भविष्यमा बिउँझिएका मानिस : 'म गलत समयमा गलत मानिस थिएँ'

पियर्दाँ पिचोनी सन् २०२२ मा फ्रान्समा भएको सिरिज मेनिया फेस्टिभलमा
    • Author, जो फिजन, एडगार मेडिकट
    • Role, लाइभ्स लेस अर्डिनरी, बीबीसी विश्व सेवा
    • Author, एन्ड्र्यू वेब
    • Role, बीबीसी विश्व सेवा
  • Published
  • पढ्ने समय: ६ मिनेट

डाक्टर पियर्दाँ दि पिचोनी एक अनिच्छुक 'टाइम ट्राभलर' हुन्। उनको जीवनको १२ वर्ष उनको स्मृतिबाट पूर्ण रूपमा मेटियो जब सन् २०१३ मा उनी एउटा कार दुर्घटनामा परे र मस्तिष्कमा क्षति पुग्यो।

दुर्घटनाको दोस्रो दिन जब उनी अस्पतालमा बिउँझिए, उनलाई लाग्यो त्यो सन् २००१ हो र उनले आफ्नै पत्नी र अहिले लक्का जवान भइसकेका छोराहरूलाई चिन्न सकेनन्।

यस्तो अवस्थाका कारण आश्चर्यमा परेका उनी चिकित्सकीय काम गर्न सक्ने थिएनन्। आफ्ना निकटस्थसँग पियरका रूपमा चिनिने पियर्दाँले आफू कस्तो मानिस थिए भन्ने जान्ने कोसिस गरे।

हजारौँ इमेलहरू खोज्दै जाँदा उनले आफूले आफ्नो अँध्यारो पाटो पत्ता लगाए।

उनको अनुभव दुर्लभ थियो जसले एउटा इटालियन टिभी शोलाई प्रभावित पारेको थियो। उनी एक युवा चिकित्सक थिए जसलाई गोली लागेको थियो र उनले आफ्नो स्मृतिका १२ वर्ष गुमाएका थिए।

पियर्दाँ पिचोनीको भूमिका निर्वाह गरेका अभिनेता पोस्टर देखाउँदै
तस्बिरको क्याप्शन, पियर पिचोनीको कथाले इटलीको टिभी शो डक बनाउन प्रेरित गर्‍यो

सन् २०१३ को मे ३१ तारिखमा उनले आफ्नो चेतना पुनः प्राप्त गरे। उनी अस्पतालको सघन कक्षमा शय्यामा पल्टिरहेका थिए र त्यो इटलीको लोडी सहरमा थियो।

"मैले पहिला देखेको भनेको सेतो प्रकाश थियो - त्यो सघन कक्षको प्रकाश थियो जहाँ दुर्घटनापछि मेरा सहकर्मीहरू मलाई अस्पतालको शय्यामा राखिरहेका थिए। म करिब ६ घण्टाका लागि कोमामा रहेँ र जब बिउँझिएँ मैले मेरा सहकर्मीका आँखा मात्रै देखेँ।

"जब उनीहरूले सोधेँ, 'आज कुन मिति हो?' मैले ५/६ सेकेन्डका लागि सोचेँ र जवाफ दिएँ, 'आज सन् २००१ को अक्टोबर २५ तारिख हो।"

त्यसपछि, उनले आइप्याडमा सहकर्मीजस्तै कोही देखे। सन् २००१ मा आइप्याडजस्तो कुनै उपकरण नै थिएन। फोनमा पनि केवल कल गर्न र सन्देश पठाउन अनि साधारण समाचार थाहा पाउन सकिन्थ्यो।

सन् २००० को दशकको सुरुमा उपलब्ध मोबाइल फोनहरू
तस्बिरको क्याप्शन, पियरले सन् २००१ को फोन सम्झिँदा त्यसले केवल सामान्य वेब सर्च गर्न, कल गर्न र सन्देश पठाउन सक्थ्यो

तर सबैभन्दा ठूलो खुलासा हुनै बाँकी थियो।

"उनीहरूले सोधे, 'तिमी आफ्नो श्रीमती हेर्न चाहन्छौ?'"

"पक्कै पनि: 'म मेरी श्रीमती हेर्न चाहन्छु', मैले प्रतिक्रिया जनाएँ।

"र, मेरो दिमागमा मेरो श्रीमती कोठामा छिर्ने छिन् र १२ वर्ष अगाडिकी देखिनेछिन् भन्ने ठानेको थिएँ। तर कोठामा छिर्ने महिला मेरी श्रीमती जस्ती देखिँदैन थिइन्। उनको अनुहारमा थुप्रै धर्साहरू देखिन्थे।"

पियरले आफ्ना सन्तानहरू पनि हुर्किएर युवा अवस्थामा पुगिसकेको देखे।

"मैले उनीहरूलाई तिमीहरू को हो भनेर सोधेँ? मेरा सन्तान खोइ? किनभने उनीहरू मेरा छोरा हुन् भनेर मैले विश्वास नै गरिनँ।"

त्यसपछि मेरी श्रीमतीले उनलाई झट्का दिने खबर सुनाइन्: उनकी आमा जो उनको मस्तिष्कमा स्वस्थ थिइन्, उनको तीन वर्षअगाडि नै मृत्यु भइसक्यो।

"जब म बिउँझिएँ, मलाई लाग्यो म ५३ वर्षको भएँ। तर मैले पछि थाहा पाएँ र महसुस गरेँ म त ६५ वर्षको भएको छु।"

सन् २०१४ मा आइप्याडको होमस्क्रीन
तस्बिरको क्याप्शन, जब पियर छोटो समय कोमामा गएपछि ब्यूँझिए उनलाई आइप्याड देखाउँदा उनले त्यस्तो उपकरण पनि हुन्छ भनेर सम्झिन सकेनन्

प्रिन्स अफ बास्टर्ड

उनको स्मृतिबाट मेटिएका १२ वर्ष खोतल्दै जाँदा पियर त्यो समयमा आफू हार्दिक मानिस नभएको थाहा पाउँदा छक्क परे।

"मैले मेरा साथीहरू, सहकर्मी, श्रीमतीलाई आफू कस्तो मानिस थिएँ भनेर सोधेँ। के म असल मानिस थिएँ वा खराब थिएँ?

"मेरा सहकर्मीहरूले भने जब म आकस्मिक विभागको प्रमुख बने त्यति बेला मेरो मातहतमा काम गर्ने मानिस करिब २३० जना थिए।"

"मेरो नाम उनीहरूले प्रिन्स अफ बास्टर्ड राखेका थिए।"

काममा डक भनेर चिनिने पियरले यो विश्वास गर्न सम्भव नभएको बताए किनभने उनी विगतमा त्यति खराब भएको ठान्दैन थिए।

"उनीहरूले मलाई भने, 'तपाईँ असाध्यै अँध्यारो हुनुहुन्छ। एकदमै बलियो हुनुहुन्छ... तर अन्य मानिसका लागि एकदमै कठोर हुनुहुन्छ।'"

पियार्दोँ पिचोनी सन् २०१७ को मे १९ मा इटलीमा अन्तर्वार्ता दिँदै
तस्बिरको क्याप्शन, पियर त्यतिबेलै चिनिएका फिजिसियन थिए तर १२ वर्षको स्मृति गुमाएपछि उनी अझै चर्चित बने

पियरका हराएका वर्षहरू: आफ्नो वास्तविकता खोतल्दै

जब पियरले उनका हराएका वर्षहरूमा विश्व कसरी परिवर्तन भयो भन्ने थाहा पाए उनले विगतका आफ्ना पत्रहरू सबै हेर्न थाले।

"मैले सबै इमेलहरू पढेँ - ७६,००० भन्दा धेरै थिए - आफू को हुँ भन्ने बुझ्न कोसिस गरेँ... केही इमेलहरूमा मैले एउटा खराब मानिस, खराब हाकिम र घातक मानिस भेटेँ।

उनले आफ्ना सहकर्मीहरूले आफूबारे सत्य बोलेको थाहा पाएको बताए: "ती इमेलहरू पढ्दा मैले आफूलाई धेरै धेरै दुःखी पाएँ।"

सन् २००९ मा अमेरिकाको राष्ट्रपति बनेपछि बराक ओबामा र उनी पत्नी मिसेल ओबामा
तस्बिरको क्याप्शन, पियरका हराएका वर्षहरू: सन् २००९ मा अमेरिकामा बराक ओबामा राष्ट्रपति बनेको कुरा थाहा पाउँदा उनले विश्वासै गर्न सकेका थिएनन्

त्यसैले पियरले आफू असल मानिस बन्ने निर्णय गरे।

"मैले दैनिक डायरी लेख्न थालेँ। मैले आफ्नो दिनको वा जीवनको चाहे महत्त्वपूर्ण होस् वा नहोस्, जे महसुस गर्थेँ त्यही लेख्न थालेँ।

विश्वकपको ट्रफी समाएर सन् २००६ मा जर्मनीको बर्लिनमा रमाइलो गर्दै इटलीका खेलाडीहरू
तस्बिरको क्याप्शन, पियरका हराएका वर्षहरू: सन् २०१३ मा कोमाबाट ब्यूँझिँदा पियरले सन् २००६ मा इटलीले फ्रान्सविरुद्ध विश्वकप जितेको सम्झिनै सकेनन्

"म गलत समयमा गलत व्यक्ति थिएँ। त्यो मेरो समय थिएन।

"मैले नबुझ्ने संसारमा म अपरिचित व्यक्ति जस्तै थिएँ। म आफैँमा एक्लो महसुस गर्थेँ। मलाई कसैले बुझ्दैनन् जस्तो लाग्थ्यो।"

तत्कालीन प्रधानमन्त्री सिल्भिनो बेर्लुस्कोनी
तस्बिरको क्याप्शन, पियरका हराएका वर्षहरू: पियरले सन् २००१ को अन्तिम दिनमा इटलीमा नयाँ प्रधानमन्त्री सिल्भिनो बेर्लुस्कोनी निर्वाचित भएको मात्रै सम्झिन्छन्। सन् २०१३ मा उनी कोमाबाट ब्यूँझिँदा बेर्लुस्कोनीले भर्खरै प्रधानमन्त्रीका रूपमा आफ्नो तेस्रो कार्यकाल सकेका थिए।

पियर अन्धकारमा पुगे।

"मैले लामो समय एक्लो महसुस गरेँ। किनभने मेरी आमा बितिसक्नुभएको थियो, मलाई मेरो बच्चा मरेजस्तो लाग्यो।

"त्यसो भए किन बाँच्नु? मैले त्यो बेला आत्महत्या गर्ने सोचेँ किनभने मलाई त्यो मेरो संसार हो जस्तो लाग्दैन थियो।"

तर पियरले यी नकारात्मक भावनाबाट आफैँलाई सम्हाल्ने उपाय पत्ता लगाए।

न्यू योर्कको वर्ल्ड ट्रेड सेन्टरमा सन् २००१ को सेप्टेम्बर ११ मा हमला भएपछि भग्नावशेषबीच एक उद्धारकर्मी
तस्बिरको क्याप्शन, पियरका बिर्सिएका वर्षहरू: अमेरिकामा हमला भएको एक महिनापछि पियरको सन् २००१ मा सडक दर्घटना भएको थियो

पुन: प्रेममा पर्दै

पियर कार दुर्घटना भएर १२ वर्षको स्मृति गुमाउनुअघि दिनमा १५ देखि १६ घण्टा काम गर्ने गर्थे।

उनकी श्रीमतीले उनी त्यति बेला आकस्मिक विभागका प्रमुख रहेको र मुस्किलले घर आउने गरेको बताइन्।

"उनले मलाई भनिन्, 'मलाई साँच्चै थाहा छैन तिम्रो एउटा वा त्यो भन्दा बढी केटी साथीहरू थिए... किनभने तिमी एकदमै काम भनेपछि मरिमेट्ने थियौँ।"

पियरले श्रीमान्‌को आफ्नो भूमिका पुनः जागृत गर्ने निधो गरे जब छोटो समयको कोमापछि उनी आफ्नी श्रीमतीको प्रेममा पुन परे।

"जब मेरी श्रीमती कोठाबाट बाहिर जाँदा फर्किएर हेरिन् मैले उनलाई हेरेँ। म पुनः प्रेममा परेँ। त्यो साँच्चै आहा समय थियो।"

उनले आफैँलाई भने, उनी आफूले सम्झिए जस्ती उनलाई लागेन।

"मलाई लाग्छ म मात्रै त्यस्तो मानिस हुँ जसले भन्न सक्छु: 'मैले मेरी श्रीमतीलाई आफ्नी श्रीमतीका लागि धोका दिएँ।' किनभने उनी फरक व्यक्ति थिइन् र म पुनः उनको प्रेममा परेँ।"

सन् २०२२ को मार्च २१ मा फ्रान्समा भएको सिरिज मेनिया फेस्टिभलमा अभिनेता पियरपाओलो स्पोलोँ पियर्दोँ पिचोनीको पोस्टर समाउँदै
तस्बिरको क्याप्शन, सडक दुर्घटनापछि पियरले जीवनको नयाँ पाटो फेला पारे

पियरले आफ्नो नयाँ वास्तविकता उज्यालो र आशाले भरिएको भएको बताए।

"मेरो व्यक्तिगत आरोहका कारण मात्रै म गर्व गर्दिनँ, तर... विश्वभरि नयाँ र सुन्दर सम्झना बनाउन सक्ने भएकाले म गर्व गर्छु।

"यो नै मेरो मन्त्र हो।"

टिभी सिरिज डकका लागि फोटो खिचाउँदै पियोर्दोँ पिचोनी

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।