तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बाढीका कारण नयाँ सङ्कट, देशका अन्य भागलाई काठमाण्डू जोड्ने पृथ्वी राजमार्गको हिस्सा कटान
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ३ मिनेट
सडक विभागका महानिर्देशकले पछिल्लो बाढीले काठमाण्डू जोड्ने मूल सडक पृथ्वी राजमार्गलाई मुन्तिरबाट ठूलो कटान गरेको भन्दै यसलाई रसुवा बाढीले नेपालको सडक संरचनामा पुर्याएको सबैभन्दा ठूलो क्षति भनेका छन्।
गत हप्ताको विनाशकारी बाढी लगत्तै कृष्ण भीर क्षेत्रमा त्यस्तो कटान सुरु भएको थियो र आइतवार बिहानको बाढीले त्यसमा सडक चर्किएका विवरणहरू सार्वजनिक भएका थिए।
सडक विभागका महानिर्देशक विजय जैसीले बीबीसीसँग कुरा गर्दै बाढीले उक्त स्थानमा सडकको धेरै भाग काटेको उल्लेख गर्दै सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न निर्देशन दिइएको बताए।
यसअघि अधिकारीहरूले रसुवा र आसपासका जिल्लामा पुल र सडकमा गरी पछिल्लो विपद्का कारण २० अर्ब रुपियाँ बराबरको क्षति भएको बताएका थिए।
पृथ्वी राजमार्गमा भएको क्षतिबारे हामीलाई के थाहा छ?
महानिर्देशक जैसीले रसुवाबाट आएको बाढीका कारण त्रिशूली नदीको जल सतह बढे लगत्तै कृष्ण भीरमा सडकको मुनितिरको भागमा कटान सुरु गरेको भन्दै आइतवार बिहान आएको लेदोसहितको बाढीले सडक नै कटान गरेको जानकारी दिए।
उनले भने, "हेर्दा हेर्दै भर्खरै सडकको धेरै भाग कटान भएको छ। हामीलाई कृष्ण भीरमा चुनौती हुने देखियो। हामीले ट्राफिक डाइभर्सन मुग्लिङबाटै गरिसकेका छौँ। अब कान्ति राजमार्गबाट आउँछन् वा बीपी राजमार्गबाट काठमाण्डू आउनुपर्छ। यसको पुनर्निर्माणलाई पनि समय लाग्ने देखियो।"
उनले तलदेखि नै कटान भएको जानकारी दिँदै पानी घटेपछि मात्रै पुनर्निर्माणको काम गर्न सकिने बताए। "हामीले त्रिशूलीको तल गएर त्यहाँ वालहरू बनाउनुपर्ने हुन्छ। पानीको तह घटेपछि त्यो गर्न सकिन्छ, त्यसका लागि प्रविधिहरू छन्। भित्रतिर पनि जोखिमपूर्ण छ। त्योभन्दा माथिको डाँडा पनि पहिला बायो इन्जिनिअरिङ गरेर विभिन्न माध्यमबाट अड्याइएको छ। भोटेकोशीको बाढीले सडक संरचनामा ल्याएको ठूलो विपत्ति आज देखियो।"
यसअघि गत हप्ताको बाढीले तल्लो तटीय क्षेत्रका विभिन्न जिल्लाहरूलाई प्रभावित पारेको भए पनि पृथ्वी राजमार्गमा खासै क्षति नभएको अधिकारीहरूले उल्लेख गर्दै आएका थिए।
अहिले मलेखु नजिकै परेवा भीर भन्ने स्थानमा पनि बाढीले कटान गरेको बताउँदै अहिलेको स्थितिमा पृथ्वी राजमार्गमा गाडी चलाउन समय लाग्ने उनले सुनाए।
"यसैबाट सवारी साधन चलाउन हामीलाई केही समय लाग्न सक्छ। हामीले अर्को किनाराबाट वैकल्पिक बाटो हेर्दै छौँ। हामी एउटा निर्णय गर्छौँ। काट्ने क्रम अझै जारी रहेकाले निर्माणका लागि केही समय लाग्न सक्छ।"
सडक विभागले यसअघि आफ्ना १९ वटा पुल र नुवाकोटबाट स्याफ्रुबेँसी र रसुवागढीसम्म जाने करिब ४० किलोमिटर बाटोमा क्षति पुगेको यसअघि बताएको थियो।
देशका विभिन्न भागहरूलाई काठमाण्डूसँग जोड्ने मूल राजमार्ग भएका कारणले गर्दा पृथ्वी राजमार्गलाई मूल 'लाइफलाइन' समेत मान्ने गरिएको छ।
नौबिसेबाट सुरु भएर पोखराको पृथ्वी चोकसम्मको १७४ किलोमिटर उक्त सडक खण्ड हुँदै पूर्व र पश्चिम नेपालबाट आउने र जाने सवारी साधन ओहोरदोहोर गर्छन्।
उक्त राजमार्ग अन्तर्गत पहिलो १०० किलोमिटरको दुरीमा पर्ने मुग्लिङसम्म सडक त्रिशूली नदीको किनारा हुँदै अघि बढ्ने गर्छ। सडकको दोस्रो हिस्सा चाहिँ मर्स्याङ्दी नदी हुँदै अघि बढ्ने र त्यहाँ कम जोखिम रहेको विज्ञहरूले बताउने गरेको पाइन्छ।
अहिले कटान भएको कृष्ण भीर क्षेत्रमा विगतमा कैयौँ वर्षसम्म पहिरोले दुख दिएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।