सुडानबाट उम्किएका नेपाली भन्छन्, 'पैसा नभएर अलपत्र परेका साथीहरूको उद्धार होस्'

तुलसी राम खनाल
तस्बिरको क्याप्शन, खनालसहित तीन जना पोर्ट सुडान पुगेका छन् र त्यहाँबाट उनीहरूले जेदाहको यात्रा गर्ने भनिएको छ
Published

द्वन्द्व चर्किएको सुडानको खार्टुमबाट सुरक्षित स्थानमा पुगेका एक जना नेपालीले आफूले व्यक्तिगत रूपमा ‘भाग्यमानी’ महसुस गरेको भएपनि अन्य केही नेपालीहरू अझै उच्च जोखिम भएका क्षेत्रमा रहेको र उद्धारको पर्खाइमा रहेको बताएका छन्।

उनका अनुसार पैसा नभएका कारण लगभग १० जना नेपालीहरू पोर्ट सुडान आउन सकेका छैनन्।

सुडानमा लडाई गरिरहेका दुवै पक्षले ३६ घण्टाको युद्ध विराम जारी राख्दा हजारौँ मानिसहरू उक्त अफ्रिकी देशबाट भागिरहेका छन्।

सुडान पनि हेर्ने इजिप्टस्थित नेपाली राजदूत सुशील लम्सालले त्यहाँ रहेका कतिपय नेपालीहरू सुरक्षित ठाउँमा पुगिसकेको र अन्यलाई पनि सकुशल फर्काउन आफूहरूले प्रयास जारी राखेको बताएका छन्।

थप सरकारी सहयोगको अपेक्षा

६ महिनाअघि रोजगारीका सिलसिलामा खार्टुम पुगेका बुटवलका तुल्सीराम खनाल लडाइँले अस्तव्यस्त राजधानी शहरबाट आफ्ना दुई अन्य नेपाली साथीहरू पोर्ट सुडानमा आइपुगेको बताएका छन्।

उनले टेलिफोनमा बीबीसीलाई दिएको जानकारी अनुसार कम्पनीले व्यवस्था गरेको बसमा १४ घण्टा यात्रा गरेर उनीहरू उक्त ठाउँमा पुगेका हुन्।

उनले थपे, “हाम्रो कम्पनीले पोर्ट सुडानमा केही समय राखेर स्थिति कस्तो हुन्छ भनेर हेर्ने भनिरहेको छ। एक जना सेफ हुनुहुन्छ। एक जना गमको पाउडर बनाउने कम्पनी र म चाउचाउ कम्पनीमा उत्तरी डार्फरमा काम गर्थ्यौँ। हामी होटलमा बसिरहेका छौँ र यहाँको अवस्था एकदमै शान्त छ।”

उनले कतिपय नेपालीहरू सुडानमा ६/७ वर्षदेखि रहेको सुनाउँदै आफूहरूलाई करिब १० जना अझै पनि सहयोग खोजिरहेको बताए।

खनाल भन्छन्, “उहाँहरू छुट्टै कम्पनीमा हुनुहुन्छ। आउन खोजिरहनुभएको छ तर आउनलाई कम्पनीले व्यवस्था मिलाइदिएको छैन। त्यही भएर आउन सकिरहनुभएको छैन। पैसा पनि छैन भन्दै हुनुहुन्छ।”

उनले सशस्त्र बल आरएसएफको शिविर भएको सोबा भन्ने स्थान नजिकै ती नेपालीहरूको बसोबास रहेकाले त्यहाँ सैनिक आक्रमणको जोखिम रहको बताए।

आफूहरूलाई नेपाल सरकारले साउदी अरबको जेदाहसम्म पुर्‍याइदिने भनेपनि काठमाण्डूसम्मको उडानको बन्दोबस्त गरिदिए सहयोग पुग्ने उनको भनाइ छ।

“टिकट काट्न पनि साथीहरूसँग पैसा छैन त्यही भएर सरकारले त्यसमा पहल गरिदिए उहाँहरूलाई पनि सजिलो हुन्थ्यो।”

सुडान

युद्धग्रस्त शहर छाड्दाको अनुभव

सुडानको नियमित सेना र प्रतिद्वन्द्वी अर्ध सैनिक बलबीचका नेताहरूबीच भएको कटुतापूर्ण सत्ता द्वन्द्वका कारण एप्रिल १५ बाट पछिल्लो लडाइँ सुरु भएको हो।

लडाइँ चर्किएपछि आफूहरू काममा जान छाडेको र आवासभित्रै सीमित रहेको खनालले बताए।

उनले थपे, “हाम्रो कम्पनीले नै खानेकुरा, पानी सबैकुरा बन्दोबस्त मिलाएकोले त्यत्ति समस्या भएन। हामी इन्टरनेटबाट समाचारहरू हेरिरहेका थियौँ। डर त भइहाल्छ। तर सुरक्षित क्षेत्रमा हाम्रो बसोबास भएकाले एकदम धेरै तनाव पनि भएन।”

उनले आफ्नै कम्पनीमा कार्यरत एक जना भारतीयको लडाइँमा परेर ज्यान गएको उल्लेख गर्दै युद्ध विराम सुरु हुनुअघिसम्म खार्टुमको परिस्थिति जोखिमपूर्ण रहेको सम्झना गरे।

उनले भने, “गल्ली गल्लीमा दुईवटा सेनाबीच लडाइँ चलिरहेको थियो। गोलाबारी भइरहेको थियो। सेनाले हेलिकोप्टर वा फाइटर जेटबाट बम फालिरहेको थियो। घरमै बसिरहेका मानिसहरूले पनि त्यसका कारण ज्यान गुमाइरहेका थिए। हाम्रो काम बन्द थियो र हामी घरमै बसिरहेका थियौँ।”

नेपाली अधिकारीहरू के भन्छन्?

परराष्ट्र मन्त्रालयले सुडानमा रहेका नेपालीहरूको सुरक्षा र उद्धारको कामलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।

कायरोस्थित नेपाली राजदूत सुशीलकुमार लम्सालले ‘केही नेपालीहरू पोर्ट सुडानमा पुगेको र त्यहाँबाट उनीहरू साउदी अरेबिया’ जाने बीबीसीलाई बताए।

उनले भने, “त्यो साउदी अरेबिया जानका लागि नाका जस्तो पर्दोरहेछ। त्यहाँ उनीहरूको एउटा शिविर पनि छ। त्यहाँबाट उता जानेबारे साउदी सरकारसँग हाम्रो कुरा भइरहेको छ र उहाँहरूले सहजीकरण गर्छौँ भनिरहनुभएको छ।”

उनले पोर्ट सुडानबाट साउदी अरेबियाको जेदाह पुग्न फेरीमा १२ घण्टा जति लाग्ने जानकारी दिए।

त्यहाँस्थित नेपाली महावाणिज्यदूतावासले प्रवेशाज्ञाको व्यवस्थापन गर्ने राजदूत लम्सालको भनाइ छ।

उनले खार्टुममै यात्राका लागि टिकटहरू जुटाउन अप्ठेरो भोगिरहेका नेपालीहरूका लागि कदम चाल्नुपर्ने आवश्यकता रहेको बताए।

उनले थपे, “उहाँहरू सम्पर्कमा हुनुहुन्छ। जसरी पनि उहाँहरूलाई निकाल्नुपर्छ भनेर हामीले कुराकानी गरिरहेका छौँ।”

सुडान

नेपालीहरू कुन कुन क्षेत्रमा कार्यरत छन्?

नेपाल र सुडानबीच सन् १९६९ मा कूटनीतिक सम्बन्ध कायम भएको थियो। उत्तरपूर्वी अफ्रिकामा अवस्थित उक्त देश र नेपालले एक अर्काको मुलुकमा राजदूतावास राखेका छैनन्।

दिल्लीस्थित सुडानको राजदूतावासले नेपाललाई हेर्ने गर्छ भने इजिप्टस्थित नेपाली राजदूतावासको जिम्मेवारी क्षेत्रमा सुडान पनि पर्छ।

सुडानमा संयुक्त राष्ट्रसङ्घका निकाय र त्यहाँस्थित विभिन्न उद्योगहरूमा नेपालीहरू काम गर्ने गर्छन्।

राजदूत लम्सालका अनुसार दुग्ध पदार्थ, निर्माण, प्लास्टिकका समान र सुर्तीजन्य पदार्थ सम्बन्धी कम्पनीहरूमा नेपालीहरूले काम गरेको बुझिएको छ।

“ठ्याक्कै २१ जना सुडानमा हुनुहुन्छ। उहाँहरूमध्ये केही पोर्ट सुडानमा पुग्नुभएको छ।”

खार्टुममा राष्ट्रसङ्घका विभिन्न पदहरूमा कार्यरत नेपाली कर्मचारी र सुरक्षाकर्मी सुरक्षित रहेको र उक्त देशबाट बाहिर जाने प्रक्रियामा रहेको बताइएको छ।

लम्सालका अनुसार केही नजिकैको चाड भन्ने देश पुगेका छन् भने केही युगान्डाको एन्टीबे उड्ने तयारीमा छन्।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार त्यहाँ रहेका ६ जना नेपाली सुरक्षाकर्मी सुरक्षित छन्।

उनले भने, “त्यहाँ नेपाली सेनाको २ जना, नेपाल प्रहरीको ३ जना र सशस्त्र प्रहरी बलको १ जना गरी ६ जना कार्यरत थिए। त्यसमध्ये ३ जना चाड जाने क्रममा छन् भने एक जना दक्षिण सुडान र दुई जना प्रहरी अधिकृत पोर्ट सुडानमा सुरक्षित छन्।”

सुडान
तस्बिरको क्याप्शन, उद्धार गरिएका व्यक्ति बोकेको पानीजहाज साउदी अरेबिया पुगेको छ

ठूलो उद्धार प्रयास जारी

राष्ट्रसङ्घका लागि कार्यरत नेपाली सुरक्षाकर्मीहरूलाई अवस्था सामान्य भएपछि पुन: उक्त जिम्मेवारीमा खटाउने पनि भनिएको प्रवक्ता भण्डारीले बताए।

सुडानमा युद्धरत प्रतिद्वन्द्वी सैन्य बलहरूले तीन दिने युद्धविराम कायम राख्दा युद्ध अपराधमा संलग्न रहेको आशङ्का गरिएका पूर्व राष्ट्रपति ओमार अल बसिरको कार्यकालका अधिकारीहरू जेलबाट उम्कन सफल भएका विवरणहरू आएका छन्।

हजारौँ मानिसहरू सुडानबाट भागिरहेका छन्। साउदी अरेबियाले ५० भन्दा बढी देशका करिब १७ सय गैर सैनिक बोकेको एउटा पानीजहाज आफ्नो देशमा आइपुगेको जनाएको छ।

यो उसले अघि बढाएको अहिलेसम्मकै सबैभन्दा ठूलो उद्धार प्रयास हो।

ब्रिटिश नागरिकहरू चढेको दोस्रो विमान साइप्रसमा पुगेको र अर्को सैनिक विमानले लग्न विमानस्थलबाट उडान गरेको एक जना बीबीसी संवाददाताले जनाएका छन्।

फ्रान्स, जर्मनी, दक्षिण कोरिया र जापानले आफ्ना दर्जनौँ नागरिकलाई सुरक्षित रूपमा उद्धार गरेका छन्।

उद्धार गरिएका व्यक्तिहरूले सुडानी नागरिकहरूले सुरक्षा प्राप्त गर्न नसकिरहेको भन्दै चिन्ता प्रकट गरेका छन्।