माओवादीसँगै एमालेसहितका दलका मन्त्रीहरूले लिए शपथ, नयाँ सहमतिमा के छ?

सत्ता गठबन्धनका नेताहरू
तस्बिरको क्याप्शन, नयाँ सत्ता गठबन्धनका नेताहरू
Published

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरणमा हेरफेर गर्दै मन्त्रिपरिषद्‌ पुनर्गठन गरेपछि पहिलो चरणमा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

नेताहरूले आपसी सहमतिमा केही दिनभित्रै मन्त्रिमण्डललाई पूर्णता दिइने जनाएका छन्।

गएको वर्ष मङ्सिरमा भएको आम चुनावमा तेस्रो दल बनेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सुरुमा नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए।

राष्ट्रपति चुनावमा कांग्रेससँग गठबन्धन गरेपछि टुटेको एमाले माओवादी सत्ता सहयात्रा पछिल्लो सहमतिसँगै पुनः सुरु भएको हो।

चार दलको सहमतिमा के छ?

सपथग्रहण

मन्त्रिपरिषद्‌ पुनर्गठन भएको केही घण्टापछि नयाँ गठबन्धनका तर्फबाट एउटा ८ बुँदे सहमति सार्वजनिक गरिएको छ।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले, रास्वपा र जसपाका शीर्ष नेताको हस्ताक्षर रहेको उक्त सहमतिमा प्रचण्डको नेतृत्वमा नयाँ संयुक्त सरकार गठन गर्ने र त्यसको साझा नीति र कार्यक्रम तय गर्ने भनिएको छ।

रिक्त रहेको राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवारमा माओवादी केन्द्रका उम्मेदवार र उपाध्यक्षमा एमालेको उम्मेदवारलाई सघाउने प्रतिवद्धता उक्त समझदारी पत्रमा गरिएको छ।

आपसी सहमतिमा मन्त्रालयमा बाँडफाँट गर्ने र नयाँ संयुक्त सरकार गठनप्रति सकारात्मक मत राख्ने दलहरूसँग वार्ता गर्ने पनि उक्त समझदारी पत्रमा उल्लेख छ।

उक्त आठ बुँदे समझदारी पत्रमा शान्ति प्रक्रिया सम्बन्धी बाँकी कामहरू अविलम्ब टुङ्गो लगाउने जनाइएको छ।

सपथ

को को बने मन्त्री?

राष्ट्रपति कार्यालय

पुनर्गठित मन्त्रिमण्डलमा नेकपा एमालेबाट प्रमुख सचेतक रहेका पदम गिरी मन्त्री बनेका छन्। माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपाध्यक्ष डीपी अर्याल मन्त्री बनेका छन्।

अहिले तीनै जनालाई बिना विभागीय मन्त्री बनाइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बीबीसीलाई बताए।

तीनै जना यसअघि पनि मन्त्री बनिसकेका नेताहरू हुन्। एमालेका गिरी यसअघि स्वास्थ्य मन्त्री रहेका थिए भने तामाङ झलनाथ खनाल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिए। अर्याल भने गएको वर्ष प्रचण्डले एमालेसँग समीकरण गर्दा रास्वपाकातर्फबाट श्रम तथा रोजगार मन्त्री बनेका थिए।

यो गठबन्धन बन्नुअघि सत्ता गठबन्धनमा खटपट भएका र प्रधानमन्त्री प्रचण्डले कतिपय मन्त्रीहरूलाई फेर्न चाहेका खबरहरू आएका थिए।

हिन्दू राष्ट्रको समेत चर्चा चलेको हालैको कांग्रेसको महासमिति बैठकले चुनावअघि अन्य दलसँग गठबन्धन नगर्ने निर्णय लिएको थियो।

यसअघि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्‌मा दुई जना उपप्रधानमन्त्रीसहित २१ जना मन्त्री र एक जना राज्यमन्त्री थिए।

केपी ओली र प्रचण्ड

गठबन्धन फेर्ने प्रधानमन्त्रीको निर्णयलाई कतिपयले कांग्रेससँग हालैका महिनाहरूमा चिसिएको सम्बन्धको परिणामका रूपमा लिएका छन्।

सामाजिक सञ्जालमा कतिपयले यसले उनको ‘अस्थिर’ र ‘अविश्वसनीय’ चरित्रलाई उजागर गरेको टिप्पणी गरेका छन्।

नयाँ समीकरणको निर्णयबारे प्रधानमन्त्री प्रचण्डले के भने?

प्रधानमन्त्री प्रचण्डले भने सोमवार सार्वजनिक टिप्पणी गर्दै नयाँ गठबन्धन बन्नुलाई एउटा ‘उथलपुथल’ भन्दै मन्त्रिपरिषद्को पुनर्गठन गर्ने आफ्नो निर्णयको बचाऊ गरेका छन्।

राजधानीमा शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा उनले भने, “प्रायः मान्छेहरूले भन्ने गर्छन् धेरै नै अविस्वस्नीय। कुन बेला कता फड्किन्छ बुझ्नै नसक्ने मान्छे भन्छन्। म त्यस्तो होइन। म नेपाल राष्ट्रपति इमानदार हुने कुरामा जहिल्यै पनि कायम छु। तर प्रतिक्रियावादीहरूले मलाई उपयोग गर्न खोजे भने कुनै पनि बेला लात्ताले हानेर निस्कन सक्छु।”

प्रचण्ड

प्रधानमन्त्रीले पछिल्लो समीकरणले नयाँ राजनीतिक धुव्रीकरणको सुरुवात गराएको पनि उल्लेख गरेका थिए।

उनले पछिल्लो समीकरणले 'समाजवादी दलहरूबीच नयाँ एकताको सङ्केत गरेको' पनि उल्लेख गरे।

प्रचण्ड भन्छन्, “खिइँदै, सुक्दै, एक्लो हुँदै अनि फेरी ठूल्ठूला कुरा गरिराख्ने यो हुनसक्दैन्। हामी समाजवादी मोर्चा मात्रै होइन, बृहत्तर कम्युनिस्ट एकताको पनि पहल गर्दै छौँ।”

उनले ‘प्रतिक्रियावादीहरू’ ले आफूलाई घेरा हालेर सिद्ध्याउने प्रयास धेरै पटक गरेको उल्लेख गर्दै थपे, “त्यो तोड्दै आएका छौँ। तोड्दै जान्छौँ। म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।