चीन विश्वकपमा पुगेन तर धेरै 'रेड कार्ड' दिने चिनियाँ रेफरी मैदानमा हुने छन्

चिनियाँ रेफरी मा निङ
    • Author, केली अङ
  • Published
  • पढ्ने समय: ४ मिनेट

चीन यसपालिको फिफा विश्वकपमा छनोट हुन सकेन। तर यो प्रतियोगितामा चीनको 'प्रतिनिधित्व' एक रेफरीले गर्ने छन्।

संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा जुन ११, बिहीवारदेखि हुन लागेको विश्वकपमा चिनियाँ दर्शकहरूले ४६ वर्षीय तिनै रेफरी मालाई समर्थन गर्ने छन्।

माको तस्बिर प्रयोग गरेर बनाइएका कैयौँ मीमहरू भाइरल बनेका छन्। लेनोभोजस्ता प्रविधि कम्पनी र हाइसेन्सजस्ता विद्युतीय सामग्री उत्पादन गर्ने कम्पनी एवम् अरू ठूला ब्र्यान्डले उनलाई प्रायोजन गरेका छन्।

मा कडा स्वभावका लागि परिचित छन्। शाङ्घाईमा सन् २०१५ मा आयोजित एउटा खेलमा उनले सातवटा येलो कार्ड र तीनवटा रेड कार्ड देखाए। रेफरीका रूपमा उनले एउटै खेलमा खेलाडीहरूलाई नसिहत दिँदै कार्ड देखाएको त्यो सर्वाधिक सङ्ख्या थियो। फलतः उनले "कार्ड मास्टर"को उपनाम पाए।

मा पहिलो पटक विश्वकपमा चार वर्षअघि कतारमा आयोजित प्रतियोगितामा सहभागी भएका थिए। 'फोर्थ अफिशल'का रूपमा उनले मैदानबाहिरबाट रेफरीलाई सहयोग गरेका थिए। यो उनका लागि दोस्रो विश्वकप हुने छ।

मा निङ सामाजिक सञ्जालमा लोकप्रिय

खेलाडीलाई रेड कार्ड देखाउँदै मा निङ

रेडनोट र अन्य चिनियाँ सोशल मिडिया प्ल्याट्फर्महरूमा मासँग सम्बन्धित सामग्रीहरूले करोडौँ 'भ्यू' बटुलेका छन्। केही प्रयोगकर्ताहरूले उनलाई समर्थन गरेका छन् भने केहीले चीनमा खेलकुदको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन्।

"हामीसँग मा निङ छन्, तपाईँहरूसँग को छ?" रेडनोटमा एक जनाले लेखेका छन्।

"अरू देशले आफ्नै टीमले खेलेको हेर्न पाउँछन्, हामी चाहिँ हाम्रो रेफरीले कार्ड दिएको हेर्ने छौँ," अर्का व्यक्ति लेख्छन्।

मा अहिले रेफरीहरूको दशदिने क्याम्पमा सहभागी हुन मायामीमा छन्। उनीसँगै अरू दुई चिनियाँ सहायक रेफरीहरू पनि छन्।

सहायक रेफरी जो फे र भिडिओ सहायक रेफरी फू मिङ दुवै जना मुख्य रेफरीका सहयोगीको भूमिकामा मैदानबाहिर हुने छन्।

मा निङको अनुभव

वेबोमा एक जनाले बनाएको यो मीममा विभिन्न देशका राष्ट्रिय टोलीको र बीचमा मा निङको तस्बिर राखिएको छ
तस्बिरको क्याप्शन, वेबोमा एक जनाले बनाएको यो मीममा विभिन्न देशका राष्ट्रिय टोलीसँग ठट्यौलो पारामा मा निङको तुलना गरिएको छ

विश्वभरिकै फुटबलको नियामक निकाय फिफाले सन् २०११ मा मालाई रेफरीको मान्यता दिएको थियो। उनी नान्जिङ स्पोर्ट इन्स्टिट्यूटमा प्राध्यापन पनि गर्छन्।

आसन्न विश्वकपमा आफ्नो अनुभवलाई अभिलेखमा राख्न उनले रेडनोटमा दुई साताअघि खाता खोलेका छन्। रेडनोट इन्टाग्रामजस्तै लोकप्रिय चिनियाँ प्ल्याट्फर्म हो। त्यसमा उनले हजारौँ फलोअर कमाएका छन्।

रेडनोटको पहिलो पोस्टमा उनले लगाएको रेफरीको टीशर्टको खल्तीबाट एउटा सानो रातो पुस्तिका निकालेको देखिन्छ। त्यसले उक्त प्ल्याट्फर्मको चिनियाँ नाम र 'रेड कार्ड' देखाउन रेफरीका रूपमा उनले कमाएको ख्यातिलाई सङ्केत गरेको ठानिन्छ।

नियमको गम्भीर उल्लङ्घन गर्ने खेलाडीले रेड कार्ड पाउँछन् र उनले त्यसपछि मैदान छोड्नुपर्ने हुन्छ।

त्यसपछिको पोस्टमा उनले सूटकेसमा सामान हालेको र विश्वकपका लागि तयार गर्न उनले जिमखानामा शारीरिक व्यायाम गर्दै गरेको भिडिओ छ। उक्त भिडिओमा नाटकीय सङ्गीत बजेको सुनिन्छ भने लेनोभो ट्याब्लेट र अन्य सामग्रीहरू पनि देखाइएको छ।

"म यो काम आत्मविश्वास र दृढतासहित निर्वाह गर्छु। विश्वकप, लौ हामी आउँदै छौँ," क्याप्शनमा लेखिएको छ।

समस्यामा चिनियाँ फुटबल

चीन अहिलेसम्म केवल एक पटक सन् २००२ मा विश्वकपमा सहभागी भएको छ। त्यस बेला चीन कुनै खेल नजिती समूह चरणबाटै बाहिरिएको थियो।

त्यसपछि छनोट चरण पार गरेर चीनले प्रतियोगितामा सहभागी हुन पाएको छैन।

विगत दुई दशकमा चिनियाँ फुटबल क्षेत्रले आर्थिक समस्या बेहोर्दै आएको छ।

त्यसबाहेक भ्रष्टाचार भएको आरोप लागेपछि केही खेलाडी, रेफरी र क्लबका पदाधिकारीहरूले आजीवन प्रतिबन्ध बेहोर्नुपरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।