भूउपग्रह तस्बिर : विनाशकारी बाढीले विद्यालयहरूमा पुर्‍याएको क्षति यस्तो देखियो

    • Author, फणीन्द्र दाहाल, काठमाण्डू र स्वाती जोशी, दिल्ली
  • Published
  • पढ्ने समय: ३ मिनेट

रसुवा बाढीबाट अति प्रभावित तीन जिल्लामा कम्तीमा १९ वटा विद्यालय र ७ हजार विद्यार्थीहरू प्रभावित भएको नेपालको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

कैयौँ विद्यालय भवनहरूमा क्षति पुगेको छ र कैयौँ विद्यालयहरूले आफ्ना शिक्षक तथा विद्यार्थीहरू हराइरहेको बताएका छन्।

यसले ती दुर्गम पहाडी क्षेत्रका कैयौँ विद्यालयका शैक्षिक गतिविधिको भविष्यलाई लिएर चिन्ता व्यक्त भइरहेका छन्।

अधिकारीहरूले बीबीसीलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार १९ वटा विद्यालयमा या भवनहरूमा क्षति पुगेको छ या उनीहरूका शिक्षक वा विद्यार्थी हराइरहेका छन्। निजी र सार्वजनिक प्रकृतिका यी विद्यालयमा ६,९०४ विद्यार्थीहरू अध्ययनरत थिए।

भूउपग्रहबाट हेर्दा कस्तो क्षति छ?

कम्तीमा ९ वटा विद्यालयमा पूर्ण क्षति पुगेको छ र अन्य ७ वटा विद्यालयमा आंशिक क्षति भएको छ। बढी क्षति पुगेका अधिकांश विद्यालय रसुवा र नुवाकोट जिल्लामा छन्। यी दुई जिल्लामा २,४२५ जना विद्यार्थीले अध्ययन गर्दै आएका कम्तीमा ८ वटा विद्यालयहरू या त बाढीले बढाएको छ या उनीहरू माटोमा पुरिएका छन्।

क्षति पुगेका मध्ये केही विद्यालयमा झन्डै झन्डै १५ सयसम्म विद्यार्थीहरू अध्ययनरत थिए। सबैभन्दा कम विद्यार्थी रहेको रसुवाको उत्तर गया गाउँपालिकाको एउटा विद्यालयमा ११ जना विद्यार्थी अध्ययन गर्ने गरेको सरकारी तथ्याङ्क छ। एउटा विद्यालयले बाढीले आफ्नो एउटा विद्यार्थी बोक्ने बस बगाएको जानकारी दिएको छ।

अति प्रभावित नेपाल चीन सीमा क्षेत्रमा भएको उक्त विपद् सन् २०१५ मा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पयताकै सर्वाधिक ठूलो प्राकृतिक प्रकोप हो।

अधिकारीहरूले पछिल्लो बाढीका कारण भएको जनधनको क्षतिको तहको मूल्याङ्कन भइरहेको बताइरहँदा अधिकारीहरूले केही जिल्लामा विद्यार्थी र शिक्षकहरू सम्पर्कविहीन रहेको जनाएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयको पछिल्लो आकलन अनुसार २०० भन्दा बढी विद्यार्थी सम्पर्कविहीन छन् र करिब २० जनालाई बाढीले बगाएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयका सहप्रवक्ता वीरबहादुर धामीले रसुवाको उत्तर गया गाउँपालिकास्थित निलकन्ठ माध्यमिक विद्यालयका २०० जना विद्यार्थी र चार शिक्षक सम्पर्कविहीन भएको जनाए।

बाढीको अघि र पछि भूउपग्रहबाट लिइएको उक्त क्षेत्रको तस्बिरमा सो विनाशकारी बाढी अघि विद्यालय भवनहरू देख्न सकिन्छ तर अहिले कैयौँ ठाउँमा लेदोले ढाकिएको जस्तो अवस्था र कुनै पनि भौतिक संरचना देखिँदैन।

कतिपय अन्य संस्थाहरूले बाढीको असर यो भन्दा पनि खराब हुनसक्ने उल्लेख गरेका छन्। युनिसेफले बिहीबार १७,००० भन्दा बढी बालबालिकालाई आपत्कालीन सहयोग चाहिएको भन्दै द्रुत प्रतिकार्यका लागि १७.२ मिलिअन डलर उपलब्ध गराउन आह्वान गरेको थियो।

शिक्षा मन्त्रालयका प्रवक्ता धामीले सरकारले उक्त विपद्ले शिक्षण संस्थाहरूमा पारेको क्षतिको अध्ययन गर्न एउटा टोली गठन गरिएको बीबीसीलाई बताए। उनका अनुसार सो टोलीले ७ दिनभित्र मुख्य प्रभावित तीन जिल्लाबाट तथ्याङ्क सङ्कलन गर्नेछ भने त्यसको ३ दिनपछि प्रतिवेदन बुझाउनेछ।

"स्थिति सामान्य अवस्थामा फर्किएपछि हामीले टेन्टमा कक्षाहरू सुरु गर्न सक्छौँ वा नक्साङ्कन र पहिचान गरिएका नजिकका विद्यालयमा विद्यार्थीहरूलाई अध्ययन गराउन सकिन्छ।"

विद्यालय जसले विद्यार्थी जोगाए

वेपत्ताहरूको खोज अझै जारि रहँदा अधिकारीहरूले करिब २० जना विद्यार्थीहरूलाई बाढीले बगाएको उल्लेख गरेका छन्। त्यसमा विद्यालय जाँदै गरेका नुवाकोटका तीन विद्यार्थी पनि पर्छन्।

शिक्षा मन्त्रालयका प्रवक्ता धामीले थपे,"हामी सबै उद्धार तथा राहतमा केन्द्रित भइरहेकाले प्रभावित क्षेत्रका सबै विद्यालयहरू बन्द भएका छन्। वातावरण निक्कै पीडादायी छ त्यही भएर विपद् प्रभावित भन्दा परका क्षेत्रका शैक्षिक गतिविधिहरू पनि प्रभावित भएको छ।"

उक्त आपत्कालीन परिस्थितिमा बाढीले संरचनाहरूमा क्षति पुर्‍याएको भएपनि कैयौँ विद्यालयहरू आफ्ना विद्यार्थी जोगाउन सफल भएका थिए।

उदाहरणको लागि, नुवाकोटस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको भवनमा पूरै क्षति पुगेको छ तर त्यहाँ रहेका सबै विद्यार्थीहरूलाई जोगाउन सकिएको अधिकारीहरूले बताएका छन्। त्यो क्षेत्रमा बाढी आइपुग्नुअघि नै विद्यार्थीहरूलाई शिक्षकहरूले घर पठाएका थिए। उक्त विद्यालयका एक जना कर्मचारी र एक जना शिक्षक सम्पर्कविहीन छन्।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले बीबीसीसँग कुरा गर्दै बाढी आएलगत्तै रसुवा क्षेत्रबाट एक जनाले टेलिफोन गरेर विद्यालयका लेखापाललाई सम्भावित जोखिमको चेतावनी दिएलगत्तै आफूहरूले ९०० विद्यार्थी र ३० जना विद्यालयका कर्मचारीलाई सुरक्षित स्थानतर्फ पठाएको बताए। बाढीको सूचना पाउँदा दवाडी कक्षा कोठामा नै थिए।

"बाढी आउँदै छ रे, तिमीहरू सुरक्षित स्थानमा जाऊ भनेर मैले घण्टी बजाउन लगाएँ। मैले सबैलाई पठाउन लगाए। त्यत्ति बेलै अलिकति भाग दौड पनि भयो। मैले बाइक पनि निकाल्न भ्याइन।"

उनी थप्छन्, " म ३०-४० सेकेन्ड ढिला भएको भए मलाई पानीले समाउँथ्यो। पाँच मिनेट ढिला भए कोही पनि बाँच्दैनथ्यौँ।"

रसुवा जिल्लामा एउटा निजी विद्यालयलाई बाढीले पूर्ण रूपमा बगाए पनि विद्यार्थीहरू सुरक्षित रहेका छन्। नजिकै अर्को स्थानमा भने केही विद्यार्थीहरूलाई सेल्टरमा लगिएको भनिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।