'खतराका कारण' यूकेबाट अमेरिकी बमवर्षक विमानहरू फिर्ता गरेको ट्रम्पको स्पष्टोक्ति

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प
Published
पढ्ने समय: ३ मिनेट

राष्ट्रपति डोनल्ड ट्रम्पले "केही खतराका कारण" संयुक्त राज्य अमेरिकाले यूकेको आरएएफ फेअरफर्ड अखडाबाट आफ्ना बमवर्षक विमानहरू फिर्ता लगेको बताएका छन्।

यसअघि अमेरिकी रक्षा मन्त्रालयले आरएएफ फेअरफर्डबाट आफ्ना सबै बमवर्षक विमानहरू अमेरिका लगिएको आइतवार पुष्टि गरेको थियो।

यूकेको सैन्य हवाई अखडाबाट अमेरिका फिर्ता लगिएका बमवर्षक विमानहरूमा करिब एक दर्जन 'बी-वन' रहेको बुझिएको छ।

सोमवार नेब्रास्काका लागि प्रस्थान गर्न लागेका ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै अमेरिकालाई "खतरा"बारे जानकारी भएको र सोही कारण बमवर्षक विमानहरू फिर्ता ल्याउनुपरेको बताए।

त्यसअघि सोमवार ब्रिटिश प्रधानमन्त्रीको कार्यालयका एक प्रवक्ताले आरएएफ फेअरफर्ड सुरक्षित रहेकोमा जोड दिँदै गत साता ट्रम्पले यूकेका "प्रहरी, प्रतिरक्षा र सुरक्षा सेवाहरू"को प्रशंसा गर्दै दिएको अभिव्यक्तिको स्मरण गराए।

ठूलो घटनापछिको कदम

गत सेप्टेम्बर २७ तारिखमा ग्लोस्टर्शरस्थित विमानस्थलनजिकै तीनवटा "शङ्काकास्पद सवारीसाधनहरू"बारे यूकेको प्रहरीलाई सजग गराइएको एउटा ठूलो घटनापछि पछिल्लो कदम चालिएको भन्ने विवरणबीच राष्ट्रपति ट्रम्पको टिप्पणी आएको हो।

ह्वाइट हाउसबाहिर पत्रकारहरूको एउटा समूहसँग ट्रम्पले कुरा गरिरहँदा के "कुनै खास खतरा"का कारण अमेरिकाले बमवर्षक विमानहरू लगेको हो कि भनेर सोधिएको थियो।

"हो, मेरो विचारमा हामी त्यो चाहिँ भन्न सक्छौँ। कुनै दुर्घटना भएर त्यहाँबाट फिर्ता ल्याइएको होइन," ट्रम्पले भने।

सुरुमा पाँच जनालाई हवाई अखडानजिकै आतङ्ककारी गतिविधि गरेको आशङ्कामा पक्राउ गरिएको थियो। तर पछि उनीहरूलाई जमानतमा रिहा भए। त्यसपछि पक्राउ परेका ब्रिटिश-इरानी नागरिक पनि जमानतमा रिहा भए।

ह्वाइटहल स्रोतहरूले वाशिङ्टनको निर्णय आरएएफ फेअरफर्डमा भएको घटनाको प्रतिक्रियास्वरूप आएको कुरा अस्वीकार गरेका छैनन्।

घटनाको केही दिनपछि यूकेका प्रधानमन्त्री एन्डी बर्नमले त्यसमा इरानको भूमिका रहेको "बलियो सङ्केत" पाइएको बताए पनि त्यसबारे थप विवरण खुलाएनन्।

तेहरानले घटनामा कुनै खालको आफ्नो संलग्नतालाई सशक्त रूपमा अस्वीकार गरेको छ।

उड्न लागेको बमवर्षक विमान

'फोर्वर्ड अपरेटिङ लोकेशन'

सुरुमा अमेरिकी वायुसेना (यूएसएएफ) द्वारा सञ्चालित हवाई अखडातर्फ गाडीहरू गइरहेको सूचना पाएपछि बिहान सबेरै २३ देखि २५ वर्ष उमेरका पाँच पुरुषलाई पक्राउ गरिएको थियो। पाँचै जना लन्डनमा बस्ने ब्रिटिश नागरिक थिए।

उनीहरूलाई विस्फोटक पदार्थसँग सम्बन्धित अपराधको आशङ्कामा र पछि आतङ्ककारी कार्यको तयारी गरेको आशङ्कामा पक्राउ गरिएको थियो।

प्रहरीले पछि उनीहरूलाई जमानतमा रिहा गर्दै गिरफ्तारीलाई "अनुभव र रणनीति" मा आधारित "अनुसन्धान निर्णय" भनी व्याख्या गरेको थियो।

अमेरिकी वायुसेनाले आरएएफ अखडालाई 'फोर्वर्ड अपरेटिङ लोकेशन' का रूपमा रूपमा दशकौँदेखि प्रयोग गरिआएको छ।

हालैका महिनाहरूमा ब्रिटेनले इरानविरुद्ध रक्षात्मक आक्रमण थाल्न हवाई अखडा प्रयोग गर्ने अमेरिकी अनुरोधलाई अनुमोदन गरेपछि अमेरिकी बमवर्षक विमानहरूले त्यहाँबाट मध्यपूर्वका लागि उडान गरिरहेका छन्।

इरानले "इरानी क्षेत्रविरुद्ध आक्रमणका लागि प्रयोग गरिने कुनै पनि अखडा उसको सेनाका लागि वैध लक्ष्य हुने" गत जुलाईमा चेतावनी दिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।