पृथक पोशाक संहितादेखि माउन्ट अराफातको यात्रा: यी हुन् हजका विशेषता

साउदी अरबको मक्कामा हज तीर्थयात्राका लागि बर्सेनि लाखौँ मानिस भेला हुन्छन्
तस्बिरको क्याप्शन, साउदी अरबको मक्कामा हज तीर्थयात्राका लागि बर्सेनि लाखौँ मुस्लिमहरू भेला हुन्छन्
Published
पढ्ने समय: ४ मिनेट

हजयात्रा इस्लाम धर्मावलम्बीहरूको एउटा पवित्र तीर्थयात्रा हो जसका लागि बर्सेनि २० लाख जनाभन्दा धेरै तीर्थालुहरू साउदी अरबको मक्का र मदिना शहर पुग्ने गर्छन्।

यो इस्लामका पाँच आधार स्तम्भमध्ये एउटा हो जुन आर्थिक तथा शारीरिक रूपमा सक्षम व्यक्तिले आफ्नो जीवनकालमा कम्तीमा एक पटक पूरा गर्नुपर्छ।

हज संसारका ठूला वार्षिक जमघटमध्ये एक हो जसले संसारका सबै कुनाबाट तीर्थालुहरूलाई आकर्षित गर्ने गर्छ।

मक्का पैगम्बर मुहम्मदको जन्मस्थल तथा इस्लाम धर्मावलम्बीहरूको पवित्र धार्मिक ग्रन्थ कुरान उनीमाथि अवतरण गरिएको स्थान पनि हो।

यो इस्लाम धर्मावलम्बीहरूको सबैभन्दा पवित्रस्थल काबा भएको स्थान पनि हो जुन मस्जिद अल-हरम अथवा 'ग्र्यान्ड मोस्क अफ मक्का' को केन्द्रमा रहेको छ।

प्रस्तुत छ हजसम्बन्धी पाँचवटा तथ्य जुन तपाईँलाई थाहा नहुन सक्ला।

काबा- पैगम्बर इब्राहिमको एउटा विरासत

वार्षिक हजयात्रा इस्लाम धर्मका पाँच आधार स्तम्भमध्ये एक हो। अतः यो पैगम्बर मुहम्मदसँग मात्र सम्बन्धित भएको कसैले विश्वास गरेमा त्यसलाई अन्यथा नमान्न सकिएला।

मुस्लिमहरू मक्कास्थित काबाको परिक्रमा गर्छन्
तस्बिरको क्याप्शन, साउदी अरबको सरकारका अनुसार सन् २०२४ मा १८ लाखभन्दा बढीले हजयात्रा गरेका थिए

तथापि यो संस्कारको शुरूवात पैगम्बर इब्राहिमको पालादेखि भएको हो जसले इस्लामिक विश्वास अनुसार काबाको निर्माण गरेको मानिन्छ।

पैगम्बर इब्राहिमले सपनामा आफ्ना सबैभन्दा प्रियको बलि दिनुपर्ने देखेपछि उनले छोराको बलि दिन लागे।तर बलि दिनै लाग्दा अल्लाहको आदेशानुसार उनका छोराको ठाउँमा जनावर राखियो।

सोही बेलादेखि इस्लाम धर्मावलम्बीहरूले जनावरको कुर्बानी (बलि) दिन थालेका हुन्।

पैगम्बर इब्राहिमलाई इसाई तथा यहुदी धर्मावलम्बीहरूले अब्राहम भनेर चिन्छन्। यी दुई धर्मावलम्बीको पनि उनी केन्द्रीय पात्र हुन्।

महिला र पुरुष छुट्टयाइँदैन

ट्युनिशियाका हजयात्री
तस्बिरको क्याप्शन, ट्युनिशियाका हजयात्री मक्कामा

इस्लाम धर्मावलम्बीहरूको अरू धार्मिक अनुष्ठानमा जस्तो हजका बेला महिला र पुरुषलाई अलगअलग राखिँदैन।

उदाहरणका लागि मस्जिदमा महिला अनि पुरुष अरू बेला बेग्लाबेग्लै प्रवेशद्वार भएर जाने र छुट्टाछुट्टै प्रार्थना गर्ने जस्तो हजमा चाहिँ हुँदैन। हजमा महिला र पुरुषले एकसाथ प्रार्थना गर्छन्।

पृथक पोशाक संहिता

हजका बेला तीर्थालुहरूले आध्यात्मिक समानता र विनम्रपन झल्काउने किसिमले सबैले उस्तै सेतो पोशाक लगाउँछन्।

सन् २०२३ को ज्यानुअरी २७ मा उमराहका क्रममा मुस्लिम तीर्थालुहरू
तस्बिरको क्याप्शन, सन् २०२३ को ज्यानुअरी २७ मा उमराहका क्रममा मुस्लिम तीर्थालुहरू

पुरुष तीर्थालुहरूले एहराम भनिने एउटा सेतो चादर ओढ्छन् भने अर्को लुगा लुङ्गी जसरी बेर्छन् जसले जुनसुकै सामाजिक वा आर्थिक हैसियत भएका मानिसहरूबीच समानता दर्शाउँछ।

महिला तीर्थालुले पुरुषले जस्तै एकैनासको सेतो रङ्गका पोशाक लगाउन पर्दैन। उनीहरूले कपडाले कपाल छोप्छन् भने हजयात्राका क्रममा अनुहार छोप्नु पर्दैन।

पहाड चढ्ने कार्य

हजका अनुष्ठानमध्ये एउटा तवाफ हो जसअन्तर्गत काबालाई घडीको सुईको उल्टो दिशामा सात पटक परिक्रमा गर्नुपर्छ। यो कार्य हजको शुरूवात र अन्त्य दुवै समयमा गर्नुपर्छ।

तर के तपाईँलाई थाहा छ हजका संस्कारभित्र दुई पहाडबीच हिँड्नुपर्ने पनि पर्छ?

हजको एउटा पाटोअन्तर्गत मस्जिद अल-हरम क्षेत्रभित्र पर्ने सफा र मरवा पहाडको बीचमा सात पटक फटाफट हिँड्नु पनि पर्छ।

यो कर्म पैगम्बर इब्राहिमकी पत्नी हाजराको सङ्घर्ष र धैर्यको सम्झनामा गरिन्छ।

आफ्ना नाबालक छोराका लागि पिउने पानी खोज्न दुई पहाडबीच दौड्दै उनले घरी यता घरी उता गरेकी थिइन्।

हजका मुख्य अनुष्ठान

माउन्ट अराफात उत्कर्ष

काबा हजयात्राको केन्द्रबिन्दु भए पनि हजको उत्कर्ष मक्काभन्दा बाहिर पर्ने मरुभूमि मैदान माउन्ट अराफातमा हुन्छ।

सन् २०२३ मा माउन्ट अराफातमा प्रार्थना गर्दै एक महिला
तस्बिरको क्याप्शन, सन् २०२३ मा माउन्ट अराफातमा प्रार्थना गर्दै एक महिला

त्यहाँ सूर्योदयदेखि सूर्यास्तसम्म तीर्थालुहरूको ठूलो भीड गहन प्रार्थना, चिन्तन र कुरानको पाठका लागि भेला हुन्छन्।

इस्लाममा यो पवित्र स्थानको गहिरो महत्त्व छ। इस्लामिक मान्यताअनुसार पैगम्बर मुहम्मदले आफ्नो अन्तिम उपदेश सोही ठाउँमा दिएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।