सीता दाहालको 'काजकिरिया नहुने', राजकीय सम्मानबारे सरकार के भन्छ

प्रचण्ड
तस्बिरको क्याप्शन, प्रधानमन्त्री प्रचण्ड बुधवार पशुपति आर्यघाटमा धर्मपत्नी सीता दाहालको पार्थिव शरीरमा दागबत्ती दिँदै
Published

बुधवार निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको "धार्मिक विधिअनुसार काजकिरिया नगर्ने" सल्लाह भएको र त्यसैअनुरूप शोक मात्र मनाइएको परिवारका सदस्यहरूले बताएका छन्।

बुधवार दिउसो पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरेर फर्किएपछि पारिवारिक छलफलपश्चात् धार्मिक वा सांस्कृतिक रूपमा अघि नबढ्ने निर्णयमा आफूहरू पुगेको प्रचण्डको परिवारका सदस्य समेत रहेका नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायण दाहालले बताए।

‘‘धार्मिक विधिअनुसार काजकिरिया गर्ने कुरा चाहिँ गरिएन भनौँ न,’’ बीबीसीसँग उनले भने।

सीताको निधन भएसँगै शोक मनाउने क्रममा परिवारका सदस्यहरूले नुन पनि नबारेको बताइएको छ।

६९ वर्षकी सीताको बुधवार काठमाण्डूस्थित नर्भिक अस्पतालमा निधन भएको उनको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन्। उनलाई बुधवार बिहान हृदयाघात भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो।

सीता दाहाल स्मरणशक्ति क्षीण हुँदै जाने, रिँगटा लाग्ने र शरीरको सन्तुलन बिग्रिने जस्ता समस्याबाट ग्रसित थिइन्।

‘‘भावनात्मक ढङ्गले शोकमा बस्ने एउटा कुरा भयो। मन, वचन, कर्म हुन्छ नि आआफ्नो तरिका … समर्पित सबै शोकमा हुने भइहाल्यो। तर देखावटी रूपमा कोरामा बस्ने, नुन नखाने त्यस्तो छैन,’’ दाहालले थपे।

प्रचण्ड
तस्बिरको क्याप्शन, प्रचण्डकी धर्मपत्नी सीता दाहालप्रति श्रद्धाञ्जलि अर्पण गर्न पशुपति आर्यघाट पुगेका सर्वसाधारण

बुधवार आर्यघाटमा भने 'धार्मिक विधिअनुसार नै सीताको दाहसंस्कार गरिएको' उनले जानकारी दिए। उनलाई प्रधानमन्त्री आफैँले मुखाग्नि (दागबत्ती) दिएका थिए। त्यस बेला दाहाल दम्पतीका दुई छोरी पनि सँगै थिए।

पशुपतिमा दाहसंस्कार विधि चल्दै गर्दा सेनाको नेतृत्वमा विभिन्न विधि सम्पन्न गरिएको परिवारका सदस्यहरूको भनाइ छ।

त्यसबारे बीबीसीले सोधेको प्रश्नमा उनले भने: ‘‘अँ … [प्रचण्डले] केके गर्नुभयो त्यहाँ। बाहुनले के के गर्न भन्नुभयो, त्यही गर्नुभयो। यो भन्या कस्तो हो भने जस्तो हामी कहीँ शिलान्यास गर्न जान्छौँ नि त्यो आफ्नो कब्जाभन्दा, भावनाभन्दा बाहिरको कुरा हुँदा रहेछ के। शिलान्यास गर्न जाँदा त हामी पूजा गर्छौँ ढुङ्गामा,’’ दाहालले भने।

दाहसंस्कारको विधिपछि बल्ल के कसरी अघि बढ्ने निर्णय आफूहरूले गर्न सकिने अवस्था आएको उनी बताउँछन्।

यसअघि पनि प्रचण्डका छोरा प्रकाशको निधन हुँदा पनि काजकिरिया नगरिएको उनले बताए।

red line
red line

प्रधानमन्त्रीको दिनचर्या

प्रचण्ड

पत्नीको निधन भएसँगै दुई-तीन दिनसम्म प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा उपस्थित नहुने दाहालले बताए।

त्यसबीच हुने भेटघाट पनि राजनीतिक नहुने उनले जानकारी दिए।

बुधवार पत्नी सीताको मृत्यु भएपछि प्रचण्डले प्रधानमन्त्रीका रूपमा मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरेका थिए।

उक्त बैठकले सीता दाहालको अन्तिम संस्कारका समयमा राजकीय सम्मान स्वरूप नेपाली सेनाले सलामी दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

बुधवार आर्यघाटमा सीताको दाहसंस्कार भएपछि प्रचण्ड बालुवाटारमै छन्।

बिहीवार बिहान भएको भेटका क्रममा हिजोभन्दा गलेजस्तो महसुस भएको प्रचण्डले आफूलाई बताएको दाहालले जानकारी दिए।

प्रधानमन्त्रीको खानपान भने नियमित रहेको उनी बताउँछन्। ‘‘हिजो पनि रोटी यताउता खानुभयो,’’ दाहालले भने।

red line
red line

समवेदनाका लागि बालुवाटारमै व्यवस्था

बालुवाटार

दाहालका अनुसार प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन भेट्न चाहनेहरूका लागि समय छुट्ट्याइएको छ।

बिहान ८ देखि १० बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म समवेदना दिनका लागि बालुवाटारस्थित पुरानो भवनमा रहेको प्रधानमन्त्रीको सचिवालयनजिकै जान पाइने व्यवस्था मिलाइएको छ।

‘‘सर्वसाधारण, पार्टी समर्थक र शुभचिन्तकका लागि व्यवस्था मिलाइएको छ,’’ दाहालले भने।

कूटनीतिक नियोगका प्रतिनिधिहरूका लागि नयाँ सचिवालयमा बिहीवार र शुक्रवार ३ देखि ४ बजेसम्म भेट्न पाउने व्यवस्था मिलाइएको छ।

त्यस्तै दुई दिनसम्म नेकपा माओवादी केन्द्रले सबै जिल्लामा श्रद्धाञ्जलि कार्यक्रम गर्ने र शोकपुस्तिका पनि राख्ने भएको छ।

शोकपुस्तिकामार्फत्‌ समवेदना दिन चाहनेहरूका लागि भने बिहान ८ बजे देखि ६ बजेसम्म बालुवाटारको ढोका खुला रहने बताइएको छ।

राजकीय सम्मान किन?

प्रधानमन्त्री दाहालकी पत्नी सीताको अन्तिम संस्कारका बेला राजकीय सम्मान स्वरूप नेपाली सेनाले सलामी दिएको थियो।

तर सरकारको उक्त निर्णयमा भने सामाजिक सञ्जालमा विभिन्न कोणबाट विश्लेषण भइरहेको छ। कतिपयले उक्त कदमको आलोचना पनि गरेका छन्।

लेखक खगेन्द्र सङ्ग्रौलाले ट्विटरमा अन्तिम संस्कारका बेला ‘सेना प्रहरीले बुट बजार्दै सलामी दिने संस्कृति’लाई ढोँग, विलास र सेना प्रहरीको दुरुपयोगको सङ्ज्ञा दिएका छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

X पोस्ट समाप्त

गृह मन्त्रालयका अधिकारीहरूका अनुसार कार्यविधिमै कतिपय अवस्थामा उल्लेख नभए पनि अभ्यासमा भने राज्यद्वारा दिने सम्मान राजकीय वा औपचारिक नै हुन्छ।

तर सीता दाहालको राजकीय सम्मानसहितको अन्तिम संस्कारको निर्णय भने मन्त्रीपरिषद्को निर्णयमा आधारित रहेर गरिएको अधिकारीहरूले बीबीसीसँगको कुराकानीका क्रममा बताएका छन्।

नेपालको पछिल्लो इतिहासमा बहालवाला प्रधानमन्त्रीको पत्नीको निधन भएको छैन जस कारण पनि अन्तिम संस्कारसम्बन्धी व्यवस्थाबारे विधि स्पष्ट छैन।

बिहीवार सीता दाहाललाई दिइएको राजकीय सम्मान ‘निकै ठूलो तहको नरहेको’ गृह मन्त्रालयले जनाएको छ।

‘‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष र प्रधानन्यायाधीशको जुन मर्यादाक्रम छ ती सरह नै उनीहरूको (पत्नीको) मर्यादाक्रम हुन्छ भनेको हुनाले प्रधानमन्त्री वा सो सरहको हो भन्ने अन्तर्राष्ट्रिय अभ्यास र यहाँको पनि त्यो मर्यादाक्रम रहेको हुनाले त्यो व्यवस्था भएको हो,’’ गृह मन्त्रालयका एक अधिकारीले भने।

समान मर्यादाक्रम हुने व्यवस्था मन्त्रालयले तयार पारेको कार्यविधिमा पनि उल्लेख रहेको उनले जानकारी दिए।