विषालु सर्पले डसेका घटनामा 'उल्लेख्य वृद्धि': कसरी जोगिन सकिन्छ

उद्धार गर्न लागिएको गोमन सर्प
    • Author, पवनराज पौडेल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ६ मिनेट

विगत १२ महिनामा सर्पदंशका घटना कम भएको भए पनि विषालु सर्पको डसाइको दरमा उल्लेख्य वृद्धि देखिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

सो अवधिमा सर्पदंशका झन्डै ९,००० वटा घटना रेकर्ड भएकोमा १८ प्रतिशत विषालु सर्पका मामिला रहेको स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको जूनोटिक तथा अन्य सरुवा रोग नियन्त्रण शाखाका प्रमुख डा हेमन्त ओझाले बताए। उक्त शाखाले रेबिज र सर्पदंशसहित जनावरबाट मानिसमा सर्ने रोगहरूको रोकथाम, नियन्त्रण, निवारण तथा व्यवस्थापन हेर्छ।

"औसतमा ११,००० वटाजति सर्पदंशका घटना देखा पर्ने गरेकामा विगतका वर्षहरूमा १० देखि १३ प्रतिशतसम्म मात्रै विषालु सर्पले डसेको देखिने गर्थ्यो," डा ओझाले बीबीसीसँग भने, "यस पटक अस्पताल आइपुगेका १८ प्रतिशत बिरामीलाई विषालु सर्पले डसेको पाइयो।"

तर सर्पसम्बन्धी विज्ञ प्राध्यापक करन शाह सर्पको पहिचानमा वा अभिलेखीकरणमा त्रुटि भएका कारण घातक सर्पको डसाइको दर बढेको देखिएको हुन सक्ने बताउँछन्। उनका अनुसार विश्वव्यापी स्तरमा यो दर १० देखि १२ प्रतिशतभन्दा माथि छैन।

"पहिलेपहिले अभिलेख राख्ने हुँदैनथ्यो, आजभोलि त्यो क्रम बढेकाले पनि त्यस्तो देखिएको हुन सक्छ," शाहले भने, "सर्पको सङ्ख्या पनि बढेको होइन, एक ठाउँबाट अर्को ठाउँमा आइजाइ गर्ने क्रम पनि बढेको देखिँदैन। कतिपयले धामनजस्ता सर्पलाई पनि विषालुमा गणना गरिदिन्छन् जब कि त्यो विषालु हुँदैन। त्यस्ता कुराहरूले गर्दा पनि तथ्याङ्कमा फरक परेको हुन सक्छ।"

सर्पको डसाइका कारण ज्यान गुमाउनेको यकिन तथ्याङ्क भने सरकारसँग पनि छैन।

"चालु आर्थिक वर्षदेखि स्थानीय केन्द्रहरूदेखि नै मृत्युका घटनासहित सर्पदंशका घटनाको विस्तृत विवरण अद्यावधिक गर्ने व्यवस्था मिलाउन लागेका छौँ," डा ओझाले भने।

सबैभन्दा धेरै समस्या लुम्बिनी प्रदेशमा

विषालु सर्प
तस्बिरको क्याप्शन, सर्पदंशबाट हुने मृत्युका घटनामध्ये ४० प्रतिशत समुदायमै हुने अधिकारीहरू बताउँछन्

सर्पदंशका घटना तराई र पहाडी क्षेत्रमा मात्र सीमित नभई हिमाली क्षेत्रमा समेत देखिने गरेका छन्। तर पनि तराईका २६ जिल्लामा यो गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखा पर्ने गरेको छ।

खास गरी गर्मी तथा वर्षायाममा लुम्बिनी, मधेश र सुदूरपश्चिममा सर्पदंशका घटना धेरै देखिने गरेका छन्।

ती प्रदेशका पनि तराई भूभागमा धेरै समस्या देखिने गरेको स्वास्थ्य मन्त्रालयका डा ओझा बताउँछन्।

लुम्बिनीमा गएको आर्थिक वर्षमा सर्पदंशका सबैभन्दा धेरै १,७७६ वटा घटना भएकोमा २७७ वटामा विषालु सर्पले डसेको पाइएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता नेत्रलाल अर्यालले जानकारी दिए।

"त्यसमा रूपन्देहीमा सबैभन्दा धेरै ५६३, दाङमा ४६६ र पाल्पामा ३१४ वटा घटना छन्," उनले भने।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार विगत १२ महिनामा सर्पले डसेका १,१०० जना अस्पतालसम्म आइपुगेको थिए। यसपालिको वर्षायाममा अस्पताल पुगेका एक जनाको मात्रै ज्यान गएको छ।

"अस्पताल आइपुगेका बिरामीले राम्रो उपचार पाउने दर निकै उच्च छ। हामीले सर्पदंशका बिरामीका निम्ति एउटा आईसीयू छुट्याएर राख्ने गरेका छौँ र प्रतिविषको मौज्दातमा पनि समस्या छैन," उक्त अस्पतालका सूचना अधिकारी डा ज्ञानहरि मरासिनीले भने, "तर घातक सर्पको डसाइका कारण धेरैको अस्पताल आउँदाआउँदै बाटैमा ज्यान जाने गरेको देखिन्छ।"

जूनोटिक तथा अन्य सरुवा रोग नियन्त्रण शाखाका प्रमुख ओझा सर्पदंशका घटनामा ४० प्रतिशत मृत्युका घटना समुदायमै हुने गरेको बताउँछन्।

"झारफुकको पछि लाग्ने तथा निर्णय लिन ढिला गर्ने जस्ता कारणले गर्दा धेरै बिरामी अस्पताल पुग्नै पाउँदैनन्," उनले भने, "त्यस्तै थप ४० प्रतिशतको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु हुने गरेको र ज्यान गुमाउनेमध्ये अन्य २० प्रतिशतको स्वास्थ्य संस्थामा मृत्यु हुने गरेको हाम्रो विश्लेषणले देखाएको छ।"

काठमाण्डू उपत्यकामा पनि सर्पको डर

शुक्रराज ट्रपिकल अस्पताल
तस्बिरको क्याप्शन, सन् २०२५ लागेयता ४१५ जना सर्पदंशका बिरामी शुक्रराज ट्रपिकल अस्पताल पुगेका छन्

वर्षा लागेसँगै काठमाण्डू उपत्यकामा पनि सर्पदंशका घटना बढेको पाइएको छ।

हिजोआज सरदर सातदेखि १० जना सर्पदंशका बिरामी दैनिक अस्पताल आउने गरेको र सन् २०२५ लागेयता ४१५ जना सर्पदंशका बिरामी अस्पताल आएको शुक्रराज ट्रपिकल अस्पतालको तथ्याङ्कले देखाउँछ।

काठण्डूमा विषालु सर्प देखिने क्रम बढेको चर्चा भइरहँदा स्वास्थ्य मन्त्रालयका डा ओझा आफूले पनि सञ्चारमाध्यमहरूमा त्यस्ता विवरण देखेको तर त्यसबारे अध्ययन हुनै बाँकी रहेको बताउँछन्।

सर्पसम्बन्धी विज्ञ शाह भने काठमाण्डूमा विषालु सर्प देखिन थालेको र घातक सर्पदंशका घटना बढेको भन्ने दुवै तर्कसँग सहमत छैनन्।

"काठमाण्डू उपत्यकाको उत्पत्तिदेखि नै यहाँ विषालु सर्पहरू छन्। तर ती घना बस्तीमा नभई जङ्गलमा बस्ने भएकाले यहाँ घातक सर्पको डसाइको घटना वा सर्पले डसेर ज्यानै जाने विरलै हुने गर्छ," उनले भने, "उपत्यकाका मात्रै नभई वरिपरिका जिल्लाबाट सर्पदंशका बिरामीहरू उपचारका निम्ति ल्याइने भएकाले यहाँका अस्पतालमा बिरामीको सङ्ख्या उच्च देखिएको हुन सक्छ।"

शुक्रराज ट्रपिकल अस्पतालका चिकित्सक डा मिलन बज्राचार्य पनि शाहको तर्कमा सहमत छन्।

"गएको आर्थिक वर्षमा सर्पदंशका कारण ल्याइएका बिरामीमध्ये एक जनालाई पनि प्रतिविष दिनुपरेन," उनले भने, "फागुनयता एक जनाको मात्रै मृत्यु भएको छ र रक्तस्रावका कारण भएको उक्त मृत्युको घटनामा बिरामीमा स्वास्थ्यसम्बन्धी पुरानै समस्याले पनि भूमिका खेलेका छन्।"

कस्ता सर्प विषालु

अर्को सर्पको सिकार गर्दै करेत सर्प
तस्बिरको क्याप्शन, करेत सर्प

ओझाका अनुसार गोमन, करेत अनि भाइपर प्रजातिका रसेल्स र स-स्केल्ड नेपालमा पाइने सबैभन्दा विषालु सर्प हुन्।

नेपालमा १७ प्रकारका विषालु सर्प पाइने भए पनि यी चार वटाबाहेक अरूले डस्दा प्रतिविषको खाँचो पर्दैन।

"अहिले पहाड र अझै माथिल्लो भूभागमा हरेउ सर्पले टोकेका धेरै घटनाहरू देखिन्छन्," उनले भने, "त्यो पनि विषालु त हो तर त्यसको हकमा लक्षणका आधारमा उपचार गर्ने गरिन्छ।"

विज्ञ शाहका अनुसार विषालु सर्पले हरेक डसाइमा विष छाड्छ भन्ने पनि हुँदैन। कतिपय बेला सर्पले विष ओकल्दैन। "त्यसलाई 'ड्राइ बाइट' भनिन्छ। विषालु सर्पले डसेका ३०–४० प्रतिशत घटना ड्राइ बाइट हुन्छन्," उनले भने।

"त्यसैले विषालु सर्पको डसाइको मामिला बढेको भनिनुमा वैज्ञानिक आधारभन्दा पनि रिपोर्टिङमै समस्या देखिन्छ।"

चिकित्सक तथा विज्ञहरूले बिरामीमा देखिने लक्षणहरूका आधारमा कुन सर्पले टोकेको भन्ने ठम्याएर उपचार गर्ने विज्ञहरू बताउँछन्।

जोगिने उपाय

सर्पको विष सङ्कलन गरिँदै

आफूलाई नपरुन्जेल जनस्वास्थ्यसम्बन्धी सूचनाहरूलाई बेवास्ता गर्ने बानीले समस्या हुने गरेको लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक ज्ञानहरि मरासिनी बताउँछन्।

"मधेशमा भुइँमा ओछ्याइने पलङमा नसुत्न भनिएको हुन्छ, खेतमा जाँदा बुट लगाउन भनिएको हुन्छ," उनले भने, "तर सर्पहरूको बिगबिगी हुने समयमा पनि कतिपय मानिसहरू खाली खुट्टै खेतमा काम गरिराखेका हुन्छन्।"

वर्षायाममा सर्पदंशका जोखिम बढ्ने भन्दै नेपाल प्रहरीले सर्पबाट जोगिने उपायबारे सामाजिक सञ्जालहरूमार्फत् सन्देशहरू जारी गरेको छ।

त्यसमा "खुट्टा राम्रोसँग ढाक्ने बुट वा जुत्ता लगाएर मात्र हिँड्ने, झाडी, भकारी, गोठ वा ढुङ्गामुढा भएका ठाउँमा हिँड्दा सचेत हुने, खेतबारीमा काम गर्दा पाइन्ट, लामो बाहुलाको कपडा लगाउने, राति बाहिर निस्किँदा टर्च वा बत्ती बालेर मात्र निस्कने, सुत्नुअघि बिस्तारा, ओछ्यान र वरिपरिका क्षेत्र राम्री निरीक्षण गर्ने र सर्पदंश भए तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जाने" जस्ता सुझाव दिइएको छ।

सर्पले डसेमा वा डसेको शङ्कका भएमा समय खेर नफालीकन तुरुन्तै सर्पदंशको उपचार हुने अस्पताल वा केन्द्रमा जानुपर्ने जनस्वास्थ्य अधिकारीहरू बताउँछन्।

स्वास्थ्य मन्त्रालयका डा ओझाका अनुसार आफ्ना वरपर केकस्ता सर्पहरू पाइन्छन् र ती कति घातक छन् भनेर थाहा पाइराख्नु उत्तम हुन्छ।

"त्यस्तै सबैभन्दा नजिकको सर्पदंश उपचार केन्द्र भएको ठाउँ र त्यहाँ पाइने सेवाबारे पनि जानकारी लिइराख्नुपर्छ," उनले भने।

नेपालमा झारफुकसहितका परम्परागत उपायतर्फ लाग्दा पनि सर्पदंशका कतिपय बिरामीको ज्यान जाने गरेको बताइन्छ।

"सर्पको टोकाइको अरू कुनै उपचार छैन, विषालु सर्पको टोकाइको उपचार भनेको प्रतिविष नै हो।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।