सुडानमा युद्धविरामको समय सकिनुअघि हजारौँ मानिसहरू देश छाड्ने हतारोमा

सुडानबाट बाहिरिँदै

तस्बिर स्रोत, Reuters

Published

सुडानमा तीन दिनदेखिको अस्थिर खालको युद्धविराम बिहीवार मध्यरातमा अन्त्य हुनुअघि हजारौँ मानिसहरूले असुरक्षित तरिकाबाट देश छाडिरहेका विवरण आएका छन्।

दक्षिणी सुडानका विदेशमन्त्रीले आफ्नो देशले सुडानमा लडिरहेका दुई सैनिक पक्षबीच युद्धविरामको समय बढाउने प्रयासको नेतृत्व गरिरहेको जनाएका छन्।

डेङ डाउ डेढले थप ७२ घन्टासम्म युद्धविराम लम्ब्याउँदा सुडानमा रहेका विदेशी नागरिक बाहिरिन अनि राजधानीसहित अन्य सहरहरूमा मानवीय निकासमार्ग तयार पार्न सहज हुने बीबीसीसँग बताए।

त्यहाँ सुडानी सेना र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेस आएरएफबीच १५ एप्रिलयता सङ्घर्ष चलिरहेको छ।

उनका अनुसार प्रत्यक्ष रूपमा भेटवार्ता गरी द्वन्द्व अन्त्य गर्ने विषयबारे छलफल गर्न दक्षिण सुडानका राष्ट्रपति साल्भा किएले गरेको प्रस्ताव सुडानका सैन्य प्रमुखले स्वीकार गरेका छन्।

सुडान

तस्बिर स्रोत, Reuters

लाइन
red line

तनाव

सुडान

तस्बिर स्रोत, Reuters

ब्रिटिश विदेशमन्त्री जेम्स क्लेभेरीले “सुडान छाड्ने यही बेला रहेको र युद्धविराम अन्त्य भएपछि उद्धार उडान जारी रहने कुनै सुनिश्चितता नरहेको” बताएका छन्।

सुडानको सेनाले युद्धविरामको समय थप्न आफू उत्सुक भए तापनि आरएसएफबाट कुनै जवाफ नआएको जनाएको छ।

ह्युमन राइट्स वाचका एक अधिकारीले “सुडान छाड्न नसक्नेहरू कि त स्वयं जोखिम मोलेर अघि बढ्नुपरेको वा जोखिम मोलेर घरमै बस्नुपर्ने अवस्थामा रहेको” बताएका छन्।

बीबीसीको रेडिओ फोरसँग बोल्दै ती अधिकारीले त्यहाँ उनकै शब्दमा निकै धेरै जेलिएका समस्या रहेको बताए।

लडाइँ जारी

सुडान

तस्बिर स्रोत, PA

झण्डै दुई सातादेखिको लडाइँमा त्यहाँ कम्तीमा ५१२ जनाले ज्यान गुमाएको सरकारले जनाए पनि वास्तविक सङ्ख्या अझै धेरै हुनसक्ने ठानिएको छ।

युद्धविरामबीच पनि देशका कतिपय भागमा लडाइँ जारी छ।

समाचार संस्था एएफपीका अनुसार राजधानी खार्टूममा सेनाको लडाकु विमानले आरएसएफविरुद्ध युद्धविरामकैबिच हवाई आक्रमण जारी राखेको छ भने जमिनबाट मसिनगनमार्फत् जवाफी प्रहारहरू भएका देखिन्छन्।

उद्धार उडानमार्फत् यूके फर्कँदै गरेका एक व्यक्तिले आफूले सडकमा मानिसहरूका शव देखेको बताएका छन्।

प्रजातान्त्रिक सङ्क्रमणको 'आशा मर्‍यो'

बीबीसी संवाददाता पोल एडम्सले केही दिन अघिसम्म प्रजातान्त्रिक सङ्क्रमणकालले गति लिने ठानेका मानिसहरूले अब अवस्था सुधार हुने आशा मारेको बताएका छन्।

यूकेले ५३६ जना ब्रिटिश नागरिकको उद्धार गरेको छ भने चीनले पानीजहाजमार्फत आफ्ना १३ सय नागरिकलाई उद्धार गर्न लागेको जनाएको छ।

त्यहाँको स्वास्थ्यसेवाले काम गर्न छाडेका कारण नियमित स्वास्थोपचारको अभावमा समेत मानिसहरूले ज्यान गुमाइरहेको विवरण आइरहेका छन्।