युद्धविराम सुरु भएपछि इजरेल र हमास के गर्दै छन्, गाजाको पछिल्लो अवस्था के छ

मुक्त प्यालेस्टिनी बन्दीलाई स्वागत गर्दै आफन्त
Published
पढ्ने समय: ३ मिनेट

हमाससँगको युद्धविराम सम्झौताअन्तर्गत इजरेलले अधीनस्थ वेस्ट ब्याङ्कस्थित एक कारागारबाट ९० जना प्यालेस्टिनीलाई मुक्त गरेको छ।

दुईवटा बसमा राखेर उनीहरूलाई जेलबाट बाहिर लगिएको थियो।

मुक्त भएका बन्दीलाई सयौँ प्यालेस्टिनीले उल्लासपूर्वक स्वागत गरे। इजरेलले रिहा गरेका बन्दीमा अधिकांश महिला छन्।

खालिदा जरार
तस्बिरको क्याप्शन, इजरेली जेलबाट मुक्त भएपछि खालिदा जरार

इजरेलले मुक्त गरेका बन्दीहरूमा प्यालेस्टिनी राजनीतिज्ञ खालिदा जरार पनि रहेको विभिन्न समाचारसंस्थाहरूले जनाएका छन्।

उनलाई रमल्लाहमा उनका आफन्त र शुभचिन्तकहरूले स्वागत गरिरहेको तस्बिरहरू पनि सार्वजनिक भएका छन्।

जरार 'पप्यलर फ्रन्ट फर द लिबरेशन अफ प्यालेस्टाइन'की प्रभावशाली नेता हुन्। उक्त सङ्गठनलाई इजरेल, अमेरिका र युरोपेली सङ्घले "आतङ्कवादी सङ्गठन" भनेका छन्।

उनी कैयौँ पटक जेलमा पर्दै र छुट्दै आएकी छन्।

यसअघि उनलाई भिडलाई उक्साएको आरोपमा सजाय पनि भएको थियो।

हमासद्वारा तीन बन्धक मुक्त

हमासबाट मुक्त भएकी एक महिला आमासँग
तस्बिरको क्याप्शन, हमासबाट मुक्त भएकी एक महिला आमासँग

त्यसअघि आइतवार प्यालेस्टिनी लडाकु समूह हमासले गाजामा बन्धक बनाइएका तीन जनालाई मुक्त गरेको थियो।

गाजामा कार्यरत रेडक्रसमार्फत् इजरेली सेनालाई हमासले बन्धकहरू बुझाएको हो।

मुक्त गरिएका तीन बन्धकमा ३१, २८ र २४ वर्षका महिला छन्।

त्यसमध्ये दुई इजरेली र एक ब्रिटिश तथा इजरेली दुवै नागरिकता भएकी महिला हुन्।

हमासबाट मुक्त भएका उनीहरूलाई अहिले तेल अभिभस्थित अस्पतालमा उपचार गरिँदै छ। उनीहरूको अवस्था स्थिर रहेको चिकित्सकहरूले बताएका छन्।

गाजामा सहायता सामग्री

गाजामा प्रवेश गर्दै ट्रकहरू

संयुक्त राष्ट्रसङ्घका अनुसार आइतवार मानवीय सहायता सामग्री बोकेका ६३० भन्दा बढी ट्रकहरू गाजामा प्रवेश गरेका छन्। त्यसमध्ये ३०० भन्दा बढी उत्तरी गाजातर्फ गएका छन्।

गाजावासीहरू मुख्यत: मानवीय सहायतामार्फत् आउने खाद्यसामग्रीमा निर्भर छन्।

पछिल्ला साताहरूमा गाजामा औसतमा दैनिक ४० वटा ट्रकहरू मात्र प्रवेश गरिरहेका थिए। द्वन्द्व सुरु हुनुभन्दा अगाडि दैनिक ५०० जति ट्रकहरू त्यहाँ प्रवेश गर्थे।

युद्धविराम सम्झौतामा दैनिक रूपमा त्यहाँ ६०० सहायता सामग्री बोकेका ट्रकहरू प्रवेश गर्नुपर्ने उल्लेख छ।

आइतवार गाजामा प्रवेश गरेकामध्ये ३० वटा ट्रकमा स्वास्थ्यसम्बन्धी सेवाहरू सञ्चालनका लागि आवश्यक पर्ने इन्धन लगिएको छ।

विस्थापितहरू घरतर्फ

घर फर्किरहेका गाजावासी

हमासले एक बन्धक मुक्त गरेको बदलामा ३० जना प्यालेस्टिनी बन्दीहरूलाई इजरेली जेलबाट छाडिने बताएको छ।

लागु हुने अन्तिम समयमा समेत केही ढिलो भई आइतवारबाट सुरु भएको युद्धविरामले दुवैतर्फ खुसी छाएको देखिएको छ।

आफ्नो घरबाट विस्थापित भएका गाजावासीहरू भग्नावशेषमा परिणत भएका आफ्ना घरहरूतर्फ फर्कँदै छन्।

उनीहरू १५ महिनादेखि जारी लडाइँमा आफ्नो घरबाट विस्थापित भएर रफाहस्थित अस्थायी शिविरमा बसिरहेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।