विभिन्न देशमा एकपछि अर्को सरकार ढाल्दै जेन जी, तर परिवर्तनको दिगोपनमा यस्तो प्रश्न

सन् २०२५ जुलाईमा केन्याको नैरोबीमा भएको प्रदर्शन
तस्बिरको क्याप्शन, केन्याको जेन जी प्रदर्शनले सन् १९९० को प्रजातान्त्रिक आन्दोलनको स्मरण गराएको छ
    • Author, लुई बरुको र टेसा वोङ
    • Role, बीबीसी विश्व सेवा
  • Published
  • पढ्ने समय: ७ मिनेट

मोरकोदेखि माडगास्कर र पाराग्वेदेखि पेरूसम्म सरकारप्रतिको निराशा प्रकट गर्दै र परिवर्तनको माग गर्दै १३ देखि २८ वर्ष उमेरका जेन जी समूहका युवा नेतृत्वको आन्दोलन विश्वभर विस्तार भइरहेका छन्।

युवा उमेरसमूहबाहेक यी आन्दोलनहरूमा देखिएको समानता के हो भने सामाजिक सञ्जालले यिनलाई चर्काइरहेका छन्।

तर विज्ञहरूले यसकै कारण यस्तो आन्दोलन तुहिन सक्ने चेतावनी दिएका छन्।

पेरूमा जेन जी प्रदर्शनकारी
तस्बिरको क्याप्शन, सेप्टेम्बर २७ तारिखमा पेरूमा जेन जी प्रदर्शनका क्रममा झडप भएको थियो

माडगास्करमा ऊर्जा र पानीको अभावलाई लिएर भएका प्रदर्शनहरूले सरकार ढालिदिएको छ।

भ्रष्टाचारविरोधी आन्दोलनले नेपालका प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य पारेको छ।

केन्याका जेन जीले सडक र सामाजिक सञ्जालमार्फत् उत्तरदायी सरकार र सुधारको माग गरेका छन्।

पेरूमा बस र ट्याक्सी चालकहरूसँगै युवाहरूको भिडले संसद् भवन पुगेर बढ्दो असुरक्षा र भ्रष्टाचार काण्डहरूप्रति आक्रोश जनाएको छ।

कल्याणकारी सुविधा कटौतीको विरोधमा इन्डोनेशियामा आकस्मिक क्षेत्रका कामदारहरूले प्रदर्शन गरे।

मोरकोले वर्षौँयताको सबैभन्दा ठूलो सरकारविरोधी प्रदर्शन बेहोर्‍यो। प्रदर्शनकारीहरूले राम्रो स्वास्थ्य सेवा र शिक्षाको माग गर्दै विश्वकप मैदान बनाउन अर्बौँ खर्च गरेकामा सरकारको आलोचना गरे।

सन् २०२५ को अक्टोबर ३ मा मोरकोमा भएको प्रदर्शन
तस्बिरको क्याप्शन, मोरकोमा जेन जीद्वारा आयोजित सरकारविरोधी प्रदर्शन वर्षौँयताको सबैभन्दा ठूलो थियो

यी सबै आन्दोलनहरूमा सामाजिक सञ्जालले मुख्य भूमिका खेलेको देखिन्छ- देशबाहिरको सिकाइ, रणनीतिक समन्वय, ऐक्यबद्धता र खबर सुनाउनका निम्ति।

तर जर्मन इन्स्टिट्यूट फर ग्लोबल एन्ड एरिया स्टडिजकी जन्जिरा सोम्बट्पून्सिरीका भनाइमा ती त 'डिजिटल कनेक्टिभिटीको माध्यमबाट आकार पाएको युवा नेतृत्वको विरोधको १५ वर्षीय लहर' का पछिल्ला उदाहरण मात्र हुन्।

त्यो लहरमा सन् २०१०-११ को अरब स्प्रिङ, सन् २०११ को 'अक्युपाइ वालस्ट्रीट' आन्दोलन, सन् २०११-२०१२ मा स्पेनमा भएको आर्थिक असमानताविरोधी इन्डिगनाडश मूभ्मन्ट र थाईल्यान्ड (सन् २०२०-२१), श्रीलङ्का (सन् २०२२) र बाङ्ग्लादेशमा (सन् २०२४) भएका प्रजातन्त्रपक्षीय प्रदर्शनहरू पर्छन्।

'मूर्त भ्रष्टाचार'

सन् २०२२ को सेप्टेम्बरमा श्रीलङ्काको कोलम्बोमा प्रदर्शनलाई समर्थन गर्दै एक युवा
तस्बिरको क्याप्शन, सन् २०२२ को सेप्टेम्बरमा श्रीलङ्काको कोलम्बोमा प्रदर्शनलाई समर्थन गर्दै एक युवा

अमेरिकाको थिङ्क ट्याङ्क कार्नेगी इन्डाओमन्ट फर इन्टर्न्याश्नल पीसका वरिष्ठ फेलो स्टेभन फेल्डस्टेनले झनै अगाडिका घटनाक्रम औँल्याएका छन्- एसएमएस टेक्स्ट सन्देश आदानप्रदानको महत्त्वदेखि फिलिपिन्समा सन् २००१ मा भएको 'सेकेन्ड पीपल्स पावर रेभलूशन'सम्म।

उनी भन्छन्, "युवाले सामूहिक आन्दोलनको निम्ति प्रविधिको उपयोग गरेको कुरा नयाँ होइन।"

तर फरक प्रविधिको परिष्कारले केही भिन्नता थपेको छ। मोबाइल फोन, सामाजिक सञ्जाल, मेसेजिङ एप्स र पछिल्लो समय एआईको व्यापक प्रयोगले जनपरिचालनका निम्ति सजिलो बनाइदिएको छ।

"यससँगै जेन जी हुर्किए र उनीहरू यसमै समन्वय गर्छन्," फेल्डस्टेन भन्छन्, "यो पुस्ताले कसरी आफूलाई सङ्गठित गर्छ भन्ने कुरा त्यसले स्वाभाविक सङ्केत गर्छ।"

नेपालमा जेन जी आन्दोलनका क्रममा जलाइएको सिंहदरबार
तस्बिरको क्याप्शन, भदौ २४ गते साँझको समयमा सिंहदरबार यस्तो अवस्थामा पुगिसकेको थियो

तस्बिर र पोस्टहरू पहिलेभन्दा तीव्र रूपमा फैलिन्छन्, आक्रोश र ऐक्यबद्धतालाई बढाइदिन्छ।

अस्ट्रेलिअन न्याश्नल यूनिभर्सिटीकी समाजशास्त्री अथीना चरान प्रेस्तोका भनाइमा 'सामाजिक सञ्जालले जीवनशैलीसम्बन्धी जस्तो लाग्ने पोस्टलाई राजनीतिक प्रमाणमा परिणत गरिदिएको छ भने कतिपय अवस्थामा त्यसलाई जुलुसको नारा बनाइदिएको छ।'

"भ्रष्टाचार सामान्यतया समाचारमा आउँदा वा कानुनी अभियोजनमा दाबी गरिँदा अमूर्त लाग्छ तर जब मानिसहरूले त्यो आफ्नो उपकरणहरूमा देख्छन्, त्यो भ्रष्टाचार मूर्त बन्न पुग्छ," उनी भन्छिन्, "कुलीनहरूको विशेषाधिकार र कठिनाइपूर्ण दिनचर्याको खाडलबीच अहिले आलिसान भवन, स्पोर्ट्स कार, महँगा शपिङ ब्यागहरू व्यक्तिगत अपमान बनिदिन्छन्, जहाँ अमूर्त र संरचनागत भ्रष्टाचार टुक्राटुक्रा भएर समाप्त हुन्छन्।"

इन्स्टाग्राममा राखिएको एक नेताका छोराको फोटो
तस्बिरको क्याप्शन, इन्स्टाग्राममा राखिएको एक नेताका छोराको फोटो

जसरी नेपालमा राजनीतिज्ञका सन्तानको विलासी जीवनशैली देखिने तस्बिर आन्दोलन चर्काउने एउटा विषय बन्यो, फिलिपिन्समा पनि त्यस्तो देखियो।

"नेपालजस्तै फिलिपिन्सका युवाहरूमा पनि त्यो प्रतिध्वनित हुन पुग्यो किनकि त्यसले उनीहरूलाई पहिले नै जानकारी रहेको जस्तै राजनीतिक सम्भ्रान्तहरू अत्यधिक सुविधामा रहेको कुरा देखाएको छ," प्रेस्तोको भनाइ छ, "र, फिलिपिन्सको सन्दर्भमा, यी ज्यादतीहरू प्रत्यक्ष रूपमा त्यो कुराबाट अभिप्रेरित छन् कि राजनीतिज्ञहरूले बाढी नियन्त्रण परियोजनाहरूबाट गैरकानुनी रूपमा कमाउँछन्, जहाँ फिलिपिनोहरू डुब्छन्।"

थाई प्रदर्शनकारीले हङकङमा भएको प्रदर्शनबाट सिको गरेको पाइन्छ
तस्बिरको क्याप्शन, थाई प्रदर्शनकारीले हङकङमा भएको प्रदर्शनबाट सिको गरेको पाइन्छ

सामाजिक सञ्जालका कारण सीमाभन्दा परका घटनाबाट प्रदर्शन रणनीति आदानप्रदानमा पनि सहयोग पुगेको छ।

'मिल्कटीअलाएन्स' ह्यास्ट्याग सन् २०१९ को हङकङको प्रदर्शन गरेको एशियन प्रो-डिमोक्रेसी नेट्वर्कसँगै म्यान्मार, थाईल्यान्ड र बाहिरका अभियानकर्मीको निम्ति एउटा केन्द्र बन्न पुग्यो।

उदाहरणका निम्ति थाई प्रदर्शनकारीले 'बी वाटर' भन्ने अवधारणा हङकङबाट सिको गरेका थिए- उनीहरूले अन्तिम समयमा टेलिग्राम च्यानलबाट र्‍यालीको स्थान परिवर्तन गरे, जसले घेरा हालेका प्रहरीलाई निराश तुल्याइदियो।

"त्यो रणनीतिले नागरिकहरूलाई निगरानी र गिरफ्तारीबाट जोगिन सहयोग गर्‍यो," सोम्बट्पून्सिरी भन्छिन्।

दुईधारे तरबार

सन् २०२० को नोभेम्बरमा भएको थाई सरकार विरोधी प्रदर्शनका क्रममा सुरक्षा प्रबन्ध
तस्बिरको क्याप्शन, सन् २०२० को नोभेम्बरमा भएको थाई सरकारविरोधी प्रदर्शनका क्रममा सुरक्षा प्रबन्ध

अनलाइन माध्यममा असन्तुष्टि फैलिँदै जाँदा, बदलामा धेरै अधिनायकवादी शासनहरूले सेन्सरशिप र शक्तिको भरोसा लिएका छन्। तर विज्ञहरूले यस्ता कारबाहीहरू प्राय: प्रत्युत्पादक हुने चेतावनी दिएका छन्। उनीहरूका अनुसार त्यसले अझ ठूला प्रदर्शनहरूलाई प्रेरित गर्छ, विशेष गरी जब राज्यद्वारा भएको हिंसाका तस्बिर सार्वजनिक हुन्छन्, त्यसले आम आक्रोश चर्काउँछ।

सन् २०१४ को बाङ्ग्लादेशमा भएको सरकारी कारबाही एउटा उदाहरण हो - अवामी लीगको सरकारले इन्टरनेट बन्द गर्‍यो, डिजिटल सुरक्षा कानुनअनुसार असन्तुष्टहरूलाई पक्राउ गर्‍यो र विद्यार्थी प्रदर्शनकारीहरूमाथि गोली चलायो। तर प्रहरीको गोली लागेर मारिएका विद्यार्थी अबु सईदको एउटा तस्बिरले सडकमा प्रदर्शनकारीहरूको नयाँ लहर ल्यायो।

उनी पछि शहीद घोषित भए।

सन् २०२४ को डिसेम्बर ३१ मा ढाका भएको भएको विद्यार्थीको प्रदर्शन
तस्बिरको क्याप्शन, सन् २०२४ को डिसेम्बर ३१ मा ढाका भएको भएको विद्यार्थीको प्रदर्शन

त्यस्तै मिल्दोजुल्दो अवस्था श्रीलङ्का, इन्डोनेशिया र नेपालमा पनि देखियो। ती देशहरूमा प्रदर्शनकारीको मृत्युले प्रदर्शन थप चर्कियो, माग थप कडा भयो, कतै त सरकार पनि ढले।

सामाजिक सञ्जालले विरोध प्रदर्शनलाई बलियो बन्न सघाउँछ, तर यसले उनीहरूबीच फाटो ल्याउन र दमनको जोखिममा पनि धकेल्छ। सोम्बट्पून्सिरी भन्छिन्, "नेतृत्वविहीन प्रदर्शनले लचकता र समानताको भावना राख्छ, तर त्यसले ती समूहहरूमा घुसपैठ, हिंसा वा माग परिवर्तनको जोखिममा पारिदिन सक्छ।"

थाईल्यान्डमा गरिएको प्रदर्शन
तस्बिरको क्याप्शन, थाईल्यान्डमा गरिएको प्रदर्शन

थाईल्यान्डमा, 'रिपब्लिकअफथाईल्यान्ड' जस्ता ह्यास्ट्याग र कम्युनिस्ट चिह्न भएका पोस्टहरूले सम्भावित सहयोगीहरूलाई अलग्याएपछि राजतन्त्रसम्बन्धी अनलाइन बहसले २०२० को लोकतन्त्रपक्षीय आन्दोलनलाई नै विभाजित गरिदियो। नेपाल र बाङ्ग्लादेशमा असङ्गठित रूपमा समन्वय गरिएका प्रदर्शनहरू कहिलेकाहीँ हिंसामा परिणत भएका छन्।

यसैबीच, शासकहरूले डिजिटल उपकरणहरू अभियानकर्मीहरूकै विरुद्ध उल्टो प्रयोग गरिरहेको अनुसन्धानले औँल्याएका छन्।

"अरब स्प्रिङयता सत्ताहरूले एआईद्वारा सञ्चालित निगरानी, कडा सेन्सरशिप र दमनकारी कानुनहरू लागु गरेका छन्, जसले अभियानकर्मीहरूलाई निरन्तर जोखिममा रहेर काम गर्न बाध्य पारेको छ," सम्बट्पून्सिरी बताउँछिन्।

अरब स्प्रिङ मध्यपूर्व र उत्तरी अफ्रिकासम्म विस्तार भएको थियो
तस्बिरको क्याप्शन, अरब स्प्रिङ मध्यपूर्व र उत्तरी अफ्रिकासम्म विस्तार भएको थियो

विज्ञहरूले पनि सामाजिक सञ्जालबाट सङ्गठित भएर हुने विरोध प्रदर्शनको दीर्घकालीन प्रभावबारे छलफल गरेका छन्।

सन् २०२० को हार्वर्ड यूनिभर्सिटीको अध्ययनले सन् १९८० र १९९० को दशकमा ६५ प्रतिशत निःशस्त्र अभियान सफल भएका थिए। तर सन् २०१० र २०१९ बीच त्यो ३४ प्रतिशतमा झरेको छ।

"जनआन्दोलनले सरकार र सत्तामा परिवर्तन ल्याए पनि दीर्घकालीन ग्यारेन्टी हुँदैन," सम्बट्पून्सिरीको भनाइ छ, "सिरिया, म्यानमार र यमनजस्तै विरोध प्रदर्शनहरू गृहयुद्धमा परिणत हुन सक्छन्, इजिप्ट, ट्यूनिशिया र सर्बियामा जस्तै प्रतिद्वन्द्वी समूहलाई शक्तिका लागि प्रतिस्पर्धा गर्न प्रेरित गर्छन्, वा निरङ्कुशहरू फर्किन सक्छन् र आफ्नो प्रभाव बलियो बनाउन सक्छन्, किनकि सुधारहरूले पूर्वशासनहरूको जरा गाडेको संरचनालाई भत्काउन असफल भए।"

ह्यास्ट्यागभन्दा पर

माडगास्करमा सन् २०२५ को अक्टोबर २ तारिखमा भएको प्रदर्शन
तस्बिरको क्याप्शन, माडगास्करमा सन् २०२५ को अक्टोबर २ तारिखमा भएको प्रदर्शन

अमेरिकाको थिङ्क ट्याङ्क कार्नेगी इन्डाओमन्ट फर इन्टर्न्याश्नल पीसका वरिष्ठ फेलो स्टेभन फेल्डस्टेनका भनाइमा नैसर्गिक रूपमा सामाजिक सञ्जाल दीर्घकालीन परिवर्तनको निम्ति बनाइएको होइन।

"तपाईँ त्यसलाई टिकाउन एल्गरिदम, आक्रोश र ह्यास्ट्यागमा भर परिरहनु परेको छ," उनी भन्छन्, "परिवर्तनलाई एउटा अनलाइन आन्दोलनबाट दीर्घकालीन दृष्टिकोणसम्मका निम्ति अनलाइन र भौतिक दुवै जोडिने गरी मानिसकै आवश्यकता हुन्छ।"

विज्ञहरू 'हाइब्रिड' रणनीतिको खाँचोमा पनि जोड दिन्छन्।

"ती रणनीतिहरूमा अनलाइन अभियानलाई हड्ताल र जुलुस जस्ता परम्परागत विरोध कार्यक्रमसँग जोडिनुपर्छ," जर्मन इन्स्टिट्यूट फर ग्लोबल एन्ड एरिया स्टडिजकी जन्जिरा सोम्बट्पून्सिरी भन्छिन्, "नागरिक समाज, राजनीतिक दलहरू, संस्थागत अगुवाहरू र अनलाइन माध्यममा आधारित आन्दोलनहरूबीचको सहकार्यलाई बलियो बनाउने व्यापक गठबन्धनहरू पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।