आफ्नी आमाबारे किन किम जङ अन कहिल्यै केही बोल्दैनन्

जवान को योङ हुई बीचमा, किम जङ अन बायाँ र किम जङ इल दायाँ। तीनजनाका पछाडि जापानी र कोरियाली झन्डा
    • Author, साङ्मि हान
    • Role, बीबीसी न्यूज कोरियन
    • Reporting from, सोल
  • Published
  • पढ्ने समय: ८ मिनेट

उत्तर कोरियाली नेता किम जङ अनबारेका धेरै कुरा रहस्यमै छन्। त्यसमध्ये पनि उनकी आमाबारेको रहस्य सबभन्दा आश्चर्यजनक देखिन्छ।

उनको १५ वर्षे शासनकालमा उनले एक पटक पनि आफ्नी आमाबारे सार्वजनिकस्थलमा केही बोलेकै छैनन्।

वंशका कारण प्राप्त भएको तानाशाहीको वैधता "माउन्ट पेक्टु" वंशमा टिकेको देखिन्छ - यो वंशको नाम कोरियाली प्रायद्वीपको सबभन्दा अग्लो पहाडको नामबाट लिइएको हो। यसलाई कोरियालीहरूको मिथकीय जन्मस्थान मानिन्छ। यो त्यही स्थान हो जहाँ राष्ट्रपिता मानिने किम इल सुङले जापानी उपनिवेशवादीहरू विरुद्ध गुरिल्ला गतिविधि गरेका थिए।

सत्ताका दुई प्रमुख व्यक्तिका आमाहरू - देशका राष्ट्रपिता मानिने किम इल सङकी आमा काङ पान सक तथा किम जङ इलकी आमा किम जङ सक - दुवै जनालाई कोरिया देशका आमाहरूका रूपमा सम्मान गरिन्छ। तर अहिलेका सर्वोच्च नेता किम जङ अनकी आमा को योङ हुई भने गुमनाम झैँ छन्। उनको नाममा वा सम्मानमा कतै केही नामाङ्कित छैन।

को योङ हुई गुमनाम हुनुको मुख्य कारण चाहिँ कोरियाली समाजमा विद्यमान सामाजिक धारणामा दागी मानिने वर्गकी थिइन्। त्यस्तै उनी औपचारिक नभएर 'मिस्ट्रेस' (बिहे गरेकी नभएर गुपचुप श्रीमतीका रूपमा राखिएकी महिला) थिइन्। र, विश्लेषकहरू भन्छन् यी तथ्यहरू सार्वजनिक भए त्यसले सत्तामा खतरा उत्पन्न हुन सक्छ।

३० वा ४० वर्षको उमेरमा लिइएको तस्बिरमा को योङ हुई नीलो र सेतो रङको कोरियाली लुगा लगाएर क्यामेरा अगाडि मुस्कुराएर बसेकी छन्
तस्बिरको क्याप्शन, को योङ हुईको नाम राज्य सञ्चालित सञ्चार माध्यममा कहिल्यै आएको छैन

जीवनी लेखकले जुटाएका विभिन्न जानकारी अनुसार उनको जन्म सन् १९५२ मा जापानको ओसाका शहरमा भएको थियो। उनका माता पिता मुख्यत: जेजु टापुमा बस्थे। जुन अहिले उत्तरको शत्रुराष्ट्र दक्षिण कोरियामा पर्छ।

को का परिवार "जाइनिची कोरियाली" थिए जो कोरियामा जापानले औपनिवेशिक शासन चलाएका बेला सन् १९१० देखि १९४५ मा जापानमा बस्न आएका थिए।

पुँजीवादी छिमेकी राष्ट्रमा बसेर उत्तर कोरियामा आफ्नो घर फर्कनेहरूलाई त्यतिबेला केही ईर्ष्याका साथ हेरिन्थ्यो किनभने त्यस्ता कोरियालीले आफूसँग नगद, लुगाफाटो र भाँडा वर्तन ल्याएका हुन्थे।

उनीहरूलाई "जेपो" भन्ने गरिन्थ्यो जसको अर्थ हो - विदेशीहरूको खतरनाक सिद्धान्तबाट प्रदूषित बन्न पुगेका खतरनाक समूह।

उत्तर कोरियामा विद्यमान कडा सामाजिक वर्गीकरणमा - जसलाई सङबन भनिन्छ - जाइनिची कोरियाली डगमगाएका वर्गमा पर्छन्।

उनीहरूमाथि राज्यले कडा निगरानी राखेको हुन्छ। उनीहरूलाई राम्रा विश्वविद्यालय तथा राम्रा कार्यालयहरूमा जागिर दिइन्न।

उत्तर कोरिया सामाजिक मर्यादाक्रमलाई निकै महत्त्व दिने समाज भएको मुलुक हो जुन कतिपय विश्लेषकका दृष्टिमा जात प्रणाली जस्तै जेलिएको छ।

र त्यो "कतै कुनै समूहसँग जोडिएका आधारमै कुनै व्यक्तिलाई दोषी करार गर्ने प्रणाली" भएको पनि देश हो। डोङयाङ विश्वविद्यालयका डा जेअङ योङ टे त्यहाँ नागरिकलाई उनका परिवार वा परिवारका अन्य सदस्यले के गर्छन् त्यसका आधारमा दण्ड दिने गरिन्छ भन्छन् ।

'सिन्डरेलाको कथा'

करिब एक दर्जन कोरियाली महिलाहरू कोरियाली परम्परागत पोशाकमा सवारी साधनको अगाडि उभिएका छन्। को योङ हुई अगाडि सबभन्दा बायाँमा उभिएकी छन्
तस्बिरको क्याप्शन, को योङ हुई (अगाडि सबभन्दा बायाँ) मनसुडे आर्ट ट्रुपकी सदस्य थिइन्

को दश वर्षकी हुँदा उनको परिवार जापानबाट उत्तर कोरिया फर्केको थियो।

"पृथ्वीको भूस्वर्ग" अभियान अन्तर्गत जापानबाट कम्युनिस्ट कोरिया बसाइ सर्ने ९३ हजार परिवारमध्ये एक उनको परिवार थियो। त्यसबेला त्यसरी फिर्ता आउनेलाई नि:शुल्क स्वास्थ्य सेवा, शिक्षा र जागिर दिने भनिएको थियो।

संयोग यस्तो पर्‍यो - त्यतिबेलाका सर्वोच्च नेता किम जङ इल कोप्रति आकर्षित भएपछि उनी आफ्ना अरू जाइनिची कोरियालीहरूले भोग्नुपरेको कष्टकर जीवन र गरिबीबाट मुक्त हुन सफल भइन्।

किमले कहिल्यै पनि आफ्नी पत्नी वा पार्टनर कोलाई सार्वजनिक गरेनन्। गुप्तचरी रिपोर्टका अनुसार त्यसबेला किम पिताले रोजिदिएकी किम योङ सुक नामकी उच्च तहका सैन्य अधिकारीकी छोरीसँग विवाहित थिए।

कोमाथि सन् २०२५ मा पुस्तक प्रकाशित गरेका जापानी रिपोर्टर योजि गोमिका अनुसार मनसुडे आर्ट ट्रुपकी एक सदस्य को उनको "प्राकृतिक सुन्दरता र नाच्ने दक्षता"का कारण किमको नजरमा परेकी थिइन्।

प्याजी र हरियो रङको पोशाक लगाएकी को योङ हुई। किम जङ इल सँगै बसेका छन्।
तस्बिरको क्याप्शन, को किम जङ इलको मन परेकी मिस्ट्रेस थिइन् भनिन्छ

उनले सर्वोच्च नेतासँग औपचारिक रूपमा विवाह गरिनन्। र उनीहरूको सम्बन्धलाई सत्ताले स्वीकार पनि गरेन। तर उनले मिथक कथा "सिन्डरेला" को जस्तो जीवन (जसमा आमा मरेका कारण नोकरजस्तो जीवन निर्वाह गर्नुपर्ने अवस्थामा रहेकी एक केटीको घटनाक्रम बढ्दै जाँदा एक राजकुमारसँग बिहे हुन्छ र उनको राजकुमारीको जीवन सुरु हुन्छ) बिताउन सफल भइन्।

रिपोर्टहरूका अनुसार किम कोको प्रेममा परेका थिए। को ले पछि देशको राजनीतिमा चासो लिन थालिन्।

किमकी आधिकारिक श्रीमती राजधानी पोङयाङमा बस्थिन् भने को र उनका तीनजना सन्तान २१० किलोमिटर टाढा रहेको तटीय शहर वनसानमा बस्थे।

"नर्थ रिसर्च असोसियशनका किम ह्युङ सु भन्छन्," किम जङ अन औपचारिक पत्नीका सन्तान होइनन् उनी त खासमा को योङ हुईका 'अवैधानिक छोरा' हुन्।

"कोरियाको सत्तासीन पेक्टु वंश पवित्र मानिन्छ त्यसैले जेपोका छोरा देशको नेता बन्ने भन्ने त अकल्पनीय कुरा हो।"

देश कम्युनिस्ट आवरणमा भए पनि भित्रभित्रै कन्फुसियन विश्वासले जरो गाडेको छ - उत्तर कोरियामा विवाह इतर सम्बन्धबाट जन्मिने व्यक्तिहरूप्रति नकारात्मक धारणा राखिन्छ।

विश्लेषकहरू भन्छन् - आफ्ना आमाबाबु वा अग्रजहरूप्रति सम्मान गर्नुपर्ने कन्फ्युसियन कालको अवधारणा त्यहाँका मानिसलाई अझै सिकाइन्छ।

सेतो लुगामा रहेकी को योङ हुई र सैन्य पोशाकमा रहेका बालक किम जङ उन बसेर कलमले लेखिरहेका छन्
तस्बिरको क्याप्शन, कैयौँ विज्ञहरू को योङ हुईले आफ्ना छोरा किम जङ अनलाई उत्तराधिकारी बन्ने वातावरण बनाउन प्रमुख भूमिका खेलेको विश्वास गर्छन्

राजधानीबाट टाढा एक तटीय शहरमा किम जङ अन हुर्कन पुग्नुबारे गोमिले अर्को कारण पनि प्रस्तुत गरेका छन्।

त्यसबेला वन्सान शहर र जापानबीच एउटा जहाज चल्ने गर्थ्यो। त्यसले गर्दा उनलाई पानी जहाजमा आउने मानिसहरू भेट्न र जापानी सामान प्राप्त गर्न सजिलो हुन्थ्यो।

उनी भन्छन्, "कोले जापानस्थित आफ्नो घर असाध्यै सम्झिरहन्थिन् र आफ्ना सन्तानहरूलाई पनि जापानी भाषा सिकाएकी थिइन्।"

केन्जी सुसी सेफ थिए। सन् १९८८ देखि २००१ सम्म किम जङ इलको सुसी सेफको रूपमा सेवा गरेका फुजिमोटोले आफ्नो किताबमा "किम जङ अनले जापानी गीत राम्रो गाउने गरेको" र उनले "जापानको विकसित अर्थतन्त्रप्रति लोभिने गरेको" भनेर लेखेका छन्।

किम जङ अनले जापानको टोक्यो डिज्नेल्यान्ड आफ्ना दाइसँगै गएको त्यतिबेलाका जापानी मिडियाले अधिकारीहरूलाई उद्धृत गर्दै लेखेका थिए। गोमि भन्छन्, "को ले छुट्टै पनि आफ्ना सहयोगीसहित जापानको भ्रमण गरेकी थिइन्।"

उत्तराधिकार

निर्वासनमा रहेका उत्तर कोरियाली कूटनीतिज्ञ रिउ ह्युअन वूले आफ्नो पुस्तक 'किम जङ अन्स सिक्रेट भल्ट' मा लेखे अनुसार "को योङ हुईलाई बुहारीका रूपमा त्यहाँ सत्तासीन परिवारले कहिल्यै स्वीकार गरेन।"

यदि किम इल सङको अनुमोदन प्राप्त गरेको भए किम इल सङ र उनका नाति किम जङ अनको फोटो जताततै फिँजाइएको हुन्थ्यो होला भन्छन् सेजङ इन्स्टिट्यूटका चेअङ चाङ।

कोले किम जङ इलको विश्वास भने जितेकी थिइन्। त्यसैले 'डी फ्याक्टो फर्स्ट लेडी'का रूपमा उनका श्रीमान्का साथमा विभिन्न सैन्य निरीक्षण भ्रमणहरूमा सहभागी हुन्थिन्।

सेफ फुजिमोटो लेख्छन्: किमले कुनै पनि नीतिगत निर्णय गर्नु अघि कोसँग परामर्श गर्थे।

किम जङ इलको सन् २०११ मा निधन भएपछि बनाइएको औपचारिक डक्यूमेन्टरीमा को त्यस बेलाका सर्वोच्च नेतासँगै घुम्न गएकी फूटेज देखाइएको थियो तर त्यसमा उनको नाम वा उनको सङबन वर्ग उल्लेख गरिएको थिएन।

डा चेअङका अनुसार त्यो डक्युमेन्टरी औपचारिक रूपमा सार्वजनिक गरिएन। त्यसलाई सन् २०१२ को जुन महिनामा वरिष्ठ पार्टी नेताहरूमाझ प्रदर्शन गरिएको थियो। तर पछि त्यो लीक हुन पुग्यो र यूएसबी ड्राइभहरू मार्फत् सर्वसाधारण नागरिककहाँ फैलिन पुग्यो।

"त्यो धेरै मानिसकहाँ पुग्दै गयो ... को योङ हुईबारे मानिसहरूको जिज्ञाशा अकासिन पुग्यो त्यसैले पछि सत्ताले त्यसलाई फिर्ता लियो," उनले भने, को को पृष्ठभूमिले सत्ताको वैधानिकतामाथि प्रश्न उठाउन सक्थ्यो।

उत्तर कोरियाको उत्तराधिकार क्रम

कसरी मिस्ट्रेसका दोस्रो छोरा किम जङ अन शासन सत्ताको उत्तराधिकारी बन्न पुगे?

कैयौँ जीवनी लेखकहरू किम जङ अनलाई उत्तराधिकारी बनाउन को सक्रिय रूपमा लागिपरेको विश्वास गर्छन्।

वरिष्ठ पत्रकार आना फिफील्डले उनको किताब 'द ग्रेट सक्सेसर द सेक्रेट राइज एन्ड रुल अफ किम जङ अन'मा लेखे अनुसार को की बहिनीले उनी देशको नेता बन्नुपर्छ नत्र उनको परिवार खतरामा छ भनेकी थिइन्।

उनीसँग वर्षौँ इमेल आदानप्रदान गरेका गोमि भन्छन् - किम जङ इलका जेठा छोरा किम जङ नामले उत्तर कोरियाको वंशाणुगत उत्तराधिकारी प्रक्रियाबारे प्रश्न गर्दै सुधारको माग गरेपछि उनको कुरा मन पराइएन।

वर्षौँसम्म देश बाहिर बसेर पढेका कारण तथा र फ्रान्सेली र अङ्ग्रेजी भाषामा उनको दखलबाट किम जङ नामको राजनीतिक दृष्टिकोण बनेको हुन सक्छ। उनको बारम्बार क्यासिनो जाने बानी र फिरन्ते जीवनशैलीले पनि उनीबारे सत्ताशीनहरूमा फरक धारणा बन्यो।

किम जङ नाम उत्तर कोरिया फर्केपछि पनि को योङ हुईले आफ्ना बच्चालाई उत्तराधिकारी बन्ने गरी हुर्काइरहेकी छन् भन्ने हल्ला चलिरह्यो।

उनका जेठा छोरा जङ चुल चाहिँ अफिमको कडा लत लागेकाले उत्तराधिकारी बन्नबाट बाहिरिन पुगेको पूर्व कूटनीतिज्ञ ‍र्‍यूले लेखेको किताबमा उल्लेख छ।

उनका अनुसार जङ चुलले एक दिन एकाबिहानै ढोकामा हानेर अफिम मागेका थिए।

किम जङ अन चाहिँ उनको प्रतिस्पर्धी प्रकृति र नेतृत्व सम्भावनाका कारण उनका बाबुका प्रिय बन्न पुगेका थिए, भन्छन् विश्लेषकहरू।

किम र उनका दाइ स्विट्जरल्यान्डमा पढ्न गएका बेला उनीहरूको रेखदेख गर्ने जिम्मा कोकी बहिनी र उनका श्रीमान्ले पाएका थिए।

कोलाई स्तन क्यान्सर भएपछि उनीहरू सन् १९९८ मा अमेरिका गएका थिए।

सन् २०१६ मा वाशिङ्टन पोस्टमा छापिएको लेखमा उनीहरूलाई अन्तरवार्ता गरिएको थियो जसमा उनीहरूले "अब आफूहरू कोरियाली सत्ताका लागि आवश्यक नरहेको" हो कि भन्ने चिन्ता प्रकट गरेका थिए।

किम जङ अन उत्तराधिकारी बने पनि उनीहरूको त्रासको आधार थियो।

किनभने किम जङ अन शक्तिमा आएपछि उनका एकजना काका मारिए र मलेसियामा किम जङ नाम पनि मारिए।

'आशङ्का जङ्गली डढेलो झैँ फैलिन सक्ने'

फ्रान्सको अस्पतालमा कालोचश्मा लगाएर ह्वीलचेयरमा बसेकी को योङ हुई
तस्बिरको क्याप्शन, को योङ को सन् २००४ मा फ्रान्समा स्तन क्यान्सरका कारण निधन भयो

किम जङ इलभन्दा पहिले प्यारिसस्थित एक अस्पतालमा कोको निधन भयो तर उत्तर कोरियाली राज्य नियन्त्रित सञ्चार माध्यममा त्यसको कुनै उल्लेख भएन।

विश्लेषकहरू भन्छन् - किम जङ अनको गोप्य राखिएको वंशकै कारण उनको जन्मदिनलाई उनका हजुरबा वा बा जस्तो राष्ट्रिय बिदा सहित नमनाउनुको एक कारण हुन सक्छ।

उनको जन्मबारे कुरा गर्दा सबभन्दा पहिला उनकी आमाबारे केही तीखा प्रश्नहरू उठ्ने छन् र किन उनलाई प्योङयाङ बाहिर हुर्काइएको थियो भन्नेबारे पनि प्रश्न उठ्ने छन्।

"सत्य उजागर गर्ने हो भने विभिन्न आशङ्काहरू जङ्गली डढेलो झैँ फैलिन सक्छ," अनुसन्धानकर्ता किम भन्छन्।

उत्तर कोरियामा उनी सर्वोच्च स्थानमा भए पनि उनको सङबन पृष्ठभूमि बाहिर आउने हो भने उनको जाइनिची कोरियाली पृष्ठभूमिका कारण सामाजिक मर्यादाक्रममा उनको स्थान निकै तल झर्न सक्ने पूर्व कूटनीतिज्ञ र्‍यूले लेखेका छन्।

किम जङ अनको बाबुआमाबारे विद्यमान गोप्यताकै कारण हुन सक्छ उनले आफ्नी पत्नी रि सोल जु लाई आफ्नो शासनको सुरुवाततिरै सार्वजनिक रूपमा अगाडि ल्याएका छन् र आफ्नी किशोरी छोरी जु ए लाई भावी उत्तराधिकारीका रूपमा हुर्काइरहेको चेओङ को तर्क गर्छन्।

दक्षिण कोरियाको गुप्तचर सेवाका अनुसार एक प्रतिष्ठित पर्फर्मेन्स समूहकी एक पूर्व गायिका रि पोङयाङकी एक उच्च मध्यम वर्गीय परिवारकी हुन्।

केही रिपोर्टमा जनाइए अनुसार उनका बाबु विश्वविद्यालयका प्रोफेसर थिए। उनलाई चीनमा क्लासिकल सङ्गीत सिक्न राज्यले चीनमा पठाएको थियो।

के किम जङ अनले कहिल्यै आफ्नी आमाबारे सार्वजनिक रूपमा केही बताउलान्?

त्यो चाहिँ उत्तर कोरियाको प्रोपोगान्डा मशिनका लागि पनि चुनौतीपूर्ण हुन सक्छ।

  • मुख्य तस्बिर तथा पारिवारिक ग्राफिक्स इस्ट एसिया भिजुअल जर्नलिजम्‌का तर्फबाट एन्ड्रो साइनी र थप रिपोर्टिङ ग्रेस सोइ र लेगनी ब्यारोनबाट।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।