बाढी र पहिरोले बिथोलेका सडकमा चाडपर्वका बेला लाखौँ मानिसको आवतजावत कसरी होला

रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा डोजरकाे सहयाेगमा अस्थायी ट्र्याक खोलिँदै
तस्बिरको क्याप्शन, भदौ महिनाको बाढीले ठूलो विनाश गरेको -वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खोल्न थालिएको छ
    • Author, विनिता दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

यो वर्ष बर्खायाममा विभिन्न राजमार्ग र महत्त्वपूर्ण सडकहरूमा क्षति पुगेकाले दशैँमा मानिसहरूको आवतजावतमा बाधा नपुग्ने गरी कार्ययोजना बनाएर मर्मतको कामहरू भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले यो वर्ष दशैँमा झन्डै १५ लाख मानिस काठमाण्डू उपत्यकाबाट बाहिरिने आकलन गरिएको जनाएको छ।

त्यसैअनुसार सडक मर्मत गर्न, सुरक्षा बढाउन तथा यातायातको बुकिङ तथा अनुगमन गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको उक्त समितिका सभापतिले बताएका छन्।

'पब्लिक ट्रान्सपोर्ट ट्राभल म्यानेज्मेन्ट २०८३' नाम दिइएको प्रतिवेदनमा दशैँ, तिहार र छठजस्ता चाडपर्वको समयमा सवारीसाधनको चाप बढ्ने, टिकटमा अनियमितता हुन सक्ने र सडक सुरक्षा जोखिम रहेको भन्दै तिनलाई समाधान गर्न सुझाव समेत दिइएको छ।

यो वर्ष खास गरी देशका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण सडकहरू धेरै ठाउँमा अवरुद्ध रहेकाले सबैतिर सडक सञ्चालन गर्नुपर्ने चुनौती रहेको अधिकारीहरूले बताएका छन्।

यातायात व्यवस्था विभागले भने अग्रिम बुकिङका लागि मिति तय गर्न मङ्गलवार यातायात व्यवसायीसँग छलफल गरेर निर्णय गरिने जनाएको छ।

राष्ट्रिय यातायात व्यवसायी महासङ्घले सरकारसँगको छलफलपछि अग्रिम टिकट बुकिङको मिति तय गरिने भन्दै विभागले बोलाउने छलफलको प्रतीक्षामा आफूहरू भएको जनाको छ।

अवरुद्ध सडक खुलाउन कस्तो काम

बाग्लुङमा बाटो निर्माणको काम गरिँदै

दशैँमा सकभर सबै सडक खुलाउने भन्ने हिसाबले काम भइरहेको पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता उमेशबिन्दु श्रेष्ठले बताए।

"जुनजुन सडकहरू अवरुद्ध छन् तिनलाई खुलाउने हिसाबले कार्ययोजना बनाएर अगाडि बढिरहेका छौँ। धेरै क्षति भएको रसुवागढी क्षेत्रमा पनि धमाधम काम भइरहेको छ," प्रवक्ता श्रेष्ठले भने।

"पृथ्वी राजमार्गमा अवरोध आइरहने कृष्णभीरस्थित बाटो पनि अस्थायी रूपमा नै सञ्चालनमा आइसकेको छ। बर्खाले त्यति दुःख नदिने भएकाले समस्या नहुने ठानेका छौँ।"

आफूहरूले प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले तयार गरेको प्रतिवेदनपछि उक्त समितिले दिएको निर्देशनअनुसार नै काम गरिरहेको उनले बताए।

उक्त समितिका सभापति तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद आशिष गजुरेलले प्रतिवेदनको निष्कर्षअनुसार पूर्वाधार विकास मन्त्रालय, सडक विभाग, यातायात व्यवस्था विभागलगायतका अधिकारीहरूसँग निरन्तर छलफलमा रहेको बताए।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घॉसीकुवामा खसेको पहिरो
तस्बिरको क्याप्शन, ठाउँठाउँमा अहिले पनि पहिरो जाने क्रम जारी छ

"सडकहरू पूर्ण रूपमा सञ्चालन हुनुपर्‍यो। पहिरो वा बाढीले अवरोध भएका ठाउँहरूमा उपकरणहरू राख्ने, तुरुन्त सुधार गरेर सडक सञ्चालन गर्ने र जहाँ असुरक्षित सडकहरू छन् त्यहाँ रातिको समयमा बन्द गर्ने र सूचना दिने भन्ने सुझाव हामीले सडक विभागलाई दिएका छौँ," पूर्वाधार विकास समितिका सभापति गजुरेलले भने।

"उहाँहरूले हामीले दशैँमा सबै बाटो खुलाउँछौँ नै भन्नुभएको छ। एकदमै ठूलो अर्को पहिरो गयो, बाढी गयो भने फरक कुरा भयो, नभए यो वर्ष दशैँमा समस्या हुँदैन भनेर उहाँहरूले हामीलाई भन्नुभएको छ।"

त्यस्तै दशैँका लागि सार्वजनिक सवारीसाधनमा अग्रिम बुकिङ खोल्ने विषयमा पनि आफूहरूले निर्देशन दिएको उनले बताए।

"कहिलेदेखि बुकिङ खुलाउने निर्क्योल गरेर खुलाउनुहोस् अनि यात्रुलाई पनि टिकट भाडा कति हो सूचना दिनुहोस्, बदमासी गर्ने व्यवसायीलाई तत्कालै कारबाही गर्ने प्रक्रिया अगाडि बढाउनुहोस् भनेर यातायात व्यवस्था विभागलाई पनि निर्देशन दिएका छौँ," उनले भने।

फूलपातीदेखि नवमीसम्म धेरै मानिसहरू बाहिरिने र त्यो अवधिमा दैनिक करिब ७५,००० वटा सवारीसाधन चल्नुपर्ने देखिएको उनले बताए।

व्यवसायीले कृत्रिम अभाव देखाउन खोज्ने, बढी भाडा लिन खोज्ने, सीट भएर पनि सीट छैन भन्दै नदिने जस्ता समस्याहरू देखिएको र त्यसको समाधानका लागि निकायगत रूपमा सुझावहरू दिइएको उनले बताए।

"समयतालिका बनाउनुहोस्, यात्रुअनुसार सवारीसाधन निर्क्योल गर्नुोहस्, जहाँ पायो त्यहीँ सवारीसाधनमा मानिसलाई चढाउन र झार्न नदिनुहोस्, यात्रुसँग मोलमोलाइ गरेको भेटिए कारबाहीको प्रक्रिया अगाडि बढाउनुहोस्, एकजना चालकलाई आठ घन्टाभन्दा बढी चलाउन नदिनुहोस् भनेका छौँ," सांसद् गजुरेलले भने।

"यदि चाप पर्ने दिनहरूमा सवारीसाधन नपुगे सेना, प्रहरी वा विद्यालयका बसहरूको व्यवस्थापन गर्नुहोस् पनि भनेका छौँ।"

त्यस्तै ट्राफिक प्रहरीलाई सवारीसाधनमा धेरै सङ्ख्यामा मानिस राखेको, जहाँ पायो त्यहीँ खाना खान रोकेको, चालकले बढी समय गाडी चलाएको वा नियमविपरीत काम गरेको पाइए कारबाही गर्न समितिले भनेको उनले बताए।

दशैँका लागि टिकटको अग्रिम बुकिङ कहिले खुल्छ

फाइल तस्बिर
तस्बिरको क्याप्शन, फाइल तस्बिर

राष्ट्रिय यातायात व्यवसायी महासङ्घले भने सडक विभाग, यातायात व्यवस्था विभाग, ट्राफिकलगायत सबै निकायले मिलेर दशैँमा सवारीसाधनको आवतजावतको व्यवस्थापन मिलाउनुपर्ने जनाएको छ।

महासङ्घका अध्यक्ष सरोज सिटौलाले विभागका तर्फबाट बोलाएर छलफल गरेपछि अग्रिम बुकिङका लागि समस्या नभएको बताएका छन्।

"हामी आन्तरिक छलफल गरेर बसेका छौँ। हाम्रो अहिलेको कुरा भनेको बाटोको आवातजावत पूर्वाधारको कुरा पनि हो। यात्रुले टिकट काटिसकेपछि सुरक्षित गन्तव्यसम्म जान पाउनुपर्छ भन्ने हो," अध्यक्ष सिटौलाले भने।

"प्राकृतिक प्रकोपका कारण देशभरिको बाटो छिन्नभिन्न छ। सरकारले काम गरिरहेको छ तर अझै 'फास्टट्र्याक'मा बिग्रिएका बाटोहरू बनाइदियो भने दशैँमा यात्राका लागि सहज हुन्छ।"

उनले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि देशका विभिन्न भागबाट मानिसहरू काठमाण्डू आएका र महाधिवेशन चाँडै सकिएर उनीहरू घर नफिर्किएको अवस्थामा दशैँको मुखमा चाप पर्न सक्ने बताए।

"महाधिवेशन समयमै सकिएर घर फर्किए भने त त्यस्तो नहोला। तर लम्बियो र मानिसहरू अड्किए भने दशैँमा चाप पर्छ," अध्यक्ष सिटौलाले भने।

"कात्तिक २५ गतेदेखि अष्टमीसम्म यात्रुको ठूलो सङ्ख्या जान्छ। यसलाई व्यवस्थापन गर्न सबै पक्षहरूले सहकार्य गर्न पनि आवश्यक छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।