भारतीय युवक र पाकिस्तानी युवतीको प्रेमकथा जसले उनीहरूलाई जेल पुर्‍यायो

इकरा र मुलायम
Published

गत ज्यानुअरी महिनामा एक भारतीय युवक एउटी पाकिस्तानी युवतीलाई गैरकानुनी रूपमा भारत प्रवेश गर्न र नक्कली परिचयपत्र बनाउन सहयोग गरेको आरोपमा पक्राउ परे।

ती युवती उनकी श्रीमती हुन्।

भारतका २१ वर्षीय मुलायम सिंह यादव र पाकिस्तानकी १९ वर्षीया इकरा जीवानीको सन् २०२० ताका कोभिड महामारी फैलिएका बेला अनलाइन लुडो खेल्ने क्रममा चिनजान भएको थियो।

पछि उनीहरू प्रेममा परे। सँगै बस्न आफूहरूलाई कठिन हुनेछ भन्ने दुवै जनालाई थाहा थियो।

भारत र पाकिस्तानबीच तिक्ततापूर्ण सम्बन्ध छ।

सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत-पाकिस्तान विभाजन भएको थियो। त्यसयता यी दुई छिमेकीहरूबीच तीन पटक युद्ध भइसकेको छ।

red line
रेड लाइन

नेपालमा विवाह

गत सेप्टेम्बर महिनामा मुलायम र इकराले नेपालमा भेट गरे। नेपालमै उनीहरूले बिहे पनि गरे।

त्यसपछि उनीहरू कर्नाटक राज्यको राजधानी ब्याङ्लोर गए अनि त्यहीँ बस्न थाले।

तर ज्यानुअरीमा उनीहरूको खुसीमा वज्रपात भयो।

गैरकानुनी रूपमा भारत प्रवेश गरेको भन्दै जीवानीलाई हिरासतमा लिइयो। यादव पनि पक्राउ परे। उनलाई जालसाजी गरेको र आवश्यक कागजपत्रबिनै विदेशी नागरिकलाई आश्रय दिएको अभियोग लगाइयो।

जीवानीलाई गत साता भारतबाट निष्काशन गरेर पाकिस्तान पठाइएको छ। यादव ब्याङ्लोरको एउटा जेलमा छन्।

इकरा र मुलायम

'छोरा र बुहारी घर फर्कून्'

मुलायम सिंह यादवको परिवार उत्तर प्रदेशमा बस्छ। परिवारजनहरू उनी पक्राउ परेपछि आत्तिएका छन्। उनीहरू भन्छन् - यो त त्यो जोडीको प्रेमकथा मात्र हो।

उनका भाइ जीतलालका अनुसार परिवारले छोरा मुलायम र बुहारी इकरा घर फर्कून् भन्ने चाहेको छ।

"हामी पाकिस्तान र भारतबीचको अवस्था बुझ्छौँ तर उनीहरूले गरेको भनेको प्रेम मात्र हो।"

“गैरकानुनी रूपमा भारत प्रवेश गरेको र जाली कागजपत्र बनाएको कुराबाहेक यो एउटा प्रेमकथाजस्तो मात्र देखिन्छ,” ब्याङ्लोरस्थित एक वरिष्ठ प्रहरी अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने।

यादवकी आमा शान्ति देवीले दुवै देशका सरकारले यो जोडीको पुनर्मिलन गराउन सहयोग गर्न सक्ने आशा राखेकी छन्।

“उनी मुस्लिम वा पाकिस्तानी जे भए नि हामीलाई कुनै समस्या छैन। उनी हाम्री बुहारी हुन्। उनको हामी राम्रो रेखदेख गर्नेछौँ।"

लकडाउनका बेला पलायो प्रेम

यादव ब्याङ्लोरस्थित एक आईटी कम्पनीका लागि सुरक्षागार्डका रूपमा काम गर्थे। जीवानी पाकिस्तानको हैदराबाद सहरमा विद्यार्थी थिइन्।

अनलाइन भेट भएपछि उनीहरूले "लङ-डिस्टेन्स" सम्बन्ध बनाए। तर जीवानीलाई घरबाट चाँडै बिहे गर्ने दबाव परेको थियो।

यादवको सुझावअनुसार उनी पाकिस्तानबाट दुबई हुँदै नेपाल आइन्।

प्रहरीका अनुसार उनीहरू दुई जनाले हिन्दू परम्पराअनुसार नेपालको एउटा मन्दिरमा बिहे गरेका थिए।

त्यसपछि उनीहरू पटना हुँदै भारत गए।

तर जीवानीसँग भारतमा बस्नका लागि आवश्यक कागजपत्र थिएन। यादवले उनका लागि भारतीय परिचयपत्र दिलाउन नक्कली आधारकार्डको व्यवस्था गरेको प्रहरीको भनाइ छ।

रेड लाइन
रेड लाइन

कसरी फेला पार्‍यो प्रहरीले?

प्रहरीका अनुसार यादव प्रत्येक दिन काम गर्न बाहिर जान्थे र जीवानी घरमै बस्ने गर्थिन्।

उनी आफ्नी आमालाई ह्वाट्स्यापमा फोन गरिरहन्थिन्। त्यसकै आधारमा प्रहरी उनी भए ठाउँ पुग्यो।

ब्याङ्लोरका प्रहरी अधिकारीहरूका अनुसार उनीहरू गत महिना उच्च सतर्कतामा थिए। दुईवटा ठूला अन्तर्राष्ट्रिय कार्यक्रम - एअरो इन्डिया एअर शो र जी२० अर्थमन्त्रीहरूको बैठक - फेब्रुअरीमा हुने तय भइसकेको थियो।

थप अनुसन्धानपछि जीवानीलाई गैरकानुनी रूपमा भारत प्रवेश गरेकोमा पक्राउ गरियो र फरेनर्स रिजन रजिस्ट्रेशन अफिसमा ज्यानुअरी २० का दिन बुझाइयो। त्यसपछि फेब्रुअरीमा उनलाई पाकिस्तान फिर्ता पठाइयो।

"अहिलेसम्म उनलाई गैरकानुनी रूपमा भारत प्रवेश गरेकोबाहेक अरू कुनै आरोप लगाइएको छैन," ब्याङ्लोरको ह्वाइटफील्ड डिस्ट्रिक्टका डेप्यूटी प्रहरी कमिश्नर एस गिरीशले बीबीसीलाई बताए।

"तर अनुसन्धान जारी छ"।

मुलायम सिंह यादवको उत्तर प्रदेश स्थित गाउँ

बीबीसीले जीवानी वा उनको पाकिस्तानस्थित परिवारसँग प्रतिक्रिया लिन सकेको छैन।

यो साताको सुरुतिर पीटीआई न्यूज एजेन्सीले उनका बाबुले जीवानी घर पुगेको र यो विषयमा बोल्न नचाहेको उल्लेख गरेको थियो।