चन्द्रमाबाट अमेरिकी अन्तरिक्षयानले पठायो खुट्टा भाँच्चिएको देखिने आफ्नै तस्बिर

चन्द्रमामा अवतरण गर्दा ओडिसिअसको तस्बिर। उक्त ल्यान्डरको देब्रे खुट्टा अड्याउने एउटा पोल भाँचिएको छ
तस्बिरको क्याप्शन, चन्द्रमामा अवतरण गर्दा ओडिसिअसको तस्बिर। उक्त ल्यान्डरको देब्रे खुट्टा भाँच्चिएको छ
Published

अमेरिकी कम्पनी इन्टूइटिभ मशीन्सले आफूले चन्द्रमामा पठाएको ओडिसिअस रोबट सतहमा बसेको देखिने स्पष्ट तस्बिरहरू सार्वजनिक गरेको छ।

ती तस्बिरमा उक्त अमेरिकी अन्तरिक्षयान एक ठाउँमा बसेको देखिन्छ। अवतरणका क्रममा ल्यान्डरको एउटा खुट्टा भाँच्चिएको थियो।

यद्यपि ओडिसिअसले योजनानुरूप काम गर्न सक्यो र चन्द्रमाको वातावरणसँग सम्बन्धित डेटा पृथ्वीमा पठायो।

ओडिसिअस निजी कम्पनीद्वारा निर्मित चन्द्रमामा सकुशल अवतरण गर्ने पहिलो अन्तरिक्षयान हो।

गत बिहीवार चन्द्रमामा पुगेपछि त्यसलाई अमेरिकाले ठूलो उपलब्धि मानेको छ।

सफल

अमेरिकी अन्तरिक्ष निकाय नासाका प्रमुख बिल नेल्सनले चन्द्रमाको सतहमा अप्ठ्यारो गरी बसेको भए पनि उक्त रोबटको प्रशंसा गर्नुपर्ने बताएका छन्।

नासाले ह्यूस्टनस्थित इन्टूइटिभ मशीन्सलाई पैसा तिरेर उक्त ल्यान्डरमा छवटा वैज्ञानिक उपकरण पठाएको छ।

"ओडिसिअस सफल भएको छ," नेल्सनले संवाददाताहरूसँग भने, "आठ दिनका लागि योजना गरिएको अभियानको यो छैटौँ दिन हो।"

"अनि हामीले ती उपकरणबाट अझै डेटा प्राप्त गरिरहेका छौँ।

ल्यान्डरले चन्द्रमाको सतहमा ३० डिग्रीको कोण बनाएर बसेको छ
तस्बिरको क्याप्शन, ल्यान्डरले चन्द्रमाको सतहमा ३० डिग्रीको कोण बनाएर बसेको छ

३० डिग्री कोल्टे

चन्द्रमामा ओर्लिँदा ओडिसिअसले केही अप्ठ्यारो खेप्नुपरेको थियो।

उक्त रोबट एक मिटर प्रतिसेकन्डको गतिमा सीधा तल ओर्लिनुपर्ने थियो। तर ल्यान्डरमा भएको कम्प्युटरले लेजरको रेन्ज खोज्ने डेटासम्बन्धी चाँडो काम गर्न नसक्दा उचाइ र गतिसँग सम्बन्धित सूचना सङ्कलन गर्न अप्टिकल क्यामरामा मात्र भर पर्नुपरेको थियो।

अर्थात् यो यान तीन गुना तीव्र गतिमा ओर्लियो। त्यसो हुँदा त्यो छेउछाउमा पनि हल्लियो र अन्ततः सतहमा चिप्लियो। सम्भवतः त्यसैले खुट्टा भाँचियो र ल्यान्डर ढल्कियो।

अहिले ल्यान्डर सतहसँग झन्डै ३० डिग्रीको कोण बनाएर आफ्नो एउटा हीलिअम प्रेसर ट्याङ्कमा अडिएर बसेको छ।

काल्पनिक चित्रः प्रक्षेपण गर्नुअघि बनाइएको यो चित्रमा ओडिसिअसलाई चन्द्रमाको सतहमा बसेको देखाइएको छ
तस्बिरको क्याप्शन, काल्पनिक चित्रः प्रक्षेपण गर्नुअघि बनाइएको यो चित्रमा ओडिसिअसलाई चन्द्रमाको सतहमा बसेको देखाइएको छ

सहकार्य

आफूले पठाएका छवटा उपकरणबाट नयाँ न्याभिगेशन प्रविधिहरूको परीक्षण गर्न तथा अवतरणस्थलमा चन्द्रमाको सतहको अवस्था अध्ययन गर्ने नासाको उद्देश्य थियो।

ती सबै परीक्षण र प्रयोगको निरीक्षण गरेकी सुजन लेडररका अनुसार नासाका वैज्ञानिकहरू र इन्टूइटिभ मशीन्सका कर्मचारीले सहकार्य गरेर यो अभियानलाई सफल बनाएका हुन्।

"हामी यो अन्तरिक्षयानलाई सक्रिय राख्न र शुल्क तिरेर पठाइएका उपकरणहरूले डेटा सङ्कलन गर्न सकून् भनेर उपाय खोज्न मिलेर काम गर्दै छौँ," उनले संवाददाताहरूलाई भनिन्।

"हामी मिश्रित डेटाको मसिनो न्यान्द्रोबाट निकै ठूलो डेटा पाउने अवस्थामा पुग्यौँ।"

ल्यान्डरले कहिलेसम्म काम गर्छ

चाँडैमा यो रोबट बिहीवार निष्क्रिय हुन सक्ने अनुमान गरिएको छ।

त्यसमा जडित 'सौर्य सेल' हरू फर्किएको दिशाका कारण अब ल्यान्डरमा घाम पर्दैन र ब्याट्री चार्ज हुन छोड्छ।

फेरि चन्द्रमामा सूर्यास्त हुने बेला पनि भएको छ। मध्य मार्चमा सूर्योदय हुँदा वैज्ञानिकहरूले ओडिसिअसलाई फेरि जगाउने प्रयास गर्ने छन्।

"सूर्योदय हुँदा ओडिसिअस निद्राबाट बिउँझिन्छ कि हामी त्यो हेर्छौँ," इन्टूइटिभ मशीन्सका सहसंस्थापक तथा प्रमुख प्राविधिक अधिकारी टिम क्रेयनले भने।

चन्द्रमामा हुने रातको अवधि पृथ्वीमा दुई साताजति हुन्छ। रात पर्दा चन्द्रमामा निस्पट्ट अन्धकार हुन्छ र तापक्रम पनि निकै घट्छ।

अवतरण गर्दा फिश-आई क्यामराले खिचेको तस्बिर
तस्बिरको क्याप्शन, अवतरण गर्दा फिश-आई क्यामराले खिचेको तस्बिर

पैसा तिरेर सेवा

इन्टूइटिभ मशीन्स नासाको 'कमर्शल लूनर पेलोड सर्भिसेस' (सीएलपीएस) कार्यक्रमको अङ्ग हो। उक्त कार्यक्रमअन्तर्गत नासाले अमेरिकाका विभिन्न निजी कम्पनीलाई पैसा तिरेर चन्द्रमामा आफ्ना उपकरण र अन्य सामग्री पठाउँछ।

नासाले शुल्क तिरेर सेवा लिने उपायलाई किफायती मानेको छ।

इन्टूइटिभ मशीन्सले यो वर्ष अरू दुइटा अभियान पनि सञ्चालन गर्ने छ। आगामी मिशनमा एउटा रोबट प्रयोग गरेर चन्द्रमामा ड्रिल गर्ने उसको योजना छ।

"हामीले भविष्यका लागि चन्द्र र पृथ्वीबीच एउटा बलियो अर्थतन्त्रको ढोका खोलिदिएका छौँ। त्यो निकै प्रभावशाली छ," इन्टूइटिभ मशीन्सका प्रमुख कार्यकारी अधिकारी स्टीभ अल्टमसले भने।

उनी सो कम्पनीका अर्का सहसंस्थापक हुन्।

"मलाई सीएलपीएको यो परीक्षण, यो पहिलो अवतरण, चन्द्रमामा ५२ वर्षपछि प्राप्त (अमेरिकाको) सफलतामा हामी रमाउनुपर्छ भन्ने लाग्छ," उनले भने।

जापानी अन्तरिक्षयानले जगाएको आशा

जापानको स्लिम रोबट
तस्बिरको क्याप्शन, जापानले चन्द्रमामा पठाएको स्लिम रोबट त्यहाँको रात सकिएपछि पनि सक्रिय देखिएकाले ओडिसिअस अझ केही समय सक्रिय रहन सक्ने आशा जागेको छ

जापानी अन्तरिक्ष निकाय जाक्साले चन्द्रमामा पठाएको स्लिम ल्यान्डर त्यहाँको रात सकिएपछि यो साता "बिउँझिएको" थियो।

जाक्साको रोबट अवतरणका क्रममा चन्द्रमाको सतहमा उत्तानो परेको थियो। तर त्यसले नजिकै रहेका स्थान र वस्तु देखिने तस्बिर पृथ्वीमा पठाएको थियो।

स्लिममा जडित सौर्य प्यानलहरू सूर्यतिर नफर्किएकाले ऊर्जा प्रणालीमा सङ्कट उत्पन्न भएको थियो। त्यसैले 'स्लिम'लाई निष्कृय अर्थात् ''स्लीप मोड' मा राखिएको थियो।

सूर्यको प्रकाश अर्को दिशाबाट प्राप्त भएपछि उक्त यानले पृथ्वीमा तस्बिरहरू पठाउन सकेको थियो। तर चन्द्रमामा रात परेपछि फेरि त्यसलाई बन्द गरिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।