चार वैज्ञानिक कृत्रिम मङ्गल ग्रहमा कसरी एक वर्ष बसे

बायाँबाट - एन्का सेलरिउ, रोस ब्रोकवेल, केली हस्टन र केली हस्टन, रोस ब्रोकवेल, नेथन जोन्स
तस्बिरको क्याप्शन, (बायाँबाट) एन्का सेलरिउ, रोस ब्रोकवेल, केली हस्टन र नेथन जोन्स
    • Author, निकोलाई भोरोनिन
    • Role, बीबीसी ग्लोबल न्यूज
  • Published

पाँच दशकअघिसम्म मङ्गल ग्रहसम्मको उडान विज्ञानका कथामा मात्र सीमित थियो।

तर आज वैज्ञानिकहरू उक्त ग्रहमा जाने भविष्यका मान्छेहरूसँग कस्तो सीप हुनुपर्छ, त्यहाँसम्मको लामो यात्रामा कसरी जीवित रहने र त्यहाँ रहेको नसुहाउँदो निर्जन वातावरणलाई सामना गर्न उनीहरूलाई कसरी तयारी गर्ने भन्नेबारे गम्भीरतापूर्वक सोचिरहेका छन्।

अन्तरिक्षमा जीवित रहन विशेष किसिमको मान्छे हुनुपर्छ। अन्तरिक्षयात्रीहरूले यसको सामान कसरी गर्लान्?

यिनै प्रश्नको उत्तर खोज्न गत वर्ष जुन २५ मा अमेरिकाका चार अग्रणी अन्तरिक्षयात्री केली हस्टन, रोस ब्रोकवेल, नेथन जोन्स र एन्का सेलरिउ एउटा ‘अन्तरिक्षयात्रा’मा निस्किए।

त्यो यात्रा मङ्गल ग्रहको त अवश्य पनि थिएन।

तर मङ्गल ग्रहको जस्तै सतह र वासस्थान सहितको ‘थ्रीडी’ प्रिन्ट गरिएको प्रतिरूप थियो।

कस्तो संरचना

नक्कली मङ्गल ग्रहमा लगाउनका लागि तयार पारिएका जुत्ता
तस्बिरको क्याप्शन, नक्कली 'मङ्गल ग्रह'मा लगाउनका लागि विशेष किसिमका जुत्ता तयार पारिएको थियो

सामान्य भाषामा भन्दा यो मङ्गल ग्रहमा जाने अन्तरिक्षयात्री र उनीहरूका सरसामान राख्नका लागि बनाइएको संरचना थियो।

यो संरचना अमेरिकाको टेक्ससस्थित नासाको जोन्सन स्पेस सेन्टरमा रहेको प्रशिक्षण आधार केन्द्रमा रहेको छ।

त्यहाँ वैज्ञानिकहरूले भविष्यमा मङ्गल ग्रहमा जानेहरूले बाँच्ने अवस्थाको सम्भव भएसम्म उस्तै नक्कल गरेका छन्।

छानिएका चार जनालाई गरिएको यो एक वर्ष लामो ‘कैद’ हालसम्म गरिएको सबैभन्दा लामो र सबैभन्दा व्यापक अन्तरिक्ष उडानको नक्कल थियो।

पछिल्लो एक वर्षमा वैज्ञानिकहरूले यो मिशनमा सहभागीहरूको टाढैबाट अनुगमन गरिरहेका छन्। यस क्रममा उनीहरूलाई समयसमयमा विभिन्न काम दिँदै उनीहरूको मानसिक र शारीरिक स्वास्थ्यको जानकारी निरन्तर सङ्कलन गरिएको छ।

गत शनिवार अर्थात् ६ जुलाईमा यो ‘उडान’ औपचारिक रूपमा सकिएको छ।

यसबाट अनुसन्धाताहरूले यति लामो समयसम्म एक अर्कासँग मिलेर कुनै द्वन्द्व नगरी, आफ्ना प्रियजनबिना र मानसिक स्वास्थ्यमा कुनै असर बिना कसरी बाँच्न सक्छन् भन्ने बारे थाहा पाइने आशा गरेका छन्।

‘थ्रीडी’ प्रिन्ट गरिएको संरचनामा एक वर्ष

नक्कली मङ्गल ग्रहमा बसेका वैज्ञानिकहरू
तस्बिरको क्याप्शन, यस परीक्षणमा सहभागी हुन १० हजारभन्दा बढी निवेदन परेको थियो

झन्डै ३७० दिनका लागि उनीहरू पूर्ण रूपमा अरूसँग सम्पर्कविहीन भएर बाँचेका छन्, जुन 'द क्रू हेल्थ एन्ड पर्फर्मेन्स एक्स्प्लोरेशन एनलग' को एक भाग हो।

यो परियोजना हालसम्म गरिएमध्येकै सबैभन्दा लामो र सबैभन्दा व्यापक अन्तरिक्ष उडानको नक्कल हो। मङ्गल ग्रहसम्मको सबैभन्दा छोटो एकतर्फी यात्रा पूरा गर्न पनि नौ महिना लाग्छ।

यसमा सहभागी हुन चाहनेहरू पर्याप्त थिए। नासाले १० हजारभन्दा धेरै निवेदनहरू प्राप्त भएको थियो।

यो परियोजनाको प्रमुख उद्देश्य लामो अन्तरिक्ष यात्रा र लगभग पूर्ण रूपमा मानिस सामाजिक रूपमा अलग बस्दा हुने मानसिक र शारीरिक असरको अध्ययन गर्नु रहेको छ।

रातो ग्रहको सतहको अनुकरण रहेको यो 'मार्शन मोड्यूल'को क्षेत्रफल झन्डै १६० वर्ग मिटर (१,७२२ वर्ग फिट) छ र यसलाई थ्रीडी प्रिन्टरको प्रयोग गरी निर्माण गरिएको थियो।

वैज्ञानिकहरू एउटा सम्भव उपायका रूपमा थ्रीडी प्रिन्टरको प्रयोग गरेर मङ्गल ग्रहमा बस्ने कोठाहरू बनाउन सकिने विश्वास गर्छन्। उक्त ग्रह लाखौँ किलोमिटर टाढा रहेका कारण त्यहाँसम्म निर्माण सामग्री बोकेर लैजानु व्यावहारिक हुँदैन।

त्यहाँ जानेहरूले मङ्गल ग्रहमा भएको सामग्री अर्थात् धुलो र बालुवाको प्रयोगबाट बनाउनुपर्ने हुन्छ।

यिनीहरू थ्रीडी प्रिन्ट गर्न चाहिने आधारभूत सामग्री बन्छन् भन्ने आशा गरिएको छ।

‘मार्शन मोड्यूल’को भित्री भाग कस्तो छ

प्राध्यापक बेल
तस्बिरको क्याप्शन, प्राध्यापक बेल यो परियोजनाको वैज्ञानिक पक्षका लागि जिम्मेवार छिन्

रातो ग्रहको निर्जन अवस्थालाई पृथ्वीमा पूर्ण रूपमा नक्कल गर्न असम्भव रहेको नासाको जोन्सन स्पेस सेन्टरको व्यावहारिक स्वास्थ्य तथा कार्यसम्पादन प्रयोगशालाकी प्रमुख सुजन बेल बताउँछिन्।

मङ्गलमा सास फेर्न नसकिने वातावरण, सूक्ष्म गुरुत्वाकर्षण र कडा विकिरण छ।

तर यो परियोजनाले मङ्गल ग्रहसम्मको वास्तविक यात्रामा जाँदा अनिवार्य रूपमा सामना गर्नुपर्ने चुनौतीहरूका लागि भविष्यका अन्तरिक्षयात्रीहरूलाई तयार गर्नका लागि आफूले सक्ने गरेको छ।

वर्षभरि नै सहभागीहरूलाई लामो अन्तरिक्ष उडानमा खान योग्य रहने खानाहरू (टिनको बट्टामा भण्डारण गरिएको खाना) र विशेष रूपमा तयार गरिएको ‘मार्शन ग्रीनहाउस’ मा उनीहरूले नै उब्जाएको खाना मात्रै खान दिइएको थियो।

कुनकुन क्रियाकलाप अनुकरण गरियो

वास्तविक चालकदलले भोग्न सक्ने प्रमुख समस्या मङ्गल ग्रह र पृथ्वीबिचको दुरीका कारण सूचना आदानप्रदानका लागि लाग्ने समय हो। त्यसलाई यस प्रयोगमा पनि अनुकरण गरिएको थियो।

मङ्गल ग्रहमा रहेका मानिसले पृथ्वीमा रहेको मिशन नियन्त्रण केन्द्रसँग सम्पर्क गर्न चाहेमा दोहोरो सूचना आदानप्रदानका लागि कम्तीमा ४५ मिनेट लाग्छ।

कुनै पनि सूचना पृथ्वीबाट २२ मिनेटमा मात्रै मङ्गल ग्रहको सतहमा पुग्छ। सूचनाको जबाफका लागि पनि त्यत्ति नै समय लाग्छ।

यसको अर्थ कुनै पनि असहजता पैदा भएमा चालक दल पृथ्वीबाट प्राप्त हुने सहयोगमा भर पर्न सक्दैनन् र उनीहरू आफैले तत्कालै समस्याको समाधान गर्नुपर्छ।

मङ्गल ग्रह
तस्बिरको क्याप्शन, मङ्गल ग्रहमा रहेका मानिससँग सूचना आदानप्रदान गर्न ४५ मिनेट लाग्ने बताइन्छ

आयोजकहरूले उक्त प्रयोग अप्रत्याशित कठिनाइ र अप्रिय परिस्थितिहरूसहित डिजाइन गरेका थिए। यसमा नबुझिने र अनियमित श्रव्य सञ्चारदेखि साना उपकरणहरूको अचानक विफलतासम्म समावेश थियो।

सुजेन बेलका अनुसार पूर्ण रूपमा अलग भएको अवस्थामा चालक दलले कसरी तनावप्रति प्रतिक्रिया देखाउँछन् भन्ने जान्न यो आवश्यक थियो।

स्वयंसेवकमा कम्तीमा प्राकृतिक विज्ञानमा स्नातकोत्तरको योग्यता भएको र विमान चलाउने अनुभव भएको वा सैन्य तालिम पूरा भएको हुनुपर्ने मापदण्ड थियो।

मिशनको प्रमुख बनेकी केली हस्टन एक भौतिकशास्त्री हुन् र उनी रोगको निदानका लागि 'स्टेमसेल' विकासमा विशेषज्ञता राख्छिन्।

ब्रोकवेल एक डिजाइन इन्जिनियर हुन्।

जोन्स एक सैन्य चिकित्सक हुन, जसले एम्बुलेन्स सेवामा काम गरेका थिए। अनि सेलरिउ एक माइक्रोबायोलोजिस्ट हुन, जोसँग अमेरिकी नौसेनामा काम गरेको पनि अनुभव छ।

परियोजनाका लागि उनीहरू उपयुक्त हुन् भन्ने पक्का गर्न पेसागत अन्तरिक्षयात्रीले जस्तै शारीरिक र मानसिक प्रशिक्षण उनीहरूले पनि गर्नु परेको थियो।

आलोचकहरू के भन्छन्

‘मार्शन मोड्यूल’को भित्री भाग
तस्बिरको क्याप्शन, ‘मार्शन मोड्यूल’को भित्री भाग

मङ्गल ग्रहमा मानवीय मिशनको समर्थन गर्नेहरूले यस परीक्षणबाट प्राप्त जानकारीले नयाँ प्रविधि र उपायहरूको विकास गर्न सहयोग पुर्‍याउने विश्वास गर्छन्, जसले लामो अन्तरिक्ष यात्रालाई सुरक्षित र सक्षम बनाउन सहयोग गर्नेछ।

तर धेरै अन्तरिक्षयात्रीहरूले भने यो दृष्टिकोण अति आशावादी भएको बताउँछन्। उनीहरू मङ्गल ग्रहसम्म मानवीय उडान जोखिमपूर्ण र महङ्गो भएको भन्दै आवश्यकतामाथि नै प्रश्न गर्छन्।

भविष्यका उपनिवेशकहरूले गर्ने भनिएका धेरैजसो कामहरू कम खर्च र मानव जीवनको जोखिमबिना नै रोबटले पनि गर्न सक्ने उनीहरूको तर्क छ।

र सामान्य रूपमै राख्दा पनि यो जोखिम उच्च छ। स्पेस रिसर्च इन्स्टिट्यूटका वैज्ञानिक निर्देशक तथा रुसी अक्याडमी अफ साइन्सका उपाध्यक्ष लेभ जेलेनी यस परियोजनाले मङ्गल ग्रहसम्म मानिसलाई कसरी सुरक्षित रूपमा पुर्‍याउने भन्ने प्रश्नको जवाफ दिने टिप्पणी गर्छन्।

क्रु

पृथ्वीको चुम्बकीय क्षेत्रभन्दा बाहिर कडा विकिरणले मङ्गल ग्रहसम्म यात्रा गरिरहेका अन्तरिक्षयात्रीलाई जोखिममा पार्छ।

जेलेनी अन्तरिक्षयात्रीलाई यस्ता हानिकारक किरणहरूबाट बचाउने उपायहरू हालसम्म विकास नभएका कारण आफू ‘मार्शन प्रशिक्षण’ लाई लिएर आफूले सन्देह गरेको बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।