
  • Published
  • पढ्ने समय: २ मिनेट

संयुक्त राज्य अमेरिकाको न्यूयोर्क न्यूजर्सी स्टेडिअममा आइतवार हुने फिफा विश्वकप २०२६ को फाइनल खेलमा 'हाफटाइम' को विश्राम २० देखि २५ मिनेटजतिको हुने अपेक्षा गरिएको छ।

विश्रामका बेला मडोना, र के-पप बोइ ब्यान्ड बीटीएसको मुख्य प्रस्तुति रहने ११ मिनेट लामो 'सूपर बोल' शैलीको कार्यक्रम पनि हुने छ।

प्रतियोगिता आयोजक फिफाका समाचार स्रोतहरूले विश्राम झन्डै २० मिनेट लामो हुने जनाएका छन्। तर १५ मिनेटको 'हाफटाइम ब्रेक' र त्यसपछि योजनाबद्ध ११ मिनेट लामो साङ्गीतिक कार्यक्रम हुने भएकाले मध्यान्तरको अवधि लम्बिने बुझिएको छ।

आईफ्याब अर्थात् इन्टरन्याश्नल फुटबल असोसिएशन बोर्डले खेलका नियमहरू तय गर्छ। नियमानुसार खेलाडीहरूले "१५ मिनेटभन्दा बढी नहुने गरी" हाफटाइम विश्राम पाउनुपर्छ।

मङ्गलवार ड्यालसमा भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले हराउँदै स्पेनले फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

अब एट्ल्यान्टामा बुधबार २०:०० बीएसटीमा इङ्ग्ल्यान्ड र आर्जेन्टिनाबीच अर्को सेमिफाइनल खेल हुने छ। उक्त खेलका विजेता र स्पेनबीच उपाधिका लागि प्रतिस्पर्धा हुने छ।

हाफटाइममा साङ्गीतिक कार्यक्रम

फिफाद्वारा आयोजित र न्यूजर्सीमा खेलिएको गत वर्षको क्लब विश्वकप फाइनलको हाफटाइमका बेला कोल्डप्ले, जे बाल्भिन, डोजा क्याट, टेम्स र इम्यानुएल केली सम्मिलित साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

विश्राम लम्बिएकाले खेलको दोस्रो हाफ २४ मिनेटपछि मात्र सुरु भएको थियो।

आउँदो आइतवार हुने साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्ने कलाकारहरूको सूचीमा गत साता जस्टिन बीबरलाई पनि थपिएको थियो।

उक्त कार्यक्रममा प्रस्तुती दिनेहरूको सूचीमा बर्न बोइ, गुस्ताभो दुदामेल र कोल्डप्लेको उपस्थितिमा 'पीएस२२ कोरस'लाई पनि समाविष्ट गरिएको छ। उक्त शो गायक क्रिस मार्टिनले 'क्यूरेट' गरेका हुन्।

विश्वकप फाइनल स्थानीय समयानुसार १५:०० बजे (२०:०० बीएसटीमा) सुरु हुने छ। समापन समारोह स्थानीय समयानुसार १३:३० बजे (१८:३० बीएसटीमा) सुरु हुने छ।

उक्त समारोहमा टम क्रूज, लाउरा पाउसिनी, निकोल शेर्जिङ्गर, रोबी विलिअम्स र आईशोस्पीडले प्रस्तुति दिने छन् भने जेनिफर हड्सनले आयोजक राष्ट्र संयुक्त राज्य अमेरिकाको राष्ट्रिय गान गाउने छिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।